परिचय
उमेर पुगेर वा उमेरै नपुगी लेडा र लेडीहरुमा बिपरित लिङ्गिहरुप्रति चुम्बकिय आकर्षण पैदा भइ शरिर बसमा नरहेर एकअर्कामा समर्पित हुने रोगलाई लभफ्ल्यु भन्दछन् । रहर लाग्दो बेलामा जिउले माग्दो काम गर्नु स्वभाविक भए पनि बेला नपुगी यसले खेला देखाउने भएकाले यो रोग बर्डफ्ल्यु, स्वाइनफ्ल्यु भन्दा पनि डर लाग्दो रोग हो । यस रोगका अघि टिबि क्यान्सर र एड्स सामान्य भइसके किन भने यो रोगले नौ बर्षे कलिलो उमेरदेखि पचहत्तर-असी बर्षे बृद्धवालकहरुसम्मलाई गाँजेको पाइन्छ । मधुमेय प्रेसर र डँडल्नु दुख्ने रोगले ढल्कँदो उमेर खेदे पनि यो रोगले उमेर जात धर्म केही पनि हेर्दैन । यसउसले यो रोग उपचार गरि साध्य नहुने रोग हो भन्ने ठोक्टरहरुको दावी छ । करोडपतिलाई रोडपति र साधुलाई चोर बनाउने यो रोग झाँजरकोटे झाडापखाला भन्दा छिटो फैलने एउटा संसारकै खतरनाक सरुवा रोग हो । यो रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा यति छिटो सर्छ कि कुरै नगरौँ । अरु रोग लाग्दा रोगी उपचार अभाव वा असम्भव भयो भने मर्ने गर्दछ भने यो रोग लागेपछि बहुलाउने धताउने एकोहोरो हुने पागल हुने मार्ने र मर्नेसम्मको हदमा पुग्ने गर्दछ । विषेशगरि ‘टिन एज’ का लेडालेडीमा मास हिस्टेरिया जस्तै धुरन्धार जरा गाडेर बस्ने भएकाले यो रोगलाई संसारबाटै निर्मुल पार्न असम्भवप्रायः भएको हो ।
लक्षण
यो रोग लागेका मान्छेमा तल उल्लेखित लक्षणहरु देखिन्छन् । यि लक्षणहरु देखिने बितिक्कै लगनगाँठो कसीदिन बेर लाइयो भने तँपाईको नाक समाजमा खेर जान सक्छ । यो रोग लागेको शंका लागे तुरुन्त जन्त लाने वा ल्याउने काम गरिएन भने तिनका बाबुआमाको छरछिमेकमा नाम नरहने कुरालाई नकार्न सकिँदैन । लक्षणहरुलाई बुँदागत रुपमा लेखेको छु ।
१) एकाएक छोराछोरीले बुवाआमासँग ‘कम्युनिकेशन ग्याप’ गरेको देखिएमा ।
२) ‘क्युँकी सास भि कभी बहु थी’ जस्ता हिन्दी भारावाहिक टेलिभिजन सिरियल सिरियस भएर भातपानी बिर्सिने गरि हेरेको देखिएमा ।
३) एक्लै टोलाएर वा साथीसंगी बोलाएर चिउँडामा हात राखी वियोगान्त गीतहरु नन्स्टप सुनेको पाइएमा ।
४) घरैमा बसेर डिभिडिमा वा शहरका ठूला घरमा गएर फेरिएपिच्छेका बोलचित्र हेर्नमा तपाईँको कमाइको केही अंश स्वाहा पारेको देखिएमा ।
५) किताब वा कापीका भित्रि पानामा मयुरका पंख गुलाबका सुकेका फूल र विभिन्न पोस्टकार्डहरु चेपिएको भेटिएमा ।
६) इन्टरनेटमा लगातार घण्टौँ झोक्राएर घोत्लिएको फेसबुकमा चमेरे शैलीमा झुण्डिएको र च्याटमा अनिदो बसेको देखिएमा ।
७) घरमा कसैले बोलाउँदा झर्किएर बोल्ने र तर्किएर हिँड्ने गरेको पाइएमा ।
८) मोवाइलमा नयाँनयाँ नम्बरहरुबाट कल मिसकल वा ब्लफ कलको ओइरो लागेको र नयाँनयाँ नम्बरहरुमा कल मिसकल वा ब्लफ कल गर्दै गरेको भेटिएमा वा कामोत्तेजक म्यासेजको पहिरो लागेको देखेमा ।
९ )भुल्भुलेमा बगेको पानी जस्तै चुल्बुले बानी हुने नानीहरुमा एक्कासी गम्भिरता शरमपना र नरमपना देखिएमा ।
१०) बाँसझा¨का फेदमा नदि वा खोलाका किनारमा शहरका खाजे होटलदेखि लिएर तारे होटलसम्ममा र स्कुल कलेज पछाडिका चौरमा लेडालेडीलाई एकअर्कासँग गुनगुनाइ रहेको र ढुनमुनाइरहेको भेटिएमा ।
११) रेडियो टेलिभिजनका अनुरोध गर्ने खालका कार्यक्रममा बिपरित िल¨ीलाई गीत फर्माइस् गरेको वा सम्झिएको सुने/देखेमा ।
