~विवेक ढकाल~
” ल केटा हो अब एउटा हम्जाएगाको जोक है त ? ” – चिरागले पास गरेको ठूटोको अन्तिम पफ तानेर निभाएपछी राजु (असली नाम: राजेन्द्र झा) ले सानो हास्य प्रस्ताव राख्यो।
” सुनाउ न पाट्स” – एक हात मा गाँजा र “सिखर”को सूर्तिको धूलोको समिश्रन बनाउदै अनी अर्को हातको चोर र माझि औलाले खोक्रो चुरोटको खोल अँठ्याएर बसेको देवेशले उत्साहका साथ अनुमती दियो।
“…. एकपटक काठमाडौंको एउटा बन्दै गरेको हाइराइज बिल्डिङ् को टपमा ३ जना केटाहरु बसेर गाँजा खाइरहेका थिए रे । उता हाम्रो हम्जाएगा सिक भएर “मेरी जेन” खोज्दै त्यहिँ आइपुग्यो रे के अनि बबाल दङ्ग पर्दै सोध्यो रे ‘ ब्रोहरु जोइन्ट शेर गरम न है ‘ …”
” ह्या मु.. फुच्चे झ्याप भएकी तँ खाली यै जोक सुनाउछस! अरु छैन? ” मैले रमाइलो बन्दै गरेको बातावरणमा एक्कासी भिलेन खेल्न खोँजे ।
” विवेक अंकल पनि” – मलाई चिढ्याउने सम्बोधन गर्न बित्तिकै जिब्रो टोकेर हाँस्दै राजुले भन्यो – ” विवेक ‘दाई’ पनि! सबैले सुन्नु पर्यो नि ; चिराग र बसन्तलाई यो जोक थाहै छैन, फेरी यो त क्लासिक पिस हो नि दाई हामी “जोइन्टिस्ट” हरुको, हर गजेडी ले सुन्नै पर्छ! ”
म चुप लागेर आफु बसेको चौरको घाँस उखेल्न थालेँ। किनकिन यो चौर र नजिकको त्यो किम्बुको बोटले मलाई मेरो गाउँको साह्रै याद दिलाएर नोस्ट्याल्जिक बनाउछ ।
राजु के मन्थ्यो र ? आफ्नो चूट्किला फेरी सुरु गर्न थाल्यो –
” अनी हम्जाएगा त्यो ३ जन सँग बसेर मस्त हुँदै जोइन्ट तान्न थाल्यो रे हैन । ए, मैले त भन्नै बिर्स्या, त्यो बिल्डिङ चाँही ३० तल्लाको रे है ? ”
” अनी? ” देवेशले तैयार माललाई चूरोट भित्र भर्दै जोकप्रती उत्साहित भएको प्रमाण दियो।
प्रतिकृयाले उत्साहित राजुले कन्टिन्यु गर्यो –
************* “
…४ जना बसेर खान थाले रे हैन, अनी हम्जाएगा र त्यो तीन जना मध्ये एउटा केटा एकैछिनमा जिग्री दोस्त भए रे । त्यो दुइ जना छतको आर्को कुनामा छुट्टै बसेर गफ गर्न थाले रे, अरु दुइ जाना लाइ बाल दिएर ।
