~उत्तम पौडेल~
पत्रिकाबाट आँखा उठाउँदै श्रीमतीले सोधिन् – “ बुढा, यो reverse discrimination भनेको के हो हँ ?”
मैले पनि सहज पाराले उत्तर दिएँ –“ बाउ बाजेले गरेको शोषण, अन्याय, र अत्याचारको ब्याज र क्षतिपूर्ति निर्दोष नाति-पनातिबाट लिइनु”।
“जस्तै ?” उनले स्वाभाविक जिज्ञासा पोखिन्।
मैले पनि आफ्नो विद्वता छाँट्ने मौकाको फाइदा उठाउँदै सक्दो ‘वजनदार’ शब्दमा भनें –
“मेरी बुढी-बुढी हजुरआमाहरुले आफ्नो ख्वामितको दु:खद देहान्तमा मृत शरीरसंगै आत्मदाह गरे, सती भए।
मेरी हजुरआमाहरुले सुत्नुपुर्ब आफ्ना स्वामीको गोडामा तेल लगाएर मालिस मात्र गरेनन् ,बिहान सखारै उठ्नेबितिक्कै ढोगे पनि। मेरी आमाहरुले घरका सम्पूर्ण कामको कार्यभार र हामीलाई हुर्काउने जिम्मा समेत आफ्नै काँधमा लिए। तर आज तिमी दिनभरी घरमा तीन-न-तेह्रका सिरियल हेरेर बस्छेउ। म दिनभरीको अफिसको बोझिलो कामपश्चात बेलुकी मायालु बोलीले तिमीलाई ‘चिया बनाउ न सानु’ भन्दापनि टेरपुच्छर लाउन्नौ, उल्टै कुचो लिएर झम्टदैँ मलाई नै बेलुकाको खाना पकाउन लाउँछेउ। यहि हो ‘रिभर्स डीस्क्रीमीनेसन’ भनेको।”
मैले यत्ति बोलेको मात्र के थिएँ, मिलिक्क गर्दै एकैछिनमा श्रीमती गायब भईन्। यता-उता जताततै खोजें तर कहिँ कतै भेटिन। एकछिन पछि श्रीमतीको मोबाइलबाट फोन आयो। उठाएँ, सासु रहिछिन्। मैले ‘हेल्लो’ भन्न नपाउँदै बुढी फोनमै कड्किन्- “ छोरी रुँदै माइत आ’र बसेकी छ ज्वाईसाप। तपाइँको यो पारा ठिक भएन। तपाइँलाई हामीले छोरी दे’को गाली गर्न, हेप्न, खिसिट्युरी गर्न हो र ? महिला अधिकारकर्मी लगाईदिम् ?”
(स्रोत : Mysansar)