~कृष्ण शाह ‘यात्री’~
–> रङ्गमञ्चको दाँयाखण्डमा एउटा अग्लो ‘प्लेटफर्म’ राखिएको हुन्छ जहाँ मानिसहरू सजिलै चढ्न र ओर्लन सक्छन् ।
–> रङ्गमञ्चको बाँयाखण्डमा पनि त्यत्तिकै अग्लो अर्को ‘प्लेटफर्म’ राखिएको हुन्छ जहाँ मानिसहरू सजिलै चढ्न र ओर्लन सक्दैनन् ।
–> रङ्गमञ्चको मध्यमागमा एउटा ठूलो प्रवेशद्वार देखिन्छ जहाँ ठूला अक्षरमा ‘अग्नि परीक्षा’ लेखिएको हुन्छ ।
–> रङ्गमञ्चको अग्रभागमा यज्ञ, होम, पूजा आदि सकेर बाँकी रहेका विभिन्न सामग्रीहरू छरिएका छन् ।
–> पर्दा खुल्दा सुनसान देखिने त्यो ठाउँमा विस्तारै नीलो धुँवा मडारिन थाल्छ । नेपथ्यमा विभिन्न कोलाज ध्वनीहरू सुनिन थाल्छ ।
–> त्यसैबेला बाक्लो कालो कम्बल अनुहार अलिअलि देखिने गरी गम्लङ्ग ओढेको एकजना पुरुष पात्र अत्तालिँदै आउँछ । एक ठाउँमा राकिएर चारैतिर हेर्छ र मध्य भागको प्रवेशद्वार पछाडि गएर लुक्छ ।
–> नेपथ्यको ध्वनी अझै ठूलो चर्को अवाजमा बज्न थाल्छ । कोलाज ध्वनीबीच नै रामायणको झझल्को दिने धुनहरू क्रमशः सुनिन थाल्छ । मञ्चको दाँयाबाट सीताको प्रवेश हुन्छ । उनी पनि अत्तालिएकी हुन्छिन् । चारैतिर हेरेर उनी दाँया ‘प्लेट फर्म’ पछाडि लुक्छिन् ।
–> केही समय पश्चात् मञ्चको बाँयाबाट राधाको प्रवेश हुन्छ । राधा पनि चारैतिर हेर्दै मञ्चको दायाँ ‘प्लेट फर्म’ पछाडि गएर लुक्छिन् ।
–> केही मानिसहरू हतारहतार ओहोर दोहोर गरिरहेको देखिन्छ ।
–> अचानक लुकिरहेको ठाउँबाट सीता बाहिर निस्कन्छिन् र उद्घोष गर्न थाल्छिन् ।
सीता : (चारैतिर हेर्छिन् त्यो ठाउँमा सम्बोधन गर्छिन् ) हे ! आदिम समयका कुरुप अवशेषहरू ! बन्दी आवाजका जीर्ण अस्थिपञ्जरहरू ! आदीम समयका कुरुप अवशेषहरु ! बन्दी आवाजका जिर्ण अस्थिपञ्जरहरु ! हे ! युगीन दस्तावेजहरु ! चोइटिएका आस्थाका साङ्लाहरू ! (चारैतिर हेर्छिन् र चर्को स्वरमा ) म रामायणकी त्यही सीता हुँ जसले आफ्नो पवित्रताको लागि अग्नी परिक्षा दिनु परेको थिउयो । म त्यही सीता हु जसले लङ्काको ऐश आरामलाई लत्याएर केवल आफ्नो पतिको प्रतिक्षामा कठोर रातदिन बिताएकी थिएँ । म त्यही सीता हुँ । … (चारैतिर हेर्दै) मैले थाहा पाएँ । मैले अन्तिम पटक यो ठाउँमा नै अग्नी परिक्षा दिएकी थिएँ । मैले मेरो अग्नी परिक्षा यसै ठाउँमा दिएकी थिएँ । बर्षौं पहिले जुनबेला म रामायणकी ‘सीता’ थिएँ । (रङ्गमञ्चको बाँयातिरको अग्लो स्थानमा गई उभिन्छिन्) यो