लघुकथा : निरुत्तर

~दीपक जडित~

लामो समयको परदेश बसाईपछि म केहि दिनलाई घर फर्केको थिएँ । म आएको थाहा पाएकै दिनदेखि मेरा एक मित्रले खाना खाने निम्तो गर्दै मलाई बारम्बार फोन गर्ने गर्दथे । एक त आफ्नै ब्यस्तता त्यसमाथि छिरिक्क कतै निस्कन नसकिने गरेर मौलाएको बन्द संस्कारको वावजुध एक साँझ मित्रलाई फोन गरेर उनको घर पुगें म ।

म पुग्दा मेरा मित्र रीसले चुरचुर भएर लगभग काम्न लागेको अवस्थामा थिए । उनको आँखा हेर्दा लाग्थ्यो आँखैमा उनले आगोको खेती गरेका छन् । उनको सामुन्ने उनकि श्रीमती र कामगर्ने बाह्र/चौध वर्षे केटो सातोपुत्लो उडेझैं थर्कमान अवस्थामा थिए । स्थिती नियाँलेर मैले मित्रलाई शान्त बनाउने प्रयास गर्दै के भएको हो जान्न चाहें ।

मित्रले बिस्तार लगाए अनुशार त्यो बाह्र/चौध वर्षे केटोलाई बजारबाट केहि विदेशी रक्सी किन्ने जिम्मा लगाईएको रहेछ जो बन्दको कारणले उसले पुरा गर्न सकेन । त्यस्तै उनकी श्रीमतीलाई खसीको मासु बनाउन सुझाईएको रहेछ त्यो पनि बन्दकै कारण उनले पुरा गर्न सकिनछन् र त्यति कारणले मेरा मित्र दुर्वाशा बनेका रहेछन् । मैले ‘त्यो सब कुराहरु नभए पनि यतिका वर्षपछिको भेटमा हामी त्यसै रमाईलो मान्न सकिहाल्छौं नि । आँखिर मित्रतामा हार्दिकता भन्दा ठुलो अर्थोक के हुन्छ र?’ भनेर सम्झाएपछि मेरा मित्र राम्रै सेलाए र हामीले जे भएको खानपान गर्यौं र त्यो साँझलाई निक्कै आत्मिय बनायौं ।

निक्कै सौहार्दपूर्ण बातचित, खानपान सकेर म विदा हुँदैथिएं, मेरा मित्रले फेरि एकपल्ट मलाई खसीको मासु खुवाउन र विदेशी रक्सी पियाउन नसकेको प्रति खुनखुन गर्दै एक एक मेलो कामगर्ने केटोलाई र श्रीमतीलाई हपारे र म तिर मुखरित हुँदै ‘यो देशमा कहिल्यै शान्ती नआउने भयो बुझ्नुभयो ?’ भन्दै मलाई विदा गरे ।

फर्कंदा बाटोभरी मेरो मनमा कुरा उठिरहयो, ‘के शान्ती कुनै मिति हो र यो यसबेला आउनुपर्छ भन्नलाई ? र शान्ती कुनै स्थान पनि त होईन जो यात्रामा हिंड्दा फलानो ठाउँपछि आउँछ भन्न सकियोस् । जाबो खसीको मासु र रक्सी नजुट्दैमा आफ्नै घरको शान्ती त्यस्तरी खल्बल्याउने मेरा मित्रले कस्तो शान्तीको प्रतिक्षा गरेका होलान् ?’ मेरो मगजमा यो प्रश्न निरुत्तर रहिरहयो ।

(स्रोत: Jadit’s Blog )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.