कथा : रातो भाले

~शुभचन्द्र राई ‘सुवास’~Subha Chandra Rai 'Subas'

माथिल्लोघरे चतुरेको शर्मदेउको नाममा भाकलेर राखेको मनग्गे गतिलो रातो भाले हराएको तीन दिन भइसकेको थियो । आउँदो सङ्क्रान्तिमा देउतालाई मन्साउँला रत्यही रातो भालेले चाडलाई पनि पन्साउँला भन्ने चतुरेको योजना थियो । तर, एकाएक भाले बेपत्ता भो । स्याल वा मलसाँप्रोले लग्यो भनौं भने भुत्लासुत्ला वा गोह त हुनै पर्ने हो, त्यो पनि छैन । चिलले लग्यो भनौं भने त्यति ठूलो भालेलाई चिलले आँट्ने कुरै भएन । भाले कता गयो, अचम्मै भयो । चतुरेले दुई दिनसम्म निमेक मारेर भालेको खोजी गर्‍यो । खोला-खोल्छी, झाडी, वन-सबै चहार्‍यो, छरछिमेकीको घरमा सोधीखोजी गर्‍यो । तर, भाले फेला परेन । चतुरेले हार खायो । आफ्नो त्यस्तो गतिलो भाले हराएकोमा उसलाई हुनसम्मको विरह चलेर आयो ।

सङ्क्रान्तिमा मजाले तीनतलेसँग भुटुन बनाउँला, छोराछोरीहरूलाई पनि टन्न घिचाउँला भन्ने उसको सपना चकनाचुर भयो । सङ्क्रान्तिमा रातो भाले खान पाइने भो भनेर रमाएका छोराछोरी पनि भाले हराएकाले हिस्रिकै भए । हेर्दाहेर्दै सङ्क्रान्ति पनि आयो । हाटदेखि एक बिसौली भैंसीको मासु ल्याएर चतुरेले चाड टार्‍यो ।
चतुरेको भाले हराएको महिना दिन जति हुन लागेको थियो । उसले अब आफ्नो भालेलाई भुली पनि सकेको थियो । एकदिन तल्लाघरे चङ्खे ठाइँलोका छोराछोरी माथिल्लाघरे चतुरेका छोराछोरीहरूसँग खेलिरहेका थिए । चङ्खेको सानो छोरा च्यान्टेले चतुरेको छोरा भ्यान्टेलाई भन्यो- ‘भ्यान्टे…. हामीले तिमीहरूको रातो भाले खाएनौं त….!! त्यसको भुत्ला पनि पर बारीमा हाम्रो बा’ले गाडेनन् ….’, नजिकै हलो ताछिरहेको चतुरे च्यान्टेक कुरा सुनेर झसङ्गै भयो । उनले च्यान्टेलाई फकाउँदै भन्यो, च्यान्टे…..त्यो भालेको भुत्ला तेरो बाउले कहाँ गाडेन ? बिचरा नाबालक च्यान्टेले आफ्नो बा’ले भालेको भुत्ला गाडेको ठाउँ तुरुन्तै देखाई दियो ।

चतुरेले त्यो ठाउँ खोतल्दा उसको महिना दिनअघि हराएको भालेको भुत्ला प्रष्टै देखियो । चतुरेले रिसले आँखा देखेन । कान्लामाथिदेखि पाखुरा सुर्केर ऊ कराउन थाल्यो, ‘ए चङ्खे चोर…..! थुइक्क……भाले चोर……!! ए, चङ्खे बाहिर निस्की । मेरो भाले जस्ताको तस्तै छेर, नत्र तँलाई जान्या छु ।’ चतुरे रन्केर कराएको सुनेर छरछिमेकीहरू र गाउँलेहरू त्यहाँ भेला भए । हेर्दाहेर्दै बजार लाग्यो ।

सबैले वास्तविक खबर बुझेपछि चङ्खेलाई थुइक्क भनेर धारे हात लगाए । चङ्खे र उसको परिवार शरमले घरबाहिर निस्केनन् ।

गाउँका भद्र भलादमीहरूले चतुरेलाई सम्झाउन थाले, ‘हेर चतुरे….. मानिसबाट नै भूल हुन्छ । तेरो भाले चङ्खेले चोरेरै खाएको भएपनि तैले यत्रो रडाको मच्चाएर जात्रा देखाउनु हुँदैनथ्यो । सुटुक्कै भनेर अर्मल तिराए त भैहाल्थ्यो नि…..! त्यसलाई पनि गाउँमा बस्नु पर्छ, भोली कुन मुख देखाएर गाउँमा हिडोस् ? त्यो मान्छे त्यस्तो नराम्रो चोरै जस्तो त थिएन त हौ…खै अहिलेसम्म कसैको चोरेको थाहा छैन…त्यसलाई अर्काको भाले चोरेर खान पर्ने के असत्ती दिमाग आयो हँ .. अब नकरा, हामी कुरा मिलाइदिन्छौं।’ गाउँमा पञ्च-भलादमीहरूले यति भनेपछि चतुरे पनि ओझियो ।

