~कुमार ज्ञवाली~
कुरा केही अनौठो जरुर लाग्छ किनकि ठूलो नाम सुन्न अभ्यस्त हाम्रो कान र त्यसै संस्कारमा मुछिएको हाम्रो मन एकैपल्ट प्रतिक्रिया देकाउँछ भुयूचाको डायरी! असम्भव!
तर तैपनि भुयूचाका अस्तित्वमा कुनै शङ्का छैन। उन्नाइसौं शताब्दीको पूर्वार्द्धमा धेरै ठूला घटनाहरू घटे, उदाहरणत: अमेरिकी, फ्रान्सेली, इटालियन, स्पेनिश क्रान्तिहरु। मानिसको जीवनसम्बन्धी नयाँ दरवन्दीहरू उठे। यसै समयमा हिगेलको ‘अधिकारको प्रदर्शन’ प्रकाशित भयो। यी सबै घटनासमूहमा सामेल हुन पुग्छ भुयूचाको साधारण जीवनको अस्तित्व।
केही दिनअघि सानुभाइ नामका एक सज्जनले यौटा काठको बट्टा मलाई दिंदै भनेका थिए कि यो बट्टामा मेरा पुर्खाहरूले आर्जन गरेको केही कागजहरू छन्।
उनको भनाइ थियो कि उनका कुरा पढ्न जानेका पूर्वजले यो सङ्ग्रह गरेका थिए र सम्भवत: यसमा मानिसलाई भेडा बनाउने आदि किसिमका तन्त्रमन्त्र थिए। मैले दाम दिन खोजें। उनले अस्वीकार गर्दै भने – “यसमा लेखिएको बाट काम लेलाऊ भनेर यो दिएको। आफ्नो पुर्खाको धर्म बेचेर म पाप लिन्नँ।”
त्यही बट्टामा थियो भुयूचाको डायरी।
डायरी नेपाली कागजको धेरै ताउमा लेखिएको छ र ठाम-ठाममा मसी उडेर वा कागज च्यातिदिएर अक्षर छुट्टयाउन पनि गाह्रो छ। तर त्यहाँ उल्लेख भएका घटनाहरू र समय मिलाउँदा त्यो डायरी सन् १८३६ देखि सुरु भएर सन् १८४६ मा समाप्त हुन्छ। भुयूचा को थिए?
काठमाडौंको एक गरीब परिवारको युवक भुयूचा सन् १८३६ देखि भातेकोशी (नर-बधशाला)मा घाटको काम गर्न थालेछन् र समय-समयमा यिनको पालो आउँदो रहेछ।
डायरीमा देखिएका उनका आफ्ना कामप्रतिको घृणा हेर्दा यो प्रश्न सजिलो उठ्छ कि उनी यो काममा किन आए? यसको उत्तर डायरीमा छैन। कारणमा उनको आफ्नो पुर्खौली काम छोड्ने वा गुठीबाट बहिष्कृत हुने भय पनि हुनसक्छ।
एउटा अर्को प्रश्न उठ्छ उनको ज्ञानको बारेमा। उनले कसरी र कति पढेका थिए। त्यसको पनि राम्रो उत्तर डायरीमा छैन। डायरीमा उनी कहिले कवि र कहिले दार्शनिकको रूपमा देखा पर्दछन्। ठाम-ठाममा मिति र श्रृङ्खलाको अभावले उनी सधैं डायरी लेख्ने गर्दथे भन्ने पनि देखिंदैन। हुन सक्छ, उनी ज्यादै प्रभावित वा विचलित भएको दिनमा त्यो घटनाको उल्लेख गर्दथे।
कतै-कतै यसरी तथ्य अङ्कित गरिएको छ-
नाम – आले तामाङ
छिनिएको – दुई चोट
अपराध – ज्यानमारा
दिएको चीज – एउटा इस्टकोट र बाँसुरी
अथवा
नाम – ग्याजिङ दोर्जे
वर्ष – चालीस
अपराध – ज्यानमारा
छिनिएको – एक चोट
दिएको चीज – एक जोर जुत्ता, एउटा खुकुरी।
यसरी ठाम-ठाममा भएका कल्ली, औंठी, फुली, टोपी आदिको उल्लेखले धेरैजसो मारिने व्यक्तिले उनलाई उपहार दिन्थ्यो भन्ने प्रस्ट हुन्छ।
यसता उपहारका बारेमा उनी लेख्छन् – ‘मानिसहरु कहाँ गइसके तर, कोठामा भएका उनीहरूका चिनो उनीहरूको रूप लिएर मेरो अगाडि नाच्न आउँछन्।’
उनी भूतप्रेतमा विश्वास गर्थे भन्ने देखिन्न तापनि मरेका व्यक्तिहरूका झझल्काले उनी मानसिक रूपमा अत्यन्त पीडित थिए र धेरै डरलाग्दा सपमा देख्तथे भन्ने डायरीमा देखिन्छ।
एक ठाममा उनी लेख्छन् – ‘खसी, बोका काट्नुजस्तो मानिस काट्नु सजिलो हुँदो रहेनछ। आफूले काट्न लागेको मानिसको डर रङ्गिएको आँखा देख्दा मेरो शरीर काँप्छ र भागेर कतै लुक्न जाऊँ जस्तो हुन्छ।’
