हास्य-व्यङ्ग्य : मः मः ॐ श्री भैंसी प्रसाद

~कैलाश थापा /एस.के. सुवेदी~

ॐ तत्सत्, भैसी पुजाय नमोनम । भारत वर्षो नेपाल खण्डे भैंसी प्रसाद मः म । प्रजा-लोक-गणतन्त्र मन्त्र स्वाहा ! ॐ अहम् स्वार्थ नमाय नम, भैंसी प्रसाद मःम पिण्ड त्रिपनताम्, त्रिपनताम ।

श्री कान्तिपुरी सहरी क्षेत्राधिकार पेरिस डाँडा – कोटेश्वर क्षत्रै अखेडा आज्ञाकारी गणराज्याधिश संगठित जमात राज्यम् नाम घोसित माओल्याण्ड नमस्कार । इतिश्री बल्खुदरबार रातोघरका जमघट सदस्य अटाउने राज्यनाम लेनिनप्रान्त वा मार्क्स प्रादेशिक शरणम् । अथ ललितपुर क्षेत्राकारी निर्माणाधिन भवन काङग्रेसीराज गान्धीवादी जमात (राज्यम) गणराज्य गान्धीप्रदेश स्वागतः ।

ल अब मःम पिण्डो मुखमा हालौं र भैंसीको पुच्छरले आचमन गर्दै सभ्य अपसभ्य हुँदै हात जोडेर ह्याकुल्लो, कल्चौडो राजखानी  हेर्ने र ताक्ने । अनि गिरीजावादी जिन्दावाद र एक हौ, भन्दै नारा लगाउनेले जे गरे पनि राम्रै राम्रो मात्र । अरु र्सवसाधारण हात जोडेर  ॐ शान्ति शान्ति दुष्ट बिचार आत्मा गीरिजाओस् भन्दै प्रार्थना गर्ने ।

भैंसी पुजापछि पनि भैंसी नै हो । भैंसीको प्रसाद मः म, कान्तिपुरैको मात्र र्सवाधिक भोजन नभई अन्यत्र पनि त्यत्तिकै प्रख्यात छ । अझै पनि (भैंसी + प्रसाद + मम) = (भैंसी +प्रसाद + मम + दल) (भैंसी = प्रसाद + भैंसी) = (प्रसाद + मः म) यस्तो जोडजाडले भैंसी पुजाको भौतिकवादमा महत्त्व दर्शाउँछ । भैंसी पूजापछि तयार पारिने अनेकौं प्रकारहरु मध्ये राजखानी, हर्‍याकुल्ला, कल्चौंडो अनेकौं गण-अंगहरुको स्वाद आफ्नै ठाउँमा छन् । र पनि भैंसी प्रसाद मःम लगायत छोयला, कचिला, दायुकला भुटन, किमा आदि इत्यादीको स्वादले बिजुली पानीको कस्तो ओजनदार क्रान्ति होला ? त्यो त गोर्खाल्याण्ड जस्तै तर त्यस्तै गान्धीवादीहरुको राज्य गान्धीप्रदेश वा मार्क्सवादी भए मार्क्सप्रान्त र लेनिनवादीका लागि लेनिनगणराज्य तयार हुने रहेछन् । अनेकमा अर्को माओवादीको छुट्टै माओल्याण्ड-प्रदेश-प्रान्त अनेक भागमा भागबण्डाबाट प्रभावित वा तालिमप्राप्त भएका छम, त्यही गणराज्यमा शान्तिपूर्वक भजनकृतन गाएर दर्शन सिद्धान्त अनुसार आफ्नो परिचय दिन पाइने छन् ।

अमेरिकाबाट ओतप्रोत भएकालाई पनि बाराक ओवामावादी राज्य वा प्रान्त-प्रदेश निर्माण गराइदिन सकिनेछ । २१ औं शदाब्दीको सफलव्यक्ति जो वर्णाकार भएर पनि इराकका सद्दाम हुसेनलाई बली दिएर अफ्रिकी-एसिया मूल का जस्ता बाराक हुसेन ओवामा विश्वको शक्तिसम्पन्न मुलुकको राष्ट्रपति बनेका छन् । यता पनि उस्तै उस्तैको सक्कल नभए पनि नक्कलमा भैंसीपुजा भइरहेको र भैंसी प्रसाद मःम तयारी छ । किनकी आमुल परिवर्तनको बहानामा विभिन्न देशहरुको उदाहरण दिएर ६०१ जना सभासद जनप्रतिनिधिहरुले नपुगेर हरुवाहरुलाई राज्यसत्ता सुम्पदै विश्वकृतिमान अर्थात् नयाँ सिद्धान्तको सुरुआत भएको छ । आफू भित्ते राष्ट्रपति मै सिमित भए पनि राजखानीको स्वाद अर्कैले डकारेको सहँदै छटपटिनु पर्दो रहेछ ।

