लघुकथा : मदिरा निषेध

~कुसुम ज्ञवाली~

“भोकै बस्न परेको भा बरु बसिन्थो। आज एक थोपो मुखाँ परेको भा, गाईको मासु खाने। ए काली ए गीलास भा यसो घाँटी भिजाम् त ” सन्तरामको मदिराको गहीरो तलतल बोल्यो।
“क्यार्नु साइलादाई ! स्कुलको फिस तिर्न भनेर पारेको, बेच्नै पाइन्न रक्सी भन्चन् काम्रेटहुरु . पार्नेलाइ नी, खानेलाइ नी र्कावाइ गर्ने भन्चन्।” पीपल बोटे कालीले लामो त्रासको श्वास फेरेर भनी।
“कसैको लुटेर खाको हैन। मेरा बाउको सम्पत्ती खाएँ त खाए भन्न पनि नपाउनू ।” भरखर लाहुरबाट आएको तेर्छापाटे कुँवरमाइलाले मनको तितो पोखे।
“बाउबाजेको चलन परंपरा पनि मान्न नपाउने कस्ता जमाना, बैशाख पूर्नेमा पनि जाँड खान नपाउनू। यस्तो त श्री तीन सरखारका पालामा पनि जानिया’थेन।” काइँला जिम्माल बाजेका बृद्ध भाई कर्णबहादुरले ससानो आवाज पारेर जंगीए।

कामरेडहरुको एकहुल हतियार सहित आएर त्यो लालपुर गाउँलाई आधार इलाका घोषणा गरेको पनि आज एकहप्ता बितिसकेको छ। प्लाटुन कमाण्डर पातालले आफ्नो आगमनको औचित्य पुष्टी गर्दै अक्सर यसो भन्ने गर्छन, …”गाऊका जनताका मुक्तीकालागी साँस्कृतिक क्रान्ति हुन जरुरी हुन्छ। त्यसैले हामी समाजमा ब्याप्त गलत परंपराको अन्त गर्ने घोषणा गरेका छौ। अब जाँड रक्सीको अन्त भयो यो गाउँमा। पुराना सबै खाले अन्धबिश्वास र परंपरा सबै तोडिई सकेको छ। गाँऊ मुक्त भैसकेको छ।”
“क्रान्तिकारी छलांग भनेको यहि हो। केन्द्रीय सत्ता पनि कब्जा भैसकेकाले अब नेपाली क्रान्तिलाई अमेरिकाले पनि रोक्न नसक्ने” दावी पनि पातालले गरे।

गृहिणी र जनसाधारण सबैले गाँऊमा जाँडरक्सीको ब्याबहार बन्द भएकोमा खुसी ब्यक्त गरे। गाँऊमा क्रान्तिकारी कमरेडको पार्टी कमिटी बने, कामरेडहरुको यफ.यम.ले भने पछि पदाधिकारीले पनि थाहा पाए। कसैले अनौठो मानेनन्।
केही श्रीमतिहरु रक्सी खाएर कुटिनबाट जोगीए यस हप्ता, बच्चाहरुको स्कुलको फीस बाबु चाहीले भट्टीमा उडाएको कुनै गुनासो आएन। गाँउमा कामरेडहरुको यो कदमको भब्य स्वागत भयो। कुरा सहरसम्म पनि फैलियो। पाँचतारेमा वाइन पिउँदै समाजशास्त्रीले समेत यस कदमलाइ तारिफ गरे। यसलाई क्रान्तिकारीको पार्टीले ठुलो उपलब्धीको रुपमा पनि लियो।

त्यस गाउँको पुछारमा रक्सी पारेको सुराकी कमरेडको समुहसम्म पुग्न समयलाग्ने कुरै थिएन, पुग्यो। कमरेडहरु गाऊबाट हिड्ने दिन समेत यस्तो अबज्ञाको समाचार सुन्न पर्दा आक्रोशित हुदै पुच्छारे दमिनीको आगनमा हतियार सहित जम्मा भए।
“हामीले भन्दा भन्दै हाम्रो आदेशको अबज्ञा गर्ने, जाओ साथीहरु हो घरको खान तलास लेओ।” पातालको आदेश पाउनासाथ ५, ७ जना शैनिक पोषाकका युवाहरु भित्र छिरेर निमेश भरमा जाँड बनाउने ठुलो घैँटो, तमौरा, डालो, सोली, पैनी, हन्डी र तयारी दुई जर्कीन रक्सी समेत बाहिर पिडीमा निकालियो।
“ठोक्दिम, हामीले भने पछी नमान्ने? ” पातालले इन्सास बन्दुकको नाल कन्चटमा तेर्साएर दमिनीलाई हकारे। बच्चाहरू डराएर दमिनीका वरिपरी झुम्मिए ।
“हिजो सम्साँझै चार, पाँच जना आ’र रक्सी नपारे मार्चम भने। त्यसो भने’सी जेन जोगाउन रक्सी पारेँकी हम, माराज। जेनको मयाँ लाउनी र’च, क्या’र्नी त नी। लोग्ने काँ’छन् काँ अत्तो पत्तो नभ’को एक्ली आइमाइ, केटा’टी साना छन्।” दमिनी बोल्दा बोल्दै रोकीइ र गहभरीका आँसु बरबरती झारेर रुन थाली। दमिनीको ठुलो छोराले पोहर साल ऋण असुल्न आएको जिम्मालका लठैतले नै आमालाइ कुट्न आएको सम्झेर रून थाल्यो ।
“अझ बाहना पर्छेस् ?” पातालले क्रुद्ध हुदै भने। पातालले “यी रक्सी पार्ने भाँडा फुटाल्दे” भन्ने बित्तीकै घैँटो, हन्डी, आरी लगाएतका माटाका भाँडा आखै अगाडी धुलोपिठो भएको देखेर दमिनी कोकोहोलो हालेर रुन थाली। ससाना चारोटा बच्चाहरु पनि आमा रोएको देखेर चिच्याइ चिच्याइ रुँदा वातावरण अत्यन्त पिडादायी बन्यो।
“अब पनि रक्सी पारीस् भने यै झुप्रामा जिउँदै जलाइ दिन्छौ” भनेर धक्याउँदै तयारी रक्सीका दूइ जर्कीन बोकेर कमरेडहरु उकालो लागे।

(स्रोत : Kusum’s Blog )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.