~प्रदीप सुबेदी~
आँकशमा कालो बादल पत्र – पत्र परेर फाटिरहेको थियो भने हामिहरुको मन त्यही बादल जस्तै भित्र भित्र फाटिरहेको थियो । “ऐ ! प्रदीपे, आज त पानि पर्ला जस्तो छ नि आकश त डम्मै कालो बादलले ढाकिसक्यो त” हवल्दार साब बङ्कर बाट बाहिर निस्किएर आकशतिर हेदै मलाई बोलाउँछन ।
“आँ साब पनि अब यो असार मा पानि नपरे के बर्सेला त ” नजिकै बसेको मेरो ब्याजी रामहरि प्याच्च बोल्यो अरु दुई चार जना पनि उसको जबाफ ले गलल हँस्न थाले तर मलाई भने उनिहरुको कुनै कुरा ले अकर्षण गर्न सकेन । आँखा भरि सान्नानी को मुहार झल्झली नाँचिरहेको थियो । अस्ति मात्र सान्नानी ले पत्रमा लेखेकी थिईन तपाइ बिनाको जिबन साह्रै खल्लो लागेको छ, डाँडा पाँखा पनि शुन्य लाग्छन आखिर कस्को लागि तपाई लडिरहनु भएको छ ? तल्ला घरे काकाले पनि जागिर छाडेर घर आउनु भएको छ । ६ बर्ष कि छोरी ले सधै हाम्रो बाबा कहिले आउनु हुन्छ भनेर सोधिरहन्छे म उसलाई के जबाफ दिउँ ? उनको पत्र पढ्दा जाबो पुलिस को जागिर चटक्कै छोडेर हिडौ जस्तो लाग्थ्यो फेरि आँखा भरि घरका अबाभहरु खट्किन्छन्, पानी पर्दा चुहिने घरको धुरि अझै नयाँ जस्ता लगाउन सकेको छैन । दुई चार मुरि धान आउने तलको गैरी खेत पनि बन्धकि राखेको लिलामी नै होला जस्तो छ आखिर मानिस को लागि सबै भन्दा ठुलो शत्रु भनेकै गरिबि रहेछ । म एकछिन एल्बमका फोटाहरु ओल्टाई-पोल्टाई धित नमरुन्जेलसम्म हेरिरहन्छु । कोही साथिहरु तास खेलिरहेकाछन्, कोही एकआपसमा छेडछाड गरिरहेका छन्। गजबको छ हाम्रो सद्दाम हुसेन को जस्तै बङ्कर भित्रको जिन्दगी । म मनमा अनेक कल्पना गरिरहेको थिएँ त्यती नै बेला रोलगलको साईरन बज्छ, बंकरभित्रका सबै साथीहरु चौरमा थुप्रिन्छन । म बुटको तुना कस्दैथिए, छिटो गर् ऐ ! प्रदीपे भन्दै हवलदार साब कराउँछन । रिमरिम साँझको बातबरण चराचुरुङ्गीहरु कराउँछन त्यसमाथि निकै उचाई मा उभिएको खाराको डाँडा मनमोहक देखिन्छ असारे हरियाली, नजिकैको मकैबारिमा धानचमार फूलेको, लामो लामो मकैको घोगा देख्दा मलाई मेरो गैरी खेतको साह्रो सम्झना आउँछ ।
द्घन्द्रकालिन परिस्थिति जतिबेला जे पनि हुनसक्छ त्यसैले सुरक्षाका केही निर्देशन कम्पनि कमान्डरले हामीलाई जानकारी गराउँछन् र हामी आ-आफ्नो पालो लिस्ट हेरेर फेरि बङ्करतिर छिर्छौ । केहीबेर पछि स्पेशल टास्क फोर्स अन्तरगत सर्चमा गएको हाम्रो प्लाटुनको एउटा टोली आईपुग्छ,मैले मेरो अति नै मन मिल्ने साथी सुनिललाई बाहिरतिर को हालखबर सोध्दछु उसले खासै केही फेला नपरेको जानकारी दिन्छ । के गर्ने कुकुरको काम पनि छैन फुर्सद पनि छैन भने जस्तै भएको थियो हाम्रो पुलिसको जागिर । दिनहु पत्र – पत्रिका र रेडियोमा मृत्युको खबर बाहेक अन्य समाचार सायद नेपालीको कानमा कमै पर्दथ्यो । यस्तो लाग्थ्यो कतिबेला कुन गोली आएर यो