~जुनु क्षेत्री~
आज के कोनो जायगा घुरते जाबो ?
जाबो दादा जाबो !
मायापुर जाबो ?
जाबो जाबो !!
आज घर उदास छ । मनहरू उदास छन् । हिजोसम्मको चहलपहल आज उदासीमा परिणत भएको छ । कोठा, घर, आँगनमा एक किसिमको शून्यता छाएको छ । मामा, विष्णु दाहाल र माइजू निर्मला दाहाल मलीन मुद्रामा हुनुहुन्छ । आफ्नी एक मात्र सन्तति प्यारी छोरी नितुलाई अन्माएर पराइघर पठाएपछि पुत्री विछोडको विरहमा उहाँहरू विहृवल हुनुहुन्छ । हुन पनि हो, आफूले कति दुःख र पीडा सहेर जन्माइ हुर्काइ आफ्नै कलेजीसरह माया गरेर पढाइ लेखाइ ठूली बनाएको सन्ततिसँग चटक्कै माया तोडेर अर्काको घर पठाउनु पर्दा कसको मन नरोला र ! छोरीको जात पनि कस्तो हगि ! अर्काको घर जानै पर्ने, जन्म दिने आमाबुवा र आफन्तलाई चटक्कै बिर्सनै पर्ने, आफू जन्मी, खेली, हुर्की बढेको घरआँगनलाई चट्ट छोड्नै पर्ने !
सबै उदास मुद्रामा टोलाइरहेका देखेर खोकोनदा मतिर इङ्गित गर्दै मायापुर घुम्न जाने प्रस्ताव राख्नुहुन्छ । म तत्काल सहमति जनाइहाल्छु । किनकि मलाई उदासीले भित्रभित्रै चिमोटिरहेको हुन्छ । मन कतै बरालिन र रमाउन छट्पटाइरहेको हुन्छ ।
हामी मामाकी छोरी नितुको बिहेमा कलैयादेखि कलकत्ताको रानाघाट आएको आज पाँचौ दिन, बिहेको हूलमूल र चहलपहलको व्यस्तताले गर्दा कतै निस्कन नपाएको छट्पटीलाई मेट्दै आज सन् २००५ फेबु्रअरी महिनाको २६ तारिख, हामी नौ मनहरू अर्थात् आमा मायादेवी क्षेत्री, सानोबुबा पुष्कर आचार्य, बहिनीहरू उषा आचार्य, शक्ति दाहाल र मञ्जु ढुङ्गाना, माइजूहरू निर्मला दाहाल र नन्दुकुमारी दाहाल, खोकोन विश्वासदा र म मायापुर यात्रामा निस्कन्छौँ । सडकतिरको मूलद्वारनेर पुगेपछि म घरतर्फ फर्केर हेर्छु । आफ्नै आँगनबाट नितु अन्मिएर गएपछि उदास भावमा झोक्राइरहेको घरले हामीतिर टुलुटुलु हेर्दै ‘छिट्टै फकर्नु है ! दुईचार दिन भए पनि तिमीहरूसँग भुल्न पाउँदा मलाई नितुको सम्झना कम गर्न सजिलो हुन्छ’ भन्छ । हामी मूलद्वारबाट बाहिरिन्छौँ । गोपु पुच्छर हल्लाउँदै हाम्रो अगाडि लाग्छ । नितु बिदाइ भएर गएदेखि खिन्न देखिएको गोपुले पनि ‘तपाईंहरू कता जाने ? म एक्लै बस्न सक्दिनँ, मलाई पनि सँगै लैजानुस्न है !’ भने झैँ हामीतिर ट्वाल्ल हेर्छ । चारपाँच दिनको बसाइँमा गोपु हामीसँग निकै झ्याम्मिइसकेको छ । हामीसँग निकै आत्मीयता गाँसिसकेको छ ।
एउटा ऐतिहासिक स्थल भारतीय राजपरम्परामा राणाहरूको राज्यभूमिको यस स्थानमा राणाहरूले स्नान गर्ने घाट रहेकोले रानाघाट भनिएको यस भूमिलाई आँखाभरि सजाउन थाल्छु । चारैतिर पर्खाल लगाइएको जमिनको बीचमा प्रायः दुई तीन तले विभिन्न रङ र आकारका लस्करै घरहरू र घरवरिपरि फलफूलका हरिया बगैँचाहरू भएको रानाघाट मलाई आकर्षक लाग्छ । हामी सडकको किनारैकिनार अगाडि बढ्दै जाँदा सडक