कथा : काइँयो

~विवश वस्ती~Bibash Basti

एउटा प्राचीन काइँयो थियो मसित। तर छैन अहिले। मेरो अद्र्धश्वेत कपालको लामो स्याहारसुसारबाट सर्वथा मुक्ति चाहेर नै हुनुपर्छ, सदैव मेरो पाइन्टको पछिल्लो खल्तीमा जम्ने काइँयो छैन अहिले। रित्तो छ खल्ती र नयाँ काइँयोले पनि सहज प्रवेश पाएको छैन यतिन्जेलसम्म। नयाँ काइँयोले कपाल कोर्ने लालसा पनि ममा अहिलेसम्म जागेको छैन। कुनै दिन त्यस्तो लालसा ब्युँतियो भने देखा जाएगा !

कपाल कोरेर, चिटिक्कै देखिएर, मगमग बासना आउने तेल जेल लगाएर, जुल्फी फर्काएर हिँड्ने वर्गभित्र म पर्दिनँ। शतप्रतिशत ठोकुवा गरेर नै भन्छु, म त्यस्तो वर्गभित्रको प्राणी होइन। तर पनि म काइँयो बोक्थेँ र कहिलेकाहीँ कपाल खज्मजिएको बेला चिटिक्क पारेर कोर्थेँ पनि। अझ कपालले आफ्नो आयतन विस्तार गरेको बेला त काइँयोबिना म डेगै चल्न सक्दिनथेँ। यसलाई सोखको वृत्तभित्र राख्न चाहन्न म। म सौखिन काइँयोबाज होइन। एउटा सौखिनमा हुने गुण वा अवगुणहरू ममा रत्तिभर छँदा पनि छैन। यदि विश्वास लाग्दैन भने म यथाशक्य विश्वास दिलाउने प्रयत्नमात्र गर्नेछु। त्योभन्दा मसित अर्को विकल्प छैन।

म यो कथा हराएको आफ्नै काइँयोको कथ्दैछु। कसैकसैलाई यस्तो लाग्ला, ‘यो कति बेकारको मान्छे रहेछ, जो आफ्नो हराएको जाबो एउटा काइँयोको कथा लेख्दैछ। त्यस्तै पाँच-दस रुपैयाँमा सडकको पेटीमा पाइने काइँयोको कथा लेखेर के नै बाजी मार्न खोजेको हो यल्ले? मान्छेले जिन्दगीमा कति मूल्यवान् वस्तुहरू हराउँदा त चित्त बुझाउँछन् भने यल्ले त्यति जाबो सानो कुरामा किन र्‍याल बगाएको होला? यो त फाल्तुकै मान्छे रहेछ बा…।’

सुरुसुरुमा त मलाई पनि यस्तै लागेको हो। थोरै दाममा पाइने, त्यो पनि पूरै प्राचीन एउटा काइँयोको कथा कोरेर म किन दुनियाँका सामु हँसिमजाकको पात्र बनूँ? आफूलाई एउटा काइँयोप्रति लोभी व्यक्तिको सूचीमा किन आबद्ध गरुँ ? वा, काइँयो नै मेरो जीवनको सर्वस्व हो भन्ने चरम दरिद्र भाव किन व्यक्त गरुँ ? यस्तैयस्तै प्रश्नहरूले मलाई केही क्षण त अँठ्याएको थियो नै। तर मनलाई त्यति शान्त पार्न सकिनँ मैले।

मेरो मनले तत्काल हस्तक्षेप गर्‍यो र भन्यो-‘तैँले हराएको आफ्नो काइँयोको बारेमा केही न केही त बोल्नै पर्छ। तेरो कपाल सजाउन, तेरो सौन्दर्य-सत्तालाई कायम औं मजबुत राख्न कति भूमिका खेलेको छ काइँयोले? तैले यसलाई सामान्य कुरा ठाने पनि यो तेरो जीवनको निम्ति धेरै महत्त्वको विषय हो। त्यसैले तैले काइँयोको बारेमा केही न केही बोल्नै पर्छ।’

अन्तत: म आफ्नै मनदेखि हारेँ र हराएको काइँयोको कथा लेख्न थालिरहेको छु। मेरो मनले मसित जुन प्रतिवाद गर्‍यो, त्यसमा सत्यताका अंशहरू बग्रेल्ती छन्। हो, मेरो सौन्दर्य-सत्तालाई कायम राखिरहन मेरो काइँयोले अद्वितीय त होइन, राम्रै भूमिका खेलेको छ। त्यसमा म काइँयोको भूमिकाप्रति सन्तुष्ट छु। अफसोच !

