कथा : पुनर्निर्णय

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

वसन्त ऋतुले उराठलाग्दो बनाएको तर्राईको परिवेश, खरले छाएका दुर्इचारवटा झोपडीहरू, सबै झोपडीबाट एकनासले धूवाँ आइरहेको छ ।

भर्खरै हुरीबतासले गोधुलि साँझसँगै बिदा लिएको आभास पाइन्छ त्यहाँ । घरका आँगन वरिपरि छरिएका सुकेका पातहरू नहल्लिँदा वातावरण शान्त र स्निग्ध छ भन्ने थाहा हुन्छ । शहरको चहलपहलभन्दा निकै टाढा त्यस वस्तीमा आधुनिकताको कुनै सङ्केत पाँइदैन । जताततै गरिबी बाँचेको पाइन्छ , विवशता र बाध्यता हाँसेको पाइन्छ ।

मनसरा भारी पाइला लिएर घरभित्र पस्छे । उसको मन पनि सुकेका पातझैँ भौतारिएको थियो । अहिले शान्त भएको छ । उसले सोच्तै नसोचेको र कल्पना नै नगरेको कुरा भयो । आज उसलाई बैँसको हुरीले खोक्र्याएको छ, रित्याएको छ । घरभित्र उसका पाइलासँगै ठूलो साँझ भित्रिन्छ ।

उसकी आमा कराउँछिन्-” कतै से एल्ही – फगुवाके रमझमो वोरयागेलै – -(कहाँ गएर आइस् होलीको रमझम पनि सकियो । )”

मनसरा मन नलागी नलागी बाल्छे-” कतौ ने, घइमकै अवैछी । -(कही होइन घुमेर आएको )”

आमा फेरि झर्किन्छिन्-” जवान बेटीके बारेमे बौहत बात सुनैले परैछै । -(बढेको छोरीको बारेमा धेरै कुरा सुन्नुपर्छ । )”
मनसरा निशब्द हुन्छे ।

टाटीको बारमा माटोले लिपेको भित्ता । आमा चुल्हाधन्दा गर्दैछे । एउटा कुनामा चारपाइमा बाबु बेलाबेलामा खोक्तै सुतिरहेको छ । धेरै समयदेखि उसको बाबु बिरामी भएर सुतिराखेको छ । डाक्टरले टिबीको बिमार बताएको छ । औषधिले केही पत्तो लागेको छैन । उसको बाबु इटाभट्टामा काम गथ्र्यो । तर, अहिले बिमारी भएयता काम गर्न सकेको छैन । उसकी आमा जान्छे भट्टामा काम गर्न तर वषार्याम भट्टामा काम बन्द हुन्छ । त्यससमयमा उनीहरू भोकभोकै सुत्नुपर्छ । झोपडीनजिकै केही खाली जग्गा घडेरी बनाउन छोडिएका छन् । जहाँ धनीहरूले सुख छरेका थिए खुसी उमार्न । तर उनीहरू दुःख र्छर्थे – मुसुरी उमार्न । अहिले भट्टा चलिरहेछ । त्यसैले उनीहरूको चुल्हा जलिरहेछ ।

मनसरा चारपाइ ओछ्याएर सुत्छे । आमाको फगुवा शब्दले उसलाई रोमाञ्चित र आत्मग्लानि दुवै बनाउँछ । ऊ फगुवाको रङ्गमा रगिन पुग्दछे ।

बुधराम , उसका साथीहरू र मनसरा सबैसँगै मिलेर होली खेल्दै थिए । बुधराम मनसरालाई धेरै पछ्याउँदै थियो । गाउँमा होलीको रौनक चढेको थियो । के बच्चा के बूढा सबैमा जोश र उमङ्गको लहर थियो । यसपालीको होली मनसरालाई किन हो किन अर्कै लागिरहेको थियो । ऊ खुब हौसिदै खेल्दै थिई । चौध काटेर पन्ध्र लाग्दासम्म उनीहरूको जातिमा बिहे भइसक्नु पथ्र्यो । उसका केही साथीहरूको बिहे भइसकेका थिए भने केहीको हुनलाई कुरा चलिरहेथ्यो । तर उसका बाबुले तिलक दिन नसकेको हुनाले कतैबाट कुरो चलेको थिएन । ऊ माथि दुर्इ दिदीको बिहेले उनीहरूलाई रित्याएको थियो ।