स्थानलाई पनि म राम्रोसँग चिन्छु । अन्तिम पटक मेरो र रामको भेट पनि यही भएको थियो । कत्रो विश्वास लागेको थियो मलाई । बर्षौंको विछोडपछि मेरो र रामको भेट भएको थियो । तर त्यो खुशीको पल केही क्षण मात्र अनुभव गर्न पाएँ मैले । जब रामले ममाथी नै शंका गरे र मेरोचरित्रमाथी नै शंका गरे अनि मेरो सर्वाङ्ग नै चिसो भयो । मेरो शरीर नै भत्भती पोल्न थाल्यो । मलाई ठूलो औडाहा भयो । अनाहकमा मेरो नारीअस्मितामाथी त्यसरी लाञ्छना लगाईएको देखेर मेलाई सीता हुनु र नहुनुको कुनै अर्थ लागेन । अनि मैले चारैतिर आगो मात्र देखें । केवल आगो जहाँ आफूलाई विसाएर मात्र म आफूलाई चोखो हुनुको प्रमाण दिन सक्थें । त्यसपछि दन्दनी बलीरहेको आगोमा मैले हाम फालें । (अगाडि आउँदै) तर आज मलाई लागिरहेछ । मैले जे गरें त्यो मेरो मुर्खता थियो । मैले त्यसरी हाम फाल्नु त्यो युगको दास मनोवृत्ति थियो । एएटा पुरुषको शंका मेट्न त्यसरी आफूलाई मैले जलाउनु के ठिक थियो ? मैले यो प्रश्नको जवाफ आजसम्म पनि पाएकी छैन । मेरो के गल्ती थियो ? मैले यसको जवाफ आजसम्म पनि पाएकी छैन । म त्यही वाफको खोजीमाा छु । मेरो सोझोपनमाथी शंका गर्ने रामको खोजीमा छु ।
–> रङ्गमञ्चको पछाडि अघिदेखि लुकिरहेकी राधा विस्तारै बाहिर निस्कन्छिन् ।
–> उनी सीतालाई एकोहोरो हेर्छिन् र अगाडि आउँछिन् ।
राधा ः के तिमी साँच्चिकै रामको खोजीमा छौ ?
सीता ः (अचम्म मान्दै) हो म रामको खोजीमा छु । किन विश्वास लागेन ?
राधा ः कुरा विश्वास र अविश्वासको होईन ? कुरा वर्तमान र विगतको हो । तिमी कुन समयको रामको खोजीमा छौ ?
सीता ः म रामको खोजीमा छु । केवल रामको खोजीमा । सीताहरुलाई अनाहकमा अग्नी परिक्षा लिने रामको खोजीमा छु । सुपर्णखाहरुको नाक काट्ने रामको खोजीमा छु । के मलाई तिमी रामको ठेगाना दिन सक्छौ ?
राधा ः यो कस्तो प्रश्न गर्दैछौ तिमी ? तिमी रामलाई जहाँ पनि भेट्न सक्छौ अवशेषका रुपमा । ह्वाईटहाउसदेखि दरबारसम्म । सडकदेखि जङ्गलसम्म नै तिमीले रामका अवशेषहरु भेट्न सक्छौं ।
सीता ः म रामको खोजीमा छु । कुनै रावणको होईन ।
राधा ः त्यसोभए तिमी रामलाई भेट्न सक्दैनौ ।
सीता ः किन ? किन सक्दिन ?
राधा ः किनकी अहिले रामहरु आवरण मात्र रामको लाउँछन् । वास्तवमा उनीहरुको मन, मष्तिस्क, आत्मा सबै रावणमय हुन्छ । त्यसैले तिमी फेरी एक पटक राम्रोसँग सोच । के तिमी अझै पनि रामकै खोजीमा छौ ?
