१
बिहान ४ बजे झिसमिसेमै ठूलो भुइँचालो गयो । पाँच दशमलव सात रेक्टर स्केलको । झन्डै डेढ मिनेटसम्म
। कहिले खाटमा पिङ खेलेजस्तो हुन्थ्यो, कहिले तलमाथि थचारेजस्तो । सुनाकोठीको कामी बस्तीमा खाट हल्लाएको भन्दै लोग्नेहरू स्वास्नीलाई र स्वास्नीहरू लोग्नेलाई खै गरिरहेका थिए । यो क्रम नरोकिएपछि उनीहरूले थाहा पाए, भुइँचालो पो गएको रहेछ ।
पसले घिने कामी चिया पकाउन लागेको थियो । मेचमा राखेको गिलाँस नाच्न थाल्यो । बाहिर निस्कन खोज्दा उसले पाइलै चाल्न सकेन । रनमायाले चाहिँ लोग्नेलाई उठाई । भुइँचालो आएको सुन्नेबित्तिकै लोग्ने बुर्कुसी मारेर टाप कस्यो । तीनटा भुरा झुन्ड्याएर निस्कन लाग्दा छाप्रोको जस्ता खस्यो । धन्न, रनमायाको खुट्टामा अलिकतिमात्र चोट लाग्यो ।
मानिसहरू हत्त न पत्त निस्किए । कतिले लुगै लगाउन भ्याएनन् । कोही सिरकै ओढेर बाहिर निस्किए । गुहुको खाडल सोझै माथि बाँसका दुइटा नोलको पुल बाँधेर बनाइएका चर्पीमा दिसा बस्न लागेका कति जना झन्डै खसेका थिए । कतिको ट्वाक घोप्टियो । कतिको चर्पीमै खुट्टा गाडियो । धेरैजसोचाहिँ उठ्नै भ्याएका थिएनन् ।
चोकमा भेला भएका मानिसहरूको भिडमा एउटा उत्ताउलो केटो टर्च बालेर हेर्न थाल्यो । कोही कट्टु र गन्जीमात्र लगाएर, कोही गन्जीमात्र लगाएर, कोही कट्टुमात्र लगाएर निस्केका थिए । एउटा वृद्ध त पूरै नांगै थियो । आइमाईहरूको हालत त्यस्तै । कति जना पेटीकोटमात्र लगाएर निस्केका थिए ।
केटोले कोको नांगै छन्, कसले गन्जीमात्र, कसले कट्टुमात्र लगाएको छ भनेर कोरली–किशोरीको हुलमा गएर भनिदियो । तिनीहरू मुख छोपीछोपी हाँस्न थाले । हौसिएर केटोले तिनीहरूलाई नै सोधिदियो, ‘तिमारु ता नांगै चैनौ नि ?’
‘च कि चैन एर्नू नि चासो भे ।’
‘हो त ?’ केटोले तिनीहरूपट्टि टर्च बाल्यो । केटीहरूले लाजले मुख छोपे ।
‘लौ यिनारु नि नांगै रचन् ! बिह्यै नअरी नांगै सुत्चौ कि क्या हो ए चाँचरी हो ?’
‘जे पायो त्यही नबोल्नू है, कल्ले लुआ ला’ चैन ? लौ एर ।’
उता क्षत्री–बाहुन बस्तीमा कोलाहाल मच्चिइरहेको थियो ।
२
सदरमुकामबाट निकै टाढा अनकन्टार क्षेत्रमा रहेको सुनाकोठी कर्णालीबाट त अलि टाढै थियो । विकास र जीवनशैलीका हिसाबले भने यो कर्णालीका कुनै पनि अनकण्टार क्षेत्रभन्दा फरक थिएन । गाउँमा छ्यासमिस १५ घर थापा क्षत्री, २० घर बाहुनका र तीन सय मिटर पश्चिमपट्टि कामीहरूका आपसमा जोडिएका ४५ छाप्रा थिए । क्षत्री–बाहुनका सबैजसो घर पक्की, टायलका छाना, दुईतले । उब्जाउ खेतबारी प्रशस्त भएकाले कामीहरूलाई बोकाएर मङ्सिरमा भारीका भारी धान र जेठमा सदरमुकाममा गहुँ बेच्न लगिन्थ्यो ।
गाउँमा हाई स्कुल थिएन । प्राथमिक स्कुलमा क्षत्री–बाहुनका छोराछोरी कक्षामा र कामीका छोराछोरी खुला चौरमा पढ्थे । हेडमास्टर र मास्टर सबै त्यही बस्तीका क्षत्री–बाहुन थिए । मास्टरहरूबाटै यो भेदभावको पर्खाल खडा गरिएको थियो । प्राथमिक कक्षा सक्ने क्षत्री–बाहुन दुई घण्टा हिँडेर उपल्लो कटुन्जेमा पढ्न जान्थे । कामीका छोराछोरीमध्ये एकदुई जनाले मात्र प्राथमिक शिक्षा पूरा गरेका थिए । त्यसपछि हाई स्कुल पढ्ने कुरा उनीहरू सपनामा पनि चिताउँदैनथे ।