काइँयोको भूमिकाप्रति म सन्तुष्ट रहे पनि, सचेत रहे पनि मेरो भूमिकाप्रति भने काइँयो सन्तुष्ट रहेनछ। त्यही भएर हुनुपर्छ, मलाई कुनै जानकारी नदिई, थाहापत्तै बिना मसित रहेको सिर्फ एक थान, बाटोमा बेवारिसे अवस्थामा रहे पनि कसैले ग्रहण नगर्ने रूप र रङको काइँयोले मसित बिदा लिएको छ। अर्थात् हराएको छ। म अहिले त्यही हराएको काइँयोको कथा कथ्दैछु।

मलाई अत्यन्तै दु:ख लागिरहेको छ यतिबेला। मैले मेरो काइँयोलाई कुनै पनि पल कुनै कुराको कमी हुन दिइनँ। म जता जान्थेँ, त्यही पुग्थ्यो मेरो काइँयो। मेरो हरेक यात्राको साक्षी थियो त्यो काइँयो। मैले कति स्नेहपूर्वक सजाएको थिएँ त्यसलाई।

नयाँनयाँ काइँयाहरूको तँछाडमडाड चलिरहेको बेला मैले नयाँलाई ग्रहण गर्ने मनशाय कुल्चेर त्यही पुरानो, दुईतीनवटा दाँत उछिट्टिइसकेको, हेर्दै अनाकर्षक लाग्ने, अशोभनीय, नयाँ वातावरणमा भिज्न अनिच्छुक त्यही काइँयोलाई लगातार स्वीकारिरहेको थिएँ। मैले साहसिक निर्णय गरेको भएँ त्यो पुरानो काइँयोलाई हुत्याएर नयाँ, आकर्षक, चमकदार काइँयो किन्थेँ हुँला र म पनि परिवर्तनको पक्षपाती हुँ भन्ने सन्देश चौतर्फी वितरण गर्थेँ हुँला। तर मैले पुरानोलाई लत्याएर नयाँप्रति आकर्षित हुने कुनै लालसा उमारिनँ।

काइँयो भन्ने कुरा कहिले, कसले उत्पादन गर्‍यो र यो मुनाफाखोरी बजारमा बिक्रीको लागि फिँजायो? मलाई यो विषयमा प्रवेश गर्नु छैन अहिले। म त सिर्फ काइँयोको पारखी हुँ। काइँयोले कपालको सौन्दर्यलाई कति सुसज्जित तुल्याउँछ भन्ने कुराको प्राथमिक सोच राख्ने व्यक्ति मात्र हुँ। तर मलाई लाग्छ, काइँयोको कथा र प्राणीको उत्पत्तिको कथाबीच सायदै बेमेल होला।

काइँयोको अस्तित्वको प्राणीको उत्पत्तिदेखि नै भएको मेरो ठोकुवा छ। मानवशास्त्रका दिग्गजहरूले यसमा के प्रतिक्रिया देलान्, मलाई त्यसप्रति सरोकार भएन। तर पहिले पहिलेका प्राणीहरूको चित्र हेर्दा, ती चित्रहरूमा तिनीहरूका रौंहरू सपक्कै मिलेको देख्दा त्यतिबेला काइँयो थियो भन्ने लाग्छ मलाई। यो मेरो गोर्खे तर्क पनि हुन सक्छ तर तर्क भनेको तर्क नै हो।

मलाई अहिले पनि नेपोलियनको कपालप्रति औधी डाह लाग्छ। म कहिलेकाहीँ सोच्ने गर्छु, यिनले आफ्नो कपाल कुन ब्रान्डको काइँयोले कोर्थेँ होलान्? यिनले कपालमा कुन ब्रान्डको जेल लगाउँथे होलान्? युवा छँदा त यिनको कपाल यति आकर्षक थियो कि, कुनै पनि युवती यिनको कपाल देखेर नै प्रेम गर्थे होलान्।

कानै ढाक्ने, सपक्क मिलाएर कोरिएको, अझ गर्दनसम्मै झुलेको यिनको कपाल विश्वका अरू शासकहरूभन्दा निकै नै प्रभावशाली थियो। बीचमा रेखा कोरेर दुवैतिर लर्काइएको यिनको कपाल देख्दा लाग्छ, यिनले त्यतिबेला कस्तो काइँयो प्रयोग गरे होलान्? तर जीवनका पछिल्ला चरणहरूमा भने यिनका कपालले चिन्डोपन ग्रहण गरिसकेको थियो। धेरै समय युद्धमा बिताउनु परेर नै होला, तिनै चिन्ताहरूको भवसागरमा डुब्दाडुब्दै यिनले आफ्ना लायकदार कपाल गुमाउन पुगे र चिन्डोपन स्वीकार्दै गए।