यहाँका प्रतिगामीहरुले गाइको पुजा गर्दै अहिलेसम्म भैंसीलाई जसरी राज्यशक्ति लगाएर उपेक्षित गरिदिए, त्यो मानवअधिकारको हनन भन्दा ठूलो पक्षपात थियो । अब हामिले आमूल परिवर्तन गरिदिएका छौं । आहाल बस्ने, नुहाई धुवाई चोखो हुने भैंसीलाई पाखा लगाई गाईपूजा अहिलेसम्म चलाई आएका थिए । भैंसीमाथि ठूलो अन्याय चलिरहेको हामीले बुझ्यौं । त्यसैले अनेक आन्दोलन क्रान्ति गर्दै भैंसीप्रसाद मः म प्रख्यात बनायौं । यो भैंसीको प्रसाद मः म बाट अनेक गण-खाद्य परिकारले अग्रगमन भएका हुन् । यस्तै हाम्रो दैनिक तन्त्र-मन्त्रको पुजापाठ अनुसार प्रजा-लोक-गण-जनतन्त्र मन्त्रले भारत वर्षे नेपालखण्डेमा अनेक राज्यबाट भैंसी प्रसाद मः म लगायतले चलिरहेछम् ।

आजसम्म भैंसीका सन्तानलाई यी सामन्तीहरुले जिउँदो छँदा दुध र मल अनी गाडा बयलगाडाको अग्रभागमा पारेर शोषण गरे । मातृत्वविहिन शिशुदेखिन बृद्धासम्मका भैंसी प्रसाद दुधको खुराकले तङ्ग्रिए । त्यही भैंसीका पाडापाडीले खान पाउनुपर्ने पहिलो अधिकार हरण गरेर भैंसी गोठालाहरुले जनताको हालतजस्तै बनाइदिएका थिए । अर्कोतर्फगाडा बयलगाडाको शक्तिस्रोत हुन् भन्ने श्रीकृष्णले अर्जुनलाई रथमा राखेर युद्धमैदानमा भिडाएको जस्तै खेतवारीमा जोताई आएका थिए । यता सहरबजारमा पनि दैनिक अग्रगमनको स्वरभाषाले कालोभैंसी बराबर भए पनि के के दर्शन सिद्धान्तका प्रखर विद्धान तयार भए । प्रभु वा मालिकको आज्ञा अनुसार चर्तिकला चलाउन सफल भएकै  हो । त्यसैलाई मौलिकता दिएर नागरिक समाज तयार भएका छन् । यी यस्ता सबैलाई भैंसी प्रसाद मः मले बल पुर्‍याई आएकै छ ।

हुन त यमराजको बहान भैंसी कतिसम्मको ताकतदार रहेछ । त्यो ०४६-६६ कै अवधी अर्थात दुई दशक पार हुँदासम्म प्रजा-लोक-गण-तन्त्र मन्त्र उच्चारणले गाइको पुच्छर समाई बैतरणी पार गरेको सबैले भोगेकै हो । जसरी सानातिना खोलानाला नदीमा मिसिएपछि आफ्नो परिचय गुमाउँछन् । त्यस्तै त्यस्तै तिनदलीय भैंसी प्रसाद मःम जस्तै भएको छ । दलिय स्वार्थ अन्तरगत नपर्ला र पनि पारिवारिक पृष्टभूमि आफ्नै ठाउँमा छन् । कोही तल्लोमा वडा अध्यक्ष वा बैंकको ऋण मिनाह गराउन लागेका होलान् । अरुकोही मन्त्री अझ सबैलाई भुलाएर मुख्यमन्त्री हुन घात प्रतिघात चलिरहेकै हो । कोही गर्भनर पद उछिट्याउन लालायित थिए त कोही अख्तियार दुरुपयोग गरे पनि कारवाही नहुने पद, आदि इत्यादीमा भैंसी पुजापछि भैंसी प्रसाद मम जस्तो भैंसीवादीहरु लागेका छन् । जहाँ भैंसीको पुच्छरले आचमन गरेपछि जस्तोसुकै पनि नास हुने । लेखा, अख्तियार पाखा लाग्ने रहेछन् ।