भुइँचालोले क्षत्री–बाहुनका पैँतीसै घरका भुइँतलासमेत नराम्ररी भत्केका थिए । कति घरका फलैँचासमेत बारीका पाटामा पुगेर घोप्टिएका थिए । बच्चा र बुढाबुढी गरी १५ जनाको लास भेटियो । जिउँदै उद्धार गरिएका तीन महिला पनि एकै छिनमा मरेका थिए । हतारमा फुकाउन भ्याइएका बाहेक अधिकांश गाईवस्तु मरेका थिए ।
हरेराम रिसालको पूरै परिवार भुइँचालोमा पुरिएको आशंका थियो । बाहिर कोही थिएनन् परन्तु कुनै लास भेटिएन ।
कामी बस्तीका युवक कुँडुलो लागेर क्षत्री–बाहुनका भत्केका घरअघिल्तिर उभिए । कसैले केही भन्ने हो कि भन्ने डरले उद्धारमा जुट्न तिनीहरू अन्कनाइरहेका थिए ।
हुन त क्षत्री–बाहुन र कामी आपत्मा मिलेकै देखिन्थे । मर्दापर्दा, आपत्विपत्मा कामीहरूलाई क्षत्री, बाहुन सक्दो सहयोग गर्थे । तर, धारा, पँधेरा, स्कुल र मन्दिरमा उनीहरूमाथि सधैँ भेदभाव हुन्थ्यो । ‘छोएको’ निहुँमा बारम्बार उनीहरू कुटाइ खान्थे । तैपनि, क्षत्री–बाहुनका खेतीपाती र अन्य सबै परिश्रमका काम तिनैले धानिदिएका थिए । पाँच वर्षअघि नै छुवाछुतमुक्त घोषित मुलुकमा सुनाकोठीका कामीको सामाजिक हैसियत पशुको भन्दा तल थियो । गाई, भैँसी, कुकुर, भेडा, बाख्रा मजासँग क्षत्री, बाहुनका घरभित्र बस्थे, कामीहरू भने दैलोमै टेक्न पाउँदैनथे । त्यहाँ कुनै एनजीओ पुगेको थिएन, न कुनै विकास छिरेको थियो । हो, परिवर्तनको सपना बोकेर दुई किशोर र तीन किशोरी माओवादी जनयुद्धमा हिँडेका थिए । तर, ती कहिल्यै फर्केनन् । परिवर्तनको सपना पनि सायद तिनीरूसँगै बिदा भएको थियो । माओवादी शान्ति प्रक्रियामा आएर कतिपय लडाकुले स्वैच्छिक अवकास लिइसक्दा पनि नफर्केपछि तिनका बाबुआमाले समेत माया मारिसकेका थिए ।
गाउँमा सामाजिक परिवर्तनको आवाज कुण्ठा र रिसले बाहेक संगठितरूपले कहिल्यै घन्केन । कामीहरू क्षत्री–बाहुनसामु पर्दा हजुर, विष्ट, बाजे भनेर निहुरी मुन्टी न हुन्थे । पिठिउँपछाडि भने ‘चोर विष्ट’, ‘पातकी काठा’ भन्थे । क्षत्री, बाहुन भने कामीहरूलाई खुसी पर्दा होस् वा रिसाउँदा, हाकाहाकी ‘तँ, चोर डुम’ भनेर सम्बोधन गर्थे ।
‘के एरेर बस्चौ एइ तिग्रे हो, यस्तो बेलाँ नि तमासे ओन्ने हो ?’ वृद्ध हकबहादुर कामीले तमासे बनेर उभिएका कामी ठिटाहरूलाई हका¥यो ।
‘फेरि क्यार्ने हुन्, के हन्ने हुन्, उट्न (कुट्न) पो आउन्ये हुन् कि ठूलाबा ?’ आङ कन्याउँदै जिते कामीले भन्यो ।
‘लौ उटेछन् भने उट्लान् । तर, यस्तो बेलाँ आफ्नो धर्म इर्सिनुउन्न बुचिस् ? लौ सहयोग अर । तिमारलाई केही अरेचन् भने म जबास्ती भएँ ।’
हर्के आफैँ अघि स¥यो । केटाहरू सबै उनको पछि लागे ।
कसैले केही भनेनन् । क्षेत्री–बाहुनका आँखामा भनिनसक्नु वित्यासको आँधी मच्चिरहेको थियो । कामी युवकप्रति असीम कृतज्ञताले तिनीहरू बोल्नै सकिरहेका थिएनन् ।
सबै हातमा हात मिलाएर उद्धारमा जुटे । गणपति रिसालको गोठको निदालले थिचिएर भैँसी, पाडा र दुइटा बाख्रा रक्ताम्मे भएर मरिसकेका थिए । सिवाय एउटा पाठो कुनामा निसासिइरहेको थियो । बाहिर निकाल्नेबित्तिकै त्यो चिच्याउँदै, अत्तालिँदै बेतोडले दौडिएर एकै छिनमा अलप भयो । त्यसको पछि लाग्न कसैलाई फुर्सद थिएन ।