त्यो केटाले हम्जाएगालाई भन्यो रे – ” तलाई था छ एउटा कुरा, यो बिल्डिङ्को १० तल्ला छ नि- टेन्थ फ्लर, हो त्यहाँ हावा एस्तो चल्छ – यहाँ बाट हम्फल्ने मान्छे त्यो १० तल्ला भन्दा तल पुग्दै पुग्दैन, हावा ले ठेलेर बिल्डिङ्को झ्याल भित्र पुर्याइदिन्छ । ” हम्जाएगाले यो कुरा पत्याएन रे अनि त्यो केटाले ” ल हेर नपत्याए!” भन्दै हामफाल्यो रे…. हम्जाएगा तर्सेर अब यो मर्ने भो भन्दै तल हेर्यो रे तर त्यो हाम्फाल्ने केटा अलि तल पुगेपछि स्वाट्ट झ्याल भित्र छिर्यो रे अनि एकछिनपछि माथि आयो रे । छक्क परेको हम्जाएगाले भन्यो रे- ‘ ल म पो झ्याप भएछु कि के हो दाई ? ’ त्यो हाम्फाल्ने केटाले चाही “ हैन हैन, यो बिल्डिङ को १० तल्लामा हावा को प्रेसर ओब्बर छ के , तैले चाहेर पनि त्यो भन्दा तल जान सक्दैनस “ भन्दै फेरी हामफाल्यो रे , अलि तल पुगेपछि झ्याल भित्र स्वाट्ट छिर्यो रे अनि एकछिनपछि माथि आइपुग्यो रे । अब त हम्जाएगालाइ पनि विश्वास लग्यो रे अनि ‘म पनि हाम्फालम दाइ?’ भनेर सोध्यो रे । त्यो केटा ले “ हामफाल न , तँ जे गरेपनि त्यो १० तल्ला भन्दा तल जान सक्दैनस ; याँ बाट हामफालेर आत्महत्या गर्न खोज्ने पनि “फ़्रस्टु” भएर फर्कन्छन मुनि खस्न नसकेर “ भन्यो रे. हम्जाएगा पनि के कम, जोशमा हाम्फाल्द्यो रे … बिस्तारै १० तल्लासम्म पुग्यो रे अनी १० ९ ८ ७ ६ ५ ४ ३ २ १ गर्दै भुइँमा बजाररिएर मर्यो रे . त्यो पैले हाम्फाल्ने केटो चाहिँ मुनि हेर्दै हास्न थाल्यो रे । तमासा हेरेर बसिराका दुई जना साथी मध्ये एउटाले भन्यो रे – ‘’ माटोक्ने “सुपरम्यान”, तँ झ्याप भएकि यस्तै औडा औडा काम मात्र गर्छस है?’
*****************”
” ह्या मु.. फुच्चे झ्याप भएकी तँ खाली यै जोक सुनाउछस? “
मैले जोक सुरु गर्नु अघि राजुलाई जुन लवजमा सोधेको थिएँ, त्यसैगरी राजुले जोकको अन्त्य गर्यो …. केटाहरु गड्गदाउदै हास्न थाले, म बाहेक। ३ मिनट जति पछि देवेश , चिराग, राजु र म बाहेकको पाचौं मेम्बर बसन्तले हाँस्दै स्विकार्यो – ” खै मैले त जोक नै बुझिन यार! ”
फायर गर्नलाई मुखमा जोइन्ट च्यापेर बसेको चिरागलाई यो कुरा साह्रै भएछ क्यार त्यो जोइन्ट र सलाई दुबैलाई भुइँमा झार्दै जोड्सँग हास्न थालयो। म पनि खप्न नसकी घासमा लडेर हासेँ। म हासेको देखेर देवेश र राजु दिल खोलेर हास्न थाले । बसन्त आँफू हासो को पात्र बनेको थाहा पाउदा पाउदै पनि लाफ्टर रायटबाट असंलग्न हुन सकेन र आँसु आउन्जेल हास्यो (खै किन हो?) तर जोक को अर्थ फेरी सोधेन। ४ ५ मिनेट सम्म त्यहि एउटा सानो कुरामा हाँसो चलिरह्यो!