मिनपचासे पुलिसको जिन्दगी बोकेर लैजाने हो पत्तै हुदैनथ्यो । कहिले काही त आफ्नो जिन्दगी देखेर साह्रै उराठ लागेर आउँथ्यो । भात खाने घण्टी लाग्यो सबै थाल बोकेर कुद्न थाले । आज मलाई अघिदेखि नै पेट दुखेको थियो त्यसैले खाना नखाने सोचमा थिएँ । “ऐ ! प्रदीपे खाना खाँदैनस” हवल्दारसाब प्लेट बोकेर हिड्दै थिए । “सर आज अल्लि सन्चो छैन”, मैले यति मात्रै भन्दैथिए उनले फेरि भने “ अहिले जंगलमा गएर भ्याकुर खालास, अनि ठिक होला” । मैले खासै जबाफ दिनु उचित मनिन र खिस्स हाँसिदिएँ, उनि मेसतिर लागे । मेरो ब्याजी बिक्रमले दुईवटा प्लेटमा खाना लिएर आयो । “ ला खाँ प्रदीपे, अब खाना खाएपछि हाम्रो टोली तल धुले खोलाको जंगलतिर गएर आउँने रे ! ऊ मुखमा भातको गास हाल्दै बोल्यो ।
“हैन मेरो त ६ बजे यही सेन्ट्रीगार्ड थियो त” मैले आफ्नो अनभिज्ञता जाहेर गरेँ ।
छोड्दे यार ! यहाँ भन्दा त बाहिरै मजा आउँछ उसले प्लेटको भात आदी जस्तो सिध्याईसकेको थियो । मैले पनि रुचेजति खाएँ, अनि सबै जना बुट-सुट कस्न थाले ।
“ऐ ! केटा हो, राम्रो संग हतियार चेक गर है फेरि जंगलमा गएर नपड्केला नी !” हाम्रा कमान्डर कराउँदै थिए । सबै रेडी भएपछि थ्रि नट थ्रि बोकेर हिड्यौ जंगलतिर । हामी जंगलमा पुगेको केही बेरमा नै पानी दर्किन थाल्यो । झ्याईकिरी झ्याँई झ्याँई कराईरहेका थिए साँच्चिकै उराठलाग्दो थियो हाम्रो यात्रा त्यहाँ । नुन को सोझो गर्नुपर्ने बाध्यता थियो हामी पुलिसहरुमा र राष्ट्रियताको नाममा आफ्नै दाजुभाईहरु सँग लडिरहेका थियौ । एका – एक कमान्डरको सेटमा हाम्रो टोलीलाई फिर्ता बोलाईयो चौकीबाट । हामीहरु फर्किन थाल्यौ, पानिको कारणले शरिर लुछुप्पै भिजेको थियो अझ म त थरथर काँपेको थिएँ तर के गर्नु जागिर त जागिर नै हो आखिर । हाम्रो टोली चौकीको नजिकै पुग्न के आँटेको थियो एक्कासी गोली पड्कियो चारैतिर । हाम्रो सिंगो पुलिस चौकी नै दुश्मनको घेरामा परिसकेको रहेछ । असिना परेझै गोलीहरु बर्सीनथाले । कमान्डरले चौकीमा सम्पर्क गर्दैथिए तर एकैछिनमा सम्पर्क बिच्छेद भयो । “आत्मसमर्पण गर्नेभए गर नत्र चौकी ध्वस्त बनाईदिन्छौ भन्दै माओबादीहरु धम्की दिईरहेका थिए उता चौकीबाट पनि हाम्रा साथीहरु हिम्मत छ भने आईज अगाडी भन्दै गोली बर्साईरहेका थिए । रात चकमन्न थियो पानी झन झ्याम-झ्याम परिरहेको थियो, लाग्थ्यो मृत्युको शंखघोष गर्दै काल हाम्रो वरिपरी घुमिरहेको छ । हामी बिचमा थियौँ, माओबादीहरु थुप्रै संख्यामा थिए । उनिहरुले बम फ्याँकेकोले आगोका ज्वाला समेत निस्केको थियो । केही बेर त हामीहरु नतमस्तक भयौँ । के गर्ने के नगर्ने दिमागमा कुनै जुक्ति आएको थिएन । हामी बिस्तारै पोजिसनमा पाईला चौकीतिर बढायौ, कमान्डरले हिम्मत लिएर काम गर भन्दै ईशारा गरेका थिए । केही अगाडी पुगेपछी हाम्रो