मनसरालाई बिहे भन्ने शब्दसँग खूब चाख लाग्दथ्यो । उसको चासोको विषयलाई बेलाबेलामा बुधरामले कुरा उठाइ ‘मसँग बिहे गर मनसरा’ भन्दा उसलाई आनन्द लाग्दथ्यो । ऊ बिस्तारै बुधरामको कुरालाई चासो दिन थालेकी थिई । ऊप्रति आकषिर्त हुँदै गएकी थिई । बुधरामले उसको मनोभाव बुझेको हुनाले बेलाबेलामा मीठामीठा सपना देखाउने गर्दथ्यो ।

त्यसपछि बुधरामले मनसरालाई लखेट्तै धेरै टाढासम्म पुर्यायो । उनीहरू एउटा मन्दिरमा पुगे । दुवैले भाङ खाएका थिए । भाङको नशा र थकाइ मेटाउन दुवै मन्दिरमा बसे । बुधरामले मनसराको हात समाउँदै भन्यो -” हेर मनसरा त मलाई माया गर्छेस् हैन -“
“र्एइ बुधराम… यो के गरेको हात छोड, माया गरेर के गर्नु मेरो बापो मइयासँग मागेर बिहे गर न ..।”
“बिहे˜ गर्न त माया गरेको तँलाई नत्र भने किन माया गर्नु हेर… म बजारमा राम्रो जागिर पाएपछि तँलाई कन्या बनाएर लैजान्छु बुझिस…् ।”
“तेरो पनि घरमा पैसा छैन.. अनि कसरी तेरो बापोले तिलक दिन्छ र तेरो बिहे हुन्छ ..भन त । “
“हुन्छ नि ˜˜ जसरी भए पनि । “
दुवै भाङले लटि्ठएका हुनालेसँगै बसेका थिए । बुधरामले लरबराउँदै भन्यो-” सुन.. मनसरा त र म आज बिहे गरौँ है ।”
“कसरी.. -” मनसरा बिहे शब्दले उत्साही भई ।
“लौ हेर.. यहाँ मसँग रङ्ग छ । तेरो सिउँदोमा हालिदिन्छु अनि तेरो र मेरो बिहे भइहाल्छ नि.. । “
“सिन्दुर हालेर मात्र कहाँ हुन्छ रे बुधे…. त वर भएर आउनुपर्छ अनि म कन्या भएर तेरो घरमा जानपर्छ बुझिस् ।”
“ओहो † घरमा जानु नै पर्छ भन्ने के छ र नगई बिहे गरे पनि हुन्छ नि… ।”
“भैगो , तैँले मलाई छल्न खोज्दै छस् । म बुझ्दै छु… । मेरो मइयाले भनेको केटाहरू यसरी नै केटीको छल्छ रे.. ।”
“तैले मलाई चिनेको छैनस् म साँच्चै नै तँलाई बिहे गर्छु बिहे गर्यो भने कस्तो मजा आउँछ सुन…अहिले हामी बिहे गरौ“ ल…।”
उनीहरूको जातमा काली भए पनि ठूलठूला आँखा भएकी, हिस्सी परेकी मनसराले आँखा नचाउँदै भनी-” यो बुधे साह्रै छट्टु छ रे , यहाँ कोही नभएको बेलामा पनि बिहे हुन्छ ।”
“हुन्छ नि यस्तो बेलामा सजिलो हुन्छ ।” मनसराभन्दा केही वर्षजेठो बुधरामले भन्यो । उसलाई धेरै कुरा थाहा थियो र बुझेको पनि थियो ।
“मलाई त डर लाग्छ बुधे..।”- मनसराले नशामा लटि्ठदै भनी ।
बुधरामले मनसरालाई सिन्दुर हालिदियो । सिन्दूर लाइदिएपछि सुमसुमाउँदै भन्यो-” हेर त र म आजदेखि श्याबौह …है तलाई मैले बिहे गरे । “
“र्एइ बुधराम हामीले यस्तो गर्यो भने गाउँमा सब हल्ला हुन्छ अनि कसरी मुख देखाउनु । “

