~कृष्ण शाह यात्री~
स्थान = महास्थान अर्थात् शून्य
समय = महासमय अर्थात् आगत
रङ्गमञ्चमा मधुरो प्रकाश छरिएको छ ।
रङ्ग/यज्ञ–अनुष्ठानका सामग्रीहरू छरिएका छन् ।
महाभारतकालीन रथ, पाङ्ग्रा, घोडा र सैनिकहरू देखिन्छन् ।
मञ्चमा देखिएका नारी तथा पुरुषहरूले भने आधुनिक वेषभुषा पहिरिएका हुन्छन् ।
विभिन्न मन्त्रोच्चारण भइरहेको हुन्छ ।
त्यसैबेला एकजना नारीको प्रवेश हुन्छ ।
नारी : (विचित्रको आवाज निकाल्दै) खबरदार ! यो यज्ञ–उत्सवको सम्पूर्ण कार्य तत्काल रोकियोस् । यस रङ्गमञ्चमा मन्त्रोच्चारण निधेष गरिएको छ ।
सबैजना छक्क पर्छन् । मुखामुख गर्छन् ।
मन्त्रोच्चारण रोकिन्छ । प्रश्नको बाक्लो घेरा देखा पर्छ ।
पुरुष १ : को हौ तिमी ?
पुरुष २ : किन यसरी यज्ञ विथोल्न खोज्छौ ?
पुरुष ३ : कसले पठाएको हो तिमीलाई ?
नारी : (कठोर) म द्रौपदी हुँ । तिमीहरुको अनुष्ठानको गर्भमा रहेकी द्रौपदी हुँ म !
पुरुष ३ : दौपदी !
पुरुष २ : दौपदी !
पुरुष १ : दौपदी !
पुरुष ४ : दौपदी !
पुरुष ५ : दौपदी !
पुरुष ६ : दौपदी !
पुरुष ७ : दौपदी !
द्रौपदी : हो म द्रौपदी हुँ ।
पुन: सबैजनाको मुहारमा अन्योल र आशङ्का देखा पर्छ ।
पुरुष १ : धृष्टद्युम्न आउनुअघि द्रौपदी कसरी जन्मन सक्छे ? द्रौपदी तिम्रो प्रवेशको समय भएको छैन । तिम्रो लागि यो शून्य समय हो । तिमी अहिले गर्भभित्रै फर्क । उचित समय भएपछि बाहिर निस्कनू ।
द्रौपदी : (आक्रोशित बन्दै) किन ? म किन फेरि गर्भमा फर्कने ? अनि म फेरि किन कसैको आदेश वा चाहनामा फेरि रङ्गमञ्चमा प्रवेश गर्ने । म आफूखुशी आएको हुँ र आफू खुशी जानेछु । मलाई कुनै आदेश दिने धृष्टता नगरियोस् । नत्र यसको परिणाम राम्रो हुने छैन ।
पुरुष १ : आखिर तिमी के चाहन्छौ ?
पुरुष ४ : तिमीले भन्न खोजेको कुरा के हो ?
पुरुष ७ : हामी रङ्ग–महोत्सवको तयारीमा छौँ । हामीसँग समय एकदमै थोरै छ । अबको शून्य स्थान र समयमा पूर्वाभ्यासको तयारीमा जुट्नु छ हामी । छिटो भन के चाहन्छौ तिमी ?
द्रौपदी : म ? म कसैसँग भेट्न आएकी हुँ ।
पुरुष ७ : कसलाई ?
पुरुष ६ : कुन्तीलाई…
सबै पुरुष : कुन्ती ?
पुरुष १ : अर्थात् तिम्रो सासू ?
पुरुष २ : अर्थात् पाण्डवकी आमा ?
पुरुष ३ : अर्थात् यस नाटककी निर्देशक ?
पुरुष ४ : यतिबेला त उहाँ हुनुहुन्न ।
द्रौपदी : (दृढ स्वरमा) तर मैले अहिे नै कुन्तीलाई केही प्रश्न गर्नु छ । कहाँ छिन कुन्ती ? तुरुन्त बोलाउनोस् ।
द्रौपदीको कुराले अन्योलता बढाउँछ । पुरुषहरू द्रौपदीलाई शङ्कालु दृष्टिले हेर्छन् ।
उनीहरू केही नबुझिने सङ्केतमा कुराकानी गर्छन् ।
पुरुष १ : (द्रौपदीको नजिक जाँदै) के हामी कारण जान्न सक्छौ ? तिमी किन आफ्नो जन्म हुनुअघि नै कुन्तीलाई भेट्न चाहन्छौ ?
