~सुधीर ख्वबि~
यतिखेर म हस्पिटलको इमर्जेन्सी वार्डको बाहिर राखिएको बेडमा अवाक मनस्थितिमा पसारिएको छुँ । मेरा वरिपरी परिचित मुहारहरु झुम्मिएकाछन् । मेरा आँखाले ती मुहारहरु चिन्न सकिराखेको छैन । मात्र म स्वर सुनिरहेको छुँ । होहल्लाहरुको माझ , चिच्याहटको त्यो मुटुनै सेरिनेखालको आवाजसंगै मानसपटलमा झ्ल्याक्क झुलूक्क फ्ल्यास जस्तै केहि निमेष अगाडिको घटनाको दारुण दृश्य चम्किरहेको छ ।
सीमा आफ्नो सल्किरहेको गाउन निभाउने प्रयास गर्दै थिई, जतिबेला म उसको चिच्याहट सुनेर भान्छामा पुगें । आगोले उसको कपाल पनि टिपिसकेको थियो । आफ्नो हातले आफ्नो शरीरमा लागेको आगो निभाउने कोशिश गर्दै थिई । उसको मुखबाट लगातार चिच्याहट निस्की नै रहेको थियो ।
म एकछिनको लागि स्तब्ध जस्तै बने । विवेक शून्य झैं बने । फेरि हत्तपत्त हातैले उसको शरीरको आगो निभाउने प्रयास गर्नथालें । भान्छा साँघुरो थियो । एउटा शटरमा भान्छा पनि , सुत्नेकोठा पनि अनि बिचमा रायक राखेर अगाडीको भागमा किराना पसल । एउटा बाध्यता ,एउटा संघर्ष , एउटा यात्रा अनि महँगो काठमाडौँको बसाइमा पसिनासंग साट्न लालायीत केहि थान सपनाको स्यामस्वेत रेखाचित्र जसमा साकारको इन्द्रेणी रंगले रंगाउने रहर, जुन यो आगलागीमा नराम्ररी घाइते भैसकेको थियो ।
मेरो हातले मात्र आगो निभाउन गाह्रो लाग्न थाल्यो । मैले उसको हुरुरु बल्न थालेको शरीरलाई जुरुक्क काँधमा बोकें र बाहिर कुदें । यतिन्जेलसम्म बाहिर मानिसहरुको भीड जम्मा भैसकेको थियो । सीमा चिच्याउँदै थिई । शरीरको लुगा पूर्णत: जलिसकेको थियो । कसैले बोरा भिजाएर ल्याएर सीमालाई छोपिदियो । त्यतिन्जेल सम्म उ बेहोश प्राय: भैसकेकी थिई । कोहि एम्बुलेन्स बोलाउ भन्दै थियो , कोहि छिटो अस्पताल लैजाउ भन्दै थियो । दुर्घटनाको
समय बाहिर खेल्दै गरेकी छोरी बिनिषा कहालिएर मलाई अंगाल्न आइपुगी ।
‘बाबा ! बाबा !! मम्मी ! मम्मी….!’- भन्दै डरले अबोध मुहार कालो निलो पार्दै रुँदै थिई । मैले मेरी छोरीलाई अंगालोमा लिएँ ।
‘के भो , के भो ? ‘- भीडको जिज्ञासा स्वभाविक नै थियो ।
‘कसरि, कसरी भो ? ग्यास लिक भा’को होला नि !’ – आ-आफ्नै अनुमान र निर्क्यौल पनि ।