किनारका ठूलठूला नरिवलका रूखमा बसेर चराहरू चिरबिर-चिरबिर गर्दै स्वागत गीत गाउँछन् । हावा सर्रसर्र चल्दा पातहरू हल्लिएर हामीलाई पङ्खा हम्कन्छन् । सडकछेउमा ढकमक्क फुलेका फूलहरू हाम्रै स्वागतमा मुस्कान छर्छन् । पाइलाहरू गतिशील भइरहन्छन् । सामुन्ने एउटा घरको सफा र फराकिलो आँगनको बीच भागमा सेतो सङ्गमर्मरले बनेको माता मेरी पुत्र जिससलाई काखमा लिएर हामीतिरै हेर्दै मुस्कुराइरहेकी हुन्छिन् । म पनि उनीतिर हेरेर मुस्कुराइदिन्छु । सेतै दाह्री पालेका र सेतोरातो कपडा लगाएका सान्ताक्लाउज पनि हामीतिर हेरेर म पनि यतै छु है ! भनेझैँ मुस्कुराइरहेका हुन्छन् । म उनीसित पनि मुस्कान साटिदिन्छु । ईसाई धर्मावलम्बी बङ्गालीहरूको बहुलता रहेको यस क्षेत्रमा प्रायः घरअगाडि माता मेरी, जिसस र सान्ताक्लाउजको मूर्ति राखिएको रहेछ । कलकत्ता सहरबाट पचहत्तर किलो मिटर टाढा रहेको सुन्दर, शान्त र व्यवस्थित सानो सहर रानाघाटको बीच भागमा रहेको चर्चमा लैजानु हुन्छ खोकोनदाले हामीलाई । हामी सबै चर्च परिसरभित्र प्रवेश गर्छौं । टलक्क टल्कने सङ्गमर्मरले बनेको भव्य चर्च वरिपरि जातजातका फूलहरू मुसुक्क मुस्काउँदै आगन्तुकहरूलाई स्वागत गरिरहेका र ठाउँठाउँमा स्थापित माता मेरी र जिससका मूर्तिहरूले शान्त मुद्रामा आशीर्वाद दिइरहेझैं लाग्छ मलाई । एउटा ठूलो कक्षभित्र अनेकौँ भक्तहरू प्रार्थना गरिरहेका हुन्छन् । कक्षभित्र रहेको जिसस र मेरीको मूर्तिसामु अनेकौँ मैनबत्ती प्रज्ज्वलित देखिन्छन् । मैनबत्तीको शिखाबाट अनन्त ज्ञान र विवेकको ज्योति फैलिरहेझैँ लाग्छ । त्यहाँको शान्त र सुन्दर वातावरणमा मन प्रफुल्लित हुन्छ । शिर आफैँ श्रद्धाले झुक्छ । म चर्चको भित्ताभरि बाइबलको कथाअनुसार जिसससँग सम्बन्धित अनेकौँ कलात्मक चित्रहरूलाई आँखाभरि उतार्छु । त्यहाँबाट बाहिरिन लाग्दा म माता मेरी र जिसससँगै उभिएर तस्बिर खिचाउँछु । माता मेरी र जिसस पनि हामी जस्तै मानिस त हुन् नि ! अहिले उनीहरू पनि हामीसँग तस्बिर खिचाइरहेका छन् ।
अहिले हाम्रो हूल सडकमा छ । पाइलाहरू गतिमय छन् । इच्छाहरू गतिमय छन् । जीवन गतिमय छ । समय गतिमय छ । गतिमयता नै बाँच्नुको सार्थकता र भोगाइको सजीवता हो । यही सजीव भोगाइ अनुभूत गर्न मनहरू लालायित छन् । अगाडि मूलसडक लमतन्न तेर्सिएर एउटा कटुसत्य भोग्दैैछ । कलकत्ता, दिल्ली, दार्जिलिङ र सिक्किमतिर हुइँकिइरहेका अनेकौँ ट्रकहरू, बसहरू, लरीहरू अनि बेलाबेला विरोधमा बालिने टायरहरू र तेस्र्याइने ढुङ्गामूढाहरूको साथै असङ्ख्य पाइतालाहरूको थिचाइ, मिचाइ र किचाइको कटु पीडा भोगिरहेको छ । सडकको सहनशीलता देखेर ममा एकातिर सहानुभूति जाग्छ भने अर्कोतिर गर्वबोध पनि हुन्छ । सडक पनि हामी नारीजस्तै हो । नारीको जीवनजस्तै हो ।