द्रौपदी : (घमण्ड गर्दै) यो मेरो नित्तान्त व्यक्तिगत कुरा हो । अर्थात् म यो कुरा यस नाटककी निर्देशक कुन्तीसँग मात्र भन्नेछु । खै कहाँ छिन् कुन्ती ?
पुरुष २ : हामीले अघि नै भन्यौ नि ! कुन्तीको प्रवेशको समय भएको छैन भनेर ।
द्रौपदी : त्यसो भए जाऊ । बोलाएर ल्याऊ कुन्तीलाई । म कुन्तीलाई सोध्न चाहन्छु । उनले किन मलाई आफ्नो पाँचजना छोराहरूलाई बराबरी भाग लगाइन् ? म त अर्जुनलाई मन पराएकी हुँ ।लक्ष्यवेध पश्चात अर्जुनले मलाई स्वयम्वरबाट ल्याएका हुन् । म किन अरू दाजुभाइको साझा पत्नी बनूँ ? किन कुन्तीको आदेशलाई मैले मान्ने ? मैले कुन्तीलाई भेटेर यो कुरा सोध्ने निश्चय गरिसकेँ ।
त्यसैबेला कृष्णको प्रवेश हुन्छ ।
कृष्णको अनुहारमा तेज आभा देखिन्छ ।
कृष्ण : द्रौपदी ! तिमी यहाँ के गरिरहेकी छौ ? तिमीलाई मैले कहाँ–कहाँ खोजिनँ । तिमी यहाँ के गरिरहेकी छौ । तिम्रो आगमनको समय त होइन नि यो ।
द्रौपदी : म महाप्रश्नहरूको उत्तर खोजीरहेको छु कृष्ण !
कृष्ण : उत्तर कस्तो ?
द्रौपदी : (मायालु स्वरमा) के तिमीलाई थाहा छैन ?
कृष्ण : कस्तो कुरा गरेकी ? मलाई कसरी थाहा हुन सक्छ ? तिमीले सोध्दै नसोधेको कुरा म कसरी थाहा पाउन सक्छु र ?
द्रौपदी : ए ! हो त नि । मैले नभनी तिमीले थाहा नपाउन पनि सक्छौ । तिमी त साइबर युगका कृष्ण पो हौ नि । है ? अनि म आधुनिक द्रौपती हुँ । कृष्ण ! तिमीसित पनि मैले केही प्रश्न सोध्नु छ ।
कृष्ण : हुन्छ । सोध ।
द्रौपदी : के तिमी मलाई मन पराउँछौ ।
कृष्ण : (अप्ठ्यारो मान्दै) कस्तो नचाहिँदो ठट्टा गरेकी द्रौपदी !
द्रौपदी : म तिमीसँग ठट्टा गरिरहेकी छैन कृष्ण ! भन के तिमीले मलाई आफ्नी प्रेमिका जस्तै ठानेनौ कहिल्यै ? के तिमीले मसँग चाहिने भन्दा बढी नजिकिने कोसिस गरेनौ ? (कृष्णको शब्द हराउँछ) भन कृष्ण ! किन अप्ठ्यारो मान्छौ ? यो महाभारतकालीन समय होइन । यो एक्काइसौँ शताब्दी हो । भन यहाँ कुनै कुरुक्षेत्रको नाटक भइरहेको छैन । यहाँ आधुनिक नाटक मञ्चन हुन लागिरहेको छ । अझ तिमी उत्तरआधुनिक पनि भन्न सक्छौ । हामी यतिबेला हामी हौँ । मात्र पात्र होइनौँ । यस रङ्गमञ्चमा आज म तिम्रो मुखबाट सुन्न चाहन्छु । के मैले तिमीलाई मन पराए जत्तिक्कै तिमी पनि मलाई मन पराउँदैनथ्यौ ?