भुइँचालो प्रभावित क्षेत्रमा सेनाले उद्धार गरेको, राहत वितरण गरेको समाचार रेडियो नेपालले भनिरहेको थियो । सुनाकोठीमा न कुनै सेना उद्धार गर्न आयो, न कसैले राहत सामग्री वितरण ग¥यो । कामी बस्तीका केटाकेटी, वृद्ध, आइमाई सबैले लगातार तीन दिनसम्म उद्धार कार्यमा सघाए ।
३
दलित बस्तीमा सबैजसो घरका भित्ता नरकट, बाँस र निगालामा हिलो पोतेर ठडिएका थिए । तीन घरमात्र इँटाको एकतले थिए । तिनमा जस्ताका छाना थिए । माथि ढुंगा, बाँस र इँटाले थिचेर राखिएकाले तिनीहरूका जस्ता अलि तल सरेका थिए । एउटा घरको एउटा जस्ता खसेको थियो । बाँकी कतै कुनै क्षति भएन ।
उता, भुइँचालाले क्षत्री–बाहुन बस्ती भने कंगाल भएको थियो । पाँच जना केटाकेटीसहित १८ जना मरेका थिए । गाईवस्तु सबै सखाप । भएका अन्न सबै पुरिए । कतिले परिवारै गुमाएका थिए । जसोतसो तिनीहरू भत्केको घरकै इँटा चाङ लगाएर छाप्रो बनाएर बसेका थिए । त्यसलाई हिलोले टाँसेर गारो लगाउनसमेत कसैले भ्याएको थिएन ।
कामीहरूले इँटा थुपारेर छाप्रो उठाउन क्षेत्री–बाहुनलाई सघाए । भुइँचालोअघि पनि उनीहरू लुगा सिउँदा, हातहतियारमा साँध लगाउँदा ज्याला पाउँदैनथे । त्यसबापत तिनीहरू आ–आफ्ना विष्टको घरबाट मंसिरमा तीन पाथी धान, केही चामल र तरकारी पाउँथे । दिनभरि काम गर्दा पुन्कीस्वरूप एक माना चामल र अलिकति आलु, मासको दाल र खुर्सानी पाउँथे । दलितहरू त्यही चामल पनि बेचेर गहुँ वा मकैको पिठो किन्थे । यसो गर्दा पूरै परिवारको एक छाक पेट भरिन्थ्यो । खेतबारीमा काम गरेबापत भने अलिकति ज्याला पनि पाउँथे । अहिले त चाहेर पनि क्षत्री–बाहुनले ज्याला दिन सक्दैनथे ।
हतियार, कुखुरा, सुँगुर, बुँगुर, हाँस कामीहरूका गुजाराका प्रमुख स्रोत थिए । त्यसबाट छाक टार्न उनीहरूलाई सधैँ हम्मे पथ्र्यो ।चामल बेचेर पिठो किन्न नपाएका दिन कामी बस्तीमा पनि भात पाक्थ्यो । त्यसले पूरै परिवारलाई टन्न खान पुग्दैनथ्यो । यसको एउटा फाइदा पनि थियो । भात पकाउँदा माड खान पाइन्थ्यो । एक माना चामल छ भने चार माना चामल पाक्ने भाँडोमा टन्न पानी राखिन्थ्यो । उम्लेपछि त्यसको माड काढिन्थ्यो । बच्चाहरू माडमा नुन घोलेर खुब मीठो मान्दै खान्थे । यसो गर्दा बच्चाहरू झन्डै अघाइसकेका हुन्थे । तिनले भात अत्यन्त कम खान्थे र बाबुआमाले पनि खान पाउँथे । चामल अत्यन्त कम भएका बेला भने पूरै परिवारले माड खाएर गुजारा चलाउँथ्यो । जस्तो कि घरमा एक चौथाइ वा आधा मानामात्र चामल छ भने त्यसमा एक पाथीजति पानी हालिन्थ्यो र खोले बन्नेगरी बेसरी पकाइन्थ्यो । यसबाट बनेको माड अझ मीठो हुन्थ्यो । माडमा अलिकति नुन राख्दा काइदा हुन्थ्यो । त्यसमाथि अलिकति चिनी पाए दूधभन्दा मीठो ।