जुनु ! ऊ तँ जन्मिएको अस्पताल घर त्यही हो ।
अहा, म जन्मेको अस्पताल घर ! म झटपट आमाले देखाउनु भएको पुरानो किसिमको अग्लो पर्खालभित्र ठूलाठूला रूखहरूको बीचमा रहेको एउटा विशाल तर पुरानो घरतिर हेर्छु । मलाई त्यो घर सबैबाट परित्यत्ता एउटी दीनहीन वृद्धा आमैजस्तो लाग्छ । उनी मलाई देखेर आँखाभरि आँसु पारेर भन्छिन्, ‘नानी ! तिमी त सानी गुथुल्की पो थियौ, अहिले त निकै ठूली, भइसकिछौँ । हेर, मलाई एक्लै छोडेर सबै अन्तै गइसके । पहिले यहाँ मिसन अस्पताल हुँदा धेरै चहलपहल थियो । अहिले त मिसन अस्पताल पनि छैन । डाक्टर नर्सहरू पनि छैनन् । रोगीहरू पनि आउँदैनन् । म बूढी एक्लै छु ।’
मलाई ती बूढीआमैलाई गम्लङ्ग अँगालो हालेर उनको दुःखमा धुरूधुरू रुन मन लाग्छ । सुम्सुम्याउँदै उनको पीडालाई कम गर्न मन लाग्छ । उनी पनि मेरी आमा नै त हुन् नि ! म एकोहोरो मेरो जन्मघर हेरिरहन्छु । मन एकतमास हुन्छ । घरको रङ उडेर, पाप्रा उप्किएर धर्काधर्का परेर आमैको अनुहार चाउरिएको छ । झ्यालढोकाहरू पनि रङहीन बनेर मक्किइ आमैका हातखुट्टाहरू दुब्लाएका छन् । घरवरिपरि झारपात उमि्रएर आमैका हातखुट्टाका नङ र कपाल बढेका छन् । कोही छैनन् आमैको स्याहारसुसार गर्ने पनि । आमैका सन्तति यो घर मालिक मालिक्नी को होलान् ! कस्ता निष्ठुरी, कमसेकम हेरचाह त गर्नुपर्छ नि !
म भारी मन लिएर आमैलाई बाईबाई गर्दै अगाडि बढ्छु । आमै पनि दुःखी भएर मतिर हेरिरहेकी हुन्छिन् । जन्मघरसँगको क्षणिक मिलनपछि नै छुट्टनिु पर्दा हृदय भरिएर आउँछ । जीवनको यो आकस्मिकता र भोगाइको यो संवेदनामा म दुख्छु, दुखिरहन्छु । जीवन पनि एउटा दुखाइ नै त हो नि हैन त !!
ओइ, द्याखो सार्कासेर लोकसब
आस्छे !
हामी रानाघाटको मुख्य बजार आइपुग्दा एउटा केटोले हामीलाई देखाउँदै ‘ऊ हेर, सर्कसका मान्छे आउँदैछन्’ भन्छ । सबै हामीलाई ट्वाल्ल हेरिरहेका हुन्छन् । हामी जिल्ल पर्छौं । के हामी सर्कसका मान्छेजस्ता छौँ त ! हामीलाई किन सर्कसका मान्छे भन्यो भनेर म खोकोनदालाई सोध्छु । उहाँ नजिकै सर्कस आएको र सर्कस देखाउने धेरै केटीहरू नेपाली मूलका भएकाले केटोले त्यसो भनेको हुनुपर्छ भन्नुहुन्छ । हामी त एकछिनका लागि सर्कसका मान्छे भइदियौँ । ती नेपाली दिदीबहिनीहरू नि ! जो कतिपय वाध्यताले, कतिपय आफन्तबाटै ठगिएर र कतिपय सर्कसका दलालको जालमा परेर सधैँका लागि सर्कसका मान्छे भएका छन् । शरीरको प्रदर्शन र कसरतबाट दुनियाँलाई मनोरञ्जन, रोमाञ्च र खुसी दिइरहेका छन् । तिनीहरूको मनमा कति पीर होला ! आफन्त वियोगको पीडा होला । कति खतरा र यातना भोग्नुपर्ला ! कति शोषित र पीडित हुनुपर्ला ! कसले बुझिदिन्छ र उनीहरूको मनको व्यथा र जीवनको कथा ।
परपर तीनदिन बन्दु तोरबारी गेलाम् देखापेलाम् ना,
जाइते छ आना, आइते छ आना असुल होइलो ना !