नारी र पुरुष पात्रहरू बीच खासखुस कुराकानी गरेको आवाज सुनिन्छ ।
उनीहरू क्रमश: रङ्गमञ्चबाट बाहिरिन्छन् ।
अब मञ्चमा कृष्ण र द्रौपदी मात्र हुन्छन् ।
कृष्ण : द्रौपदी ! आज के भइरहेको छ यहाँ ? मैले केही पनि बुझ्न सकिरहेको छैन । मलाई त यस कुन्तीले नाटकको पूर्वाभ्यास गर्न बोलाएकी थिइन् । त्यसैले म आएको हुँ । म कृष्ण हुँ । यस नाटकको नायक ! अनि तिमी द्रौपदी अर्थात् पाञ्चाली अर्थात् यस नाटककी नायिका ।
द्रौपदी : गलत ! म पाञ्चाली होइन । म मात्र द्रौपदी हुँ । म पाञ्चाली बन्न पनि चाहन्नँ ! म यो युगमा त्यो ट्रडिशनल र स्टेरियो टाइप नायिका हुन चाहन्नँ । म यो नाटकमा तिमीसँग खुलेर प्रेम गर्न सक्ने द्रौपदी बन्न चाहन्छु । मलाई कुनै दुःशासनको रगतले नुहाउनु छैन । मलाई कसैलाई शकुनीको बधको प्रतिज्ञा गराउनु छैन । म शान्त वातावरणमा नाटक भएको हेर्न चाहन्छु । म निस्फिक्री प्रेमका नदीहरू बगाउन चाहन्छु । भन कृष्ण ! के साच्चै तिमी मलाई मन पराउँदैनथ्यौ ?
कृष्ण : द्रौपदी ! मलाई तिम्रो प्रश्नको उत्तर दिने अनुमति कसैले पनि दिँदैन । र म यी महाप्रश्नको उत्तर पनि दिन सक्तिनँ ।
द्रौपदी : किन डर लाग्यो ?
कृष्ण : डर ? कसको ?
द्रौपदी : तिम्री प्रेमिका राधाको ।
पुरुष १ : राधा ? यो फेरि राधाको कुरा कहाँबाट आयो ?
द्रौपदी : कृष्ण मलाई सबै कुरा थाहा छ । तिमी मलाई मन पराउँछौ भन्ने कुरा तिमीले मबाट लुकाएर लुक्दैन ।
कृष्ण : के प्रमाण छ तिमीसित ?
द्रौपदी : प्रमाण ? प्रमाण सुन्न चाहन्छौ ? राज्यारोहणको केही वर्षपछि युधिष्ठिरले अश्वमेघ–यज्ञ गरेका थिए । त्यसमा अश्वरक्षा र युद्धको अभिभारा अर्जुनलाई दिइएको थियो । त्यसपछि अर्जुनलाई मैले धेरै दिनसम्म देख्न पाइनँ । मैले त्यो प्रश्न गर्दा तिमीले के भनेका थियौ थाहा छ ?
कृष्ण : के भनेँ र मैले ?
द्रौपदी : बुझ नपचाऊ कृष्ण ! तिमीले त्यो बेला अर्जुनको लागि विशेष चिन्तित हुन आवश्यक छैन द्रौपदी । उसको पिडौला लामो छ भनेका थियौ । अर्जुन र तिम्रो पिडौला बराबर थियो । तिमी तुलना गर्न चाहन्थ्यौ । र मलाई आकर्षित गर्न पनि । अनि अर्को कुरा
कृष्ण : यो गलत आरोप हो द्रौपदी ! बरु, तिमी पाँच पतिहरूमध्ये सबैभन्दा बढी अर्जुनप्रति आशक्त थियौ ।
द्रौपदी : त्यसो भए महाभारतमा द्रौपदीको दोस्रो नाम कृष्णा किन राखियो ? भागवतमा पनि व्यासले तिम्री प्रमिका राधालाई धेरै ठाउँमा श्यामा भनेका छन्, जब कि राधा गोरी थिइन् । भन कृष्ण त्यो श्यामा भनेकी म नै हुँ कि होइन ?