त्यो खसेको स्प्लिफ एकछिनपछी त्यहि ठाउमा फिल्टरको ठूटो जत्रो भएर निभ्यो – २१औ जोइन्ट आजको ! “ओट्टी” बचेँको माल चिरागले मलाई कागजमा पोको पारेर दियो। निलो आकाशमा कपास जस्ता बादलहरु सर्दै नयाँ नयाँ आकृती बनाउदै थिए – सुरुमा स्याल जस्तो, एकैछिनमा भालु जस्तो फेरी फैलिदै गएर अनी एक आपसमा मिसिएर प्रेमलिलामा मस्त मानव जोडी जस्तो। हावा सरर चल्न थालयो । आँखा चिम्लेर त्यो पललाई सक्दो महसूस गर्ने कोशिश गरें। गाँजा राम्रै परेछ। हन्टिङ्को लागि खर्च भाको ५०० मा कुनै दु:ख लागेन। सब केटाहरुको अनुहार एक एक गर्दै हेरें – सबै भन्दा राम्रो चिराग थियो – मङोलियन फेस, सलक्क मिलेको कपाल, कुनै कोरियन नायक जस्तो। देवेश पनि कम थिएन, पेट भित्र धसिएको, चौडा छाती, आर्यन फेस । अनुहार र बोलि दुबैले बीरगंजको झा भनेर पत्याउनै नसकिने राजु तिर आइपुग्दा चाँही यो ” अप्राकृतिक” तारिफ शृंखलालाई त्यहिं बन्द गरें। ” धत! ९ बर्षको छोरीको बाउले के सोच्न थालेको? ” मनको हासों मुहार सम्म आउन भने दिइन, नत्र आर्को ” लाफ्टर रायट ” सुरु हुन्थ्यो।
” ग्रिन इज द कलर ”
चिरागले आफु संगै ल्याएको हलो गिटारमा यो मनमोहक धुन भाको गीत बजाउन थाल्यो। यो गीत मैले यँहा केटाहरुले गाको र बजाको सुन्दा सुन्दा थाहा पाएको हुँ तर गीत को लिरिक्सको छेउ टुप्पो भने अहिलेसम्म बुझेको छैन, मात्र ” ग्रिन इज द कलर अभ अभ हर काइण्ड” भन्ने पार्ट् चाँही सबै केटाहरुले एक स्वरमा गाएकोले बुज्छु। शायद गाँजा सम्बन्धी गीत होला त्यसैले हरियो रंगको को प्रसङ्ग आको होला भन्ठान्थें म । तर बाबुदाई, जो आज अनुपस्थित हुनुहुन्थ्यो, मलाई यो गीतको एक लाइनको अर्थ सम्झाउँदै भन्नु हुन्थ्यो- “; ‘इर्ष्या नै सफल र अभागी बिचको बन्धन हो’ – हरियो रंग इर्ष्याको रंग हो विवेक , बुझ्यौ? ” . म केही बुझ्दिन थिएँ बाबु दाई का कुराहरु – तर आज मलाई उनको अभाव एकदम खड्किरहेको छ। उनी हाम्रो ग्रुपको रेगुलर सदस्य हैनन तर मेरो बढी कुरा उनैसँग मिल्थ्यो। र फेरी सब भन्दा कुरा नमिल्ने( बैचारिक विवाद मात्र!) पनि उनी संगै हुन्थ्यो। भन्न खोज्या – इ भुराहरु सँग कुरा मिलाउनै गाह्रो हुन्थ्यो त्यसैले बाबु दाईसँग बहस गरेर भएपनि टाइम पास हुन्थ्यो। झन्डै ५० पुगेका बाबु दाइलाई म बाहेक सबले “अंकल” भनी सम्बोधन गर्थे। हुन त उनको र मेरो उमेरमा जती फरक छ, म र बाँकी केटाहरुको औसत उमेरबीच ( सब २२ मुनिका!) त्यो भन्दा धेरै फरक थियो। अझ मेरो खुइलेको तालु र बचेको मध्ये आधा फुलेको कपालले गर्दा कसैले मलाइ बाबु दाइ को “दाइ” भन्ठान्दा पनि अचम्म मान्नु पर्दैन थियो। तैपनी मैले केटाहरुलाई मलाई अंकल भन्नबाट खबर्दारी गरेको थिएँ।