हकबहादुर कामीकी स्वास्नी दलमायालाई हेलाँहोचो गर्ने क्षेत्री–बाहुनसित अग्घोरै रिस उठ्थ्यो । ऊ विद्रोही थिई । मन्दिर, धारा, स्कुल, पँधेरामा सबैको समान अधिकार हुनुपर्छ भनेर क्षत्री–बाहुनसित हाकाहाकी बाझ्थी । एक पल्ट जबर्जस्ती मन्दिर छिर्न खोज्दा क्षत्री–बाहुन खलकका एक हुल आइमाई ओइरेर उसलाई बेस्सरी जगल्ट्याएका थिए । गणपतिको छोरा मणिराम र चार जना क्षत्री युवकले स्वास्नी मत्याएर राखेको भनी हकबहादुरलाई चडकन लगाएका थिए र उसकी तरुनी छोरी रमलालाई हातपात गरेका थिए । (त्यसै पनि ती युवक एकान्तमा भेट्नेबित्तिकै रमलाको छातीमा हात पु¥याउँथे र अनेक लोभ देखाएर फसाउन खोज्थे ।) त्यो बेला कामीहरू डरले तैँ चुप मै चुप थिए । कतिपयले त उल्टै दलमायालाई ‘नेता पल्टेकी’ भनेर आक्रमणकारी युवकसामु खुसामद गरेका थिए ।
क्षत्री–बाहुनका नजरमा चढेकी दलमाया कामी बस्तीमा भने अत्यन्त दयालु आइमाईका रूपमा चिनिन्थी । ऊ बस्तीभरिका बालबालिकाकी ‘ठूलीआमा’ थिई । दस–पन्ध्र दिनमा एक चोटि बस्तीभरिका बालबालिकालाई माड बनाएर टन्न खुवाउँथी । माड खुवाउने दिन बस्तीभरिका बालबालिका दसैँ आएजस्तै रमाउँथे । बालबालिका घरबाटै आल्मुनियमका ठूलो बटुको लिएर आउँथे र लाइन लागेर माड थाप्थे ।
‘ठूलीआमा, माड कहिले ख्वाउँचेउ हो ?’ जहाँ भेटिए पनि बच्चाहरू सोधिहाल्थे ।
‘पख न, चामल हुनासात ख्वाइहाल्चु नि मोरामोरी हो !’ दलमाया भन्थी । नभन्दै केही दिनमै ऊ बस्तीभरिका बच्चालाई जम्मा पारेर माड खुवाउँथी । त्यसमा हकबहादुर र उसकी छोरी रमलाले खुसीसाथ सघाउँथे । बस्तीभरिका बालबालिकाका लागि हर्कबहादुर ठूलाबा र रमला ठूल्दिदी थिए ।
४
भुइँचालोपछि क्षत्री–बाहुन बस्तीमा भोकमरी सुरु भयो । खोतलखातल पारेर निकालिएका अन्न पनि सकिएको थियो । धान पाक्न अझै दुई, साँढे दुई महिना बाँकी थियो । बारीका दुधिला मकै काँचै खाएर सकिएका थिए । कति छाक तिनले टाढाका आफन्तकहाँबाट अन्न सापटी ल्याएर छाक टारे । कतिन्जेल चल्थ्यो यसरी ? आखिर भोकमरी सुरु भइहाल्यो । क्षत्री–बाहुनहरू अब लट्टेको साग, कर्कलो, लुँडे, च्याउ, फलफूल, कन्दमूल खाएर छाक टार्न थालेका थिए । विषालु च्याउ खाँदा सोम थापाकोे एकमात्र सन्तान १५ वर्षे हरिहरको मृत्यु भयो । त्यसपछि उनीहरूले छानीछानी रक्तेच्याउ, बुढीच्याउमात्र खान थालेका थिए । परन्तु, च्याउकै कारण बस्तीमा आतंकारी गोपनजस्तै महामारी छिरिरहन्थ्यो ।
लट्टे र लुँडेको साग क्षत्री–बाहुनले त्यसअघि कहिल्यै खाएका थिएनन् । काले कामीले भलाद्मी भरतमणि रिसाललाई सिकाइदियो, सबैले खान थाले । नत्र, यसअघि ती गरिब कामीले मात्र खाने कुरा थिए । अब क्षत्री–बाहुनका आहाराको प्रमुख स्रोतै लट्टे र लुँडेको साग थिए । उसिनेर नुन–खुर्सानीसित साँदेको लट्टेको साग उनीहरूलाई मासुजस्तै स्वादिलो लाग्न थालेको थियो । बारीभरि लट्टेका अग्ला–अग्ला झाङ थिए । तिनका मुना चुँड्दै खाँदा ठुटै हुन्थे । राम्ररी पलाउनै नपाई फेरि चुँडिन्थ्यो । बिस्तारै अब लट्टे र लुँडेका साग पनि लोप हुन थालेका थिए । सहरबाट आफन्तले पठाएका चाउचाउ, दालमोठका पोका उहिल्यै सकिइसकेका थिए । कर्कलोका डाँठ र बेलै नभएका पिँडालु पनि सकिए ।
