अमेरिकी बाल-लोककथा : रिप भान विंकल

अमेरिकाको क्याट्सकिल पहाडको फेँदीमा एउटा गाउँ थियो । त्यो गाउँमा रिप भान विंकल नाम भएको एक जना मानिस बस्थे । उनी निक्कै सोझा थिए । आफ्ना छिमेकीहरूलाई सघाउन उनी सँधै अघि सर्थे । साँच्चै भन्ने हो भने उनी आफ्नो काम छाडेर जहिले पनि अरुकै काम गरिरहेका हुन्थे ।

उनको यस्तो बानीले उनकी पत्नी साह्रै दिक्क थिइन् । उनी दिनभरि कचकच गरिरहन्थिन् । “रिप, आज तिमी श्रीमती ग्रिनको भित्ता लिप्न व्यस्त छैनौ भने गोठमा मुसाको प्वाल टाल । छिमेकी किसानको घुर डढाल्नुको सट्टा कुखुरालाई चारो ख्वाऊ अनि गाईको दूध दुह । आर्ने ज्याकबको पर्खाल बनाउन छाड । बारीमा गएर आलु गोड । गाडा सफा पार्ने काम छ । ढल सफा गर्नुछ । आगन बढार्नुछ . . . ।” सँधैजसो यस्तै कुरा हुन्थ्यो ।

पत्नीको कचकच सुन्नु पर्ला भनेर रिप वान विंकल प्रायः काँधमा बन्दुक बोकेर आफ्नो इमानदार कुकुर उल्फलाई सँगै लिएर पत्नीसँग एक बचन पनि नबोली घरबाट निस्कन्थे । पत्नीको झिनो स्वर समेत नसुनिने ठाउँमा उनी पुग्न चाहन्थे । उनी पहाड, खोलाको तिरैतिर र सल्लाघारीमा घुम्थे जहाँ चराहरूको चिरबिर, पात सुसाएको र उसको कुकुर थाकेर स्याँस्याँ गरेको मात्रै सुनिन्थ्यो । घर फर्केपछि यसको बदलामा घेरै कुरा सुन्नु पर्नेछ भन्ने उनलाई थाहा थियो । तर दिनभरिको शान्तिपूर्ण र घमाइलो दिनको बदलामा यो उनका लागि कुनै ठूलो कुरा थिएन ।

एक दिन यस्तै शान्त एकान्त वातावरणमा हराएको बेला रिप वान विंकल रुखको सिँयालमुनि आराम गरिरहेको बेलामा उनले कसैले बोलाएको सुने । “रिप वान विंकल ! रिप वान विंकल ! रिप वान विंकल !” भनेर कसैले चिच्याएर बोलाइरहेको थियो ।
उल्फ कुकुरले कान चनाखो पार्दै आवाज आएको दिशातिर हेर्दै सुस्तरी भुक्यो । रिपले पनि त्यतातिर हेर्यो । हरिया घाँसहरूको माझमा उनले निहुरिएको हरियो प्वाँख देख्यो । त्यो प्वाँख चहकिलो रातो टोपीमा घुसारिएको थियो । अनि त्यो टोपी लामो दाह्री पालेको मानिसको टाउकोमाथि थियो । त्यो मानिस रिपले लाएको बुट जुत्ताभन्दा अग्लो थिएन । त्यसले काठले बनेको जाँड (बियर) राख्ने गोलो भाँडो, ब्यारललाई बोकेर लैजाने कोशिस गर्दै थियो ।

त्यो बाउन्नेले रिपलाई बोलाउँदै भन्यो, “रिप वान विंकल ! रिप वान विंकल ! रिप वान विंकल ! यो ब्यारेलको भारीले म च्यापिन लागेँ । तिमी मलाई मदत गर्न सक्छौ कि !”
रिपलाई अरुले अह्राएको काम गर्ने बानी परिसकेको थियो । बाउन्नेको कुरा सुन्ने बित्तिकै उसलाई मदत गर्न उनी तयार भए ।

ब्यारल गह्रुँगो थियो । रिपले एकातिरबाट उचालेको देखेर बाउन्नेले लामो सासा फेर्दै भन्यो, “बेस गर्यौ । अब हामी माथितिर लागौँ !” यसरी रिपले बाउन्नेलाई आफ्ना बुटले कुल्चनबाट जोगाउँदै दुईतिर दुई जनाले उचालेर पहाडको उकालो चढ्न थाले ।
यसरी एक घण्टाभन्दा धेरै उकालो हिँडेपछि बाउन्नेले रिपलाई छङछङ गर्दै झरिरहेको छाँगोमा पुर्यायो । छाँगोको पछाडि गोप्य बाटो थियो । त्यो बाटो भएर उनीहरू ठूलो गुफाभित्र पुगे ।

गुफाभित्र धेरै बाउन्नेहरू थिए । जताततै बाउन्नेहरू यताउता गरिरहेका थिए । केही बाउन्नेहरूले भोज ख्वाउनेहरूले लाउने एप्रोन लाएका थिए । उनीहरूले रिपले ल्याएकाजस्ता ब्यारलबाट अग्लाअग्ला मगहरूमा बियर भर्दै थिए । केही बाउन्नेहरू नाइनपिन भनिने खेल खेलिरहेका थिए । उनीहरू खेलमा रमाउँदै कराइरहेका थिए । धेरै बाउन्नेहरू बियर खाएर मस्त भै बियर खाएको मग आपसमा ठोक्काउँदै त्यसैको सुरमा ठूलोठूलो स्वरले गाइरहेका थिए ।