चिरागले एकपछी अर्को गर्दै पिन्क फ्लोइड्का गीतहरु बजाउदै गयो। म अंग्रेजी गीत पटक्कै नसुन्ने र नबुझ्ने करणले गर्दा पट्यार लाग्थ्यो तैपनि धराने चिराग प्रधानको मिठो बजाइ र गवाइले मलाई सम्मोहित बनाउथ्यो। गिटार बजाउदा उसका बाँया हातका औंला पहिलो ५ फ्रेट भन्दा पर जादैनथिए र जे जति बजाउथ्यो गिटार को यही भाग भित्रबाट बजाउथ्यो। तर धेरै राम्रो बजाउथ्यो। एक जमनामा मलाई अंग्रेजी ब्यान्ड्को नाम कसैले भन भन्यो भने बिटल्स, माइकल ज्याक्सन र ब्रिट्नी स्पेर्स मात्र भन्न आउँथ्यो तर तिनका एउटा गीत पनि थाहा थिएन, भने, अहिले यी केटाहरुले गर्दा छ-सातवटा ब्याण्डको नाम थाहा भैसक्यो, साठी-सत्तरीको दशकका। अझ पिन्क फ्लोइड्को त कुनै चल्तीको गीत कसैले बजाए यो गीत हो भन्ने भैसकें, बिशेषगरी : “ग्रिन इज द कलर” , “कम्फ़रटेब्लि नम्ब” “विश यु वर हियर “, ” अस एन्ड देम” र ” ब्रेन ड्यामेज” । तर आजसम्म ति गीतहरु यी केटाहरुले गिटार र मोबाइलमा बजाको बाहेक अन्त सुन्न पाको चाँही छैन – सुन्ने इच्छा पनि छैन!
झ्याप भएपछीको मन्चिज लाई भोजन वा मिठाइले शान्त पार्न निस्किनु अगाडि सबैको आफ्नै प्रकारको बानी छ। चिराग गिटार बजाउछ र गीत गाउछ; राजु जोक वा एमपीथ्री सुनाउछ; दिनेश भारतको र नेताहरुको कुरा काट्दै बस्छ; बाबु दाई (बाबु राजा तुलाधर) “हिप्पी एरा”को अन्त्यतिर बितेको आफ्नो बाल्यकाल को सम्झना, त्यतिबेलाको काठमाडौंको स्वर्गिय बयान अनी त्यसले आफ्नो जीवनमा परेको प्रभाव बारे चर्चा गर्छन् कि त मसँग बहस गर्छन्; बसन्त गुरुङ अङ्रेजी किताब पढ्छ अनी म, विवेक ढकाल, सकेसम्म अरुले गरेको कुरामा केही खोट देखाउदै आफ्नो तर्क ( प्राय लिंडे र आधारहीन) तेर्साइ हाल्छु, विशेष: बाबु दाई सँग । म बाहेक हाम्रो ग्यांगका सबै शहरी पृष्ठभूमिका हून, त्यसैले कहिलेकाइ मलाई म आफ्नो “गाउँलेपन ” त देखाइराखेको छुइन भन्ने संका लाग्छ; तरपनि अहिलेसम्म मलाई बाबु दाई ले “पाखे” भनेर गाली गर्नुभाको छैन, अरु केटाहरुले चाहेर पनि नसकेको भए चाँही थाहा छैन!