विपत्ति र अभावमा सबैभन्दा हेपाहा भोक नै हुँदोरहेछ । विपत्ग्रस्त क्षत्री–बाहुन बस्तीमा भोकले मानौँ हिँडेर, साइकल चढेर वा मोटरसम्म चढेर आउन सर्वथा अस्किारिदिएको थियो । मानौँ त्यो रकेट चढेर आउँथ्यो र त्यसैमा राखेर लैजान खोज्थ्यो । गाविस र जिविसमा ढिलो गरी सूचना पुग्यो तैपनि कुनै राहत आइपुगेन ।
क्षत्री–बाहुनलाई यस्तो संकट कहिल्यै परेको थिएन ।
५
भरतमणि रिसालकी पत्नी निर्मला तीन दिनदेखि ज्वरोले निस्लोट थिई । ज्वरोले थलिँदा पनि केही खान नपाउँदा झन्झन् गलिरहेकी थिई । दुई छोरी र एक छोरा भोकले कलह गरिरहेका थिए ।
पढेलेखेका र प्रगतिशील विचारका भरतमणि पहिलो पल्ट उग्रचण्डी गाउँमा जजमानी गर्न गएको थियो । पण्डित्याइँमा उसलाई विश्वास थिएन । परन्तु, भोक र गरिबीले के विश्वास, के अविश्वास, जेलाई पनि हतियार बनाउँदो रहेछ ।
बुढाले सिदा र दक्षिणा ल्याउँछन् भनेर निर्मला काट्ने बेला भएको बालीजस्तै भरिएकी थिई । त्यही उत्साहले ऊ ज्वरोलाई पनि मिचिरहेकी थिई । केटाकेटी छाप्रोअगाडि खेल्दाखेल्दै भोकले कलह गर्न थाले ।
जेठी छोरी कमला भुँडी थिच्दै आएर रुन थाली, ‘आमा ओक (भोक) लाग्यो हन्या ।’
‘तेरो बाबा जजमानी गर्न जानुभ’को थाहा हुँदाहुँदै किन कराउँचेस् ? भाइबैनीलाई फकाइफुल्याइ गर्नु त कता हो कता, जेठीबाठी भएर आफैँ चिच्याउँचेस् ? जा चुप्पो ला’र एक छिन भाइबैनीलाई खेला ।’
‘नानी मान्दै मान्दिन, भोक लाग्यो, पापा दे दिदी भनेर हैरान पार्चे । झन् बाबुको त के कुरा गर्नू । पापा कानी, पापा कानी भनेर रोएर हैरान पार्च । अनि कसरी खेलाउनु मुइले ?’
‘त्यसो नभन्, जा न छोरी एक छिन तिनेर्लालाई मना ।’
‘हच्, अब मेरो माचु ख्वाएर तिनेर्लाई मनाउँला, उन्न (हुन्न) ? यसरी सधैँ ओकै अस्नुभन्दा त बरु मोर्न पाए हुन्त्यो नि !’
‘बढ्ता कुरा गर्चेस् ? मान्छे सानी, कुरा ठूला, उत्ताउली !’
भोकले चिच्याइरहेका माहिली छोरीलाई फकाउँदै आमाले भनी, ‘ए सानु, एक छिन दिदीसँग खेल्न जाऊ न छोरी ।’
‘आज त मलाई पनि कान (खान) दिनुुस् ऐ त ?’ माइली छोरी विमलाले भनी, ‘मलाई भने कानै नदिने ? सधैँ कान्चुले मात्र काने ?’
‘अँ, कान्छुलाई भोकै राखेर तिमेर्लाई ख्वाउनुपर्ला नि जाँठी हो !’
‘अँ, सधैँ कान्चुले मात्र काने ? हाम्रो चाहिँ मुक छैन कि क्या हो ? दिदीचाहिँ लुकिलुकी काने, मलाई भने कहिल्यै पेटभरि कान दिनुहुन्न !’
‘गाला फुट्ने गरी हान्दिन्छु, बढ्ता बोल्छे, कहिले खाई दिदीले लुकेर ? लुकेर खान खानेकुरा ’नि त हुन प¥यो नि ! तेरा बाबा र मैले पानीमात्र खा’को आज तीन दिन भइसक्यो, तँलाई भने पेटभरि खाने सुर्ता छ । ल भैगो, भाइलाई खेलाइस् भने अलिकति खान पाउलिस् ! त्याँ भाइलाई ¥वाको सुनेँ भने पापा होइन, बाक्लो च्युरा चाहिँ खालिस् नि !’
भरतमणि टुप्लुक्क आइपुग्यो । हातमा कालो पोलिथिनको सानो पोकोमात्र देखेर निर्मला निराश भई । केही बोलिन ।
‘बेकार त्याँसम्म जानुमात्र भो । भरतमणि आउन पाउँदैनन् रे भनेर कसले सुनाइदिएछ, अर्कै बाहुन खोजेर लगाइसकेछन् । नपुगी त्यसै फर्केँ ।’
‘तपैँले चा’को र उनेर्ले ग¥या ठीक्क भो, मोरिहालून्, अर्कालाई सित्तैमा दुःख दे’र ! को रैछ नि त्यो कुरा पु¥याउने असती ?’
