सबेरै उठ्नासाथै ‘हाइ, गुडमर्निङ !’ को थेगो अनि बेलुका सुत्ने बेलामा ‘राम्रो सपना देख्नू है, गुड नाइट !’ भन्ने नियमित लय । फोन शिरोमणिहरूको परिचय नै यस्तो हुन्छ, मानौं यी मनुवा २४ घन्टे प्रसारणको अभिभारा बोकेका सञ्चारमाध्यम हुन् । काशीका पण्डाबाबाका हातमा ट्यास्स निधार-निधारमा टाँस्ने टीकाको लेप हरपल भइरहेजस्तै फोन शिरोमणिको हातमा फोन नामको भाँडो हुने गर्छ । अरु त अरु, फोनमय सपना देख्नु फोन शिरोमणिहरूको रात्रिकालीन ‘पार्टटाइम उद्यम’ हो ।
टेलिफोन अपरेटर, पीए अनि रिसेप्सनिष्टको धपेडीपूर्ण फोन-यात्रालाई फोन शिरोमणिको अद्भूत हर्कतले काँचै खाइदिन्छ । फोनैफोनको अन्तरंग संगतमा रहेर अभ्यस्त हुन थालेपछि फोन शिरोमणिको उपाधि आफसेआफ सुरक्षित भइहाल्छ । यो उपाधि र ताजको लागि कुनै भनसुनको तात्तातो मनसुनमा गोप्य जुहारी घस्नुपर्दैन । हेर्ने हो भने यो उपाधि स्वतःस्फूर्त सामाजिक सम्मानको रुपमा विकसित हुने अवस्थामा पुगिसकेको छ ।
कामविशेषले एउटा अफिसमा पुगेको थिएँ । रिसेप्सनमा बसेकी युवती फोनमा व्यस्त थिइन् । आफ्नो काम गुटमुट्याउने पिरलोले रन्थनिएको म तिनको रातोपिरो व्यस्तता देख्दा बिचरी कसरी पो भ्याओस् काम भनेर आफ्नो व्यग्रतालाई एकातिर खुम्च्याएर पर्खिनलाई राजी भएको थिएँ । तर तिनको मुखबाट त व्यस्तताको अर्कै स्वादिलो रन्को पो फुत्किन थाल्यो ।
सुन्दै गएँ- ‘हेलो दाजु, अँ अनि है, आज चाहिं अलि बेग्लै टेस्ट लिने, एक प्लेट फ्राइड चिकेन राइस… अलि पिरो है, अनि है चिकेन चाहिं एकदम फ्रेस, सलाद पनि मजाले राखेर ल्याइदिनू, अनि फेरि अस्तिको जस्तै त्यस्तो चर्को नुन चाहिं होइन है, हेलो अँ अनि सुन्नु न, अचार केको छ यसो छुस्स छेउमा हालिदिनु है, अनि त्यही सिंगाने केटोको हातमा पठाइदिने चाहिं होइन नि… …’ अफिसको मेचमा घुमीघुमी ती युवतीले गरेको खाजाको अर्डर सुन्दा त कोही मान्छे त्यतिन्जेलमा खाएर पनि चुठेर आइसक्ने बेला भइसकेथ्यो । लौ, खाजाको अर्डर त दिइन् तिनले, स्वादिलो गरी पेटपूजा गर्नु एकखाले मानव अधिकार नै मानौं । तर उता खाजा फर्माइश गरिसकेपछि युवतीको कान कुन चाहिं सहेलीसँग जुहारी खेल्न व्यग्र देखियो । मलाई एकैछिन है दाइ भन्ने अह्राएर उता फुकिन्- “ओइ सुन् न, म अब आधा घन्टापछि निस्किन्छु कि, अनि अस्ति रञ्जुले लाएको ठाउँमा भेटौं न, अँ म त दुइटै हातमा रञ्जुकै जस्तो डिजाइनको लाउने, त्यो भैया पनि जे भन्यो मान्ने खालको रै’छ कि, चुरा चाहिं दुइटा हातमा आधा-आधा दर्जन गरी लगाउनुपर्ला है !” ……….. उफ् !!