“कसले ढोल पिट्छ कि हामीले बिहे गर्यौँ भनेर ।” बुधरामले बिस्तारै मुसार्दा मनसरालाई रमाइलो लागिरहेको थियो । वास्तवमा नै बिहे भनेको रमाइलो रहेछ भन्ने लाग्यो मनसरालाई । त्यस एकान्त वातावरणमा त्यसपछि के भयो उसले थाहा पाउन सकिन । त्यसपछि ऊ कसरी घर आई भन्ने कुरा उसलाई सपनाजस्तो लाग्यो ।
मनसरा भाङको नशा लागेको भनेर दुर्इ दिनसम्म सुतिरही । गाउँमा मुसुरी टिप्न र गुइठा बनाउन धमाधम थियो । ऊ हरबखत उही होलीको दिनको घटनामा आफूलाई अल्झाउन पुग्दथी । यो के भयो, कसरी भयो – उसले कसरी बुधरामलाई आफ्नो अमूल्य बैस सुम्पिदिई । हुन त उसको बैसलाई ठाडो आक्रमण गर्ने उसको पौहना, काका नभएका होइनन् । तर उसले जतन गरेर राखेकी थिई आफ्नो वैशलाई । किनभने घरमा मइयासँग गफ हुँदा यस विषयमा पनि चर्चा हुने गर्दथ्यो । उसकी मइयाले उसलाई सचेत गराएकी पनि थिई । त्यसैले उसले कतै चुडिन नदिई, भत्किन नदिई सम्हालेर राखेकी थिई । यस घटनापछि ऊ निकै डराएकी थिई । कसैले थाहा पायो भने केही भन्छ कि भनेर । तर कतैबाट यसको कुरा ननिस्केको हुनाले ऊ ढुक्क भई । अनि निर्धक्कसाथ आफ्नो काम गर्न थाली । गाउँमा बुधराम पनि थिएन । ऊ बुधरामलाई भेट्न चाहन्थी । ऊ बुधरामलाई सम्झिरहन्थी ।, ऊ बुधरामसँग बिताएको समयमा आफूलाई हराउन पुग्दथी ।

बुधरामको आफ्नो कथा थियो । ऊ टुकुटुकु हिँड्ने हुँदा उसको बाबु खसेको थियो । उसको बाबुको खानामा विषालु पदार्थ मिसिनाले र समयमा उपचार नपाउनाले ज्यान गएको थियो । उसकी आमाले उसलाई अत्यन्त दुःखले हुर्काउदै लगी । तर उसकी आमाले आफ्नो जवानीलाई छोराको मायाले बाध्न सकिन । त्यसैले ऊ फुकिएर कतै अन्तै गएर पोखिई । त्यसपश्चात बुधराम एक्लै भयो । बुधरामको दयनीय स्थिति देखेर उसकी हजुरआमाले जसोतसो उसलाई हुर्काउदै लगेकी थिइन् । कुपोषणयुक्त उसको शरीर साह्रै मायालाग्दो देखिन्थ्यो । बुधरामभन्दा मनसराको स्थिति केही राम्रो थियो । तर पनि उनीहरूको प्रत्येक पदचापमा अभाव र गरिबीका झङ्कार उठ्थे । जून झङ्कारले जोकोही धनाढ्यलाई संवेदनाका लहरले तरङ्गित बनाउन सफल हुन्थ्यो ।