“बारम्बार तीन दिन साथी तिम्रो घर आएँ भेट भएन, जाँदा छआना आउँदा छआना असुल भएन ।” सामुन्ने पानपसलमा बङ्गाली गीत गुञ्जिरहेको छ । थरीथरीका भवनहरू र पसलहरूको आकर्षण एवं मानिसहरूको चहलपहलले रानाघाट बजार भव्य देखिन्छ । नौला मानिस देखेर ‘एइदिके आसुन्, एइदिके’ भन्दै पसलेहरू हामीलाई बोलाउँछन् । हामी त्यतातिर ध्यान दिदैनौँ । हामीलाई त मायापुरसँग माया लाउने हतार छ । हामी उभिएको देखेर रिक्सावाला टिरिरिङ टिरिरिङ घण्टी बजाउँदै नजिक आउँछ । त्यसैबेला एउटा बस हामीनेरै आएर रोकिन्छ । खोकोनदाले हामीलाई चढाउनासाथ बसले गति पनि लिइहाल्छ र सहर छोडेर गाउँतिर हुइँकिन्छ । टालीले छाएका गुरूप्प घरहरू, नरिवलका हरिया रूखहरू र गहुँको खेतहरू हुँदै ठाउँठाउँमा रोकिँदै यात्रुहरू झार्दै र चढाउँदै रेल लाइनसमेत पार गरेर बस चौगासा पुगेर रोकिन्छ । हामी बसबाट ओर्लिन्छौँ र मायापुरसम्मको बस कुर्नथाल्छौँ । नभन्दै एकैछिनमा मायापुरसम्मको बस पनि आइपुग्छ । हामी सबै बसभित्र छिर्छौँ । यात्रुहरूको निकै भीडभाड हुन्छ । बस्ने सिट नपाएर हामी उभिन्छौँ । बसले गति लिन्छ । म झ्याल बाहिर नजर लगाउँछु । एकपछि अर्को दृश्य परिवर्तन भइरहन्छ । बस घ्याच्च रोकिन्छ । यात्रुहरू तँछाडमँछाड गर्दै बसबाट ओर्लिन्छन् । म मायापुरसँग मितेरी लाउन छट्पटाइरहेकी हुन्छु ।
द्याखो ! मायापुर एसेगाछे, नामुन् नामुन् ।
खोकोनदाले मायापुर आइसक्यो ओर्लौंओर्लाैं भन्नुहुन्छ । हामी बसबाट ओर्लन्छौँ । म वरिपरि नजर दौडाउँछु । चारैतिर पर्खाल लगाइएको विशाल परिसर बाहिर थरीथरीका मालसामानले भरिएको एउटा सानो तर सुन्दर बजार, थरीथरीका मानिसहरूको आवतजावत, सरसामान बेच्ने र किन्नेहरूको घुइँचो, बाँसुरी र बेलुन बेच्ने वरिपरि किन्न झुम्मिएका केटाकेटीहरूको झुण्ड, सहरी वातावरणभन्दा नितान्त भिन्नै रमाइलो परिवेश मलाई औधि मनमोहक लाग्छ । खोकोनदाले हामीलाई हरहर बास्ना आइरहेको नजिकैको नास्ता पसलमा लैजानुहुन्छ । पसलेले जिलेबी, पुरी, तरकारी, र दहीले हामीलाई स्वागत गर्छ । हामी मीठो मानीमानी खान्छौँ । नास्ताको पैसा हामीलाई तिर्न नदिएर खोकोनदा आफैँले तिर्नुहुन्छ । हामी नास्ता पसलबाट निस्केर मायापुर परिसर प्रवेशद्वारतिर लाग्छौँ । प्रवेशशुल्क तिरेर हामी परिसरभित्र प्रवेश गर्छौँ । अहा ! मायापुर, मेरो सपनाको पुण्यधाम, कल्पनाको दिव्यपुर, भावनाको सुन्दरभूमि, जीवनको अपूर्व अनुभूतिस्थल ! म उमङ्गले फुर्फुरिन्छु, उत्साहले तुल्बुलिन्छ र आफैँभरि छचल्किन्छु हर्षातिरेकले ।