कृष्ण : ओहो ! म कसरी सम्झाऊँ तिमीलाई । तिम्रा यी प्रश्नहरूको उत्तर खोज्ने हो भने अर्को महाभारत जन्मनेछ । भो छाडिदिऊँ यी कुराहरू । मलाई यति मात्र थाहा छ यो नाटकमा तिमी नायिका हौ । अनि म नायक हुँ । हामीले आ–आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नु पर्नेछ । हामीले दर्शकहरूका निम्ति पनि इमान्दारी पूर्वक राम्रो अभिनय गर्नु पर्नेछ ।
द्रौपदी : तर मैले अब दर्शकहरूले खोजेजस्तो अभिनय गर्नु छैन । मैले कस्तो अभिनय गर्नु पर्छ भन्ने कुरा म आफै निधो गर्नेछु ।
कृष्ण : यो त रङ्गधर्मको नियम र सिद्धान्त विरुद्धको कुरा भयो ।
द्रौपदी : मलाई कुनै पनि आडम्बरी रङ्ग–सिद्धान्तको मतलव छैन ।
कृष्ण : यो त नाटक निर्देशकप्रति पनि विश्वासघातको कुरा भएन र ?
द्रौपदी : (चिच्याउँदै) भयो नसम्झाऊ त्यो नाटक निर्देशकको । मैले अब विद्रूप हाँसो हाँस्नु छैन ।
कृष्ण : अनि दर्शक ! के भन्छौ नि नाटक हेर्न आएका दर्शकलाई ?
द्रौपदी : उनीहरूले कुरुक्षेत्रको नाटक पनि मौन रूपमा हेरेका थिए । यो नाटक पनि त्यसैगरी हेर्नेछन् । पहिला उनीहरूका लागि नाटक ग-यौँ हामीले । अब हाम्रा लागि नाटक गर्छौँ । म रोऊँ कि हासौँ कि लजाऊँ यो मेरो आफ्नो स्वेच्छाको कुरा हो । मैले कसैका निम्ति रोइदिनै पर्छ भन्ने छैन । म कसैका निम्ति हाँसिदिनै पर्छ भन्ने पनि छैन । अनि म कसैका क्षणिक आनन्दका निम्ति लजाइदिनै पर्छ भन्ने पनि छैन ।
कृष्ण : (दिक्दार मान्दै) ओहो द्रौपदी ! तिकी कस्तो–कस्तो कुरा गर्न लाग्यौ । म अब तिमीसित कुरा गर्न सक्तिनँ । गएँ म ।
द्रौपदी : हुन्छ जान सक्छौ । तर तिमीले नभने पनि सारा लोकलाई अब थाहा हुनेछ । तिम्रो र मेरो सम्बन्धको नयाँ अर्थ धेरैले थाहा पाउनेछन् कृष्ण ! तिम्री राधाले पनि ।
कृष्ण द्रौपदीको कुरा नसुनेझैँ गरी हतार–हतार मञ्चबाट बाहिरिन खोज्छ ।
द्रौपदीले कृष्णको हात समात्छिन् ।
कृष्ण रोकिन्छन् ।
द्रौपदी : (सम्झाउने प्रयास गर्दै) कृष्ण ! के तिमी साँच्चै जान लागेका हौ ? मलाई छाडेर ? (कृष्ण द्रौपदीदेखि टाढिन खोज्छ) मेरो कुरा त सुन । कृष्ण मेरा अनुत्तरित प्रश्नहरुको जिम्मा लिएर त जाऊ । (कृष्णको प्रस्थान हुन्छ । द्रौपदी ठूलो स्वरमा बोलाउँदै) कृष्ण ! मेरो कुरा त सुन …
द्रौपदी पनि कृष्णसँगै मञ्चबाट बाहिरिन्छिन् ।
मञ्चमा फेरि मन्त्रोच्चारण हुन्छ ।
विभिन्न मुखुण्डा लगाएका नर–नारीका आकृतिहरूको प्रवेश हुन्छ ।
मन्त्रोच्चारण तिब्र हुँदै जान्छ । उनीहरू नृत्यरत मुद्रामा छरिन्छन् ।
मञ्चमा रातो प्रकाश छरिन्छ । धूँवा मडारिन थाल्छ ।
त्यसैबेला एकजना पात्र अत्तालिँदै मञ्चमा देखा पर्छ । उसले दुर्योधनले लगाउने वस्त्र पहिरेको छ । उसको अनुहारको रङ फुङ्ग उडेको छ ।
दुर्योधन : घोर अनर्थ भयो । कुन्तीले आत्महत्या गरिन् ।
पुरुष १ : कुन्तीको आत्महत्या ?
पुरुष २ : कुन्तीको आत्महत्या ?