बुधराम र उसको बचपनार्सगै हुर्केको थियो । नजिकै विदेशीले स्कुल बनाइदिएको थियो । उनीहरू त्यसै स्कुलमा पढ्न जान्थे । स्कुल राम्रो भएको हुनाले त्यस स्कुलमा उच्चवर्ग, मध्यमवर्ग र निम्नवर्गका विद्यार्थीहरू पढ्न आउँथे । तल्लोवर्गलाई विशेष ग्राहयता दिइने हुनाले उनीहरू पनि परेका थिए । अङ्ग्रेजी माध्यममा पढ्नुपर्ने हुनाले उनीहरूलाई अत्यन्त गाह्रो हुन्थ्यो । साना कक्षामा त राम्रै पढ्थे तर ठूलो कक्षामा उनीहरू लाई मुस्किल हुन्थ्यो । घरमा सिकाउने कोही हुदैन्थ्यो । वषामा घरवरिपरि पैनीमा माछाहरू उनीहरूको आहारा हुनलाई छट्पटाइरहेको हुन्थे । ती माछा मारेर उनीहरू ले आफ्नो भोक शान्त पार्नुपर्दथ्यो । घरमा पढ्नलाई बत्ती थिएन । वर्षामा ओढ्नलाई छाता थिएन । जाडोमा लगाउने तातो कपडा थिएनन् । गर्मीमा हावा खाने पङ्खा थिएन । यस्तो स्थितिमा कति समयसम्म पढ्ने र कसरी पढ्ने भन्ने प्रश्नचिन्ह तयार हुन्थे । स्कुल ले मुस्किलले किताब र पोशाक दिएको हुन्थ्यो अनि छात्रवृत्ति पनि ।

यतिमात्रले उनीहरूको भविष्य बन्न सक्दैनथ्यो । विद्यालयमा होमवर्क नगरेको भनी हप्की पनि खानुपर्दथ्यो । ती शिक्षकहरूलाई उनीहरूको साथमा कापी, कलम थिएनन् भन्ने कुरा पनि थाहा हुदैनथ्यो । खाजा खाँदा हरबखत उच्चवर्गको वासनादार टिफिनमा आँखा र नाक पुगेका हुन्थे । सुख्खा चिउरा र मुरैलाई उनीहरू वासनादार टिफिनको कल्पनामा चपाउँथे । उनीहरूले मुस्किलले दुइ कक्षा पास गरे । तीन कक्षामा दुइपल्ट फेल भएपछि दुवै स्कुलबाट निकालिए । त्यसपछि उनीहरू नजिकको सरकारी स्कुलमा पढ्न थाले । दुवैजनाले पाँचकक्षासम्म पढेर चित्त बुझाउनु पर्यो किनभने त्यहाँ पाँच कक्षासम्म मात्र पढाइहुन्थ्यो । त्यसपछि मनसराले इट्टाभट्टामा काम गर्न थाली भने बुधरामले बजारमा गई रोजगारी गर्न थाल्यो ।

