सिडनी बिमानस्थलको अध्यागमन कक्षबाट बाहिरिए पछी छोरा , पांच वर्षिया नातिनी सोफिया र अलौकिक लोकबाट धर्तीमा आउन ठिक्क परेकी नातिनीसंगैकि बुहारी मेरो स्वागतमा उभिएको देख्यौं । जुलाई महिनाको चीसो बतास मुटु कमाउने जाडो भए पनि साढे छ वर्षको लामो अन्तराल पछी तीन पुस्ता बीचको मिलनले न्यानोपन दिईरहेको थियो । फोटोमा देखे पनि आफ्नो तेस्रो पुस्तासंगको पहिलो साक्षात्कारलाइ मेरो मनले थाम्न सकेन र नातिनीलाई काखमा लिन खोजें,मानिन । उसकी आमाले अजी ( हजुर आमा )हो नि ! तिम्रो ड्याडीको मम्मी , योर ग्रान्ड मदर भनेर परिचय दिएर फकाए पछी बल्लतल्ल मानी । ढोग भेटको औपचारिकता पछी हामी ग्रानभिल स्थित घरमा आयौं ।जाडोको मौसम भएकोले रात परिसकेको थियो ।घरमा पनि मैले नातिनीलाई छोडिन।साँवाको भन्दा ब्याजको मायाँ कति हुँदोरहेछ यो मेरो तेस्रो अनुभव थियो । नारी वीचको सामिप्यता हो वा रगतको नाता मेरी नातिनी मसंग झ्यामिन थाली । कति क्लासमा पढेकी छ्यौ ,नानू ! मैले गालामा म्वाई खाँदै सोधें , ऊ अलमलिई र वावुको मुखमा हेर्न थाली ।उनको आशय बुझेर वावु चांहिले अंग्रेजीमा उल्था गरि दियो ।उसले केजी वन भनेर जवाफ दिई । मलाई ताज्जुप लाग्यो र छोरालाई सोधें किन क्षितिज !यहाँ नेपालीमा पढाइ हुन्न र ?
कहाँ मम्मी पनि ! यो नेपाल हो र ? क्षितिजले उल्टै प्रति प्रश्न गर्यो ।
मैले भने लौ ठिकै छ , स्कूलमा नेपाली पढाइ हुदैन तर तिमीहरुले त पढाउन सक्छौ नि !
भ्याउन पनि त पर्यो नि मम्मी ! तपाइँ भर्खरै आउनु भएको छ , भोलि पर्सि आफै देख्नु हुनेछ यहाँको ब्यस्त जीवन।
मलाइ तिमीले आजदेखि मम्मी नभन , अनायासै मेरो मुखबाट बिरक्तिलो स्वर फुत्त निस्कियो । क्षितिज पनि अचम्म मानेर मलाई हेरी रहेको थियो । भात पकाउंदै गरेकी बुहारी पनि आइन र मुक दर्शक बनेर हेरी रहिन् ।केहि बेरको असजिलो मौनता पछी हाँस्दै क्षितिजले भन्यो ‘ आमा !यो दोष त तपाईहरुकै हो ‘ म त तपाइको दोस्रो पुस्ता, तर तेस्रो पुस्तालाई रोक्न सक्नु हुने छैन । अन्तराष्ट्रिय बजारमा बिक्नको लागि अंग्रेजी भाषा अपरिहार्य भैसक्यो ,आमा !अनिदो लामो हवाई यात्राले थाकेको हुनाले खानपिन गरि सकेर म ओछ्यान तर्फ लागें ।
ओछ्यानमा पल्टेर पनि धेरै बेर निद्रा लाग्न सकेन । क्षितिजको कुरा सहि थियो । बाँच्नको लागि तीब्र प्रतिष्पर्धा गर्न नेपाली बजारले थेग्न सक्दैन । साम्राज्यबादी अंग्रेजी भाषा बिश्व भाषा बनि सक्यो । स्तरीय जिन्दगी बाँच्न तीब्र प्रतिष्पर्धामा सफल हुनै पर्छ र प्रतिष्पर्धामा सफल हुन अंग्रेजी भाषा जान्नै पर्छ । नेपालमा पनि बोर्डिंग पढ्नेहरु नेपालीमा कम्जोर छन् । कम्जोरै भए पनि जसोतसो नेपाली भाषा पढ्न लेख्न त सक्छन तर प्रवासी नेपालीहरुको तेस्रो पुस्ताले नेपालीको कपुरी “क ” पनि नजान्ने हो भने पहिलो र तेस्रो पुस्ता वीच संबाद गर्न दोभाषेको व्यवस्था गर्नु पर्ने छ र बिस्तारै नेपाली भाषा र साहित्य लोप हुँदै जानेछ । संस्कृति त जसोतसो थाम्लान तर भाषाको भने बिजोग हुने भो ।खुईय सुस्केरा हाल्दै छटपटीमा रात बिताएँ ।