चिरागको बजाउन बन्द भएपछि राजुले आफ्नो भिनाजुले लेराइदेको आइफोन ५ मा एउटा भारतीय शास्त्रीय गीत बजायो। त्यो मधूर संगीत र आकाशको अलौकिक द्रिष्यमा आफुलाई भुल्ने चेस्टा मात्र के गरेको थिएँ देवेश करायो – ” यो धोती गीत बन्द गर न यार। योभन्दा बरु तिजको दोहोरी बजाए हुन्छ!” बसन्तले पढिरहेको आख्यान द स्ट्रेन्जर बाट आँखा उठाएर देवेशलाई ” संगीत को कुनै सिमारेखा हुँदैन” भन्ने सार बुझाउन एक अंग्रेजी वाक्य प्रयोग गर्दै भन्यो – ” म्युजिक ट्रानसेन्ड्स अल बेरियर्स, कास्ट एन्ड क्रिड” । त्यसैवखत हामी बसेको चौर भन्दा ४० मिटर जती मात्र पर एक ग्रूप मान्छेहरु हामीतिर आको जस्तो लागेर शशंकित भयौं । प्रहरी हैन भन्ने कुरामा त ढुक्क भइयो तर के थाहा सिभिल ड्रेस वालाहरु होकि? कसैले कम्प्लेन पो गरेकी? कि कुनै राजनैतीक दलसँग सम्बन्धित विकृति सुधारने नाममा जनतालाई दु:ख दिने सब भन्दा भ्रस्ट , विकृत र निकम्मा युवाहरुको दस्ता हो कि? ३ केटा र ३ केटीहरु रहेछन, केटीहरु सबले एकै खालका कुर्ता सुरुवाल लगाका भने केटाहरुले अली ढंग नमिलेको प्रकारले ड्रेस अप गरेको । हामी भन्दा १० मिटर जती अगाडि आउँदा सबैले हामीतिर अचम्मको दृष्टिले हेरे – सांचै अचम्म थियो वा जोइन्टको असरले हो थाहा भएन तर हेर्न चाँही सबैले हेरेका थिए । त्यसपछी उनिहरु अली परतिर (सबैतिर बाट) छेकिने ठाउँ तिर बस्न गए। बसे कि सुते कि के-के गरे वास्ता भएन तर खितखित र गुन गुन आवाज भने आइरह्यो ।
“ हैन हामी किन तेस्सै डराउछौं हँ? कि खाँदै नखाम, खाएपछि नडराइ नलजाइ खाम न। कसको हाम्ले के बिगारेको छ र ? हाम्ले पैसा चोरेर खाको हैन, कसैको लुटेको हैन, खाएर कसैसँग निउ खोज्या छैन , कसैको छोरी जिस्काको छैन, कुनै क्राइम पनि गर्या छैन। आउछौं खान्छौं आफ्नो बाटो लाग्छौं, अरुले बाल दिनुपर्ने कारण नै छैन र अरुलाई पनि बाल दिए हुन्छ; कसैलाई असर नपर्ने गरि इंजोय गर्न हामी किन डराउने होला है दाई?” – चिरागले मलाई सोध्यो। म, जो गाँजा तानिरा बेला कोहि नौलो मान्छे देखा परे सबभन्दा डराउँथे ।