जम्काभेट भयो माओको एउटा ग्रुपसँग । हाबाको झोकमा असिना झै गोली बर्सीन थाले । हाम्रा दुई जना साथीहरु पानी पनि भन्न नपाई त्यही ढले । थाहै भएन उनिहरु कतिजना पल्टिए । म पोजिसनमा फायरिङ गरिरहेको थिएँ अचानक एउटा गोली मेरो दाहिने पाखुरामा आएर ठोक्कियो । राईफल भूँईमा खस्यो, हातबाट रगतको धारा बग्न लाग्यो, फनफनी चक्कर लागेजस्तो भयो । साथीहरु तितर बितर भए, खल्तीबाट रुमाल निकालेर पाखुरामा बाँधे रगत बगिरहेको थियो । राईफल अनि गोली बोकेको झोला सबै त्यही फ्याकिँदिएँ अनि ओरालो झरे बिस्तारै । मनमा बाँच्ने आशा एकदम कम थियो । एकपल्ट सम्झिए घर–परिवारलाई, प्राणप्यारी सान्ननीलाई अनि बाबुको यादमा तड्पिएकी मेरी प्यारी छोरीलाई । चकमन्न अँध्यारो रात त्यसमाथि जंगल, पानि झन दर्किरहेको थियो । म लड्दै पल्टिदै निकै तल आईपुगे, एकातिर प्यास लागिरहेको थियो अर्कोतिर पाखुराबाट रगत बगिरहेको थियो त टाउँको मा रिङ्गटा लागिरहेको थियो । गोली निकै नै पड्किरहेको सुनिन्थ्यो । म त्यहाँभन्दा अगाडी हिड्न सकिन र एउटा ढुङ्गा मुनी गएर लुकी बसे । पानि पर्न केही कम भएपनि जाडोले मुटु थरथर काँपिरहेको थियो भने आँखाभरि साथीहरुको तस्बीर नाँचिरहेको थियो । गज्याङ्ग गुजुङ्ग मानिसहरु बोलेको आवाज आयो म शंसकित भए कतै …। यसो चियाएर हेरेको आगोको राँको बालेर केही हुल दौडिरहेका थिए– कसैले डोको पनि बोकेका थिए । मैले अड्कल गरे माओबादीहरु घाईते तथा मृत ब्यक्तीहरु सुरक्षित स्थानतिर ओसारपोसार गरिरहेका थिए । मैले त्यहाँ बस्नु आफूलाई सुरक्षित ठानिन । खल्तीबाट घडी निकालेर हेरे रातको १२ बजिरहेको थियो । हातको दुखाई चर्किरहेको अबस्थामा खुट्टाहरु कपाँउदै हिँडे म त्यहाँबाट । छामछुम गर्दै म अगाडी बढिरहेको थिएँ आफैलाई थाह थिएन म कता जाँदैछु । मनमा साह्रै पश्चाताप लागिरहेको थियो साथीहरुलाई छोडेकोमा । म आफुलाई सम्हालदै अगाडी बढिरहेको थिएँ एक्कासी मेरो कानमा “ऐआ ! ऐआ” गरेको स्वर ठोक्कियो म तर्सीए “लौ फेरी भेट हुने भो यिनीहरुसँग, साँच्चै आज मलाई कालले पिछा गरेको नै रहेछ”, मनमा यस्तै भान भयो । म एउटा रुखमुनी लुकेर चियाउन थालेँ । अध्याँरोमा खासै कोही कसैलाई देख्न सकिन तर आवाज भने अझै आईरहेको थियो । “ऐआ ! मरे, पानि, आमा, पानि !”। स्वर पूर्ण त महिला को थियो, मलाई डर लाग्न थाल्यो । भूत पिचासका कुराहरु पनि खेल्न थाले मस्तिष्कमा । स्वर अझै तिखारीएर आयो “मरे ! पानि पानि”, मैले आफूलाई सम्हाल्न सकिन आखिर एउटा सिपाही न हुँ र सिपहीको मनमा पनि त मायाको जरा फिँजिएको हुन्छ । “आ मर्न नै लेखेको रहेछ त मरुँला” मनमा यतिनै सोचेर म त्यो आवजलाई पछ्छाए । म त्यो आवज आएको नजिकै पुगेँ । अध्याँरो चौपट्टै थियो, एउटा चल बस्तु छट्पटाईरहेको थियो । मैले अड्कल गरे उनि एउटी माओकी घाइते योद्धा