‘पाठक’ भन्नाले सामान्यतया दुई वटा अर्थ लाग्छन् । एउटा थरी पाठक र अर्को पढ्ने पाठक । पहिलो पाठक अर्थात् थरी पाठकलाई इमान्दार साथ भन्ने हो भने जात निर्धारण गर्ने ‘जातबेत्ता’ ले ‘कुमाई’ कोटीमा राखेका छन् । कुमाईहरु चौथो ठूलो जातमा पर्दछन् । पहिलो बाहुन दोस्रो जैशी-सन्यासी तेस्रो क्षत्री चौथो कुमाई र अरु अरु । यसरी जातको उचनिचताको निर्धारण मैले गरेको होइन । कुनै महापुरुष वा दण्डित हुन लायक महापण्डित आदिले गरेका हुन् भनेर पितापुर्खाबाट सुनेकाले लेखेको हुँ । तर मैले भन्नुपर्दा- बाहुनदेखि कामीसम्म जैसीदेखि धामीसम्म कुमाईदेखि दमाईसम्म नेवारदेखि सतारसम्म सवै बराबर हुन् । यि सवैले सवैलाई कुटुम्ब बनाउन मिल्छ । मलामी जाँदा लाश बोक्न मिल्छ । बिहेबटुलोमा सँगै बसेर मासु चिथोर्न हड्डी टोक्न र रौसी धोक्न मिल्छ । एकले अर्काले छोएको पानी खान मिल्छ । एकले अर्काको घरभित्र जान मिल्छ । यो भन्दा बढी ८८ कुमाईभित्रको पहिलो पाठक अर्थात् थरी पाठक बारे नलेखौँ ।
अर्को पाठक अर्थात् पढ्ने पाठक दुई प्रकारका हुन्छन् । एउटा स्कुल क्याम्पस लोक सेवा प्रहरी सेवा भाषा ल्याङ्गग्योज आदिका पाठ्यपुस्तक पढ्ने पाठक र अर्को पत्रपत्रिका पढ्ने पाठक । पहिलो पाठक अर्थात् कुनै सेवा वा तप्काका पाठ्यपुस्तक पढ्ने पाठक जाँच दिएर पास हुने आशमा पढ्ने गर्छन् । यस्ता पाठक अधिकांस पुस्तकसँगै सुत्ने गर्छन् र पुस्तकसँगै उठ्ने गर्छन् । कोही कोही टुप्पी बाँधेर पढ्ने गर्छन् भने धेरैजसो चाँही बिजुली बत्ति नपुगेको ठाँउमा लोडसेडिङ्गको नाउमा कुप्पी बालेर पढ्ने गर्छन् । यस्ता पाठ्यपुस्तक पढ्ने पाठकलाई कम्मर कसेर बढि नम्बर ल्याउनु छ र अब्बल दर्जाको सर्टिफिकट भित्र्याउनु छ। अर्को पाठक अर्थात् पत्रपत्रिका पढ्ने पाठक विभिन्न प्रकारका हुन्छन् । यो लेख पनि यिनै पाठकमा केन्द्रित हो ।
पत्रपत्रिकाको नाम पढ्ने पाठक- यस्ता पाठकले मागेर वा किनेर अर्धबार्षिक वा बार्षिक ग्राहक बनेर पत्रिकाको नाम पढ्छन् र फ्याँकिदिन्छन् । यिनलाई पत्रिकाको कखरा पढ्ने र बुझ्ने फुस्रदसम्म नहुँदो रहेछ । राजधानी होस् या कान्तिपुर वा अन्य कुनै पत्रिका तिनका नजरमा सवै पत्रिकाको मूल्य रद्धिको टोकरी बराबर पनि नहुँदो रहेछ । ब्यापारी परे भने सामान पोको पारी पठाउँछन् । जागिरे परे भने भाँगाटुटा वा थोत्रे फलामवालालाई बेचिदिन्छन् । पढ्दै नपढी । आजको पत्रिका आजै ।