सीता ः (रिसाउँदै) हो । हो । म कतिचोटी भनूँ ? म रामकै खोजीमा छु भनेर । म रामको त्यो अस्तित्वलाई जसरी पनि भेटेरै छाड्छु र मेरो जवाफ खोज्छु ।
राधा ः तिमी कुन अस्तित्वको कुरा गर्दैछौ सीता ? के रामहरुको अस्तित्व पहिले र अहिले फेरिएको छ र ? म त भन्छु त्यो कहिल्यै फेरिएन । परम्परागत नायकहरुको अस्तित्व कहिल्यै फेरिएन । नायकले जस्तो नराम्रो काम गरेपनि नायक भइरहने परम्परा कहिल्यै फेरिएन ।
सीता ः तिमी यी सब कुराहरु यत्तिका आत्मविश्वासका साथ कसरी भन्न सक्छौ ? तिमी को हौ र ?
राधा ः म को हुँ भन्ने कुरा थाहा पाएर पनि के गर्छौ ?
सीता ः किन ? तिमीले मेरो बारेमा यतिका कुरा जानिसकेपछि तिम्रो बारेमा मैले जान्न हुदैन भन्ने छ र ?
राधा ः त्यसो भए सुन । म राधा हुँ ।
सीता ः राधा ? को राधा ?
राधा ः म त्यही राधा हुँ कृष्णकी प्यारी राधा । म त्यही राधा हुँ जसको अतितमा एक सुन्दरी नारी र कृष्णकी अधाङ्गीनि बाहेक अरु केही अस्तित्व बनाइएन ।
सीता ः त्यसो भए तिमी पनि आफ्नो कृष्णसँग सन्तुष्ट थिएनौ ? के यही भन्न चाहन्छौ ?
राधा ः सीता ! कुरा जसरी भनेपनि एउटै हो । तिमी रामको खोजीमा छौं आफ्ना प्रश्नहरुको जवाफ माग्नका लागि । म कृृष्णको खोजीमा छु ।
–> त्यसैबेला अत्याधुुनिक पहिरनमा एक जना युवती मोनिकाको प्रवेश हुन्छ ।
–> उनी ‘क्याटवाक’ गर्दै आउँछिन् ।
–> सीता र राधा युवती मोनिकालाई देखेर अचम्म मानेर हेर्न थाल्छन् । मोनिका उनीहरुलाई देखेर राकिन्छ ।
मोनिका ः हाई !
–> सीता र राधा बोल्दिनन् ।
मोनिका ः किन ? के भयो ? किन नबोलेको तिमीहरु ?
राधा ः हामी किन बोल्ने तिमीसँग ?
मोनिका ः अरे ! कस्तो कुरा गरेको अब तिमी हामी सबैले एउटै ‘प्लेटफर्म’मा हुन लागेको त्यत्रो विशाल ‘फेशन कन्टेस्ट’मा भाग लिन लाग्दैछौं । अब त एउटै काममा भएपछि चिनजान, बोलचाल त हुनै प¥यो नि । हैन र ?
सीता ः हैन के कुरा गरेको ? एउटै प्लेटफर्म ? फेशन कन्टेस्ट ? मैले त केही पनि बुझिन ।
राधा ः कस्तो कुरा गरेको मैले पनि बुझिन ।
मोनिका ः ल ल । मसँग धेरै ठट्टा गर्नु पर्दैन । मलाई थाहा छैन र ? तिमीहरु पनि ‘फेशन कन्टेस्ट’मा भाग लिन आएको भन्ने कुरा ? (राधा र सीताको पहिरन हेर्दै) बरु भन न । तिमीहरुले लगाएका यी ‘ड्रेस’ कुन चाही ‘सिक्वेन्स’ का लागि हो ? जे होस् ! तिमीहरु यो ‘ओल्ड फेशन’मा पनि राम्री देखिएकी छ्यौ ।
राधा ः हत्तेरी ! कस्तो नबुझभिने कुरा गरेको तिमीले भन्न खोजको के हो ? हामी कुनै ‘फेशन शो’मा भाग लिन जान लागेका होइनौ ।
मोनिका ः अनि त्यसो भए यो युगमा पनि यसरी ठाँडिएर ‘ओल्ड फेशन’को ड्रेस लगाएका के तिमीहरु रामायणकी सीता वा भगवान कृष्णकी राधा हौ कि क्या हो ?