खेतैखेतको विशाल फाँटको बीचमा कुनै जादुगरले आफ्नो जादुले थपक्क उत्पति गराइदिएको जादु नगरीजस्तो मायापुरको माया नगरीमा प्रवेश गर्नासाथ रङ्गीचङ्गी पोसाकमा सजिएका कल्कलाउँदा कन्याहरू आगन्तुकहरूको स्वागतका लागि मुस्कुराएर उभिएजस्ता राता, पहेँला, सेता, बैजनी रङका जातजातका फूलहरूले एकसाथ हामीलाई स्वागत गर्छन् । हामीवरिपरि पुतलीहरू र्फरर्फर नाचेर स्वागत नृत्य गर्छन् । हावा सर्रसर्र बहेर सुगन्ध छर्छ । मेरो मन पनि फूलहरूसँगै मुस्कुराउँछ । भावना पुतलीहरूसँगै नाच्छ । खुसी हावासँगै फैलिन्छ । आमा र माइजूहरू पनि हषिर्त हुनुहुन्छ । बहिनीहरू पनि दङ्ग छन् । हामीलाई यसरी खुसी दिन पाएकोमा खोकोनदा पनि आनन्दित हुनुहुन्छ । चुटुक्क परेको चिल्लो सडकको दायाँबायाँ झपक्क परेर स्वागतद्वार बनेका धुपीका बोट वरिपरिको हरियो दुबोको नरम गलैँचामा कोही परिवारसहित, कोही बालबच्चाका साथ, कोही युगल जोडी, कोही साथीसङ्गीहरूसँग दुनियाँका सबैथोक बिर्सेर घुमिरहेका, टहलिरहेका, रमाइरहेका, अङ्कमाल गरेर सुस्ताइरहेका र आफूहरूलाई दृश्यहरूसँग क्यामरामा कैद गरिरहेका झुण्डझुण्ड मानिसको चहलपहलले मायापुर मलाई साँच्चैको मायाको पुरजस्तै लाग्छ । यतिधेरै मानिस हुँदा पनि यहाँ कुनै हल्ला छैन । कसैमा पनि कुनै हतार छैन । सबै आ-आफँैमा मग्नमस्त छन् । हामी सुस्तसुस्त अगाडि बढ्दै जान्छौँ । सामुन्ने सेतो रङको विशाल र कलात्मक भवन देखिन्छ । अतिथिहरूको बासका लागि बनाइएको यस भवनको भाडा शुल्क निकै चर्को भए पनि त्यहाँ बस्दा प्राप्त हुने आनन्दको शुल्क भने अमूल्य नै हुने ठहर गर्छु म । भवन वरपर बगैचाभरि गेरूवस्त्र धारण गरी रुद्राक्षको माला लगाएर कोही यताउता टहलिरहेका छन्, कोही दुबोमाथि बसेर जप गरिरहेका छन् । कृष्णभजनको मधुर स्वरले वातावरण गुञ्जायमान छ । फलामलाई चुम्बकले तानेझैं हाम्रा पाइलाहरू तानिँदै जान्छन् । हामी मायापुरको मुख्य मन्दिरसामुन्ने पुग्छौँ । वरिपरि ढकमक्क फुलेर शोभायमान पारिरहेका फूलका रङहरूसँगै सूर्यका तेजिला किरणहरूमा टलक्क टल्किरहेको पहेँलो रङको मन्दिरको मोहकतालाई म विमुग्ध भावमा आँखाभरि सजाउँछु । मन्दिरभित्रबाट हारमोनियम र बाँसुरीको धुन तथा कृष्णभजनको स्वर बाहिरसम्म स्पर्स गर्न आइपुग्छ । बाँसुरीको धुन मेरो हृदयभित्र छिरेर नसानसामा पस्छ र शरीरभरि फैलिन्छ । म आनन्दविभोर हुन्छु । बाँसुरीको धुनमा साँच्चैको जादु हुँदोरहेछ । गोपिनीहरू पनि धुनमै त लठ्ठएिका हुन् नि !
