मनोवाद : एउटा डाक्टरको मनोवाद

~राजु दाहाल~

“अब, म यो देशमा बस्न सक्दिन । लाग्छ यो मेरो देशनै हैन, नत्र, नत्र एउटा नेपालीको छोरो भएर पनि त्यहि ब्यबहार पाउन नसक्नु कहाँ हुन्छ र ? बल, मात्र बल भएपछि पुग्ने, निर्बलीयाहरुले बोलेको आवाज कसैले नसुन्ने । वा ! कस्तो गतिलो काम गरेछु मैले । चाहेको भए युरोप वा अमेरिकामा पनि त बस्न सक्थेँ म………… ।” – डाक्टर रमेशले गालामा लागेको चोट सुम्सुम्यायो । चोटको पिडा सँगै उस्को देशभक्ति दुख्यो ।

“हैन, मैले के गल्ती गरेको थिएँ र ? एउटा नचाहिने ढिपी गर्ने बच्चालाई एक थप्पड लगाएको नै त हो । सुई लगाउनै पर्ने थियो अनि जतिसुकै फकाउँदा पनि केहि नलागेपछि एक थप्पड नै त लगाएको…….. ।

त्यो बच्चीसँग न मेरो कुनै दुश्मनी थियो न त उस्को परिवार सँग नै । न त घरबाट जाँदा उस्लाई पिट्ने उद्देश्यले नै अस्पताल गएको थिएँ ।” – हातको रिमोट थिचेछ क्यारे रमेशले । न्युज च्यानल लाग्यो, जस्मा उसैले पिटाई खाएको दृश्य बारम्बार दोहोरिरहेको थियो ।

“बिरामीको गाला पड्काउने डाक्टर रे, लापरवाह डाक्टर रे ? वा मिडीया, तिमीहरुको प्रताप पनि गज्जबको ? तिमीहरुले चाहे कालोलाई सेतो अनि सेतोलाई कालो बनाउन सक्छौ । बजारको मुल्यबृद्धि बिरुद्ध बकवास रुपमा आवाज उठाउने तिमीहरु तिमीहरुका बिज्ञापनले पोतिएका पुङ न पुच्छरका समाचार लेखिएका पत्रहरुको मुल्य एकैपल्ट दोब्बर बनाउन सक्छौ । तिमीहरुले नै सहि गलत, राम्रो नराम्रो सबै छुट्टयाउने भए प्रशासनको के काम ? तिमीलाई समाचार चाहिएको छ अनि तिम्रा स्वार्थ पुरा गर्न नसक्नेहरुलाई कुरै नबुझि खेदो खन्छौ ? सत्य तथ्य के हो बिचारै नगरी समाचारलाई बङ्गयाएर …………।” – उठेर झ्याल बाहिर पिच्च थुक्छ डाक्टर रमेश ।

“अनि, अनि मान्छे पनि के भाका त ? मैले उपचार गरेपछि नै उस्को अभिभावकलाई बोलाएर माफी मागेर पठाएकै हो नी ।

माफ गर्नुहोला, नानी ले सुई लाउन अनि मुख खोल्न केहि पनि नमानेर मैले एक थप्पड लगाउन पर्‍यो भनेर । हुन पनि भर्‍याङबाट लडेर दाँत भाँच्चीएकी बच्ची निकै रोईरहेकि थिई । दाँतको जरा उखेलेर फ्याँक्नु पर्ने, नदुख्ने सुई त लगाउनै पर्‍यो । फकाउने हर प्रयास कामयाब नभएपछि डर देखाउन एक थप्पड लगाएर सुई लगाइ दाँत झिकीदिएको थिएँ । मेरो पनि त बाध्यता थियो, आधा घण्टा भन्दा पनि बढि सम्झाउँदा पनि नमानेपछि केहि न केहि त गर्नै पथ्र्यो । अभिभाबकसँग क्षमा मागेपछि सामान्य रुपमा लिएर घर फर्केका थिए सबैजना । मैले पनि त रहरले कहाँ थप्पड हानेको हो र ? एउटा अभिभाबक हो नि म पनि, मेरा पनि त छोराछोरी छन् घरमा………. ।”– भित्तामा झुन्ड्याइएको छोराको तस्बिर हेरे डाक्टरले ।

“त भोलिपल्ट त्यही कुरालाई लिएर सबै छरछिमेका आफन्त लिएर हात हाल्न आउने कहाँसम्मको उदण्डता त ? मैले माफी मागीसकेको अनि फेरि पनि माफि माग्छु वा के गर्नु पर्छ भन्दा भन्दै ………..। भिडमा मेरो बोली सुन्ने पनि कोही छैन ल, मार्लान कि जस्तो पो डर लागेको थियो त मलाइ।” – लामो सुस्केरा हाले डाक्टरले ।

“अब त खोई काम गरेर खान पनि नसकिने भइयो । अस्ति डाक्टर हरिले पनि बित्थैमा पिटाई खानुपर्‍यो । अनि दशैँको बेला डाक्टर शिलाको अस्पतालमा पनि तोडफोड भयो क्यारे । यस्तै उदण्डता बढ्दै गए बिरामीको उपचार गर्न सकिन्न । झन दुघर्टना बाट ल्याईएका अनि सिरीयस बिरामीलाई त उपचार गर्न सबैलाई डर भइसक्यो अस्पतालमा भर्ना गर्नै मान्दैनन् कोहि पनि ।” – चुपचाप टोल्हाइरहेछन् डाक्टर ।

“हैन, सारै भनेको मानेनन् भने त म मेरै छोरालाई पनि थप्पड लगाउँछु नी । त मैले ती नानीलाई शत्रु नै ठानेर सांघातीक रुपमा आक्रमण गरेको त हैन नी ? के अरु कसैले पनि आफ्ना नानीले बदमासी गरे वा केहि जायज कुरा भनेको मानेनन् भने थप्पड लगाउँदैनन् होला त ?

थुक्क जिन्दगी ……………..।” – डाक्टर रमेश एकोहोरो टेबलमा हेरिरहेका छन् । टेबलमाथि, जहाँ पासपोर्ट राखिएको छ …………………………… ।

समाप्त

(स्रोत : Shabda )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in मनोवाद / स्वगत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.