~उत्तम पौडेल~
हरी बाजे पुसको पारिलो घाम ताप्दै चौतारीमा पत्रिका पढ्दै के थिए, भुराभुरीहरु कुद्दै आए, र पिरोल्न थाले -”हजुरबा ! हजुरबा ! एउटा कथा भन्नु न ! ”
भुराभुरिको गाला मुसार्दै बाजेले सोधे- ” लु त लु, के को कथा सुन्छौ ?”
भुराले भने – “सुँगुरको।”
नचिताएको बिषयले बाजे एकछिन तिरिमिरी भए, एकछिनमा जुँगा मठार्दै कथा भन्न थाले- “उहिलेको कुरा हो, पण्डित विष्णुप्रसादको छोरोले पल्लो गाउँमा गएर दुई गिलास खोइलेबिर्को ठाडो घांटी लाएर खोत्याईदिएछ। गाउँलेलाई के चाहियो ? उखरमाउलो मच्चाइहाले।
नचिताएको बिषयले बाजे एकछिन तिरिमिरी भए, एकछिनमा जुँगा मठार्दै कथा भन्न थाले- “उहिलेको कुरा हो, पण्डित विष्णुप्रसादको छोरोले पल्लो गाउँमा गएर दुई गिलास खोइलेबिर्को ठाडो घांटी लाएर खोत्याईदिएछ। गाउँलेलाई के चाहियो ? उखरमाउलो मच्चाइहाले। देशमा श्री ३ को राज्य थियो, गाउँका पन्च/मुखिया पनि त्यस्तै थिए। बाहुनको छोरोले रौ’सी खायो भनेर गाउँले पुरै ऊ माथी ओइरिए। बिचरोको टाउको चारपाटा मुडेर, काँधमा सुंगुरको पाठो भिराएर, चार भन्ज्यांग कटाए। सुँगुर छुवाउनु एकदमै ठुलो सजायं थियो, बुझ्यौ ?”
” हा हा हा हा।” भुराभुरी गललल हाँसे।
“त्यसपछि के’भो बाजे ?”
” त्यसपछि त्यो तराई झर्यो, चितबनमा जंगल फाँडेर त्यतै बस्यो। देशमा पनि प्रजातन्त्र आयो। बाहुनहरु प्रजातन्त्रमा छट्टाउँदैं सुटुक्क झ्वाईँखट्टे झ्याम् पार्न थाले। सुँगुर भने छोएनन्। बाहुनहरू बाटोमा सुँगुर देख्दा पनि अर्को बाटो हिंड्थे, झुक्किएर छोईहालियो भने तात्तातै घर आएर सुनपानी छर्केर चोख्याउँथे। यसैताका म जन्मिँए। अघिका टाउको मुडुले मेरा बा थिए।”
भुराले गम्भीर हुँदै सोधे- “त्यसपछि ?”
“त्यसपछि देशमा पंचायत आयो बा ! ‘महिन्द्र’ ले बँदेल खान्छन् भन्ने निहुँमा फोकट्या बाहुनहरुले पनि बँदेल खान थाले। बाहुनले रौ’सी खानु केहि आइतबार रहेन, तर सुँगुर-बुंगुर भने खाएनन्। यसै ताका म पनि बाउ बनें, तर मेरो टाउकोमा भने टन्नै रौँ थियो है। ”
“हा हा हा….त्यसपछि ?”
“पंचेले जनताको दिमाग पंचेट पारे, जनताले ४६ सालमा टाले। त्यसपछि फुका’को साँढे झैँ भए बाहुनहरू, रक्सी र बँदेल खाएर आफुलाई ठुलाबडा ठान्न थाले। सुँगुर भने खाएनन्। यसै बेला म हजुरबाउ बनें। नाति ज्ञानी होला भनेर नाम पनि उत्तम राखें, तर सार्है बेबकुफ र फटाहा पो निस्क्यो।”
“किन र बाजे उत्तम दाइ त्यस्तो ?”
“त्यसपछि के भयो बा ?”
त्यसपछि पंक्तिकारका हजुरबा, हरिप्रसाद बाजेले मलिन स्वरमा भने-
” भो नानी ! त्यो साँइदुवाको कुरै नगर। त्यसले त घरमै पोर्क बार्बिकिउ गर्छ रे !
गणतन्त्र आ’र त होला, होटेलमा जाँदा पनि सुँगुरको साँधेको सुकुटीको सितन संगै सोमरस सर्लक्कै स्वाट् पार्छ रे !”
बाजेको आँखा सजल थिए।