राधा ः हो । तिमीले बल्ल हामीलाई चिन्यौ ।
सीता ः हो । म रामकी सीता नै हुँ ।
राधा ः अनि म कृण्णकी राधा ।
मोनिका ः (अचम्म मान्दै) आर यु म्याड ? के तिमीहरु कतै खुस्किएका त छौनौ ? कि मलाई मुर्ख बनाउँदैछौ ?
राधा ः होेइन । हामी जे भन्दैछौं । त्यो साँचो हो । बरु तिम्रो बारेमा हामीले केही थाहा पाइसक्यौ । तिमीलाई पनि हामीे सचेत गराउनु पर्ला । तिमी आफ्नो पुरा परिचय देऊ त ।
सीता ः किन अचम्म मानेकी ? तिमी को हौ ? तिम्रो नाम र काम के हो खुलस्त भन न ।
मोनिका ः (अलमलिदैं) म ? म मोनिका । अहिलेकी हट मोडल ।
सीता ः मोडल ? ल तिमीले त झन धेरै कुरा जान्न आवश्यक छ ।
मोनिका ः कस्ता कुरा ?
सीता ः के तिम्रा आयोजकहरुले तिमीलाई कुनै सामानको विज्ञापन गर्नाका निम्ति तिमीलाई प्रयोग गर्छन् ?
मोनिका ः हो गर्छन् । तर त्यो बापत म आफ्नो पारिश्रमिक लिन्छु । सित्तैमा गर्दिन ।
सीता ः के उनीहरुले तिम्रो आवरण र विचारलाई उत्तीक्कै सम्मान गर्छन् ?
मोनिका ः कस्तो कुुरा गरेको ? उनीहरुलाई मेरो विचारसँग के सरोकार ? उनीहरु त हाम्रो सुन्दर आवरणलाई सम्मान गर्छन् ।
राधा ः हो ! तिम्रो यही कुरामा म सहमत छैन । सुन तिमी अज जसरी प्रयोग भइरहेछौ । के तिम्रो उमेर ढल्किएपछि पनि उनीहरुले तिमीलाई यसरी नै सम्मान गरीरहनेछन् त ?
मोनिका ः त्यो मलाई थाहा छैन ।
सीता ः हो । त्यसैले त भनेको तिमी पहिला आफ्नो अस्तिवलाई चिन । आफ्नो मुल्य र मान्यतालाइ चिन । पहिला आफ्ना अनुत्तरित प्रश्नहरुको उत्तर खोज । त्यसपछि सारा तिम्रा विचारहरु आफै स्पष्ट हुनेछन् ।
मोनिका ः के तिमीले भनेका कुराहरु सही हो त ?
सीता ः हो । तिमीले आफ्ना धेरै प्रश्नहरुको उत्तर खोज । नभए तिमी पनि यो समयकी सीताहरु र राधाहरुमा परिणत हुनेछौं ।
मोनिका ः त्यसोभए अब म के गरौं ? मैले त यी सबै कुरा साच्दै नसोची एउटा नुहाउने साबुनको विज्ञापनको लागि पाँच बर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर पनि गरीसकें ।
राधा ः त्यो भए तिम्रा कार्यक्रमका आयोजकहरु यो विषयमा पहिला वार्ता गर्नु पर्छ ।
सीता ः आफ्ना प्रश्नहरुको जवाफ माग्नुपर्छ ।
मोनिका ः के उनीहरुले जवाफ देलान् त ?
सीता ः किन दिदैनन् । हिड तिमीसँगै हामी गइदिन्छौ कुरा गर्न ।
राधा ः हो, हो जाऊ हिड ।
मोनिका ः हुन्छ । त्यसोभए जाऊ ।
–> तीनै जना बाहिररिन्छन् ।
–> मञ्चको मध्य भागको प्रवेश द्वारपछाडि लुकेर यतिञ्जेल सबै कुरा सुनिरहेका पुरुष पात्र बाहिर निस्कन्छ ।
–> ऊ तीनै जना गएतिर हेर्छ । अगाडि आएर थचक्क बस्छ ।
पुरुष ः (लामो स्वास फेर्दैै) गए । फेरि सबै गए । बल्ल ढुक्क भयो ।
–> त्यसैबेला नेपथ्यबाट आवाज आउँछ ।
आवाज ः अहँ ! तँ भ्रममा छस् । ती नारीहरु अझै गएका छैनन् ।
पुरुष ः (अत्तालिएर उठ्दै) को ? को हो बोल्ने ?