जसलाई उनका साथिहरुले नै छोडिदिएछन् । म उनी पल्टीरहेको ठाउँमा गए, उनको घुडामा र देब्रे कोखमा गोली लागेको रहेछ । उनि मलाई देखेपछी बेस्सरी समातेर पानी भनिन । उनको कम्मरमा झुण्डिरहेको तुमलेट खोलेर हेरे अलिकति पानी रहेछ दिएँ । मैले आफ्नो भिजेको गञ्जी निकालेर उनको घाउँलाई बाँधीदीए । उनिलाई थाहथिएन म एउटा सिपाही भन्ने कुरा, उनि बरबराउँदै थिईन्, मैले केही बुझिन सायद उनि आफ्नो मोर्चाका पासवर्ड बोलिरहेकी थिईन् । म त्यहाँ बस्नु अझ खतरा हुनसक्थ्यो भने छोडेर जाउँ त उनी बाँच्नु न मर्नु को दोसाँधमा छट्पटाईरहेकी थिईन् । एक त पाखुरामा गोली लागेको म असक्त थिएँ, झन उनको हालत देख्दा मभित्रको मानबता अझ असक्त बन्न पुग्यो । त्यतीबेला मेरा आँखाहरुले उनिलाई दुश्मन देख्न सकेनन् । सकी नसकी उनिलाई बोकेर म हिंडें, उनको मनमा बाँच्ने आशा पलाएछकी क्या हो उनि ऐआ,,,उँइया गर्न छोडेकी थिईन । गन्तब्यबिहिन भएर यसरी हिड्नुको कुनै अर्थ थिएन अर्कोतिर घाइते ज्यान आरमको आवश्यकता थियो । मैले अँध्यारोमै भएपनि सानो ओढार भेट्टाएँ । उनको घाउबाट रगत बग्न छोडेको थियो भने शरिरमा हल्का ज्वरो आएको थियो । हामी दुबै पानीमा भिजेका थियौँ र शरिरमा कम्ब्याट बाहेक अरु कपडा हामीसँग थिएन । एकातिर जाडोले शरिर काँपेको थियो भने अर्कोतिर पेटमा भोक मडारिन थालेको थियो । उनि त राम्रोसँग होशमा नै आएकी थिईनन्, ओढारमा आएपछि झन उनि निदाईन् मेरो काखमा । मेरो दिमागमा अनेक कुराहरु खेल्न थाले । केही मान्छेहरु बोलेको आवाज मेरो कानमा ठोक्कियो । सायद उनका साथीहरु उनिलाई खोजिरहेका थिए । यसो घडि हेरेको बिहानको ४:११ बजेको थियो । टोलाउँदा टोलाउँदै म पनि निदाएँछु उनिसँगै ।
ब्युँझिदा उनि थिईनन त्यहाँ, आकशमा कता कता हेलिकप्टर कराएको आवाज आएको थियो । कुहिरो डम्म लागेको कतै केही देखिदैनथ्यो । मलाई डर लाग्यो कहाँ गईन त उनि,,,,? त्यहाँबाट हिडने सुर लिएर उठेको मात्र थिएँ उनी टुप्लुक्क आइपुगिन टुमलेटमा पानि लिएर । एकचोटी झस्किए म आफै । “मेरो ज्यान बचाईदीएकोमा धेरै धेरै धन्यबाद” म जिन्दगी ! उनी मुसुक्क हाँस्दै बोलीन । म हाँसिदीए मात्र मनभित्र त “तिमीहरुले भए ज्यान लिने थियौ” भन्न मन लागेको थियो तर सकिन । “हेर ! जिन्दगी जे भएपनि बास्तबिकता धेरै अप््ठयारो छ हाम्रो सामु अर्कोतिर हामी दुबै घाईते पनि छौ र तिम्रो समूहले भेटेमा मलाई खतरा छ भने हाम्रो प्रशासनले भेटेमा हामी दुबैलाई” टुमलेटबाट पानी पिए मैले । “ हेलिकप्टरले गोली छोड्दै हिडिरहेको छ फेरी यो जंगलमा अर्को उपाए पनि त छैन हामीसँग के गर्ने त,,,?” उनि मेरो नजिकै बस्दै बोलिन यस्तो लाग्थ्योकि उनि आफ्नै समूहको कुनै हितैषी सँग कुरा गरिरहेकीछिन यता मलाइ निकै अप्ठ्यारो लागीरहेको थियो । केही बेर हामी दुबै चुप लाग्छौ । “यसो