१२) लेटरप्याड वा कापीका पानामा रातो रंग वा रगतले लभ लेटर लेखिएको भेटिएमा ।
१३) दिनदिनै नयाँनयाँ र महंगा महंगा जिन्सी सामान र हात्ती अंकित नोटहरु छोराछोरीका साथमा वा हातमा भेटिएमा ।
१४) सिरानमूनी वा कोस्रका किताबका चेपमा रसरंग जस्ता पत्रिका आगो र कामसुत्र जस्ता किताब भेटिएमा । आदि ।
सर्ने तरिका
यो रोग निम्न लिखित तरिकाबाट सर्ने गर्दछ ।
१ साथीसंगीका माध्यमबाट-साथीसंगीका देखासिखीमा लागेर हिँडेमा यो रोग सर्ने गर्दछ । ‘त्यसको त ब्वाइफ्रेण्ड वा गलफ्रेण्ड छ मेरो चैँ किन नहुनु भन्ने भावले यो रोग सर्नमा अहम् भूमिका खेलेको पाइन्छ । ‘यस्तो हुन्छ उस्तो हुन्छ यो विना त जीवन पनि निस्तो हुन्छु भनेर साथीसंगीले हाउ लाइदिएपछि तिनका मुटुमा घाउ लाग्न सुरु हुन्छ र यो घाउ बढेर जानाले रोगीले आफुसहित आमा र बाउ बिसर्िने क्रम सुरु भइहाल्छ ।
२ रेडियो टेलिभिजन मोवाइल इन्टरनेट पत्रपत्रिका र बोलचित्रबाट- यो रोग यि माध्यमहरुबाट परालमा लागेको आगो झैँ फैलने गर्दछ । रेडियोमा लेडाको बोली सुनेर लेडी र लेडीको बोली सुनेर लेडा मख्ख पर्दै छक्क परेबाट यो रोगका जिवाणुको शरिरमा प्रवेश गरेको स्पष्ट हुन्छ । टेलिभिजनमा लेडाले लेडी र लेडीले लेडालाई देख्दा बेस्सरी कराउनु र होषसम्म हराउनुबाट यो रोगले भोक तिर्खा मास्ने गरि जगडेको प्रष्ट हुन्छ । रङ नम्बर होस् वा राइट नम्बर होस् मिस कल होस् वा सरकल होस् सर्ट म्यासेज हुन् वा लङ म्यासेज हुन् यि सवैबाट यो रोग उल्का झरेजति छिटो सर्ने गर्दछ । इन्टरनेटमा बांगा मान्छेका नांगा फोटा भिडियो र अडियो सुने पछि यो रोगका जिवाणु रोगीको रगतसँगै साचार हुन्छन् र एकैचोटी तन मन र दिमाखमा डेरा जमाउँछन् । रसरंग प्रेमको डायरी आगो जस्ता थुप्रै पत्रपत्रिका र उपन्यासहरुबाट यो रोग मरुभूमिमा वालुवा झैँ फैलने गर्दछ । बोलचित्रमा देखाइने म्वाई खाएका दृश्यबाट र पिँडुला तिघ्रा र अन्य मैले यहाँ लेख्न नमिल्ने शरिरका मांसपिण्डहरु हेरेर र देखेर हेर्ने र देख्नेलाई यो रोगले ढुंगालाई पिपलले बेरे जस्तै बेरिहाल्छ । फलस्वरुप रोगीका शरिरमा कहिल्यै नदेखिने माथि उल्लेखित लक्षण देखा पर्छन् । आदि इत्यादिबाट यो रोग सर्ने गर्दछ ।
उपचार
बेलैमा आफ्ना नानीहरुलाई माथि उल्लेखित सर्ने तरिकाहरुबाट जोगाउन सक्नु नै असलीमा लभफ्ल्युको निधान हो । तर यो रोग लागी सकेपछि उपचार गर्छु भनेर नसोचे हुन्छ । लाग्न नदिनु धेरै उत्तम भए पनि लागी सके पछि रोकथाम गर्न समेत नसकिने भएकाले नै यो रोगलाई संसारकै महामारीका रुपमा हेरिन्छ । तेसो त फेब्रुवरी १४ तारिकमा मनाइने ‘भालेटायम डे’ ले यो रोगलाई विश्वब्यापी बनाउन अहम् भूमिका खेलेकाले पनि उपचार असम्भव देखिएको हो ।
निष्कर्ष
यो रोगले सताएकालाई निको पार्नु भो भने तपाईँ संसारकै नामी÷लमी ठोक्टर हुनुहुनेछ । यसबिषयमा पिएचडि प्राप्त गर्ने ठोक्टरको संख्या न्युन रहेकाले ठोक्टर बन्न चाहने विद्धार्थीलाई यो बिषयलाई लिएर पढ्न अनुरोध गर्छु र यो बिषयमा पढेका ठोक्टरको रोजगारीको वारेण्टी ग्यारेण्टी मैले नै गरेको यसै लेख मार्फत् जानकारी गराउँदै इच्छुकलाई तलको इमेल ठेगानामा सम्पर्क गर्न हार्दिक अनुरोध गर्छु ।
जय होस्!
(स्रोत: DCNEPAL )