म मन्दिर प्रवेश द्वारअगाडि एउटा मान्छे र थुप्रै बोराका पोकाहरू देख्छु । यी मान्छेले बोरामा के लिएर बसेका होलान् भनेर सोच्दै द्वारनेर पुग्दा उसले हामीलाई जुत्ता हाल्न भनेर एउटा बोरा दिएपछि पो थाहा हुन्छ, ती त सबै जुत्ताका पोकाहरू पो रहेछन् । उनीचाहिँ जुत्ता कुरुवा रहेछन् । आफ्नो समूहको जुत्ता नहराओस् भनेर बोरामा हालेर राख्न दिने यहाँको अनौठो चलनअनुसार हामी सबैले आ-आफ्नो जुत्ता खोलेर बोरामा हाली राख्न दिएर नम्बर लिई मन्दिरभित्र पस्छौँ । मन्दिर भव्य र विशाल छ । भुइँको सतह अनुहारै देखिएलाजस्तो वा खुट्टै चिप्लिएलाजस्तो चिल्लो र टलक्क टल्केको छ । भित्ताभरि राधा र कृष्णका विभिन्न किसिमका चित्रहरू छन्, सँगै चैतन्य महाप्रभुको चित्र पनि छ । मायापुरका प्रसिद्ध ब्राहृमण जगन्नाथ मिश्र र सचिदेवी मिश्रका दसौं सन्तान सन् १४८४ मा जन्मेर सन् १५३४ मा समाधिस्थ भएका कृष्णका परम्भक्त, धर्मप्रचारक र समाजसेवी चैतन्य महाप्रभुलाई बङ्गालीहरू कृष्णकै अवतार मानेर श्रद्धा र पूजा गर्दा रहेछन् । बीचमा भव्य भजनकक्ष छ । कक्षको ठीक सामुन्ने राधा र कृष्णको विशाल, भव्य र कलात्मक पित्तलका मूर्ति छन् । बाँसुरीधर कृष्णमूर्ति पहेँलो र राधामूर्ति रातो वस्त्रले सुसज्जित छ । अहिल्यै बोलुँलाझँै गरी हामीतिर हेरेर मुस्कुराइरहेको राधाकृष्ण मूर्तितिर हेरेर म पनि मुस्कुराइदिन्छु । त्यहाँ चढाउने भेटी जथाभावी नचढाएर चन्दास्वरूप चन्दाबाकसमा हाल्नु पर्नेरहेछ । हामी सबै कृष्णको अपार लीलाप्रति श्रद्धा व्यक्त गर्दै आ-आफ्नो गच्छेअनुसारको भेटी चन्दास्वरूप चन्दाबाकसमा हाल्छौँ ।
भजन कक्षमा गेरूरङको सारी लगाएकी पश्चिमी गोरी महिला हारमोनियम बजाइरहेकी छिन्, सँगै एक पुरुष बाँसुरी बजाउँदै छन् । अरूहरू सबै हरेकृष्ण भजनमा झुमिरहेका छन् । सम्पूर्ण वातावरण कृष्णमय छ । हामी भजनको स्वर लहरीसँगै लहरिँदै मन्दिर बाहिर निस्कन्छौँ र आआफ्नो जुत्ताचप्पल लगाएर अगाडि बढ्छौँ । मानिसको ठूलै हूलमूल छ । कोही आइरहेका छन् । कोही गइरहेका छन् । कोही विभिन्न पोज दिएर तस्बिर खिचाइरहेका छन् । कोही रमाउँदै घुमिरहेका छन् । वरिपरि एकापसमा हेराहेर गरेर फूलहरू मुस्कुराइरहेका छन् । पुतलीहरू फूलहरूलाई छुँदै, जिस्किँदै र इतरिँदै डुलिरहेका छन् । म आफूभरि पग्लन्छु र छचल्किन्छु भावनामा ।