पुरुष ३ : कुन्तीको आत्महत्या ?
पुरुष ४ : कुन्तीको आत्महत्या ?
नारी १ : कुन्तीको आत्महत्या ?
नारी २ : कुन्तीको आत्महत्या ?
नारी ३ : कुन्तीको आत्महत्या ?
नारी ४ : कुन्तीको आत्महत्या ?
सबै पुरुष : यो सबै कसरी भयो ?
दुर्योधन : द्रौपदीले कठोर शब्दमा कुन्तीलाई विभिन्न लाञ्छना लगाइरहेकी थिइन् । उनी अब हुने नाटकमा बहुपति प्रथाको विरुद्धमा थिइन् । द्रौपदी आफ्नो कुरा नमानेमा नायिकाको भूमिका नखेल्ने धम्की दिइरहेकी थिइन् । भनाभन् भइरहेको थियो । एक्काइसौँ शताब्दीका महाभारतकालीन द्रौपदीको आवश्यकता नभएकोले यो नाटक असफल हुने दाबी गरिरहेकी थिइन् । यो कुराले सुनेर अचानक कुन्तीलाई ठूलो चोट पुग्यो र उहाँले प्रेक्षालयको कौसीबाट हाम फालेर आत्महत्या गरिन् । मैले यो सूचना सबैतिर पु-याउनु पर्छ ।
यति भन्दै दुर्योधन हतास मनस्थितिमा बाहिरिन्छन् ।
नारी र पुरुषहरू ऊ गएतिर केही समय हेरिरहन्छन् ।
पुरुष १ : ओहो ! यो घोर अनर्थ भयो ।
पुरुष २ : हो यो ठिक भएन । अब यो नाटकको अन्त्य कसरी होला ?
पुरुष ३ : मलाई त अघि कृष्ण र द्रौपदीको कुरा सुनेदेखि नै कुनै अशुभ घटना घट्ला भन्ने लागिरहेको थियो ।
पुरुष ४ : के साँच्चै द्रौपदी बहुलाएकी नै हो त ?
नारी १ : नचाहिँदो कुरा नगर न । द्रौपदी बहुलाएकी हैन । उनले आफ्नो अस्तित्वको लडाइ लड्न चाहेकी हुन् ।
पुरुष १ : अब के हुन्छ ?
पुरुष २ : अब अर्को महाभारत अर्को अध्याय सुरु हुनेछ ।
पुरुष ३ : अब अर्को महाभारत अर्को अध्याय लेखिनेछ ।
पुरुष ४ : दृश्यहरू थपिनेछन् ।
नारी १ : स्तानिसलाव्स्कीहरूले नयाँ तरिकाले सोच्नू पर्नेछ ।
नारी २ : मेयरहोल्डले चिसो कारागारबाट नाटक उम्लिरहेको देख्नेछन् ।
नारी ३ : ग्रोतोस्कीहरूले नयाँ विषय पाउनेछन् ।
नारी ४ : भरत मुनिहरू नयाँ रसहरूमा बग्नेछन् ।
पुरुष ५ : व्यासहरू चकित पर्नेछन् !
नारी ५ : अब द्रौपदीको अस्तित्वमाथि नयाँ व्याख्या हुनेछ ।
पुरुष ६ : अब कृष्णको आवरणमाथि नयाँ विश्लेषण हुनेछ ।
नारी ६ : अब कुन्तीको मस्तिष्कको पोष्टमार्टम हुनेछ ।
पुरुष ७ : अर्थात् भनौँ महाभारतका केही अध्यायहरूको पोष्टमार्टम हुनेछ ।
नारी ८ : जाऊँ हिडौँ कुन्तीको लास हेर्न ।
नारी १ : जाऊँ हिडाँ द्रौपदीको खोजी गर्न ।
सबैजना : हो । हो । जाऊँ जाऊँ । यहाँ यस अभिशप्त रङ्गमञ्चमा धेरै समय नबसौँ । यहाँ जे पनि हुन सक्छ । :
सबैजना मञ्चबाट बाहिरिन्छन् ।
मञ्च खाली हुन्छ ।
शङ्खध्वनि सहित अनौठो धूनहरू बज्न थाल्छ ।
रङ्गमञ्चको सबै आलोक हराउँछ ।
समाप्त ।
(स्रोत: Nepali kala sahitya)