~पुष्प जोशी~
चुरोट र मेरो सम्बन्ध कहिले देखि सुरु भयो ठ्याक्कै बताउन त सक्दिन तर यो सम्बन्ध एउटा समयाबधिसम्म असाध्यै गाढा रह्यो। स्कुलको अन्तिम बर्षहरुतिर हो, शायद नौ-दसमा हुँदा, पहिलोपल्ट साथीहरुको लहैलहमा चुरोटको एक सर्को तानेको। एक सर्को चुरोटले पाँच मिनेटसम्म अनबरत खोकी लगाइरह्ह्यो, फोक्सोसम्म पुगेर नाकबाट फिर्ता आएको धुँवाले आँखाबाट पानी पनि बगाइरह्यो। तर केहि दिन पछि नै चुरोटसँग को नयाँ मित्रताले आफुले आँफैलाई स्टाइलिस र ‘कुल’ देख्न थालियो।
कलेज पुग्दा सम्म त प्रोफेसनल चुरौटे नै भईसकिएको थियो। साथीहरु पनि सबै धुँवाका पारखी नै थिए, एउटा गजबको बातावरण हुन्थ्यो हाम्रो जमघटमा। धुँवाको गोलो गोलो चक्का बनाउने कम्पिटिसन र चारैतिरबाट फ्यान चलाएर बिचमा बसि चुरोट सल्काउने कम्पिटिसन सँधै जस्तो भई नै रहन्थे। हरेक पिरियड पछि पाँच मिनेटको चुरोट ब्रेक लिन हाम्रो ग्रुप हुलै बाहिर निस्किन्थ्यो। चुरोट नतान्ने केटाहरुको अगाडि आफुलाई सुपेरियर ठान्दै ति केटाहरुलाई पाखे र अनकुल सम्झियिन्थ्यो।
केटीहरुलाई चुरोट पिउने स्टाइलिस केटाहरु मन पर्छन भन्ने भ्रम त्यतिबेला भङ्ग भयो जतिबेला देखि स्नेहा मेरो जीवनमा आइन। एउटै क्लासमा पढ्ने हामीहरु कतिबेला राम्रो साथी बनिसकेछौं, थाहै भएन। स्नेहा मलाई नोट बनाउन देखि लिएर प्र्याक्टिकल फाइल अपडेट गर्न र अरु व्यबहारिक कुराहरुमा संधै सहयोग गर्थिन।
जहिले पनि स्नेहाको कम्प्लेन मेरो चुरोट पिउने बानी, चुरोट गन्हाउने श्वास, चुरोट्ले प्वाल परेका लुगा र चुरोट प्रतिको अति-आसक्ती नै हुन्थ्यो। अर्थात चुरोटसँग सम्बन्धित मेरा हरेक कृयाकलापप्रति स्नेहाको गुनासो हुन्थ्यो। स्नेहाको मन राख्न चुरोट छोड्ने धेरै प्रयास गरे तर दुई तीन दिन भन्दा बढि चुरोटसँग अलग्गिन कहिल्यै सकिएन। अब त चुरोटप्रति आँफैलाई पनि त्यति लगाव त थिएन तर सजिलै सकिंदैन रहेछ चुरोट छोड्न।
पढाई सकेर ब्यबहारिक दुनियाँमा प्रबेस गर्दा स्नेहा मेरी जीवनसाथी भईसकेकी थिइन। बिहेभन्दा पहिला उनले मलाई चुरोट छोडाउने धेरै प्रयास गरेकि हुन तर सफलता हाल नलाग्दा उनले मेरो चुरोट पिउने बानिसँग सम्झौता गर्नै पर्यो। चुरोट हाम्रो सम्बन्धको बिचमा तगारो बन्न सकेन भन्दा पनि हुन्छ तर स्नेहाका पुराना कम्प्लेन अध्याबधिक भई नै रहन्थे।
चुरोट छोड्छु भन्दा पनि साथीहरुको संगतले गर्दा फेरि सुरु भई नै हाल्थ्यो। अफिसमा पनि धेरैजसो साथीहरु स्मोकर नै थिए, अफिस बाहिर त झन मेरा पुराना मित्र मन्डलीहरु छँदै थिए। अझै पनि विकएन्डमा र अरु कुनै जमघटमा तिनै पुराना धुँवाको चक्का बनाउने र फ्यान चलाएर चुरोट जलाउने कम्पिटिसनहरु भई नै रहन्थे।