गरौ जिन्दगी ! म मेरो बाटो लाग्छु तिमी तिम्रो यात्रा गर, सम्झिदेउ समयले बगाएको भेल उर्लियो बगरमा” म यति भन्दै उठ्छु । उनि जुरुक्क उठेर मलाइ अंगालो हालेर रुन्छिन । “ सुनेको थिएँ सिपाहीको मन साह्रै क्रुद्ध हुन्छ रे साँच्चिकै रहेछ, ठिकै छ यदी जानु नै हुन्छ भने मलाइ यही मारिदिनुहोश” यति भन्दै उनले आफ्नो पकेटबाट बिनेट निकाल्दै झन रुन थालिन । म के गरौ के नगरौ दोधाँरे परिस्थितिमा परे । केही बेर मौन भयो बातबरण, आखिर जे भएपनि छोड्नु त थियो त्यो ठाउँ त्यसपछि हामी दुबै निस्कियौ त्यहाँबाट । भोक पहाड अग्लिएझै चुलिदै थियो पेटमा भने घाउँको पिडा पनि उस्तै थियो । बनमा उनिले खै ! के के झार ( जडीबुटी भन्थीन) थिचेर घाउँमा लगाइदीन । दुखाई केही कम भएपनि हिडाई र भोकको पिडा लेखीसाध्य छैन । आकशमा चिल झै घुमीरहेको हेलिकप्टरका आखाँहरु छल्दै दिनैभर हिडेपनि जंगल छिचोल्न सकिरहेका थिएनौ हामीले । मैले खल्तीबाट चेन नभएको घडी निकालेर हेरे ! दिउँसोको ३:१८ बजिरहेको थियो । अघिदेखी नै आकशमा देखिएको कालो बादलले पानीका थोपा ओकेल्न थाल्यो । हामी फेरी जंगलकै एउटा ओढारमा शरण लिन पुग्यौ । थकाई निकै नै बढेको थियो, मैले पानीअमला उखेलेर जम्मा पारे भने जिन्दगीले शफा गर्न थालिन । “भोली त त्यहाँ पुग्नु पर्छ है प्रदीप जी !” रुखका छेडबाट देखिने निकै परका फाट्टफुट्ट घरहरु औंलाले इशारा गर्दै बोलीन उनि ।
”हेरौ ! हेर्दा त निकै टाढा देखिन्छ फेरी यो बर्षा रोकिने हो की हैन, हिड्दा हिड्दै त्यो भन्दा नजिकका गाउँ पनि त भेटिन सक्छन जिन्दगी” म पानीअमलाको गेडा चपाउँदै हाँस्छु । उनि पनि खिस्स हाँस्छीन यस्तो लाग्छकी उनिमा चिन्ताको कुनै एउटा छिटा पनि परेको छैन यता मेरो आँखामा त्यो लडाईको मैदान अनि मेरा साथीहरुको मुहारले पोलिरहेको थियो । हामीले पानिअमला चपाएर भोक घटाउने प्रयास गर्छौ केहीछिन । पानि पर्न केही कम भएकोले हामी निस्किन्छौ त्यहाँबाट । युद्घ मैदानबाट भागेको सिपाही म आफैलाई हिनताबोध लाग्छ । उनि भने निकै उत्साहित छिन सायद एउटा जिबन बाँच्न पाएकोले होला । ओरालो निकै हिड्यौ हामी, थकाइको त कुरै छोडौ । हिडदा हिडदा जंगलको नजिकै एउटा गोठ भेटियो मनमा साहश बढेर आयो । साँझ झमक्कै परेको थियो हामी त्यो गोठनेर पुग्दा, गोठभित्र ६०–७० बर्ष जतिका एक बुढा मान्छे आगो तापिरहेका थिए उनि झस्किए हामीलाइृ देखेर । “यहाँ बाट गाउँ कति टाढा छ होला बाजे” म उनि तिर नहेरी सोध्दछु । “२-३ घण्टा जति तल झर्नु पर्छ” उनि अगेनामा दाउरा थपिरहेका थिए । हामी साह्रै थाकेका थियौ त्यसैले बाजेसँग नै बास मागेर बस्ने निर्णय ग–यौ । बाजेले हामीलाई मकैको पिठो खुवाएर साह्रै गुण लगाए ( अहिले पनि मेरो आँखामा ती बाजेको तस्बिर नाचिरहन्छ ) । बढ्दो रातको पहरसँगै जिन्दगीलाई ज्वरो ले