गणतान्त्रिक-लोकतन्त्रको आडमा अरुलाई छाडेर आफ्नो छोराछोरी, सम्पत्ती बचाउँदै लोक-परलोकको जिम्मा लगाउँदै बैतरणी पार गर्न जातीय राज्यविभाजन गरेर भैंसीको पुच्छर समाई बैतरणी पार गर्नेहरु तछाड मछाडदिनको उच्चगतिमा चलिरहेछ । जसरी भैंसी पुजा गरेर दशा-ग्रह शान्ति गर्दै, जो अशान्तिको जड छ, थियो, राज्यसत्ताको लागि त्यसैले अशान्ति मच्चाई रहेछ । उसैलाई शान्तिको नोबेल पुरस्कार दिलाउन सिफारिस गर्न पछि परेनन् । जसरी भैंसी जस्तै कालो अन्धकारमय २४ घण्टाको एकदिन भएको छ । १२ घण्टा त लोडसेडिङले अरु सबैलाई अक्सिजन सिलिण्डर चाहिने अर्थात् उमेरको हदले गर्दा मृतअवस्थामा पुगेको जस्तै बनाइदिएछम्  ।

अब हामी २१ सौं शताब्दीको महान् क्रान्तिकारी आन्दोलनकारी भएका छौं । साथमा वार्ताको लागि वार्ता र छलफल गर्न छलफल चलिरहेकै छन् । जनताले हराए पनि जनप्रनिधि हुन पाइने । सत्ताभत्ताको भागबण्डा लगाउँदै बन्द कोठामा आयातित मिष्ठानहरुले ताकत दिइरहेकै छ । साथमा भैंसी प्रसाद मःम सामेल हुने नै भै हाल्यो । यस्तैलाई मिलाउन उच्चस्तरीय षडयन्त्रको (संयन्त्र) व्यवस्था पनि भएकै छ । जति जनतालाई दुःख दिनसक्यो, सताउन सक्यो, त्यति नै योग्य हुन पाइने र नमरेसम्म सत्ताभत्ताको लागि योग्य पनि हुने । यस्तो महानकार्यको लागि नियम कानुन रितिरिवाज धर्म दर्शन सबैमा तिन दलीय राजनीति, त्यो पनि जातीयताको आधारमा चलिरहेछ । यस्तैमा पाउने र नपाउने बिच्चमा समर्थन विरोध चलिरहेकै छन् । विरोधीको आवाज विरोधमै सिमित नभई भैंसी प्रसाद मः म मा पुग्दा त्यतै बिलाउँछन् । पाएपछि पनि भागबण्डा लगाउनेहरुको गृहकार्य दैनिकी भएको छ । यता जनताहरु महंगी अभाव हत्याहिंसा अपहरण फिरौती त्यसमाथि सरकारी भ्रष्टाचार कमिशन तस्करी इत्यारीको राजनीति उद्योग सावित भएको छ । भैंसी प्रसाद मः म जस्तै मौलाएको छ । जति नै बधनियत बदमासी बदनामीनै बैधानिक भई लुट चलाउन छुट पाएकै छम् । यी सबै भैंसी पुजा पछि, त्यसैको पुच्छरले   शुद्ध  शान्ति पारिदिएको छ ।

अब भैंसीको पुच्छर समाएर आजको अवस्थामा पुग्दासम्म कालमोचन भएको छ । कस्को कति विल्लिवाँठ, धनसम्पत्ती स्वाहा पारियो ती सबैबाट मोक्ष मात्र होइन, भैंसी पुजापछि राजखानी, हर्‍याकुल्लो, कल्चौडोको लागि भयौं प्रतिगामी र सामन्तीहरुको एकै किल्लाबाट अवरोध थियो । हामी मिल्यौं र देशी विदेशी शक्ति समेत मिलाएर हरुवाहरु (जो जनताबाट तिरस्कृत तर दलगत हिंसाबले) र सञ्चार माध्यमलाई दुरुपयोग प्रयोग गर्दै सबैका सामु सामुहिक प्रदर्शन गरी सत्ताभत्ताको भावण्डा चलाउन सफल भएका छौं । जय होस् हाम्रो र साथै भैंसी प्रसाद मः मको गुणगान दैनिक चलिरहोस् । त्यसैको लागि जे गर्न गराउन तयार भएर लागेकाहरुलाई समेत धन्यवाद । हामीले जे बोल्छम्, जे गर्छम् यी सबै अग्रगामी र साथै क्रान्तिकारी हो । त्यो भन्दा परका सबै प्रतिगमी, सामन्ती देशी विदेशी दलाल हुन् । साम्राज्यवादी, विस्तारवादीका भरौटे मात्र हुन् । त्यसैले सालिक तोडफोड र तिनका नाम निशाना मेटाउन एक भई जातिय आधारमा लागेका छौ । आफ्नो स्वार्थ पूर्ती गर्ने र अरुलाई भाँडमा जाक्न एकभै लागम् ।

(स्रोत : Nepalplus)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in हास्य - व्यङ्ग्य and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.