त्यहाँ भेला भएका गाउँलेहरू पनि लाखापाखा लागे । रमिता हेर्न भीड लागेका केटाकेटीहरूलाई मसाने माइलाले घोचो टिपेर लघारे । केटाकेटीहरू पनि टुपी ठाडो पारेर कुलेलाम ठोके । जम्मा भएका कुकुरहरू पनि पुच्छर लुकाएर भागे ।

चतुरेको घरमा भद्र-भलादमी र पञ्चको कचहरी बस्यो । चङ्खे ठाइँलालाई मसाने माइलोले बोलाएर ल्याए । चङखे लाजले मर्नु भएको थियो । ऊ निन्याउरो मुन्टो लगाएर एक कुनामा टुक्रुक्कै बस्यो । पञ्चहरूले उसलाई केर्न थाले, ‘क्या हो ठाइँलो ….. तिमीले चतुरेको भाले खाएकै हो…?’

चङ्खेले कुरा स्वीकार्‍यो, ‘हो हजुर….. त्यो बेलुका अलि मातेको थिएँ, चतुरेको भाले मेरो घरमा अस्तिदेखि आउँथ्यो र पोथीलाई फकाउँदै मेरो चारो खान्थ्यो । त्यो दिन पनि आँगनमा पोथीलाई जिस्काउँदै मेरो कुखुरालाई छरिदिएको चारो टिप्दै थियो मैले पनि दाउराको एक झट्टि हानेको, त्यो त खुत्रुक्कै भयो । ताकेर हान्दा कहाँ त्यसरी लाग्छ र……..? दशाको बेला मरि’गो । अब मलाई फसाद पर्‍यो, पैसा तिरौं, कहाँबाट ल्याउने त्यत्रो भालेको पैसा ? आ, कसले चाल पाउँछ र ? खाइदिन्छु भनेर विचार गरें । पोल्दा चाल पाउँछ भनेर तातो पानीमा हालेर भुत्ल्याएँ र त्यसको भुत्ला बारीमा गाडें । केटाकेटीहरूले देखिहाले, मैले पनि माथिल्लो घरेलाई तिमीहरूको भाले खायौं भनेर नभन्नू है भनेर सम्झाएँ । बूढीले त पटक्कै मानेकी थिइन । यी यसरी बेइज्जत हुनलाई रहेछ, मेरो मति बिग्रेको ..बुद्धि सडेको ..अब मैले कसरी गाउँमा मुख देखाउनु ।’ चङ्खे ठाइँला क्वाँक्वाँ रोयो । पञ्चहरूले उसलाई सम्झाए, ‘अब रोएर केही फाइदा छैन ।

आखिर तिमीले भाले खाएकै रहछौ । पहिले नै आफ्नो गल्ती बताएको भए यसरी बेज्जत हुन पर्दैनथ्यो ।’

चतुरे….. तिमीले पनि चङ्खेलाई मुखमा जे-जे आयो, त्यै-त्यै भन्न नहुने थियो । चङ्खेको तिम्रो भाले चोरेर खाने नियतै त होइन रहेछ नि, भवितव्यमा पो परेछ । अब एउटै गाउँ-ठाउँमा छिमेकमा बसेपछि मिलेर बस्नुपर्छ, अब दुवै मिल पहिलेको सबै तितो बिर्स ।’ पञ्चहरूले झगडालाई टुङ्ग्याए । चङ्खे ठाइँलोले भाले नै भए पनि पैसा नै भए पनि चतुरेलाई क्षतिपूर्ति दिनुपर्ने भयो । मुद्दा सुल्झाएकोमा पञ्चहरूलाई ३/३ बोतल रक्सी किनेर खुवाउनु पर्ने भयो दुवैले । अर्काको भाले खाएकोले अतिरिक्त दण्डस्वरुप चङ्खेले पञ्चहरूलाई एउटा भाले काटेर रक्सीको लागि सितनको व्यवस्था समेत मिलाउन पर्ने निर्णय पनि सुनाइयो । यसरी छिनियो रातो भालेको मुद्दा ।

यो मुलुकमा पनि राजनैतिक पार्टीका नेताहरूले चङ्खे र चतुरेकै नाटक मञ्चन गरिरहेका छन् । ढाँट्न नजान्ने नाबालकहरूले चङ्खेहरूले देशको भाले खाएको पोल खोल्दै पनि छन् । अब हेर्न बाँकी छ, मुद्दा छिन्ने पञ्च-भलादमीहरूले कस्तो न्याय गर्ने हुन् ?

(स्रोत: Purbelitimes)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.