‘तिनीहरूले कसरी मेरो खुकुरी र आँखामा हेर्छन् त्यो म सम्झन पनि सक्तिनँ। कति जहानबच्चा पुकार गरेर रुन्छन् त कति भगवानको गुहार माग्छन्। अझ तीभन्दा डरलाग्दा हुन्छन् ती जुन डरले लाटो भएर रुन पनि सक्तैनन्।’
‘जति रक्सी खाए पनि डर जाँदैन, यो आखिरी अनुहार लखेट्छ मलाई। सपनामा दुब्ला, मोटा, जुँघे, जुँघाहीन किसिम-किसिमका अनुहारहरू विलाप गर्छन्, हाँस्छन्। उठ्दा शरीर पसिनाले निथ्रुक्क हुन्छ।’
‘केही दिनअघि एक जना साथी कटा्ने समयमा डरले वमन गरेर त्यहीं मूर्छा परेछ। म कहिल्यै मूर्छा परेको छैन, तर त्यो घटनादेखि मूर्छा परुँला भन्ने डर बारम्बार लाग्छ।’
‘रक्शीको नशाले जब आँखा कान मात्र किन सम्पूर्ण चेतना लठ्ठिएर म आफैं आधा मरेको जस्तो हुन्छु तब मात्र मेरो साहस हुन्छ खुकुरी उठाउने। नशाको सुरमा मानो म कतै सपनामा आफ्नै घाँटीमा प्रहार गर्दछु, त्यस्तै पीडा हुन्छ मलाई। आफूजस्तै आफ्नै रूप मानिसको अगाडि घाँटी छेर्स्याएर बस्नु र त्यो घाँटीमा प्रहार गरेर जीवन हरण गर्नु – के यो मानिसको जीवनको ठूलो अपमान होइन? यस्ता कुराहरू मनमा उठ्दा मलाई डर लाग्छ कि अब म चाँडै बौलाहा हुनेछ।’
उनी अर्को स्थानमा लेख्छन्- ‘सबैको एउटै पुकार हुन्छ-‘दाइ! मलाई त एकै चोटमा।’ त्यही एक चोटको आशामा मलाई आफ्नो सबै आखिरी सम्पत्ति दिन्छन्। तर संयोग! आज लालबहादुरलाई तीन चोट लाग्यो। त्यो कराएकोले मेरा खुट्टा झन् काँप्यो। यो खुकुरीको बीँड पनि खुकुलो छ, पुरानो भइसक्यो। तर अझै अर्को खुकुरीको निकासा भएको छैन।’
डायरीको एउटा टुक्रा यस्तो छ:
‘मर्ने मानिसलाई किन खान दिने चलन छ मलाई थाहा छैन। कतिले केही खाँदैनन्। तर खान तयार भएकाहरूको पनि घाँटीमा दहीच्यूरा अड्किएर आँखाबाट आँसु आउँछ। यसरी ख्वाएर मार्नु झन् गाह्रो हुन्छ।’
डायरीमा पण्डे वंशका पतनको पनि उल्लेख छ र यो पनि लेखिएको छ कि उनीहरूले आफ्नै धारिलो खुकुरीले काटिएने अनुरोध गरेका थिए। उनीहरूले दिएको बहुमूल्य उपहारको पनि वर्णन छ।
डायरी लामो छ, पूरा विवरण पछि मात्र। यहाँ केवल एउटा सानो टुक्रा दिइन्छ जसमा उनले भीमसेन थापाको बारेमा लेखेका छन् – ‘अचानक भाइ बेखा डरलाग्दो मुख लगाएर आएर भन्यो- “दाजु! हेर यो हातबाट यस्तो काम गर्नु पनि लेखेको रहेछ। आज नौ दिनको यातनापछि भीमसेन थापा मरे। यतिका दिन बगरेको हुनाले उनको शरीरमा रगत एक थोपा पनि थिएन। तर त्यो लाशमाथि पनि मानिसलाई दया आएन। यही हातले त्यो शरीर छिन्नभिन्न पारेर चीलकौवालाई ख्वाउन फ्याँकियो। दाजु! हामी मानिस होइनौं राक्षस हौ” यती भनी ऊ रुन थाल्यो। हामी दुवै रोयौं।’
सन् १८४३ पछि भुयूचा आफ्नो काममा जान्थे भन्ने देखिन्छ। उनी झन्-झन् असन्तुष्ट भएर गए। डायरीको धेरी भागमा उनी केवल भावुक प्रलाप गर्छन्; कतै समस्त मानिसजातिलाई गाली गरेर लेख्छन्।
यति प्रस्ट छ कि १८४५ तिर उनको मानसिक सन्तुलन केही खराब भयो। यस समयतिर उनका सपना र तन्द्राहरू बढ्दै गएको बोध हुन्छ।
अनुमान हुन्छ १८४६का कोतको रक्तपातले उनको जीवनप्रतिको आखिरी विश्वास पनि नष्ट भयो। उनले कोतमा बगेको रगतको खोलो र त्यहाँ नष्ट भएका जीवनप्रति दू:ख प्रकट गरेर त्यहाँको हृदयविदारक दृष्यको अत्यन्त भयङ्कर वर्णन गरेका छन्।
उनी लेख्छन् – ‘रगत! के यसको अन्त्य छैन? यति सुन्दर संसारलाई मानिसले क्षुद्र स्वार्थको लागि स्वजातीय रगतले पोखेर नरक बनाएको छ भगवान्! अर्को जनममा जे बनाए पनि रगतको नगीचै नलग।’
यहीं डायरी सकिन्छ।
‘छरिएका कथा’बाट