‘सिलिन्डर बिस्फोट भएको हो ?’- कोहि घटनाको बारेमा थप पुस्टि को लागि मरिमेटेको जस्तो पनि लाग्यो ।
‘आफैले मट्टीतेल छर्केर आगो लगाएको होला नि !’- – नकारात्मक सोचका हिलो छ्याप्न पनि भ्याए , कुनै कुनै मुखले ।
‘बुढाबुढीको खटपट थियो नि अस्ति देखि ! ‘- दुर्घटनालाई आ -आफ्नै ढंगले शंकाको लंका गर्न थाले ।
‘होइन , लोग्नेले नै जलाएको होला नि ! विचरी सीमा !’- रमिते भीडबाट चरम निक्रिस्ट विचार पनि फ्याँकियो ।
‘उफ़! यो लोग्नेमान्छे भनेको यस्तै हुँदो हो !’- कुनै महिलाको यो आवाजले मेरो कानमा होइन मुटुमा नै चसक्क बिझ्यो ।
उफ ! जतिवटा मुख त्यति नै कुरा । डेराबाट अस्पताल नजिकै थियो । सीमालाई एउटा तन्नामा राखेर छिमेकीहरुले अस्पतालतिर कुदाइ हाल्यो … त्यसको पछी पछी म पनि छोरीलाई बोकेरै बदहवाश बनेर दौडें । मेरो हालत पागलको जस्तै भैसकेको थियो । रमितेहरु पनि मेरो पछी पछी आइरहेको थियो । बाटोमा छिमेकी दिदीले बिनिशालाई बोकिन ।
अस्पताल पुगें म । सीमालाई इमर्जेन्सी वार्डको ड्रेसिंग कोठाभित्र लगियो । मलाइ बाहिरै एउटा बेडमा राखियो ।
भित्र कोठाबाट सीमाको चित्कार बाहिरसम्म सुनी नै रहेको थियो । उसको चित्कार सामु मेरो जलेको घाउको कुनै तुलना नै थिएन ।म एकछिन आँखा चिम्लेर बसें ।मनलाई सम्हाल्ने कोशिश गर्न थालें ।मलाइ बिस्तारै अनुहारमा जलन महसुश हुन् थाल्यो । दुईवटै हातमा पनि जलन महसुश हुन थाल्यो । आगोले पोलेको ठाउँमा फोका उठ्न थालिसकेको थियो ।
यतिन्जेल बा आमा दिदिबहिनिका साथै सीमाका दाई दिदिबहिनिहरुपनि आइपुगे । कसले कसलाई कहिले खबर गरे केहि थाहा भएन । उनीहरू देखेपछी अनायासै मेरो आँखा रसाउन थाल्यो । दुखमा, पीडामा आफ्ना मानिस देखेपछि मन झन कम्जोर हुँदो रहेछ । आँखालाई पनि आँसु बगाउन हतार लाग्दो रहेछ । सबै अवाक बने ।
अनुहारको रंग फुरुंग उडेको जस्तो । कोहि केहि बोल्न सकेनन् । छिमेकी एकजनाले घटनाको विवरण दिन थाले । बा त केहि बोल्नु भएन तर उहाँको आँखामा उर्लन उद्यत पीडाको बोध मैले गरें । आमा कहालिएर रुन थाल्नु भो । दिदि बहिनीहरुका पनि आँखा बहन थाल्यो । केहिछिन पछी बल्ल सोध्नु ‘भो बुहारी खोइ त् ?’-जवाफमा मैले आँखा ले नै ईसारा गरें , त्यहाँ भित्र छ भनेर…! अनायासै मन भक्कानिएर आयो । मलाइ आकाश नै फाट्ने गरि , धर्ति नै भासिने गरि बेस्सरी रुन मन लाग्यो … तर म रोईन । किन हो किन रुन पनि सकिन ।