‘के थाहा ! दुःखमा दुःखैले पनि जिस्क्याउँछ भनेको यही रहेछ ।’
‘यी बच्चाले भोक लाग्यो भनेर मेरो मासु खान लागिसके । बाबाले खानेकुरा ल्याउनुहुन्छ भनेर सधैँ मैले यिनेर्लाई कति ढाँट्नू ! यिनलाई के ख्वाएर बचाउनू ! कस्तो मरेको जुनी पाइएछ भगवान् !’ अत्यास नाप्ने कुनै फित्ता थिएन । नत्र त्यो निर्मलाको पूरै जिन्दगीभन्दा लामो हुन्थ्यो । लोग्ने चुप्पो लागेको देखेर रिसले गुम्लुङ्ग मुख छोपेर सुती ।
खल्तीबाट एक पुरिया बिस्कुट निकालेर भरतमणिले छोराछोरीलाई बाँडिदियो । एकै छिनमा भान्छामा छिरेर भाँडा बजाउन थाल्यो । पन्ध्र मिनेटपछि मगमग मासुको बास्ना आउन थाल्यो । एक घण्टा जतिपछि भरतमणिले निर्मला र छोराछोरीलाई टन्न ‘खसी’ को सुरुवा खुवायो । सुरुवाले सबैको फुर्ती बेग्लै भयो ।
खासमा त्यो काले कामीले भरतमणिलाई दिएको सुँगरको मासु थियो ।
भरतमणिले धन्न यति भए पनि चलाखी ग¥यो । क्षत्री–बाहुनका सबैजसो परिवार तातो पानी खाएर, कुइँकुइँ गरिरहेको पेट थिचेर दिन गुजारिरहेका थिए । धान पाक्न अझै डेढ महिना बाँकी रहेको सम्झँदा उनीहरू अत्यासको फित्ताले जिन्दगी र मृत्युको दुरी नाप्न थाल्थे ।
६
भुइँचालोपछि माड खुवाउने तेस्रो पालि अचम्मको दृश्य देखियो । कामी बालबालिकाको भिडमा एउटा बाहुनचरी मिसिएर माड थाप्न अघि स¥यो । त्यो राममणि रिसालको छोरो शंकरदेव थियो । दलमायाको छोरी रमलाले चिनिहाली । बित्यास पर्ला भनेर त्यसलाई फकाएर घर पठाउन खोजी । त्यो भोक लाग्यो भन्दै घोप्टो परेर रुन थाल्यो ।
दलमायाले कामी बालबालिकालाई एक छिन रोकेर त्यसलाई टन्न माड खुवाइदिई । त्यसको माडमा नुनमात्र होइन, अलिकति चिनी पनि राखिदिई । बालक तृप्त भएर गयो ।
एकै छिनमा क्षत्री–बाहुन बस्तीबाट थप चार बालक बटुको लिएर लाइनमा उभिए । दलमायाले तिनीहरूलाई पनि अगाडि ल्याएर टन्न खुवाइदिई । तिनीहरूका भागमा पनि रमलाले चिनी थपिदिई । तिनीहरू टन्न पेट भरेर हाँस्दै बिदा भए ।
‘हाम्रो पालो कहिले आउँच टूलीआमा ?’ कामीका बालबालिकाले सोधे ।
‘तिमारु भनेका सधैँ खाइरका त औ नि, पख न !’ दलमायाले भनी ।
हेर्दाहेर्दै एकै छिनमा क्षत्री–बाहुन बस्तीका सारा बालबालिका बटुको बोकेर सलहको बथानझैँ ओइरिए । अब कामी बालबालिका स्वयं खुसीसाथ तिनीहरूलाई पालो छाडिरहेका थिए । कति बालबालिकाले आ–आफ्ना घरबाट सुकुल, चकटी ल्याएर तिनलाई बसाले । तिनका बटुकामा माड थप्न बालबालिकाले नै सहयोग गरे ।
दलित बालबालिकालाई दलमायाले आज माड खुवाउन पाइन । तैपनि ऊ त खुसीको मान्दै्र फिँजारेर बसिरहेकी थिई । बालबालिकाको अनुहारमा ऊ ईश्वरको रूप देख्थी । आफूलाई छिःछिः दुरदुर गर्ने र दागा धर्ने क्षत्री–बाहुनका छोराछोरीलाई आज उसले अरु नभए पनि टन्न माड खुवाएर पठाउन पाएकी थिई ।
एकै छिनमा हकबहादुरका पुराना विष्ट थापा खलकका रघु, दयाबहादुर, कर्ण र रिसाल खलकका राममणि, श्याममणि र पढेलेखेका भलाद्मी भरतमणि पनि झुल्किए । दलमाया र रमलाका आँखामा आतंकको आँधी ओहोरदोहोर गर्न थाल्यो ।
क्षेत्री–बाहुन आएका देख्नासाथ कमिनी र बालबालिका छाडिएका सुँगुर, बुँगुर र कुखुरा धपाउँदै खोरभित्र हुल्न थाले ।
फेरि एकै छिनमा मणिराम रिसाल, शंकर रिसाल, रुद्र रिसाल, पुष्प थापा, खड्गबहादुर थापा, हर्ष थापा, रमेश थापा, शिवमणि रिसाललगायत दस युवक थपिए । कामी समुदायका लागि क्षत्री–बाहुन जति सबै एकै थिए । कुनै बेला मन्दिर पस्न लागेको निहुँमा यिनैका बुढियाहरूले दलमायालाई भुत्ल्याएर लछारपछार गरेका थिए । अनि यिनै मणिराम, पुष्प, खड्ग र रमेश घरैमा आएर हकबहादुरलाई ‘स्वास्नी थान्कोमा राख्न नसकेको’ भनी कुटपिट गरेका थिए ।
