~अरूणा लामा~
प्रिय सम्पादकज्यू,
तपाईंले मबाट पनि लेखको आशा गर्नुभएको रहेछ। तर, म लाचार छु। मैले त्यो साहस र कलम पाउन सकिनँ आफ्नै पतिबारे लेख्ने। तपाईंलाई थाहै छ, १९७४ मे ४ को राति १२:३० मा त्यस्तो हुरी आयो, जसले मेरो जीवनको दियो सदाका लागि निभाइदियो।
म रोएँ, छटपटाएँ, विह्वल भएँ तर… स्त्री जातिका निम्ति योभन्दा ठूलो अभिशाप के हुनसक्छ? के संस्था, के महानुभाव, इष्टमित्र समस्त नेपाली अनेपालीले असीम समवेदना प्रकट गरेका छन्। ‘तिमी हाँसे संसार हास्नेछ, तिमी रोए एक्लै रुनेछौ’ भन्ने तथ्य अहिले ठीक उल्टो भएको पाउँछु।
ईश्वरले पनि मै अभागिनीको आँसु हेर्न चाहेछन्, यस्तै परिस्थितिमा मलाई बाँच्न परेको छ। ‘म मान्छे हुँ, मान्छेलाई माया चाहिन्छ’, अनि यो माया तपाईंबाट, सबैबाट पाएकी छु, पाइरहने आशा राखेकी छु, यी मायाहरू नै अबको मेरो एक्लो जीवनको प्रेरणा बन्नेछ भन्ने लाग्छ। म हिँड्ने बाटो, गर्नुपर्ने काम सबैसबै बाँकी रहेजस्तो लाग्छ र यस्तै थुप्रैथुप्रै सहानुभूति र मायाको टेवा पाएर उक्लन गाह्रो नपर्ला।
हाम्रो मिलेको जोडी देखेर प्राय: सबै रमाउँथे तर विवशतामा सम्झदा ‘के राम्रो जोडी हुनु नि’ भन्ने वाक्य अब झूठो लाग्न थालेको छ। विधिको विधान यस्तै रहेछ, ईश्वर पनि यही जोडीमाथि क्रूर भइदिएछन् तैपनि।
हाम्रो एउटै चाह थियो, संगीत। हामी एकअर्काका प्रेरणा थियौं। गृहस्थी जीवन जसोतसो सञ्चालन गरेर बाँकी अलिकति समय संगीत रचना र गायनमा उपयोग गथ्र्यौं। ऊबिना म अहिले माझीबिनाको डुंगाजस्तै भइरहेको अनुभव गर्छु। यसउसले यो क्षेत्रमा म एक्लो भएँ, मेरोनिम्ति संसार निराकार, निष्पट्ट, अन्धकार भएझैं लाग्छ।
तथापि म विचलित हुँदिनँ। ठूलो साहस बटुलेर गीत गाउने प्रयत्न गर्नेछु। किनभने बाँचुन्जेल मेरा स्वर्गीय पतिको उद्देश्य एउटै थियो, नेपाली समाजलाई केही न केही दिइराख्ने। उहाँकै शब्दमा ‘हामी हाम्रो समाजलाई अरू त के दिन सक्छौं, शिवाय ईश्वरले दिएको एउटै वरदान, संगीत, म गीत रचिरहन्छु, तिमी गाइरहनू।’ उहाँकै यो आकांक्षा र उद्देश्य पूर्ण गर्न म सदैव प्रयत्नशील रहनेछु।
म मरेर मेरा गीत मर्ने होइनन्
संसारबाट सत्य रित्तिन्छ भने
मेरा भावनाहरू पनि रित्तिन्छन्
तर, यहाँ गीत सुन्नलाई
एउटै कान रहुन्जेल
मेरो गीत गुञ्जनेछ, बाँच्नेछ।
माया गर्ने बहिनी,
अरुणा
(नारायणगोपालद्वारा सम्पादित ‘बागिना’को चौथो अंकमा प्रकाशित अरूणा लामाको चिठी)