त्यो दिन शायद एक रात भरिमा सबैभन्दा बढी चुरोट पिएको थिए मैले। स्नेहा डेलिभरी रुमभित्र थिइन, डाक्टरले केस कम्प्लिकेट भएको कुरा बताएका थिए। नर्मल डेलिभरी हुन नसक्ने हुनाले सिजेरियन गर्नुपर्ने थियो र त्यो क्रममा धेरै समय लाग्यो। अस्पातलभित्र चुरोट पिउन नपाउने हुनाले म हरेक पाँच मिनेटमा बाहिर पार्किङमा आएर गाडीमा बसेर चुरोट पिउँदै भित्र जाँदै गर्दै थिए। टेन्सनको बेलामा सधैं धेरै चुरोट पिउँने बानी थियो।
बिहान पाँच बजेतिर बल्ल मेरो टेन्सन सिद्धियो जब डेलिभरी रुमबाट बाहिर आएर नर्सले म बाबा बनेको र स्नेहा र बच्चाको स्वास्थ्य राम्रो भएको खुशीको कुरा सुनाइन। स्नेहाको हातबाट पहिलोपल्ट छोरीलाई मैले आफ्नो हातमा लिंदा स्नेहाले मतिर हेरेको प्रश्नवाचक नजरले ‘रातभरि कति चुरोट पिइयो?’ भनेर सोधेको मैले थाहा नपाउने कुरै थिएन। यो प्रश्नको उत्तर मैले दिइरहनु पर्ने जरुरी पनि थिएन किनकि मेरो मुख र कपडाहरुबाट आइरहेको चुरोटको गन्धले सबै कुरा बताइरहेको थियो।
घरमा छोरीको आगमन पछि मैले फेरि एकचोटि चुरोट छोड्ने कोशीस गरें तर सकिएन। चुरोट छोड्न नसके पनि छोरीको स्वस्थमा नराम्रो असर पर्छ भनेर कमसेकम अब घरभित्र चुरोट पिउन पाउने ठाउँहरु सिमित गरिए। मैले चुरोट पिउनु पर्दा बाहिर चौरमा अथवा बाल्कोनिमा गएर मात्रै पिउनु पर्ने अघोसित नियम बन्यो। हुन त चुरोट पिउन बाहिर निस्किन गार्है हुन्थ्यो, झन जाडो महिनामा त महाभारत नै हुन्थ्यो राती बाहिर निस्कन, तर छोरीको लागि मैले त्यती त गर्नै पर्थ्यो।
अब मेरा साथीहरुले पनि मेरो घरमा आउँदा घरभित्र चुरोट पिउन नपाईने नियम बन्यो। कहिलेकाही साथीहरुले ‘ कसैको घरमा नभएको नियम तेरै घरमा रैछ’, भनेर ब्यङ्ग हान्थे तर छोरीको स्वास्थको लागि अलिकति ब्यङ्ग सहनु कुनै ठुलो कुरा थिएन।
मैले छोरीसँग खेल्दा, शायद चुरोट गन्हाएर होला, नमिठो मुख बनाउँथि। स्नेहाले कर गरिरहन्थिन चुरोट पिउन छोड अथवा कमसेकम पिउन कम त गर भनेर। तर जति कोशीस गरें पनि सबै ब्यर्थ मात्रै हुन्थ्यो। अब त मलाई पनि चुरोटसँग को मेरो लामो सहवास टुङ्याउन साँच्चिकै मन लागिसकेको थियो। मैले ‘चुरोट कसरि छोड्न सकिन्छ’ भन्ने आसयका धेरै लेखहरु पढे, आयुर्बेदिक औषधीहरु पनि प्रयोग गरे, पत्रिकामा छिनभर मै चुरोट छोडाइन्छ भन्ने आसयका बिज्ञापन दिने ठाउँहरुमा पनि संपर्क राखे तर खासै उपलब्धि कतैबाट पनि भएन। जे होस सकेसम्म चुरोट पिउन कम गर्ने कोशीस भने जारि नै थियो।