आवाज ः (जोडले हास्दै) हा हा हा । तिमी मलाई देख्न सक्दैनौ । केवल सुन्न मात्र सक्छौ ।
पुरुष ः को ? को हौ तिमी ?
आवाज ः म ? म तिम्रै अतित हुँ ।
पुरुष ः मेरो अतित ? कुन अतितको कुरा गर्दैछौं ?
आवाज ः कुन अतित जान्न चाहन्छौै ? यहुदी युवतीको प्रेममा पागल भएर त्यो प्रेम पाउन नसकेपछि लाखौं यहुदीको हत्या गर्ने हिटलरको अतितको रुप जान्न चाहन्छौ ? कि सयौं रानीहरु बनाएर आफ्नो मृत्य पश्चात सबैलाई बलिरहेको आगोमा सतीजान बाध्य पार्ने महापुरुष जङ्गबहादुरको अतितको रुप जान्न चाहर्नै ? एकोहोरो प्रेममा पागल भएकी सुपर्णखाको नाक काट्न नहिच्किचाउने र आफ्नो निर्दाेष पत्नी सीतालाई बलीरहेको आगोमा अग्नी परिक्षा लिने रामका अतीत जान्न चाहन्छौ ? भन कुन अतित जान्न चाहन्छौ ?
पुरुष ः अहँ । म आफ्नो कुनै अतित पनि जान्न चाहन्न । मलाई आफ्नो अतितसँग कुनै मतलव छैन । कुनै लिनुदिनु छैन । म आफ्नो वर्तमानमा मात्र रमाउन जान्ने पुरुष हुँ ।
आवाज ः गलत । वाहियात कुरा नगर । तिमी अहिले पनि आफ्ना अतितका पात्रहरुबाट लखेटिएर भाग्दै हिडिरहेका छौ । र, पनि तिमी आफ्नो अतितसँग कुनै मतलव नभएको कुरा गर्छौ ? यो सरासर वाहियात कुरा भयो ।
पुरुष ः आखिर तिमी के चाहन्छौ ? म जेसुकै गरु ? भागु कि लुकु ? बाँचु कि मरु ? तिमीलाई के मतलव ? तिमी यसरी मलाई पछ्याउने काम नगर ।
आवाज ः हा हा हा । कस्तो अचम्मको कुरा गर्छौ । आफ्नो अतितले नपछ्याए तिमीलाई के तिम्रो भविष्यले पछ्याउँछ त ?
पुरुष ः तिमी जे सुकै भन । म तिम्रो कुरा सुन्दिन । (दुवै कान थुन्छ)
आवाज ः तिमीले आवाज सुन्नै पर्छ । सुन तिम्रा कारणले नै महाभारत जन्मिन्छन् । तिम्रै कारणले नै विश्वयुद्धहरुको सुत्रपात हुन्छ । तिम्रै कारणले ‘क्लियोपेट्रा’हरु अवमुल्यन गराइन्छन् ।
पुरुष ः भो मलाई नसुनाऊ । म सुन्न सक्दिन ।
आवाज ः ऊ सुन । तिम्रा विरुद्धमा चर्का नाराहरु पनि नजिक नजिक आउँदैछन् ।
नारा १ ः अतितका नायकहरु !
समूह ः मुर्दावाद !
नारा २ ः वर्तमानका खलनायकहरु !
समूह ः मुर्दावाद !
नारा ३ ः उत्तरआधुनिक नायकत्व !
समूह ः मुर्दावाद !
नारा ४ ः परम्परावादी खलनायकत्व !
समूह ः मुर्दावाद !
नारा ५ ः कथित महापुरुष !
समूह ः मुर्दावाद !
नारा ६ ः कथित प्रायोजकहरु !
समूह ः मुर्दावाद !
नारा ७ ः अग्निपरिक्षका सीताहरु !
समूह ः जिन्दावाद !