हृदय नयाँ दृश्यहरूमा रल्लिन लालायित भइरहन्छ । पाइलाहरू नयाँ माटो स्पर्स गर्न उत्साहित भइरहन्छन् । अगाडि स्तूप आकारको विशाल मन्दिर ठिङ्ग उभिएर हामीलाई स्वागत गरिरहेको हुन्छ । म आफैँभरि संवेदित हुन्छु र पुलकित बन्छु । फेरि जुत्ताचप्पलहरू बोराभित्र पस्छन् । फेरि पाइलाहरू चिल्लो सङ्गमर्मरमाथि सुस्तरीसुस्तरी बढ्छन् । आँखाहरू भित्ताभरि सजिएका राधाकृष्णका चित्रहरूमा अल्मलिन्छन् । उमङ्गका लहरहरू उठ्छन् । भावनाका तरङ्गहरू तरङ्गिन्छन् । हामी मन्दिरभित्र प्रवेश गर्छौँ । हूल ठूलो छ तर हल्ला छैन । ओहोरदोहोर चर्को छ तर धक्काधक्की छैन । सबै शान्त, शिष्ट र मर्यादित छन् । अगाडि राधाकृष्णको पित्तले मूर्ति हामीतिर हेरेर मुस्कुराइरहेको देख्छु । म पनि मुस्काइ दिन्छु । मेरो हृदय पनि मुस्काउँछ । आनन्द बर्सिन्छ । उत्सुक पाइलाहरू सिँढी उक्लन थाल्छन् । दोस्रो तलाका दृश्यहरू आँखाभरि उत्रिन्छन् । ठूलो कोठा, सिसाको बारभित्र श्रीशील प्रभुपादको सुन्दर मूर्ति, उनका धार्मिक सामाजिक क्रियाकलापका अनेक आकर्षक तस्बिरहरू आँखाभरिभरि सजिन्छन् । कृष्णका अनन्य भक्त, धर्मगुरु र महान् समाजसेवी प्रभुपादले सन् १९६६ मा ‘कृष्ण भावनामृत सङ्घ’ नामको संस्था स्थापना गरेको र त्यही संस्थाले सय विघा क्षेत्रफलमा मायापुर खडा गरेको रहेछ । यो स्तुप आकारको मन्दिर उनै प्रभुपादको स्मृतिमा बनाइएको रहेछ । यहाँ उनका जीवनसँग सम्बन्धित अनेक मूर्ति र तस्बिरहरूको सङ्ग्रहालय नै रहेछ । मन उनका जीवनसँग सम्बन्धित अनेक मूर्ति र तस्बिरहरू आँखाभरि सजाउन पाउँदा प्रसन्नताले चुलिन्छ । पाइलाहरू तेस्रो तलमा पुग्छन् । यहाँबाट पूरै मायापुर देखिँदो रहेछ । चारैतिर रमणीय बगँैचा, बीचबीचमा मन्दिर र भवनहरू, मानिसहरूको चहलपहल, भक्तजनहरूको आहार विहारले मलाई मायापुर एउटा छुट्टै संसारजस्तै अनुभूत हुन्छ । टाढाटाढा विशाल फाँट, समुद्रजस्तै फैलिएको गङ्गा नदी र नदीमा नाउहरू, नाउ चढ्नेहरूको भीडभाड देख्दा मलाई पनि नाउमा चढेर गङ्गा नदीसँग मितेरी लाउने रहर जाग्छ, तर हामीलाई छिट्टै र्फकनुपर्ने भएकोले रहरलाई रहरकै रूपमा थाती राख्न म बाध्य हुन्छु ।
“एबार कृस्नार भोग खेते हबे !”
तत्काल खोकोनदाले अब कृष्णको भोग ग्रहण गर्ने है भन्दै त्यसका लागि दसदस रूपियाँको टिकट पनि लिइहाल्नुहुन्छ । हामी आ-आफ्ना जुत्ताचप्पल पहिलेझैँ बोरामा हालेर राख्न दिई एउटा विशाल कोठाभित्र छिर्छौं । अगरबत्तीको सुगन्धले कोठा मगमग छ । कृष्णभजनको मधुर आवाज चारैतिर गुञ्जायमान छ ।
खानाको हरहर बास्नाले भोक झन् उद्वेलित बन्छ । अनेकौँ मानिसहरू एक छेउदेखि अर्को छेउसम्म ओछ्याइएको दरीमाथि पलेटी कसेर बसेका छन् । हामी पनि आ-आफ्नो ठाउँ ओगटिहाल्छौँ । म वरिपरि नियाल्छु । कोही भोग ग्रहण गरेर उठ्दै छन् । कोही भोग ग्रहण गरिरहेका छन् । कोही ग्रहण गर्न तयार छन् । हामी बस्नासाथ बस्ने ठाउँभन्दा अलिमाथि उठाएर बनाइएको खाने ठाउँमा सेता सुकिला धोतीकुर्ता लगाएका र टाउको खौरेर टुपी राखेका हँसिला र फूर्तिला भाइहरूमध्ये एकले फटाफट पत्ता राख्दै जान्छन् ।