आमाको देखासिखी गरेर होला छोरी पनि अलि ठुलि हुँदै गए पछि मेरो चुरोटको बट्टा, लाइटर, सलाईहरु लुकाउने र कहिलेकाही मेरो मुखबाट चुरोट झिकेर फाल्दिने जस्ता कृयापलापहरु गर्थी। मलाई पनि छोरी कै लागि भए पनि चुरोट छोड्ने मन त थियो तर अहँ चुरोट छोड्न अपनाएका कुनै पनि उपाए काम लागेनन।
यस्तैमा एकचोटि अफिसको कामको सिलसिलामा भियतनाम जानु पर्ने भयो। जाँदा खेरि एक हफ्ता ब्याङ्ककको रिजनल अफिसमा ओरियन्टेसन, पछि तीन हफ्ता भियतनाममा वर्कसप संचालन गर्नुपर्ने । फर्किंदा फेरि रिपोर्ट बुझाउने र अरु प्रकृयागत कामको लागि एक हफ्ता ब्याङ्ककमा बस्नुपर्ने।
रिजनल अफिस नै ब्याङ्ककमा भएको हुनाले धेरैचोटि ब्याङ्कक र प्यासिफिक क्षेत्रका अरु पनि देशहरुको भ्रमण गरेको भएता पनि भियतनाम मेरो लागि बिल्कुलै नयाँ देश थियो। साठीको दसकको युद्द र छाते टोपी लगाएका मान्छेहरु, मेरो दिमागमा यही बिम्ब थियो भियतनामको।
हरेक पल्टको बिदेश भ्रमणमा जस्तै यसपालि पनि स्नेहाको लागि के के ल्याउने, छोरीको लागि के के ल्याउने अनि परिवारका अरु सदस्यहरुको लागि के के ल्याउने भनेर लामै लिस्ट बन्यो। छोरी भरखरै किन्डरगार्टेन जान सुरु गरेकि हुनाले उसको लिस्टमा कपडा र चकलेट बाहेक स्कुल ब्याग, सिसा कलमको सेटजस्ता स्टेसनरी सामानहरु पनि थपिएका थिए।
हो चि मिन्ह सिटिको भब्य एअरपोर्टमा पहिलोपल्ट उत्रिदा मैले सोचेको भन्दा धेरै फरक भियतनाम देखियो। युद्दले जरजर पारेको भए पनि छिट्टै धेरै प्रगती गरिसकेको रहेछ, कमसेकम नेपालको तुलनामा। सानै भए पनि हो चि मिन्हले कता कता बेइजिङ र ब्याङ्ककको झल्को दिन खोज्दो रहेछ।
एअरपोर्टमा मेरो नेपाली पासपोर्ट देखेर नेपाल भनेको देश कहाँ पर्छ भनेर त्यहाको कर्मचारीले सोध्दा एकछिन अचम्मको माहौल बन्यो। अन्तरराष्ट्रिय बिमान्स्थलमा काम गर्ने मान्छेले यस्तो प्रश्न सोध्दा नरमाइलो लाग्यो तर पछि अर्को कर्मचारीले अहिलेसम्म नेपालबाट एकदमै थोरै यात्रीहरु मात्रै भियतनाम आएका हुनाले धेरै जसो मान्छेहरुलाई नेपालको बारेमा त्यति जानकारी छैन भनेर प्रस्टिकरण दिएर माफि माग्यो।
राती हामीहरु सबैको लागि होटेल मै सानो पार्टी आयोजना गरिएको थियो। तर शायद नेपालबाट म एकजना मात्र भएको र भियतनामीहरुलाई नेपालको बारेमा राम्ररी थाहा नभएको हुनाले होला मेरोलागि खान पिउन लायक केहि पनि थिएन। गाइको मासुका परीकार, बिभिन्न किरा फट्याङ्राहरुका परीकार र सबैभन्दा मुख्य आकर्षण थियो, टेबलको बिचमा पकाएर गोलो पारेर राखिएको अजङ्गको सर्प । अझ त्यो सर्पको मुख आँsss गरेर डेकोरेसनको लागि एउटा चेरी पनि घुसाइएको थियो।