आदत बाट मजबूर मलाई कुन बेला कसको कुरा काटम भाईराखेको थियो, मौका पाइहालें – ” त्यसो भनेर कहाँ हुन्छ? देशका युवा बिग्रिन थालेपछी सरकारले जिम्मा लिनु परेन? आज गाँजा खाला , भोली ट्याब खाला वा सामान तान्ला, पर्सी फिक्स हान्ला,के त्यत्तिकै छोडिदिने? अनी कसैलाई हानी किन हुन्न, गाँजाले स्वास्थमा हानी पुग्दैन? हो म पनि खान्छु तर यो खानु ठीक हो भन्दिन। बरु मैले जानीजानी गल्ती गरेको स्विकार्छु! ”
चिरागको चित्त बुझेन – ” यहाँ चि… मान्छे मार्नेहरुलाई पुलिसले इस्कर्टिङ्ग गर्छन अनि हामि जस्तालाई खोरमा थुन्छन! फेरी दाइ, गाँजाले हेल्थमा केइ इफेक्ट पार्दैन के बुजिराख्नु …. गाँजा त रक्सि र चुरोट भन्दा सेफ हो नि, क्या हो दाइ नेट सेट हेर्नुहुन्न? Anticarcinogenic (क्यान्सर प्रतिरोधात्मक) भनेर पत्ता लागिसक्यो, अझ.. ”
” हल्ला नगर मु.. तिमी बच्चाहरु । अलिकति के गूगल गर्न सक्ने भयौ, बडो नेट को हावाला दिन्छौ। नेटमा त जे पनि लेखिदिन्छ। कुनै अधिकारिक हेल्थ वेब्साइटमा लेखेको छ त्यस्तो? रक्सी छोड्ने मन भाको बेला नेटमा खोज्यौ भने रक्सीको सब दुर्गुण पाउछौ अनी फेरी रक्सीको मातमा हेर्यौ भने रक्सी को फाईदाहरु मात्र फेला पार्छौ। अघिल्लो केसमा तिमि ‘ पिउँदा पिउँदा यस्तो भैयो सबको सामु सस्तो भाईयो’ भन्ने खोजेर सुन्छौ, दोश्रो केसमा तिमी आँफै ‘ नशा शराब में होता तो नाच्ती बोतल’ भन्दै नाच्छौ ; त्यसैले …..”
” केटा हो डिस्कस नगरम न यस्तो रमाइलो मूडमा ” – देवेश जङ शाह ले बिचमा रोक्यो। उसलाई मेरो हिन्दी शायरीले रिस उठ्यो वा डिस्कशनले , उही जानोस् । राजुले आइफोनमा अघिको गीत चेन्ज गरेर अर्को फ़्लोय्ड पिस -” वट’स अ द डिल ” बजायो जसको सुरुवाती मधुर धुन संगै मेरो आधा रिस बगेर गयो…. ।
मलाई बिनाकारण रिस उठेको थियो। अबदेखि यी भुराहरु मात्र हुँदा यँहा कहिल्यै नआऊने बिचार गरें। ‘खानु परे बाबु दाई सँग बरु बेग्लै भेटेर खान्छु ’ मनमनै निधो गरें। ” म लाग्छु है केटाहो, छोरीलाई अली सन्चो छैन के आज” – मैले बाहाना बनाएँ।
” पख्नु दाई, तपाईंलाई म चोकसम्म ड्रप गरिदिन्छु” चिरागले अनुरोध गर्यो।
” भो पर्दैन, एकछिन त हो नि ” मैले सकेसम्म चाडैं छुट्टीनको लागि भनें।
” भाईसँग रिसाउनु भाको दाई? ” – चिरागले भित्रदेखी भनेको जस्तो लाग्यो। गल्ति पनि आखिर मेरै थियो। मनमा आसु छल्क्यो तर आँखामा लेराईंन । हासेर भनें ” ह्या मु .. , म तिमीहरुसँग रिसाउछु कैले? ब्लड प्रेसर हाइ हुन्छ के कैले काइ तेत्ती हो!”