–> नारा सुनेर पुरुष पात्र अत्तालिन्छ ।
–> ऊ अत्तालिदै वाँयातिरको अग्लो काठको प्लेटफर्ममाथी चढ्छ ।
–> नारा झन् झन् चर्को हुदै जान्छ ।
–> त्यसैबेला एक हुल मानिसहरु सहित राधा, सीता र मोनिकाहरुको मञ्चमा प्रवेश हुन्छ ।
–> उनीहरुले प्लेटफर्म माथीको मान्छेलाई चारैतिरबाट घेर्छन् ।
मोनिका ः यही हो, मलाई ललाइ फकाइ गरेर सम्झौता पत्रमा हस्ताक्षर गन लगाउने ।
पुरुष ः (फकाउने स्वरमा) मोनिका डार्लिङ ! तिमीलाई मैले त्यत्तिका सहयोग गरेको थिएँ ।
मोनिका ः (व्यङ्ग्यात्मक स्वरमा) आफ्नो स्वार्थ सिद्ध गर्नका निम्ति ।
पुरुष ः (फकाउने स्वरमा) मोनिका ! तिमीलाई मैले त्यत्तिका राम्रो अवसर दिएको थिएँ ।
मोनिका ः (व्यङ्ग्यात्मक स्वरमा) आफ्नो सामान बिकाउनका लागि ।
पुरुष ः (फकाउने स्वरमा) मोनिका ! तिमीलाइ मैले धेरै ठाउँमा लगेको थिएँ ।
मोनिका ः (व्यङ्ग्यात्मक स्वरमा) आफ्नो खेलौना बनाउनका लागि ।
सीता ः (रिसाउदै) यसलाई त्यसै छाड्न हुदैन । यसलाई कठोरभन्दा कठोर सजाय दिनु पर्छ । यो त्यहि समयको रामको नयाँ संस्करण हो ।
पुरुष ः (फकाउने स्वरमा) सीता ! त्यसो नभन । तिमीलाई मैले पतिव्रताको पहिचान दिलाएको छु ।
सीता ः (व्यङ्ग्यात्मक स्वरमा) बलीरहेको आगोमा हाम्फाल्न लगाएर ।
पुरुष ः (फकाउने स्वरमा) सीता ! मैले तिमीलाई सधैं साथ दिएको छु ।
सीता ः (व्यङ्ग्यात्मक स्वरमा) नाम मात्रको ।
पुरुष ः (फकाउने स्वरमा) सीता ! मैले तिमीलाई सधैं मनमा राखेको छु ।
सीता ः (व्यङ्ग्यात्मक स्वरमा) एक कैदी सरह ।
पुरुष ः के त्यसोभए । तिमीहरु मलाई यहाँ बाट जान दिदैनौ त ?
सीता ः हामीले धेरै परिक्षाहरु दिइसक्यौं ।
आवाज १ ः कहिले अस्मिताको ।
आवाज २ ः कहिले निर्दोषीताको ।
आवाज ३ ः कहिले स्वाभिमानको ।
आवाज ४ ः कहिले अस्तित्वको ।
राधा ः तर हामीले के पायौं ?
सीता ः सधैं तिरस्कार हुनुको पीडा ।
मोनिका ः सधैं खेलौना बनिनुका बाध्यता ।
राधा ः सधै अरुको खुशीमा रमाउनु पर्ने दासता ।
सीता ः त्यसैले यो पटक हाम्रो सट्टामा तिमीले परिक्षा दिनु पर्नेछ । तिमी नायकहरुको अभिमानमा पिल्सिएका हामी नायिकहरु अब नायक भनाउँदाहरुको परिक्षा लिनेछौं ।
सबै जना ः हो ! अग्नी परिक्षा लिनेछौं ।
–> सबैले चारैतिरबाट पुरुष पात्रलाई घेर्छन् ।
–> उसलाई अग्नि परिक्षा लेखिएको द्वारतिर लगिन्छ ।
नेपथ्यमा विभिन्न कोलाजध्वनी सुनिन थाल्छ ।
पर्दा खस्छ ।
***
Email : krishnayatri@gmail.com
www.theatrenepal.com
(स्रोत : )