प्राथमिक उपचारपछी हामीलाई एउटै कोठामा राखियो जहाँ दुइवटा बेड राखिएको थियो । सीमा प्राथमिक उपचार पछी पेनकिलरको कारण कराउन छोडेकी थिई । म आँखा चिम्लेर सोच्न थालें । डाक्टरले भनेको कुरा भत्भती उम्लेको तेल जस्तै भएर कानको बाटो भएर मुटु नै पोलेको महशुश हुन थाले । …’धेरै नै जलेको छ पेट, छाती र अनुहार पनि ‘ तर पनि ठिक त हुन्छ । महिना दिन जति लाग्छ होला ।’
अनायास म झस्कें । सीमा मुस्कुराउन्दै मेरो सामु देखापरी …पोते , सिन्दूर र चिटिक्क रातो सारीमा सजिएकी । मैले हत्तपत्त आँखा खोलें … सीमा आफ्नो बेडमा सुति नै रहेकी थिई । उसको शरीरभरि मात्र होइन , पुरा अनुहार नै ब्यान्डेजले बाँधिएको थियो ।
आज सीमा बितेको महिना दिन भो । डाक्टरले निको हुन महिना दिन जति लाग्ला भनेको थियो । तर महिना दिनमा निको हुनुको साटो उसले जीवनबाट नै मुक्ति पाई । म अक्सर सोच्न थाल्छु अचेल । प्रलयको लागि मात्र केहि सेकेन्ड समय लाग्छ तर त्यसले छोड्ने प्रभावबाट उन्मुक्ति पाउन एउटा जिन्दगीले भ्याउन गार्हो हुने गर्छ । हाम्रो जीवनको यो त्रासद समयमा मेरो उ प्रतिको मायामा कमि आएको हो की जस्तो लाग्छ । किन कि जब म १५ दिनपछि अस्पतालबाट डिस्चार्ज भएँ त्यति बेला सम्ममा म जनरल वार्डमा शिफ्ट भैसकेको थिएँ ,उ आई सी युमा । तर म उसलाई न भेटिकन नै , केहि नबोलिकन नै म चुपचाप घरतिर आएँ । दुर्घटना भएको दिन देखि नै उ मेरो मानसपटलम़ा आउन थालेकी थिई । आँखा चिम्लेर बस्दा पनि , अनि सपनामा पनि । उही सजिसजाउ रातो सारीमा मेरो अचेतन मनभित्र देखिन थालेकी थिई । किन हो किन मलाई डर महशुश हुन्थ्यो ।
दुई वर्षको प्रणय सम्बन्ध पछि घरपरिवारको सहमति नभएपनि आफूखुशी गरेको विबाहपनि पाँचवर्ष बितेको पनि पत्तो पाएनौ हामीले ।अथाह खुशीको इन्धनुषी रंगको बिचमा छोरी बिनिशाको आगमनले जीवनलाई अझ सुन्दर र संघर्षप्रति अझ हौशला र उत्साह थपिदिएको थियो ।
खुशीका पलहरु किन क्षणिक हुने गर्छ ? किन यति छिटो समयले आफ्नो रूप फेर्ने गर्छ ? किन अप्रत्यासित असहज अवस्थाहरुले सुन्दर जिन्दगीलाई घेर्न , सताउन आउँछन् ?