केटाहरु हासें। मैले सबै सँग हात मिलाएँ। अब शनिबार, आर्को हप्ता भेट्ने वाचाका साथ म चिरागको पल्सरको पछाडि बसेँ। बाइकको सिटमा बस्दा बाबु दाइले अघिल्लो हप्ता सुनाको सपनाको विवरण याद आयो – ” बुझ्यौ विवेक, म त झोंछे गल्लीको हाम्रो पुरानो घरमा रे । गाँजाको बोट जताततै उम्रेको रे – केहि हिप्पी हरु चिलिम तान्दै मस्त छन रे। सबैजना हास्दै, गीत गाउँदै, नाच्दै छन् रे। नारायण गोपाल र गोपाल योञ्जन पनि छन् रे – हार्मोनियम र तबला बजाउदै , गीत गाउदै हिप्पीहरु संग। (बाबु दाइले केहि अंग्रेजी गायकहरु पनि त्यहाँ उपस्थित थिए भन्नु भाको थियो तर सिड ब्यरेट र जेनिस जप्लिन बाहेक सबको नाम बिर्सें! ) मन्दिरको घण्ट को अवाज र स्वयम्भूमा पाठ गरेको अवाज मिसेर त्यहाँसम्म आउछ रे। केहि हिप्पीहरु कसैलाई गिटार बजाउन सिकाउदै, कोहि भने ल्याङ्ग्वेज सिकाउदै छन् रे । म चाही भेज म:म: को तरकारीमा गाँजा मिसाएर पकाउदै छु रे। हामि सबले ” नो मोर वार” भनेर लेखेको टि-सर्ट लगाको छम रे। एक्कासी जर्ज बूशका बाउछोरा र रिचर्ड निक्सन प्रकट भए आर्मी का साथ् , अनी त्यहाँ भागभाग भयो रे। अमेरिकन आर्मीहरुले गाँजाको बोट फाँडे रे। गिटार, हार्मोनिका, बासुरी भाँचिदिए रे। मन्दिरको घण्ट र भिक्षुहरुको मन्त्र सुनिन छोड्यो रे । एकैछिनमा सबै हिप्पिलाई समातेर लगे रे, भियतनाम र इराक जानको लागि। जान नमान्नेलाई त्यहीं गोली ठोकियो रे .. अन्धाधुन्ध गोलि चल्यो – सेता परेवाहरु सबै रक्ताम्य भएर भुइमा झरे रे। एक्कासी कहाँबाट हाँस्दै र भाँचिएका गिटारका टुक्रालाई लात हान्दै जस्टिन बिबर र माइली साइरस जस्ताका ग्याङ्ग आए रे अनी कोलाबेरी डि, गंग्नम स्टाइल र नेपालि/ हिन्दी रिमिक्स गीत घन्काउदै नाच्न थाले रे। नारायणगोपाल र सिड ब्यारेट सँगसंगै रुदै थिए रे। मलाई जस्टिन बिबर र माइली साइरस्ले नाच्नु भने रे, मैले ” आइ वन्ट एभर डान्स टू योर फकिंग गार्बेज” भनें रे । तर अमेरिकन आर्मिहरुले जेनिस जप्लिन र गोपाल योञ्जनको कंचट्मा बन्दुक तेर्स्याएर मलाई कांचको टूक्रा भाको भुइमा नाच्न लाए रे। गोपाल दाइले – ‘ भाइ, यि शान्ति र संगीतको नाममा कलंकहरुको अगाडि ननाच’ भने रे। तर म नाँचे रे अनी एउटा सिसा पैताला मा घोचेपछी बिउँझीए यार …”
बस स्टप आइसकेछ। मैले उत्रिनेबेला चिरागलाई भनें – ” माइन्ड नगर है ब्रो, सरि!” , आँसु रोक्न सकिंन यसपाली ।
” आम्बो! तपाइको आँखा त गोलभेडा जस्तो रातो छ दाइ, तर सेक्सी देखेको छ! राख्नु, बसमा बस्दा हाल्नु” – आँखा रातो हुँदा सेतो पार्ने “अक्युरेस”को स्कुइजर मलाई दिएर फेरी फर्केर नहेरी बाइक स्टार्ट गरी चिराग गुड्यो, टिसर्टको कालो पृष्ठभूमिमा एक त्रिकोणको बायाँ तिर सेतो धर्का र दाँया तिर सात वटा रंग निस्केको चित्र म तिर तेर्साएर…..। म चाही अक्युरेसलाई चिरागले नै केहि बेर अघि थमाको गाँजाको “रहलपहल” को पोका संगै खल्तीमा राखेर “हरियो” रंगको बस कुर्दै बसें, भोकै!
“Mere color, unspoiled by meaning, and unallied with definite form, can speak to the soul in a thousand different ways “ –Oscar Wilde
(स्रोत : Mysansar )