प्रतीक्षारत समय बिताउँदै थिई मनसरा । एकदिन मनसरा गुइठा बनाउँदै थिई , बुधराम आइपुग्यो । बुधरामलाई देखेर मनसराको मनमा खुशी र बिश्वास पलायो ।
“मनसरा के छ तेरो खबर -“
“तँ.. बता न कहा“ गएको थिइस् – “
“तेरो लागि जागिर खोज्न गएको थिए“ । “
“मेरो लागि रे आफ्नै लागि भन न ।”
“हैन तँलाई बिहे गर्न जागिर खानु परेन । “
“अनि जागिर भेटिस् त, भन न हामी कहिले बिहे गर्ने -“
“हेर, जागिर त भेटेको छु तर… रेस्टुरेन्टमा नाच्नुपर्छ ।” अघिपछि गाउँघरमा पनि नाच्ने बुधरामले नाच्ने जागिर पाएको थियो ।
“तर एउटा कुरा केटी लिएर आइज तेरो जागिर पक्का हुन्छ भनेको छ , के गर्नु भन त । “
“अनि केटी कसलाई लैजान्छस् त -“
“तँ हिँड् न.. पैसा पनि पाइन्छ ..मीठोमीठो खान पनि पाइन्छ । “
“अहँ… म जान्न, मलाई डर लाग्छ ।” अघिपछि गाउँमा राम्रो लुगा लाएका मान्छे आयो भने छोरीहरूले लुक्नुपर्ने चलन थियो , त्यसैले मनसराले विरोध जनाई ।
“म छु नि… के डर मान्छेस् । मानिसहरू भनेका बाघ भालु हैनन । हामीजस्तै त हो नि …। तेरो डर पनि भाग्छ ।”
“मेरो मइया बापोले कहाँ दिन्छ त जान, फेरि मलाई तँलाई जस्तो नाच्न कहाँ आउँछ ।”
“बिस्तारै जनिहालिन्छ नि पहिला एक दुइ दिन हेर्न हिँड न ।”
“ल त मलाई लिएर जा है…।” मनसराले स्वीकृति दिई ।

भोलिपल्ट मनसरा बुधरामसँग रेस्टुरेन्टमा गई । उसलाई बुधरामले राम्रो लुगा किनिदिएको थियो । ऊ बुधरामले जागिर पाएकोमा र आफूले पनि जागिर पाउने भए भनेर मख्ख थिई । उसलाई बुधरामले धेरै कुरा सिकाएको थियो । ऊ बुधरामले आफूसँग छिट्टै बिहे गर्छ भन्ने कुरामा विश्वस्त थिई ।
रेस्टुरेन्ट देखेर मनसरा खुसी भई । यस्तो रेस्टुरेन्ट उसले आजसम्म कतै देखेकी थिइन । त्यहाँ उसले खानेकुरा लिएर जानुपर्दथ्यो । मानिसहरू उसलाई घुरेर हेदथे । यो कुराचाहिँ उसलाई मन पर्दैनथ्यो । तर पनि धनीमानीको संगत, चहलपहल र मीठो खानेकुराको अगाडि उसले सब कुरा बिर्सिदिई ।

गाउँमा हल्ला चलेको थियो । मनसराले राम्राराम्रा लुगा लगाएको देखेर पछाडि कुरा गर्नेहरू प्रशस्त थिए । तर मनसरालाई यो कुरामा कुनै मतलब थिएन । ऊ खुसी थिई । उसले यसलाई नै पर्याप्त ठानेकी थिई ।

बाबुको खोकीले उसको तन्द्रा टुट्छ । हिजोको खुसीलाई उसले आज तिलाञ्जली दिएकी छे । आज उसको विश्वासमा ठूलो घात भएको छ । उसले आज रेस्टुरेन्टको चिकन रोस्टमा आफूलाई बेचेकी छे । धनाढ्यहरू को बियर र रममा आफ्नो अस्तित्व साटेकी छे । ऊ लुटिएकी छे । टुक्रेकी छे । बुधरामको बिहेको वाचा भत्केको छ । उसले बुधरामको आत्मा पढ्न सकेकी भए उसलाई तनमन कहिल्यै दिने थिइन उसले । ऊ आफैबाट भत्केकी थिई । नजोडिने गरी ।

कतै टाढाबाट बाबु र आमाको गन्थन उसको कानमा ठक्कर खान आइपुग्छ । उसको बाबु भन्छ -” ऐ कथिले पिताइछी बेटी के – (किन कराउछेस्. ए छोरीलाई )”
आमा भन्छिन-“् नैगाइरद्याके कथि करबै – गाममे केन ग हल्ला छै कि मनसरा रेस्टुरेन्टमे काम करैछै । (नकराएर के गर्नु गाउँमा कस्तो हल्ला छ मनसरा रेस्टुरेन्टमा काम गर्छे भनेर ) “