समात्यो सायद घाउको असरले होला । मैले निधारमा पानि पट्टी लगाएपनि केही बिसको उन्नाइस भएन । ज्वरोको क्रम बढेर गइरहेको थियो । मलाई साह्रै चिन्ता लाग्न थाल्यो नियती ले कालको मुुखबाट फुत्किएर हिडेकी बिचरीलाई फेरि सताउन थाल्यो । “प्रदीप जि ” म अब बाँच्दिन मेरो मृत्यु को खबर घरसम्म पुर्याइदिनुहोला है,,,,! यो जुनीमा त यस्तै भयो अर्को जुनीमा चाही पक्कै भेटौला भन्दै उनि रुन थालिन । मन साह्रै अमिलिएर आयो मेरो पनि, मेरो मनमा नजानिदो तरिकाले उनिप्रतीको माया बढिरहेको थियो । मैले उनिलाई केही नहुने आश्वासन दिए । उता ती बाजेले पनि अनेक जडीबुटी खुवाए तर जिन्दगीलाई छुदै छोएन । हामी रातभर निदाउन पाएनौ । जिन्दगीलाई बाजेको जिम्मामा छोडेर म झिस्मिसेमा निस्किए गाउँमा पुगेर औषधी लिनको लागि । गाउँमा पुगेर आउँदा बाजे गोठको छेउमा बसेर टोलाईरहेका थिए मेरो भने मन डराउन थाल्यो कतै जिन्दगीलाई ….। बाजे मलाई देखेर रुन थाले , म आश्चर्यमा परे के भयो बाजे जिन्दगीलाई……..!
बाबु उनिलाई लगेर गए माओबादीहरुले १० – १२ जना जति थिए बाजेलाई समेत नरमाइलो लागेछ ।
“ ठिकै छ उनैका साथिहरुले लगेर गएछन” मनमा त सारै नरमाईलो लागेको थियो । म त्यहाँ बस्नुपर्ने कुनै औचित्य पनि भएन मनमनै जिन्दगीको स्वास्थ्यको कामना गरे अनि बाजेसंग बिदा भएर लागे आफ्नै गन्तब्यतिर । भोक प्यास बोक्दै मान्छेहरुका आँखा छल्दै अनेकौ बाटोहरु पछ्याउँदै म घर पुगे । बाबु आमाको मलिनो अनुहारमा थोरै कान्ति पलाएपनि मेरी सान्नानी निकै खुशी थिईन मैले पुलिसको जागिर छोडिदिएको मा भने मेरा आँखाभरि घरका अभाबहरु झन नाँच्न थालिरहेका थिए । खाना खाएपछि म सान्नानी लाई खाराको घटना सुनाईरहेको थिएँ त्यतीनै बेला घरमुन्तिर केही कोलाहल सुनियो । सान्ननीले झ्यालबाट चियाएर हेर्नथालीन । “यो घरमा त पुलिस आएको छ रे ! सिध्याइदिउँ ” यो आवज मेरो कानमा पनि ठोक्कियो उता सान्ननी डरले काँप्न थालिन म दोधारमा परे । बाबु भन्दै आमा मेरो कोठामा छिर्नु भयो, उहाँको आँखाभरि ममता छचल्कीरहेको थियो । म त्यहाँबाट भाग्नु पर्ने भयो मेरो ज्यान को भन्दा पनि परिवारको माया लाई बचाइदिनु ठुलो दावित्व सम्झिए अनि चुपचाप निस्किए आफ्नै अभागी खप्पर लाई दोष दिदै । यो भगाइ अन्त त देशै छाडेर हिड्नु पर्ने अबस्थामा पुग्यो अनि त साउदी अरबको घाम खाए दुई बर्ष सम्म । यो अबधीमा मैले सम्पर्क गर्न निकै कोशीश गरे जिन्दगी सँग तर सफल भईन । घरपरिवारको माया त छदैथियो त्यसमाथि मरुभुमि को चर्को घाम मैले भोगेका पीडाहरु लेखिसाध्य पनि छैन । जसोतसो २ बर्ष बिताएर घर फर्किए । द्धन्द्धको असर त नेपाली अनुहारमा स्पष्ट कोरिएका त छदैथिए त्यसैले पनि डरका परकास्ट बाट कुनैपनि समाज अछुतो थिएन अझै छैन पनि म पनि डराईरहेको थिएँ कतै फेरी केही हुने हो की !