खाना देखेरै बान्ता आउला जस्तो भयो। अर्को दिनदेखि मेरोलागि खान लायक परिकारको लिस्ट दिएपछि मात्रै मेरोलागि छुट्टै खानाको ब्यबस्था गरियो, नत्र तीन हफ्ता कि भोकै बस्नु पर्ने थियो नभए हिजोको जस्तै भियतनामी खाना खानु पर्ने थियो।
वर्कसप राम्रैसंग चलिराखेको थियो। हुन त हरेक दुई तीन दिनमा घरमा फोनमा कुरा भईरहन्थ्यो तर ‘त्यो दिन’ बिशेष थियो। बिशेष भन्दा पनि डबल बिशेष भनुँ न, त्यो दिन मेरो छोरीको जन्मदिन थियो र संयोगबस नेपालि मिति अनुसार हामी बाउ छोरीको जन्मदिन एकै दिन पर्छ। तसर्थ त्यो दिन हाम्रो लागि सधैं डबल सेलिब्रेसनको दिन हुन्छ। पहिलोपल्ट म छोरीको जन्मदिनमा छोरीभन्दा टाढा थिए तसर्थ फोन मै भए पनि छोरीलाई बर्थ डे विस गरेर चित्त बुझाए। फोन मै मैले छोरीलाई फर्केर आउँदा बर्थडेको उपहार के ल्याइदिउँ भनेर सोधेको थिए।
छोरीलाई जन्मदिनको उपहारको बारेमा सोध्दा मेरी चार बर्षकि अबोध छोरीले एउटा अचम्मको उपहार मागिन। आफ्नो मायालु तोते बोलीमा मेरी छोरीले निर्दोस आग्रह गरिन, ‘ बाबा फर्केर आउँदा चुरोट नखाने गरेर आउनु है, मेरो बर्थ डे गिफ्ट!’
छोरीको आग्रहले म जहाँको त्यँही फ्रिज भएछु, केही बोल्न सकिन, छोरी उताबाट ‘बाबा…..बाबा’ भन्दै थिइ क्यारे ! जलाएर राखेको चुरोट कुन बेला हातबाट भुँइमा झरेछ थाहै भएन, आँखा पुरै भिजिसकेछन। हुन त स्नेहाले गर्दा नै छोरीले पनि सिकेकी हो मेरो चुरोट पिउने बानीप्रति कम्ल्पेन गर्न तर यो उपहार उसले आँफैं मागेकी हो कसैले नसिकाइ। छोरीको निर्दोस आग्रह मेरो मुटुमा, मेरो दिमागमा यसरि स्ट्राइक भयो कि त्यही दिन हुन गयो चुरोट र मेरो लामो सहवासको अन्तिम दिन, त्यसपछि अहिलेसम्म मैले चुरोट छोएको पनि छैन।
अहिले सात बर्ष भयो मेरी छोरीले आफ्नो जन्मदिनमा त्यो ‘बिशेष उपहार’ मागेको र यि सात बर्षभित्र मैले आफुभित्र एउटा नयाँ उर्जा थपिएको महसुस गरेको छु, शब्दले बर्णन गर्न नसकिने एउटा अलौकिक अनुभुती।
अझै पनि साथीहरुका जमघट हुन्छन, पहिला जस्तो चुरोट जलाउने अथवा धुँवाको गोलो चक्का बनाउने कम्पिटिसन नभए पनि मुख्य आकर्षण त चुरोट नै हुन्छ तर पहिला जस्तो सबैले त्यहा चुरोट पिउनै पर्छ भन्ने अघोसित नियम अब परिमार्जन भईसकेको छ।
साथीहरुले कहिलेकाँही ‘ तँ जस्तो चुरोटको पारखिले पनि कसरि चुरोट छोड्न सकिस?!! ‘ भनेर सोध्छन । म उनिहरुलाई जवाफ दिन्छु, ‘ छोड्छु भनेर मात्रै हुँदैन रहेछ, कुनै पनि कुलत छोड्न ठीक समयमा ठीक ठाउँमा साइकोलोजिकल झट्का लाग्नै पर्दो रहेछ’।
(स्रोत: Pokhara Blog)