अर्कोले तीन पाङ्ग्रे गुडाउनेमाथि ठूलो भाँडाभरि खिचडी गुडाउँदै ल्याउँछन् । अर्कोले पातमा खिचडी हाल्दै जान्छन् । पछिपछि अर्कोले कोबीको तरकारी राख्दै जान्छन् । हामी खिचडी खपाखप खान थाल्छौँ । खिचडीले पेट भर्न थालिसकेको हुन्छ । अर्को भाइ भटाभट पुरी थप्छन् । पछिपछि अर्को भाइ लौकाको तरकारी थप्छन् । पुरी तरकारी म बल्लतल्ल खाइसक्छु । अब त थप्ने कुरा सकियो होला भनेको त एकजना भाइ खीर पो थप्दै जान्छन् । खीरको हरहर बास्नाले मनै हरहर हुन्छ । पेट अघाए पनि जिब्रो अघाउँदैन । म खिरको स्वाद लिन थाल्छु । हामी आपसमा मुखामुख गर्दै खीर खाइसक्छौँ । खिचडी, पुरी र खीरको स्वाद जिब्रोमै लट्काएर हामी अटसमटस हुँदै उठ्छौँ र पातलाई ठीक ठाउँमा फ्याँकेर हातमुख धोई बाहिरिन्छौँ । दस रूपियाँमा यतिधेरै परिकारको खाना, त्यसमा पनि पेटभरिभरि ! म खोकोनदासँग जिज्ञासा राख्छु । दस रूपियाँ त खानाको नभएर मायापुर सञ्चालनका लागि चन्दा लिएको कुरा उहँाले मलाई बताउनुहुन्छ । मलाई मायापुरले मोहनी मायाले भुलाएकै हुन्छ । म आफँैमा रमाउँदै बहिनीहरूसँग बगैँचामा पस्छु । दुबोमा थचक्क बस्छु । फूलहरू सम्सुम्याउँछु । पुतलीहरू मेरै अगाडि र्फरर्फर नाच्छन् । हावाले कानैमा साउती गर्छ । शान्त र आनन्दमय वातावरणमा मन त्यसै त्यसै फुर्फुरिन्छ ।
मायापुरभन्दा पनि सुन्दर पुर त गङ्गा नदीको किनारमा अवस्थित नवदीप रहेको र त्यही नवदीपको नक्कल गरेर यो मायापुर बनाएको कुरा खोकोनदाले मलाई बताउनुहुन्छ । म नवदीप हेर्ने उत्सुकता देखाउँछु । आज नितुको घरमा बहुभोज वा बङ्गाली प्रचलनमा केटापट्टकिाले आफन्तजनलाई दिने बुहारीले पकाएको भोजको निम्तो मान्न जानुपर्ने भएकोले नवदीप जान नपाइने र नवदीप घुम्न अन्य कुनै दिन लैजाने मनसाय प्रकट गर्नुहुन्छ उहाँले । नवदीप जान नपाउँदा मन खिन्न भए पनि कुनै दिन नवदीप हेर्ने इच्छालाई मनभरि सँगालेर म फूलहरू, दुवोहरू, पुतलीहरू र धुपीका रूखहरूसँग मितेरी साइनो गाँस्दै जान्छु ।
मायापुरको चिनो त लग्नै पर्यो नि ! हामी मूलद्वारबाट बाहिरिएपछि पसलतिर सामान किन्न थाल्छौँ । खोकोनदा जुटले बनेको आकर्षक झोला किन्नुहुन्छ र झोलाभरि हार्दिकता भरेर मायापुरको चिनोस्वरूप हामी सबै दिदीबहिनीलाई एक एकवटा उपहार दिनुहुन्छ । म उहाँप्रति कृतज्ञ हुन्छु र उहाँको हार्दिकतालाई झोलाबाट झिकेर हृदयभरि अटाउँछु ।
एकैछिन अघिसम्म रमाइरहेको मन अहिले खिन्न बन्छ । म मायापुरसँग छुट्टनिु पर्दाको पीडा अनुभूत गर्छु । मिलनपछि बिछोड त हुन्छ नै ! म उदास भावमा मायापुरतिर फर्केर हेर्छु । मायापुरले पनि मलाई टुलुटुलु हेरेर भनिरहेझैँ लाग्छ- छोडी जाँदा उदास नहुनु !
फेरि भेट्न आउनु है जुनू ।