लेख-समाचारको शिर्षक पढ्ने पाठक- यस्ताखाले पाठक कस्ता हुन्छन् भने चारैतिर ओल्टाइपल्टाइ गर्ने शिर्षक पढ्ने र फालिदिने । मानौँ शिर्षक पढेपछि यिनलाई लेख-समाचारको चुरो थाहा हुन्छ । कुनै लेख पढेर साध्ये हुन्छ कोही नुहाएर उपाद्दे हुन्छ भनेर पढ्दै नपढी पत्रिका ‘साइट’ लाउने यिनको दैनिकी हुन्छ । शिर्षक र केही हरफ लेख पढ्ने पाठक- यस्ता पाठकले शिर्षक र केही हरफ पढ्छन् र उत्तम लेख-समाचारलाई ‘खत्तम रहेछ फलानो पत्रिका त गएछु भनेर फ्याँकिदिन्छन् ।
लेखकको नाम हेरेर लेख पढ्ने पाठक- यस्ता पाठकले कुन लेखकले लेखेको हो भनेर नियाल्छन् र लेखकको नाम हेरेर लेख पढ्ने गर्छन् । एकपटक मनखाको लेखकले लेखेको लेख पढेपछि तिनलाई अरु लेखकले लेखेको लेख ‘कागलाई बेल पाक्यो हर्ष न बिष्मात्’ हुँदोरहेछ । कट्टर सिद्धान्तवादि झैँ यिनले अरुका लेख कमै पढ्छन् ।
लेख पुरै पढ्ने र आलोचना गर्ने पाठक- यस्ता पाठकले लेख-समाचार पुरै पढ्छन् र आलोचना मात्रै गर्छन् । मानौँ लेखक यिनको खान्दानी दुश्मन हो । जति नै राम्रो बिषयबस्तु उठाए पनि लेखकलाई हल्काफुल्का आँक्ने र तल्लोकोटीमा राख्ने यिनको बानी हुन्छ । पाठक प्रतिकृया वा भेटमा यस्ता पाठकले लेखक समाचारदाता वा समवाददातालाई सल्लाह/सुझाव कम र तिखो आलोचना बढि गर्ने गर्छन् । यस्तो सोच्छन् कि लेखकले लेखेको लेखमा कुनै गुदी छैन । खाली यस्ता पाठकका बारेमा नजाती कुरा लेखे जस्तो ।
लेख पुरै पढ्ने र समालोचना गर्ने पाठक- अधिकांश यस्ता पाठक बेरोजगार वा फुस्रदिला हुन्छन् । यिनले पत्रिकाको नामदेखि पछिल्लो पृष्ठको इमेल ठेगानासम्म पढ्न भ्याउँछन् । यस्ता पाठकले लेखका बारेमा लागेका कुरालाई सामुहिक छलफल गर्छन् । यस्ता पाठक धेरै जसो चिया-चुरोट पसल जहाँ नशावाजहरुको जमघट हुन्छ नेता चोक जहाँ राजनितिक गफ चुटिन्छन् तासे चोक जहाँ जुवाडेहरुको डेरा हुन्छ भट्टी पसल रक्स्याहाहरुको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आदि ठाँउमा भेटिन्छन् । बास्तवमा यस्ता पाठकको लेखकलाई खाँचो छ । तर बेरोजगार पाठकले पत्रिका किन्दैनन् मागेरै मात्रै पढ्छन् ।
त्यो दिन कहिले आउला जब जागिरे, ब्यापारी, पत्रकार, कानुन ब्यावसायी, सर्वसाधारण सवैले लेख पुरै पढ्छन् । समालोचना गर्छन् । थाहा छैन मैले यस्ता कति ‘अनन्य’ पाठक कमाएको छु वा अरुहरुले कमाएका छन् । आज मेरो लेख कति हजारले देख्दै देखेनन् कति हजारले शिर्षक पढे होलान् कति हजारले शिर्षक र केही हरफ पढे होलान् कति हजारले नाम मात्रै पढे होलान् कति हजारले लेख पढेर आलोचना गर्लान् र कति हजारले समालोचना गर्लान् ‘तेरो लेख ठिक छ मैले पढेँ’ भनेर ककसले भन्लान् । को को होलान् मेरा असली पाठक त्यसको मलाई ब्यग्र प्रतिक्षा छ । जय होस्
charcheet_dhungel@yahoo.com
(स्रोत: DCNEPAL )