बाबु खोक्तै भन्छ-” कैहैबलाके कैहैले दैहै कथि भेलै, एते नैबनिया काम नै करैबला के छै – रोग या भुखसे मोरै से त जेन गके भी जियैले ठीक (भन्नेलाई भन्न दे के भो र यहाँ खराब काम नगर्ने को छ र , रोग भोकले मर्नुभन्दा त जसरी भए पनि बाँच्नु जाती )”

आमाको स्वर सुनिन्छ ,-” तोहे कैहै छि ने, तर कथि करबै मुख देखाइले मुस्किल छै । बेटीके बिहा करैले नै सकलकै कहतै गौवा लोकसव ।
-( भन्छौ नि तर के गर्नु गाउँमा मुख देखाउन गाह्रो छ । छोरीको बिहे गर्न सकेन भन्छन् । ं)”

त्यसपछि मनसराले केही बुझिन , उसको कानमा बाबुले भनेको ‘ रोग या भुखसे मोरै से त जेन ग भी जियैले ठीक’ निकैबेरसम्म गुन्जिरह्यो ।

मनसरा बिहान चाँडै उठी नयाँ उमंग भावना लिएर । अब उसले बुधरामको विश्वासलाई तोडिसकेकी छे । ऊ अब कसैको अगाडि नाङ्गिने छैन । उसले आफ्नो अस्मिता लिलाम हुन दिने छैन । ऊ अब कसैको अगाडि बिक्ने छैन । उसले दृढ सङ्कल्प गरी ऊ अब सङ्धर्षगरेर बाँच्ने छे । बिहानको सूर्योदयले उसलाई नयाँ जोश र हौसला दिएको अनुभव भयो उसलाई । उसले बुधरामसँग बजारमा जाँदा केही मान्छे चिनेकी थिई । त्यसैले उसले कामको खोजी गर्ने विचार गरी ।

ऊ दिनभरि जागिरको लागि भौतारि रही । तर भनेजस्तो जागिर कही पाइन । उसले कतै उसले सफलताको सिढी भेट्टाइन । वर्षाशुरु भइसकेको थियो । घरमा अभाव र गरिबीले साम्राज्य फैलाएको थियो । भोक र रोगले ताण्डव नृत्य देखाउँदथ्यो । जसोतसो उनीहरूले सास धानिरहेका थिए ।

अचानक एकदिन उसको बाबु अन्तिमस्थितिमा आइपुग्छ । मनसरालाई उसको बाबुले ‘रोग या भुखसे मोरै से त जेन के भी जियैले ठीक’ भनेको कुरा कानमा गुन्जिरहन्छ । बाबुको असक्त र निसहाय अनुहारले मनसराको सङ्कल्पलाई चुनौती दिइरहेको आभाष हुन्छ । मनसरा बाबुको अगाडि हार खान्छे । आफ्नो सङ्कल्पलाई तोडिदिन्छे । उसले बाबुको जीवनको अगाडि आफ्नो अस्तित्वको आहुति दिन्छे । आमाको च्यातिएको धोतीले उसको अस्तित्वलाई नङ्गाइराखेको अनुभूति हुन्छ उसलाई । समाजको प्रत्येक व्यक्तिलाई ऊ नाङ्गो देख्छे । ऊ गरिबी र अभावका पर्दा च्यातेर समाजलाई देखाउन चाहन्छे । ऊ नङ्गाउन चाहन्छे समाजका ती वर्गलाई जो सम्पन्नताका पारदर्शी पहिरनमा आफ्नो इज्जत ढाक्न असफल प्रयास गरिरहेका हुन्छन् । ऊ बुधराम भएठाउँजान्छे , पुनः उसँग विश्वास जोड्न ।

(स्रोत: Sharmila’s Blog )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.