रमला आत्तिई । क्षत्री–बाहुनका बच्चोलाई अछुत भएर माड खुवाएको भन्दै झगडा गर्ने भए भन्ने ठानेर भित्र पसी । मानौ पाठाको बथानमा चितुवा छिरेको थियो । कुनै दिन उसलाई गैरीखेतको कान्लामा अडेस लगाएर छाती थिच्दै हातपात गर्न खोज्ने यिनै रुद्र, पुष्प र खड्ग थिए । धन्य, चिच्याएर गुहार मागेपछि तिनले कुलेलम ठोकेका थिए ।
दलमाया बेचैन भई । अचम्भित भएर तिनीहरूलाई हेर्न थाली । हकबहादुर पनि शून्यशून्य आँखाले तिनीहरूलाई हेर्न थाल्यो । तिनीहरू सबै ढुंगाको होचो पर्खालमा टुसुक्क बसे । सबैका अनुहारमा भोक, थकाइ, निराशा, पछुतो र भनिनसक्नु दुःखको चित्र प्रस्टै देखिन्थ्यो । तैपनि कामीहरू त्यहाँ रिस र घमण्डकै छायाँ देखिरहेका थिए ।
‘होइन दलमाया भाउजू, के खुवाएर पठायौ केटाकेटीलाई ?’ भरतमणिले सोध्यो ।
दलमाया थर्थरी काम्न थाली । केही बोल्न सकिन ।
‘यी बच्चाहरू यति खुसी भएको मैले कहिल्यै देखेको थिइनँ’, मणिरामले भन्यो ।
‘रमला दिदीकहाँ माड खाएको भन्थे । कस्तो रहेछ यो माड भन्या ?’ पुष्पमणिले रमलालाई हेर्दै भन्यो ।
‘के उनु हजुर, गरिपले खाने उइ भातको माड त ओ नि ! असाध्यै भोकाका रचन्, यिनारुले त्यही ख्वा’र पठाइदे । गल्ती भो । माप पाऊँ,’ हकबहादुरले हात जोड्यो ।
‘किन माफी माग्छौ हकबहादुर दाइ, तिमीले के बिरायौ र ? ठूलीआमा र रमला दिदीले खुवाएको भनेर कस्तो खुसी छन् !’ भरतमणिले विनम्र भएर भन्यो ।
‘तिनारु ओकाएका देखेर सारै दया लाग्यो । गल्ती भएको भए माप पाऊँ हजुर’, दलमायाले भनी ।
‘भैगो माफी माग्नुपर्दैन, भाउजू । छ भने अलिकति माड हामीलाई पनि देऊ, तीन दिनदेखि पानीबाहेक मुखमा केही परेको छैन’, कलेटी परेको ओठ थुकले भिजाउँदै श्याममणिले मुख फो¥यो । भोकले तिनका अनुहार चाउरिएका थिए । दलमायाले तिनका अनुहारमा दुःख र पछुतोको छायाँ प्रस्टै देखी । एक्कासि ऊभित्र दयाको समुद्र उर्लियो । कुनै दिन उसलाई, उसको लोग्नेलाई कुटपिट गर्ने र छोरीको छाती निमोठ्न आउने यिनै हुन् भन्ने भुसुक्कै बिर्सी । एक्कासि ऊभित्र प्रतिशोधको भावना सिमेन्टको भुइँबाट कसिंगरजस्तै सिनित्त बढारियो ।
पानी थप्दाथप्दा भातसमेत खोले भएर सकिइसकेको थियो । अब के गर्ने ? भाँडा हेरी, चामल एक माना पनि बाँकी छैन । त्यै सोहोरसाहार पारेर ल्याई र डेक्चीमा खन्याई । आमाको मनसाय बुझेर रमला पल्लो घरमा छिरी । एकै छिनमा रनमायाले आधा मानाजति चामल ल्याएर दिई । अर्को बालकले बुसर्टको फेरमा थापेर ल्याएको चामल खन्याइदियो । एकै छिनमा एकएक गरेर हरेक कामी परिवार जतिसक्दो चामल, नुन, दाल, तेल, मसला लिएर दलमायाको अगाडि उभिए ।
कामीहरूका आँखामा असीम हर्ष र उत्साहको ज्योति फैलिएको थियो ।
दलमाया चुलोमा दाउरा कोच्न थाली । ठूलो डेक्चीमा आलु र दाल तेलमा भुटी, मसला राखी । अनि त्यसमा चामल राखेर बेसरी पानी हाली । बाहुन–क्षत्रीका लागि बन्न लागेको यो स्पेसल माड थियो । नत्र कामी बालबालिकालाई ख्वाउने माडमा नुनबाहेक अरु केही हुन्नथ्यो ।
●●●
कामी बालबालिका र आइमाईहरूले घरघरबाट कुचो, सुकुल, चकटी र पिर्का लिएर आए । आँगन सफा गरेर सुकुल, चकटी र पिर्का राखिदिए । क्षत्री–बाहुनका भागमा माड थप्न सबैले सघाए ।
क्षत्री–बाहुन तृप्त भए ।
जाने बेला भलाद्मी भरतमणि असीम कृतज्ञताले हकबहादुरको हात समाएर उभियो ।
‘हकबहादुर दाइ, विपत्ति र भोकले कुनै जात भन्दोरहेनछ । तपैँ र तपैँको परिवारमाथि भएको अत्याचारका लागि माफ गरिदिनू । भाउजू, छोरी रमला, सबै दलित दाजुभाइ, दिदीबहिनी, तिमीहरूसँग पनि म सबै क्षत्री–बाहुनका तर्फबाट माफी माग्छु ।’
बाहुनले पहिलो पल्ट आफूलाई ‘तपैँ’ भनेको सुन्दा हकबहादुर भावविह्वल भयो र भरतमणिको हात समाएर रुन थाल्यो । ‘के अनिअक्स्या हजुर यस्तो, मलाई पापको भारी किन ओकाइअक्सेको ? हजुरअर्ले के इराइअक्स्या छ र ? आम्रै हाग्य (भाग्य) यस्तो रच त के लाग्च !’