सायद जिन्दगि जस्तै खुशीको पनि भरोसा छैन रहेछ । कहिले कसरि नाता तोडेर विलय हुने गर्छ , थाहा भएन । जिन्दगि रहस्यमय पनि हुँदो रहेछ । माया , बिश्वास र आस्था पनि कम्जोर धरातलमा प्रस्तूत हुँदो रहेछ । सीमासितको यो जीवनको सहयात्रामा कसरी कसरी असहज परिस्थिति प्रतिबिम्वित हुन् थाल्यो । सुन्दा पनि विश्वास गर्ने गार्हो लाग्ने , आँखाले देखेर पनि विस्वाश गर्न नसकिने , हुन त मैले उसित वर्तमानमा माया गरेको हुँ , साईनो गाँसेको हुँ । उसको अतीतसंग मैले सरोकार राख्नु नपर्ने हो तर मैले सायद सोच्नै नसक्ने , सोच्दै नसोचेको कुराको खुलासाले म आक्रोशीत भएको हुनु पर्छ । जब मैले अहिलेको समयमा आएर सीमाको पहिलो बिबाह , सम्बन्ध विच्छेद अनि दस वर्ष को एउटा छोराको बारेमा थाहा पाएँ ।
पर्दा त उठ्यो ,तब मैले सोधें सीमालाई – ‘के यसमा सत्यता छ सीमा ?’- उ नाजवाफ बनेकी थिईन . मुहार कान्तिहीन । उ जहाँको त्यहीं थचक्क बसेकी थिईन ।
मलाई लाग्छ , विहे हुनु पारपाचुके हुनु अथवा बच्चा हुनुमा उसको दोष त होईन । उ परिस्थितिमा फंसेकी मात्र हो । तर पनि मैले उसको अतीतको कुनाकाप्चा सबै चहारें र यो कुराको थप पुस्टिपछी म ठगिएको जस्तो भएँ । त्यो दिन म उसित एकपटक फेरि धेरै नै कराएँ तर उसले केहि बोलिनन् । त्यसदिन पछी उसले हाँस्न बिर्सेकी थिईन । सँधै चुपचाप बस्थी ।
आज सोच्छुं म , जब हुनु उसको स्मृति मनभरि भक्कानिएर भरिएर आउँदा , मैले मन पराएँ उसलाई , हृदय देखि आत्मा देखि तर पनि किन उसको अतीत प्रति सहज हुन सकिन । हामी बीच एउटा अदृश्य पर्खाल ठडिन थाल्यो । र चुलिंदै पनि गयो । दिन बिते महिना कटे वर्ष फेरे तर पर्खाल ढलेन । हामी बिचको त्यो अदृश्य पर्खालको पारी मलाई लाग्छ उसले आफ्नो जीवनको दियो आफैले निभाउने प्रयास गरेकी थिईन । उसको प्रयासले उसलाई त जित्यो तर उ आफै त हारिन हारिन मलाइ मात्र होइन आफ्नी छोरीलाई समेत हराएर गईन . मलाई छटपटी लागेर आउँछ । उसले अतितको चोट मात्र लुकाइन म देखि । सायद जिन्दगी भरिका ती तीता दुस्वप्न भुलाई नयाँ रूपमा शुरु गर्न चाहेकी होलिन तर समयले किन फेरी उसको घाऊको खत देखाए ? के समय बलबान छ भनेको यहि त होइन ? मन मरेपछि संसार रितो लाग्न थाल्छ , जिन्दगि बोझ लाग्न थाल्छ , नातागोता समाज बिरानो लाग्न थाल्छ । यस्तोमा भावुक ज्यानलाई सम्हाल्न सकेन भने कसरी खण्डित हुनपुग्छ , ओझेल पर्न सक्छ , एउटा निर्जीव तस्बिरमा अनुवाद भएर स्मृतिको भित्तामा झुन्डिन पुगेको हुन्छ ।
उ निरासाको भुमरीमा फँस्न पुगिन जहाँबाट मैले उसलाई निकाल्नु पर्थ्यो म अदृस्य पर्खालको वारी बसेर आफ्ना गुनासाका प्लास्तरले त्यो पर्खाललाई अझ बाक्लो बनाउंदै लगें …करिब वर्षदिन सम्म … र आज त्यो पर्खाल मेरो मनमा हुनु नहुनुको अर्थ केहि रहेन तर … उ पनि त रहेन सायद मेरो असहिश्नुताको ,कारण .. यस्तै लाग्छ ….के अतीत भुलाई हाँसि हाँसि जिउन किन गाह्रो हुन्छ ?
संगै सुतेकी छोरी बिनिशा चलमलाउन थाली , निन्द्रामा बर्बराउन थाली ….’ मम्मी मम्मी पानी खाने , मम्मी तपाइँ कहिले आउने !…’
मेरो आँखा धमिलो भएर आयो सायद आँखामा पनि आँसुको पर्खाल बनिदियो स्मृतिको यो पलमा ।