~उत्तम पौडेल~
रामचन्द्रको काठको जुत्तालाई भाई भरतले अयोध्या ल्याए। एउटा समारोहमा पूजाआजा पश्चात उक्त खराउलाई राजगद्दीमा विराजमान गराए। मान्दबी र श्रुतकृती, जो भरत र श्रत्रुधनको श्रीमती मात्र नभएर सीताकी बहिनी र रामकी साली थिए, पनि उक्त पुजामा सरिक भए। भाईहरुले खराउमा दाईको रुप देख्थे। सालीहरुले खराउमा भिनाजु, र भिनाजुमा भगवान देख्थे।
मेरो हजुरबाको बिहेमा चाहिँ सालीले उसिनेको आलु उहाँको जुत्तामा राक्नुभएको थियो रे। सालीको मन राख्नकै खातिर उहाँले जुत्ता लगाउँदा पैताला पोलेको अभिनय गर्नुभयो। उपस्थित सबै गललल हाँसे, रमाइलो भयो, परिवारबीच आत्मियता बढ्यो। बिहेपछि सालीले आफ्नी संगीनिहरुलाई भन्नुभयो- “ मेरो भिनाजु त कस्तो शालीन”।
मेरो बुवाको पालामा भने सालीले जुत्ता लुकाएर पैसा माग्नुभयो। केटा पक्षकाले “यो हाम्रो संस्कृति होईन, आयतित बिकृति हो” भनेर सम्झाएपछी जुत्ता फिर्ता भयो। बुबाकी साली ( मेरी सानीमा ) ले बिहेपश्चात आफ्नी साथीहरुलाई भन्नुभयो- “मेरो भेनाको परिवार त कस्तो ज्ञानी बाई !!”
मेरो पालो आयो। मेरो बिहेमा पनि सालीले जुत्ता भूमिगत परिन् , जुत्ताको मोल २० हजार तोकेर मेरो ओठतालु सुकाइन्। “आयतित विकृतिको” कुराले उनलाई चूँ पनि छोएन। गोलमेच सम्मेलन भयो। दुबैतर्फका २० वर्ष मुनिका ठेट्नाहरु बीच घरि श्लील त घरि घुमाउरो अश्लिल बाणीले एकअर्कालाई होच्याउँदै, चर्काचर्की बार्ता सम्पन्न भएपछि १० हजारमा कुरा मिल्यो। परिवारकै इज्जत दाउमा भएको हुनाले दाँतबाट पसिना चुहाउंदै मैले दश वटा हात्ती उनको हातमा थमाएँ।
बिहेपछि सालीले आफ्ना दोस्त र यारहरुलाई ग्रुप SMS, र फेसबुकमा लेखिन् –“ मेरो जिजुको परिवार त लास्ट चुँइया पो रैच यार … LOL !!”
(स्रोत : Mysansar)