“कुर्सी तानेर बस ।” रिपको नयाँ साथीले रिपलाई भन्यो र मगभरि बियर राखेर उसलाई खान दियो । “उकालोमा भारी बोक्दा तिमी थाक्यौ होला । तीर्खा पनि लाग्यो होला । दिल खोलेर बियर खाऊ ।” उसले भन्यो ।

“ओहो यति धेरै बियर कसरी खाने !” भन्दै छक्क परेको रिप वान विंकलले बियरको ठूलो घुटको निल्दै भने । “जे होस् । यो त साह्रै मिठो रहेछ !” उनले ओँठ चाट्दै भने र फेरि आफ्नो मग बियरले भरे । कुनै पनि बाउन्नेले उनलाई वास्ता गरेन । अनि रिपले बाउन्नेहरूले नाइनपिन खेल प्रतियोगिता खेलिरहेको हेर्न थाले ।

“दिउँसोको समय बिताउने यो सबैभन्दा रमाइलो काइदा रहेछ !” उनले अर्को मग बियर थप्दै मनमनै भने । उनले थपीथपी बियर खान थाले । उनलाई आफूले कति रक्सी खाएँ भन्ने होसै भएन । उनी नजिकैको ठूलो ढुंगामाथि पल्टे र भुसुक्क निदाए ।

रिप जाग्दा बाउन्नेहरू गइसकेका थिए । गुफा रित्तो थियो । उनले हाई काढ्दै सँगै सुतेको उल्फलाई बोलाए । ती दुबै जागे र जिउ तन्काए । उनीहरू हतारहतार गुफाबाहिर निस्के, डाँडा ओर्ले र घरतिर लागे ।

घरको आगनमा पुग्ने बेलामा रिपले उल्फलाई भने, “एक छिन पर्ख । मेरी पत्नी अहिले आकासपाताल उचाल्ने गरी कराउन थाल्नेछिन् ।” उनले ढोका ठेल्ने हातो समातेर बिस्तारै ढोकालाई घचेटेर खेल्न खोजे । तर सजिलोसँग ढोका खुलेन । रिपले अलि जोड लगाए । तैपनि खुलेन । उनले ढोकामा साँचो लाएको अडकल गरे । तर उनकी पत्नीले कहिल्यै पनि ढोकामा साँचो लाउन्नथिन् ।

त्यही बेला घरको मूलढोका खुल्यो । ढोकाबाट रिसले चूर भएकी महिला उभिएकी थिइन् । “को हौ तिमी ?” ती महिला चिच्याइन् ।

ती महिला रिपकी पत्नी थिइनन् । यसैले उनले भने, “तिमी मेरो घरको ढोकामा के गरिरहेकी छ्यौ ?” ती महिलालाई रिपले पहिले कहिल्यै देखेका थिएनन् ।

“तिमी को हौ ? मेरो घरमा के गर्दैछ्यौ ?” रिपले आत्तिँदै सोधे ।

“के रे ? तिम्रो घर रे ? म यो घरमा बस्न थालेको उन्निस वर्षन्दा धेरै भयो !” महिलाले रिसाउँदै भनिन् ।

रिपले आफ्नो वरिपरि र घरको बरण्डा अनि आगनमा हेरे । उनले टाउको तन्काएर हेरे । ती महिलाको कुरा ठिक थियो । त्यो घर उनको थिएन । त्यो घर उनको घरजस्तै थियो । तर घरका झ्यालमा राखिएका पर्दाहरू बेग्लै थिए । आगनमा राखिएका टेबुल कुर्सी पनि फरक थिए । गोठअगाडि राखिएको घोडाले तान्ने गाडी पनि पनि उनको थिएन ।
“तर, … म, … कसरी …” रिप भकभकाउन थाले । “श्रीमती वान विंकल कहाँ छिन् त ?”
“श्रीमती वान विंकल ?” छक्क परेकी ती महिलाले ट्वाल्ल परेर हेरीरही । “उनी त बीस वर्षअघि नै यो गाउँ छाडेर गइन् । घुम्न गएको उनको लोग्ने हराएपछि उनी यहाँ बस्नसकिनन् । अब तिमी यहाँबाट गइहाल, नत्र प्रहरीलाई बोलाउनु पर्ला ।”

“बीस वर्ष!” रिप वान विंकल छक्कै पर्यो । उनले आफ्नो लामो दाह्री कन्याउन थाले । दाह्रीमा हात पुग्ने बित्तिकै रिपको ध्यान दाह्रीतिर गयो । उनको दाह्री बढेर घुँडासम्म पुगेको रहेछ । ती महिलाको कुरा साँचो हुनुपर्छ । म त बीस वर्षसम्म निदाएछु !

पुरानो कुरा सम्झना आउनेबित्तिकै रिपको जिउ फतक्क गल्यो । उनी काम्न थाले । उनले नजिकै उभिएको उल्फलाई ढाडस दिँदै थपथपाए । अनि उनले आफ्नो अनुहार माथितिर फर्काउँदै अलिकति मुस्कुराए । उनले अरुले नबुझ्ने गरी भने, “उल्फ, कस्तो दिन आयो ! अब कत्ति पनि कचकच सुन्नै पर्दैन ।”

यति भन्दै रिप त्यहाँबाट बाहिर निस्के र मुखले रमाइलोसँग सिठी बजाउँदै सडकको अर्को छेऊमा पुगे । तर रक्सी भट्टी भने पहिले जहाँ थियो अहिले पनि त्यहीँ रहेछ । उनी भट्टीभित्र पसे । त्यहाँ भएका मानिसहरू उनको कथा सुनेर निक्कै रमाए । त्यस दिनदेखि उनलाई जाँड खान एक पैसा पनि खर्च गर्नु परेन ।

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा, लोककथा / दन्त्यकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.