कुनै कुनै व्यक्ति काइँयोकै सहारामा बाँचे पनि काइँयोबाट पूरै विमुक्त व्यक्तिहरूमध्ये महात्मा गान्धी पनि एक हुन् जस्तो लाग्छ मलाई। युवा छँदा त के भयो त्यति हेक्का भएन, तर बुढ्यौलीका दिनहरूमा भने गान्धीले काइँयोको नामै भुलेजस्तो लाग्छ मलाई। किनभने उनलाई त्यो उमेरमा काइँयोका सायदै आवश्यकता पर्‍यो होला। नभए गान्धीका संग्रहणीय वस्तुहरूमा काइँयोको कतै न कतै त उल्लेख हुनुपर्ने हो नि !

कपाल त हाम्रा जंगबहादुरले पनि पाल्थे। तर त्यति लामा भने होइनन्। पाले पनि उनी आफ्ना कपाल श्रीपेजभित्र लुकाउँथे। अश्व-आरोहणमा विराजमान भएर कुनै युद्ध क्षेत्रतिर पदार्पण गर्न लागेका, कुनै विशिष्ट लक्ष्यभेदन गर्ने मनसुवा राखेर उडानरत रहेका पोजमा देखिने जंगबहादुरका नढालिएका सालिकहरू हेर्दा अहिले पनि लाग्छ, उनीमा पनि अलिअलि जुल्फी पाल्ने सोख थियो। तर मलाई त्यति ज्ञान भएन, उनी बेलायतले उपहारस्वरूप दिएको काइँयो प्रयोग गर्थे वा गर्दैनथे त्यतिबेला?

लामो कपाल पाल्नुलाई अर्को शब्दमा जुल्फी पाल्नु भनिन्थ्यो। अहिले पनि जुल्फी-जमानाका व्यक्तिहरू बग्रेल्ती फेला पर्छन्। पाकिस्तानका तत्कालीन शासक जुल्फीकर अलि भुट्टोको नाम यदाकदा आउँदा उनी पूरै कपालमय व्यक्ति हुन् कि भन्ने भ्रम उब्जन्थ्यो। जुल्फीकर भन्नेबित्तिकै लामालामा कपाल पालेका व्यक्तिको सचित्र आँखा सामुन्ने झुल्किन्थ्यो। कथा अर्कै रहेछ, जुल्फीकर भने पूरै तालुचिन्डे थिए। जवानीको कुरा अर्कै हो, शासक भएपछि उनको टाउकोको अग्रभागले पूरै मरुभूभीकरण अँगालिसकेको थियो। उनका कुनै पनि तस्बिरमा जुल्फीको कुनै नामोनिशाना देखिँदैन।

म आफ्नै काइँयोको कथा बक्दै थिएँ तर कुरा कता बग्यो, बग्यो। सीमाहीन, जबर्जस्त रूपले, कुनै पर्वाह नगरी मेरो काइँयोको कथा बग्यो। तर अब भने म आफ्नै काइँयोको संसारमा फर्किन्छु। मेरो काइँयोप्रति मेरो जति लगाव छ, जति घनिष्टता छ, त्यति न नेपोलियन, न जंगबहादुर वा न अरू कुनैको काइँयोप्रति लगाव थियो होला।

तिनीहरूको काइँयोको संसारभन्दा मेरो काइँयोको संसार नै प्रिय छ, रोमाञ्चकारी छ र सौन्दर्ययुक्त छ। र त म आफ्नै काइँयोको कथा-कन्तुर खोल्ने जमर्को गर्दैछु। मलाई आफ्नै काइँयोको संसार विशाल छ, सिकन्दरले जित्न चाहेको संसारभन्दा विशाल र विस्तृत छ।

कथा त्यति लामो छैन। मेरो काइँयोको कथा। तिख्खर बैंसका रंगीचंगी दिनहरूमा मैले काइँयोसित त्यति संगत गर्ने सुअवसर पाइनँ अर्थात् मैले काइँयोको सहाराले कपाल सिंगार्ने जाँगर चलाइनँ। तर बैंसका दिनहरू क्रमश: छिप्पिँदै गएपछि भने ममा काइँयोमोह एकाएक पलायो। किन यस्तो भयो? म अहिलेसम्म अनभिज्ञ नै छु। तर मैले दिनहुँ काइँयो बोक्न थालेँ।