हकबहादुर रोएको देखेर दलमाया र रमला पनि सुँक्कसुँक्क गर्न थाले । तिनीहरूसँगै अरु आइमाई पनि रुन थाले । यो सानोतिनो रुवावासी देख्न नसकेर क्षत्री–बाहुन युवकहरू अर्कोतिर फर्किए । त्यसै पनि तिनीहरू अभ्यन्तरमा नजानिँदो अपराधबोधले रमलासँग आँखा जुधाउन सकिरहेका थिएनन् ! कामी बस्तीका आइमाई, केटाकेटी, युवायुवती र वृद्ध सबै जना भाषण गर्न उभिएको नेतालाई जस्तै क्षत्री–बाहुनलाई घेरेर उभिए ।
हात जोड्दै भरतमणि अघि लाग्यो । कार्यकर्ताजस्तै बाँकी सबै क्षत्री–बाहुन पछि लागे ।
तिनीहरू जाँदाजाँदै भरतमणिलाई बोलाएर दलमायाले भनी, ‘हजुरअर्त लोग्नेमान्चे, जाँ ऐर नि पेट अरिअक्सिन्छ, विचरी बज्यै–विष्टिनीअर्काे के अति (गति) ओला ! अठाइदिअक्से वाँहेर्को पनि सेवा अथ्र्यौँ !’
स्तब्ध भएर भरतमणिले एक छिनसम्म दलमायालाई हेरिरह्यो । यो कस्ती दयालु कमिनी रहिछ जो आफूमाथि भएको सारा अपमान र अत्याचार बिर्सेर तिनै अपमानकारी, आक्रमणकारीको सेवा गर्छु भन्छे ! विनम्र स्वरमा भरतमणिले भन्यो, ‘हुन्छ भाउजू, तपैँका कुरा म सप्पैलाई भन्दिन्छु । आउनचाहिँ के गर्लान् कुन्नि !’
‘हस् । अन्दिनुस् ऐ त सप्पैलाई ?’ आकष्मिक खुसी र उत्साहले झुसी भएर भन्न त दलमायाले प्वाक्कै भनिदिई । तर, तिनीहरू आए कसरी ख्वाउने भन्ने दुबिधाको ओडारले उसलाई च्याप्न थाल्यो ।
‘चिन्ता नअर्नू’, टोलका सबैले दलमायालाई आश्वस्त पारे । सबै जना आवश्यक परे फेरि पनि उसलाई सघाउन तयार थिए ।
कामीहरूका आँखा अपूर्व उल्लासले चम्किरहेका थिए । माड खान नपाए पनि बालबालिकासमेत भोक बिर्सेर अचम्मैसित रमाइरहेका थिए ।
(स्रोत : Blog )
( करीब १२ वर्षअघिको कुरा हो, चंकी श्रेष्ठले एउटा दैनिक पत्रिकामा राशेल कोरीबारे लेखेको एउटा लेखले मलाई लेखक र लेखको पात्र दुवैतिर तान्यो । दुई वषअघि काठमाडौं छिर्दा अभय श्रेष्ठको नामबाट निस्केको कथा संग्रहको ‘अ. त. को सत्याग्रहु’ शीर्षक कथाले मलाई त्यत्तिकै तान्यो ।
नेपालमा अभय श्रेष्ठले भन्दा राम्रा र लोकप्रिय आख्यान लेख्ने मानिसहरु धेरै छन् । तर आख्यानलाई पनि समाजका उत्पीडित र आवाजविहीनहरुको साहित्य र अन्य गरी दुई भागमा बाँड्ने हो भने पहिलो कित्ताको साहित्य लेखनमा अग्र पंक्तिका केही लेखकहरुमध्ये श्रेष्ठ पनि पर्ने मेरो ठम्याइ छ । विजय मल्लको ‘बहुला काजीको सपना’ र नारायण ढकालको ‘सुनाखरी टोल’ संगै अभय श्रेष्ठको ‘अ. त. को सत्याग्रहु’ र अब ‘भुइंचालो’ कथाले उत्पीडित वर्गको जीवन उतार्ने साहित्यको रुपमा नेपाली साहित्यमा विशेष स्थान राख्ने मेरो ठम्याइ छ । साथै यो कथाले २०६९ सालभरि गरिमा मासिकमा प्रकाशित गद्यमध्ये उत्कृष्ट ठहरिएर गरिमा गद्य सम्मान पनि पाएको छ ।)