एकदिन मेरा आँखा एउटा पत्रिका मा परे जसमा राज्य तथा माओबादी पक्षबाट बेपत्ता पारिएकाहरुको नाम सार्बजनिक गरिएको थियो । म त झस्किए किनकी माओबादी पक्षबाट बेपत्ता पारिएका मा मेरो नाम थियो त जिन्दगीको चाही राज्यपक्ष बाट । यसबाट मलाई थाह भयो कि सत्यता निकै लुकेको छ बास्तबममा अनुमानकै आधारमा डलर पचाउने हरुबाट निरह गरिब जनताको राहत हुने कुरो त केबल दिउँसै सपना देख्नु मात्रै त रहेछ हाम्रो नेपालमा किनकी भाषण त सबैले जानेकै छन । राज्यलाई आफ्नै बृता ठान्नेहरु कुर्चीमा बसेर ढुकुटीको चापी कहिले दाहिने हातले त कहिले देब्रे हातले खोल्न मै ब्यस्त छन भने अब यिनीहरुबाट हामी के आशा गरौ ? यस बिषम परिस्थितिमा गम्भिर हुनु पर्ने माओबादी सत्तामा आयो गुलेली खेलाएर गयो । प्रचण्डलाई युरोप, अमेरिका पुग्ने समय मिल्यो, सिधासाधा जनताले नबुझ्ने भाषण छाट्नमै ब्यस्त तर कुनै दिन यी मुद्दाहरु उठाएनन् हुनसक्छ जनता कमजोर हुनु भनेको नै यिनीहरुको सत्ता बलियो हुनु हो । आज कयौ आमाहरु अझै आफ्ना छोराछोरी फर्किन्छनकी भनी छातीमा तस्बीर टाँसेर बाटो हेरीरहेका छन, कयौ नारीहरु पछ्यौरीले आँशु पुछ्र्दै आफ्नो खसमको श्वास न त लाशको खबर सुन्न ब्याकुल छन । कल्पना गर्नुहोस त स साना छोरा छोरीले आमा ! हाम्रो बाबा कहिले आउने भनि सोध्दा कस्तो हुन्छ होला ती नारीहरुको मन । १२ बर्षे द्धन्द्धको प्रभाबले सामजिक संरचना अस्तब्यस्त बनिरहेकोले एकले अर्कोलाई बिश्वाश गर्ने बातबरण गुमिरहेको छ दिनदिनै । अझै पनि कयौ ढोकाहरु खुल्न सकिरहेका छैनन भने म जस्ता धेरै युबाहरु बिदेशिरहेका छन त कोही त्यहीपनि गुमेको जागिर पाईन्छ कि भनेर सडकमा हात थापिरहेका छन तर के गर्ने कसले सुनिदिने यि रोदनहरु । निकै प्रयास गरे मैले जिन्दगी को बारेमा केही जानकारी पाउन तर केही पनि थाह भएन । के साँच्चिकै जिन्दगी बेपत्ता परिएकी नै हुन त ? मनमा यिनै कुराहरु केलाउदा केलाउँदै आज ९/१० बर्ष बितेर गए अझै कति बित्नेहुन पनि । मेरो जिबनको गोरेटोमा लेखिएका यि कथाहरु मर्महत बनेर मेरो क्यानभास मा पोखिरहेका छन हरेक क्षणहरु । पिडा भन्ने कुरो जति लुकाउन खोज्यो उति बढ्दो रहेछ, जति पोख्न खोज्यो उति भरिदो रहेछ । यस्तै पिडाहरु मै बाँचिरहेको छु एउटा जिन्दगी म सायद म जस्तै जिन्दगी बाँचरहेका धेरै जिन्दगीहरु छन हाम्रो नेपालमा । आँखामा नाचिरहन्छीन आजभोली जिन्दगी सायद चाहेर पनि भुल्न सक्दिन मैले उनिलाई । आज उनि जहाँ भएपनि या त उनि मृत भएपनि मेरो सम्झना उनिलाई यसै लेख मार्फत ।
(बेपत्ता पारिएका नागरिकहरुको सम्झनामा)
* समाप्त *