कुनै दिन काइँयो छुट्दा ममा कुनै कुराको सर्वथा अभाव खट्कन्थ्यो। शरीरले कुनै चीज नस्वीकारेको जस्तो भावना पलाउँथ्यो। अरूलाई पनि सायद यस्तै हुन्छ होला। अहिलेको युगमा तपाईंले एक दिन मोबाइल घरमा छोड्नुस् त, तपाईलाई सिंगो संसार नै कतै छोडेजस्तो हुन्छ। हो, मलाई पनि त्यस्तै हुन्थ्यो, कहिलेकाहीँ काइँयो छोड्दा। तर एकदिन भने मैले मेरो प्राचीन काइँयो छोडेँ कतै। कतै खस्यो वा कतै छोडियो वा कतै गुपचुप ढंगले बस्यो मेरो काइँयो। यथार्थ त्यही नै हो, मैले काइँयो गुमाएँ। यदि नारायणगोपालले आफ्नो प्रिय काइँयो हराएका भए गुन्गुनाउने थिए होलान्- ‘एउटा काइँयोको मायाले कति फरक पर्दछ जिन्दगीमा… ।’ मलाई त्यस्तो फरक त परेको छैन तर म आफ्नो हराएको काइँयोप्रति दु:खमनाउ गर्ने पक्षमा भने पक्कै पनि छु।

कहिलेकाहीँ लाग्छ, म कतै यथास्थितिवादको पोषक त हुइनँ? किनभने नयाँ कुरा तत्काल ग्रहण गर्न मलाई असहज महसुस हुन्छ। त्यस्तो महसुस अरूलाई हुन्छ वा हुँदैन? तर मलाई भने निश्चय नै हुन्छ। नयाँ कुरामा आफूलाई ढाल्दा कतै अस्वाभाविकता झल्किन्छ कि भन्ने भयले मलाई सदैव च्यापिरहन्छ। त्यही र त्यस्तै भयबाट निर्देशित भएर म नयाँ कुराप्रति तत्काल चासो राख्दिनँ तर संसारमा नयाँ कुराको आयु नै कति हुन्छ र?

आज नयाँ मानिएको कुरालाई भोलि अर्को नयाँले विस्थापन नगर्ला भन्ने के छ र? एउटालाई विस्थापन गरेर अर्को संस्थापन हुने होडबाजीमा एउटा नयाँको ठाउँमा अर्को नयाँ नआउला भन्न सकिएला र? तर मेरो सवालमा यो कुरा अहिलेसम्म लागू हुन सकेको छैन। र, पुरातन काइँयो हराउँदा पनि मैले नयाँ काइँयोलाई अहिलेसम्म आत्मसात् गर्न सकेको छैन। नयाँप्रतिको अविश्वास, भय र विमोहले मलाई कताकता अँठ्याइरहेको छ अहिले पनि। त्यसैले मेरो हराएको पुरानो काइँयोको स्थान अहिलेसम्म नयाँ काइँयोले लिन सकेको छैन।

मैले काइँयो-व्यापारीको कथा कतै पढेको थिएँ। ती व्यापारी यति छट्टु र धूर्त थियो कि, उसले तालुखुइलेलाई पनि काइँयो बेचेरै छाडेका थिए। मलाई लाग्छ, ती व्यापारीले काइँयोका फाइदाका अनगिन्ती कथाहरू बुने होलान्, काइँयोको माध्यमबाट स्थापित हुने सौन्दर्य-सत्ता र चेतबारे घाघडान व्याख्यान छाँटे होलान्, र विचरा ! तालुमा रौंका थोपा नभए पनि काइँयो-व्यापारीको कुटिल विज्ञापन मोहमा फसेर काइँयो किने र पछिमात्र उसलाई महसुस भयो, मेरो जिन्दगीमा काइँयोका लागि कुनै स्थान छैन।

आफ्नो आङ कन्याएर छारो उडाउनु त्यति मजाको विषय होइन। त्यसो त अरूको आङ कन्याएर रमाउनु त झनै मुर्खता हो। साँच्चै भन्ने हो भने कसैको पनि आङ कन्याउनु उचित हुँदैन। आफ्नो आङ कन्याएर किन छारो उडाउनु र अरूको कन्याएर किन चाप्लुसीको पर्दा उघार्नु? तर मैले भने आफ्नै आङ कन्याएर छारो उडाउने मुर्खता गरेको छु। जाबो एउटा काइँयो हराएर के भो त? मैले भने हराएको आफ्नो प्राचीन, केही केही दाँत टुटिसकेको र पूरै सौन्दर्यविहीन काइँयोको बारेमा यति गन्थन लेख्ने जाँगर चलाएँ ल्ल

अब भने म आफ्नो काइँयोको कथा लेख्ने छैन। कदापि, झुक्किएर पनि लेख्ने छैन।

(स्रोत: Annapurna)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.