मेरा एक फोन-फ्रेन्ड छन् – भंगराम । उनीसँग आजसम्म अक्सर फोनैमार्फत कार्यव्यापार चल्दै आएको छ मेरो । लाग्छ, फोन नभएको भए हाम्रो अस्तित्व आ-आफ्नै एकल लोकमा अन्तर्ध्यान हुन्थ्यो होला । भंगरामसँग एकफेरा फोनैबाट आम मानिसको फोन-प्रयोगबारे बहस चल्यो । बहस गर्दागर्दै कतिखेर-कतिखेर उनले आफ्नो फोन शिरोमणिको परिचय साबित गरे, दंग परेँ । मानिसहरू मिटिङको सूचना दिनलाई फोन गर्छन् र फोनमै सेमिनार सक्ने धुनमा देखिन्छन् । बिरामी आफन्तलाई चाँडै सुत्नलाई उर्दी जारी गर्न फोन गर्छन् र भद्दा लोरी गाएर हैरान पार्छन् । बगैंचामा गुलाफ फुलेकोदेखि आफ्नो तन्नेरी टाउकोको कपाल फुलेकोसम्म महाभारत बखान्छन् । मोबाइलमा एसएमएस पठाउँछु भन्छन्, सिङ्गै निबन्ध खाँदखुँद गरुँला जस्तो गर्छन् ।
फोन शिरोमणिको पदवी पाएपछि अरु केही गर्न मन लाग्दैन, सिवाय फोन । राष्ट्रसेवक कर्मचारीको तहजस्तै यी फोन शिरोमणिहरूको पनि बकाइदा तह हुन्छ । के चल्दैछ कस्तो छ, अनि अरु नयाँ के छ भनी हालचाल सोधेकोसोध्यै गर्ने ‘सञ्चैवादी विशिष्ट श्रेणी’देखि ‘अन्तर्राष्ट्रिय ज्ञाता प्रथम श्रेणी’, ‘आत्मबखानवादी द्वितीय श्रेणी’ आदिका रुपमा यसलाई वर्गीकरण गर्न सकिन्छ । जति उपाधि दिए पनि फोन शिरोमणिलाई कमै हुन्छ ।
सांसारिक लीला त कसैले यी फोन शिरोमणिबाट सिकून् । राति पिसाब फेर्न उठ्दा पनि केही काम नपाएर साथीको फोनमा तुर्र मिस्ड कल घन्काएकै छ । मिस्ड कलको जवाफमा भोलिपल्ट कलब्याक आए भने ‘सम्झेको नि साथीलाई’ भन्ने मृदु बोलीले भुतुक्क बनाउँछन् । ज्यानमा रगतको नसाभन्दा फोनको नशाले हत्केला राताम्मे बनाउन तम्तयार हुन्छन् यी ! अरूको लागि अति जरुरी वार्तालाप र अत्यावश्यक साधन होला फोन, यिनको लागि चाहिं ‘काने मजा’को अजस्र स्रोत हो । घरिघरि ठिटा (ी) सँग रोमान्टिक गफको फाँको नमारे भात त के पानी पनि पच्दैन । यस्तो व्यापक फोन लीला देख्दा-देख्दा अब त यस्तो लागिसक्यो, कवि शिरोमणिको पगरी जस्तै फोन शिरोमणिको उपाधि पनि कुनै टाउकोमा खन्यादिन के को विलम्ब ? आखिर रात-विरात केही नभनी फोनको विल उठाएर यिनले राष्ट्रको टेलिकम्युनिकेशन कम्पनीलाई धानेकै त छन् !
जय फोन शिरोमणि !!
(स्रोत: Dautari )