~किरण महर्जन~
काम नगरी हल्लिएर कुलतमा फसेको पनि झन्डै एक वर्ष नाघिसकेको थियो । तर अब त्यो सब चिन्ता भने सकिएको थियो किनकि म सबैलाई छोडेर परको देश अमेरिका जाँदै थिएँ । म डि.भि. चिठ्ठाको बिजेता थिएँ । मेरो सम्पूर्ण जीवनशैलीले काँचुली फेर्दै थियो साथसाथै अनेकौं अपुर सपनाहरू पुरा हुन गइरहेको थियो ।
गएको अमूल्य साल साथीभाइसित जाँड रक्सी, चुरोट गाँजा खाएरै बेहासीमा बितेको थियो । तर परिवर्तनको सुरुवात तब भयो जब डि.भि. चिठ्ठा मलाई पर्यो । मनमा नयाँ उत्साह र उमंग पैदा भएको थियो । कुलत पनि कम भएको थियो । हिजोको दिन सामान मिलाउँदैमा बित्यो र रात सधैं झैं साथीहरूसितको रमाइलो खानपान मै बित्यो । साथीहरूसित बिछोडिनु पर्ने बियोगले होला सायद हिजो एकदम धेरै पिइयो । यो बेरोजगारी र घुस्याहा देशमा आज मेरो अन्तिम दिन थियो । अजिम्मेवारी म । दिउँसो दुई बजेको फ्लाइट छ । अहिलेसम्म ओछ्यानमा पल्टिएर मनमा यस्ता कुरा खेलाउँदै रहेछु । घडीमा १० बजेको रहेछ । हत्तनपत्त उठें । सामान सब मिलेकै देखेर म कोठा बाहिर निस्किएँ । आमा त बिहानै देखि कोठामा बसि रोइराख्नु भएको रहेछ । सोचें, एक्लो छोरो नफर्कने गरी जान लाग्दा आमाको मन रोएको हुनुपर्छ । अरु परिवारका सदस्य भने मैले देखिन । आमाको एकोहोरो रुवाई सनेर एकछिन त बेकारको चिठ्ठामा जितेछु जस्तो पनि भयो । बिहानदेखि खुसी हुनुपर्नेमा झन् यो रुवाईले सारा सपनाहरूलाई सपना नै बनाउला कि भन्ने सोच आउन थाल्यो । अब त मेरो आँखामा पनि आँशु भरिनथाल्यो । केही नभनी म आफ्नो नित्यकार्य सकाउनतिर लागें ।
मेरो त बस् मन मष्तिस्कमा अमेरिका मात्रै थियो । कुलतहरू पनि त्याग्न सकेको भएरै होला मलाई अमेरिका नामैले आकर्षित गरेको थियो । मेरा बिचारहरूमा पनि सकारात्मक परिवर्तन हुँदै गइरहेको थियो । जति पनि यो परिवारलाई दिएका दुःख, जति पनि यो समाजको घृणालाई बढाउने काम मैले गरें, ती सब अब निर्मुल हुनगइरहेको थियो । धेरै नाम र पैसा कमाएर असल भई दुःख दिएका सबैलाई खुसी दिने उदेश्य लिई अगाडि पाईला सार्दैथिएँ ।
यस्तै सोचमा म हराएको, नुहाएर बाहिर निस्किदासम्म पनि आमा त रोईरहनु भएको रहेछ । भिजेका कपाल हातले हल्का मिलाउँदै म यसपटक आमाको नजिक गई भनें ए आमा किन रुनु भएको भनें हत्तेरी, म जान्न है यस्तो रुने हो भने । मेरो त मतलब नै नगरी आमा त झन् बेस्सरी रुनथाल्नु भो । यतिसम्म पीडा हुने थाहा पाएको भए बेकारको चिठ्ठा भर्ने नै थिएन । तर त्यो आँशु दुई तीन दिनको लागि त हो नि । छोराले कमाएको तन्न पैसा पठाएपछि मेरी आमा खुसी हुन्छिन् साचें र केही नभनि म आफ्नो कोठामा पसें ।
कोठाको झ्यालबाट बाहिर हेरें । झन्डै दश पन्ध्र जनाको जमात भेला भएको देखें । यिनीहरू के गर्दै होलान् साचेर एकछिन टोलाएर बसें । छिमेकी, मेरो परिवारका बहिनी, बुबा र हजुरबुबा पनि त्यही भींडमा मिसिएर बसेका रहेछन् । टोलको कोही बितेको पो रहेछ । आज निस्किन लागेको बेला को मरेछ होला सोचेर एकछिन हेरिरहें । हुन त मर्ने मान्छेले दुःख सबै लान्छ भन्छन् । मेरो दुःख लाने मान्छे त्यही भींडमा राखेको लाश होला सोच्दै थिएँ । मर्नेका परिवारलाई कस्तो बितिराखेको होला, अन्धविश्वास हो कि चलनचल्ती मन बहकाउने भावना हो मलाई चाहिं साईत पर्यो सोचेर एकछिन रमाएँ ।
टोलको साधारण मान्छे मरेको रहेछ किनकि भींड धेरै संख्याको थिएन । तैपनि मन मानेन खाली खुट्टामै म दगुरेर घर बाहिर पुगें । त्याहाँ भएका थोरै हुलमुल पनि मैले पन्छ्याउन सकेन । नजिकै उभिएको मेरो बुबालाई साधें के भो बा को बित्यो ? उहाँ त एकोहारो त्यो लाशलाई हेरिरह्यो र मैले सोधेको प्रश्न सुन्नु नै भएन । अनि आफैले लाशलाई नियालेर हेरें । चश्मा नलगाई निस्केको रहेछु, दृश्य अलिक धमिलो थियो तर चिन्न चाहिं चिनें । म निशब्द भएँ । त्यो त मेरो आफ्नै लाश रहेछ ।
(स्रोत: Majheri )