~भैरव अर्याल~
कौवाले कान लग्यो भनी कसैले भनिदियो भने कौवासितै कुद्ने कि आफ्नो कान छाम्ने ? एकदिन गुरुले हामीसित सोध्नुभयो । एउटाले भन्यो– कौवाले कानै लगिसकेपछि पनि छामछुम गरेर अलमलिनु हुन्छ ? कुदिहाल्नु पर्छ । कौवालाई समातेर एक थप्पड दिई कान खोसिहाल्नु पर्छ । नत्रत भागिहाल्छ नि । अर्कोले भन्यो– खोस्लास् कान ! कान लिएर कौवा उडिहाल्छ, आफू उड्न सकिँदैन । फेरि कौवा यस्तो बाठो हुन्छ कि हामीले भेट्टाउने ठाउँमा कान राख्दैराख्दैन । त्यसैले कौवाले कान लग्यो भने खोसेर ल्याउन कसैका बाबुको तागत चल्दैन, ऊ रूखको टुप्पामा बसेर हामीलाई देखाई देखाई कान खाइदिन्छ । ऊसित कुद्नुभन्दा चुप लागेर बस्नु बेस । गुरुले भन्नुभयो– कुरा दुबैका ठीक हुन् । तर मलाई ठीक लागेन ।
कौवाले कान लग्यो भनी कसैले भन्दा कान लग्यो, कान लग्यो भनी कराउँदै कौवाको पछि–पछि दौडने दौडँदै गरून् । हरे शिव ! मेरो कान लगिदियो भनी पिँढीमा बसेर रूने रूँदै गरून् । तर म त कराएर कुद्दा पनि कुद्दिन, बिलौना गरेर रून पनि थाल्दिन । के तँ कान छाम्न थाल्छस् त भन्नुहोला, तर म कान पनि पहिल्यै छामी हाल्दिन । किनभने कसैले केही भन्यो भन्दैमा आफूले केही सोच्दै नसोची पत्याउने मान्छे बुद्धु, हुस्सु हो र केटाकेटी हो । त्यसैले कौवाले कान लग्यो भनी मलाई कसैले भन्यो भने म सबभन्दा पहिले उसैसित सोध्छु– तिम्रो कान लगेको कि मेरो कान हँ ? अनि ऊ स्वयम् अकमक्क पर्छ ।
मेरो भनाइको मतलब के भने कसैले केही भन्यो भने सबभन्दा पहिले उसले भनेको कुरा सम्भव छ कि असम्भव छ त्यो सोच्नुपर्छ । असम्भव भए कुरै सक्किगयो, सम्भव भए यसो छाम्ने सोध्नेतिर लाग्नुपर्ला । तर कौवाले कान लग्यो भन्ने समाचार बिलकुलै असम्भव हो । त्यसैले कौवासित दगुर्ने कि कान छाम्ने भन्ने प्रश्नै उठ्तैन ।
मेरो जबाफ सुनेर गुरु हाँस्नुभयो । तर एउटाले प्रश्न झिक्यो– “दुनियाँमा असम्भव भन्ने कुरा के छ र ? कौवा जस्तो चलाख चराले कुनै मान्छेको कान लैजान के बेर ?” अर्कोले पुष्ट्याईं दियो, “हो, के बेर ? कान भन्ने अङ्ग नै यस्तो अप्ठ्यारो ठाउँमा छ कि आफ्नो आँखाले देख्नै सकिँदैन । फेरि यो सानो मालपुवा जस्तो मासुको लोत्रो छ । कौवाले मालपुवा नै सम्झेर ठुङ्न पनि सक्छ । चुच्चाले लोती च्यापेर थुती भुर्र उड्न पनि सक्छ, कानलाई कसले खोल हालेर राखेको छ र ? तर्क उसको पनि ठीकै हो ।”
शिरको खोल टोपी र खुट्टाको खोल जुत्ता जस्तो कानको कुनै खोल छैन । बूढाबूढी र केटाकेटीले कानेटोपी लाएकाले उनीहरूको कान कौवाले लैजाने डर नहोला, तर हाम्रो कान कौवाले लैजान के असम्भव ? म पनि एकछिन नाजवाफ हुन्छु । तर मेरो बुद्धिले भन्छ– दुनियाँमा असम्भव के छ र ? कौवाले जिउँदो मान्छेको कान लैजानु बिलकुल असम्भव छ । आफ्नो जिउको कान कौवाले कसरी उप्काउन सक्छ ? कसरी चुपो लागेर सहन सक्छ ? बिलकुल असम्भव । नाङ्गाको कुरा गर्ने हो भने नाक पनि त नाङ्गै हुन्छ, कौवाले नाक नलगेर कानै ताक्नुपर्ने किन ? मान्छेको कान कौवालाई के काम, काम लाग्छ ? यसभन्दा अघि कसैको कान कौवाले लगेको थियो कि थिएन ? इत्यादि प्रश्नहरू उठ्छन् । सबै विचार गर्दा कौवाले कान लैजाने कुरा कत्ति पनि सम्भव लाग्दैन । त्यसैले कराएर भन्छु– कौवाले ज्यूँदो मान्छेको कान लान किमार्थ सत्तैmन । यो प्रश्नमा सोच्नु मात्र पनि एउटा हुस्सुपन हो ।
गुरुले मलाई स्याबासी दिँदै भन्नुभयो– ठीक भन्यौ । कसैले केही भन्यो भने तुरून्तै पत्याई हाल्नु मुनासिव छैन । भनेको कुरा ठीक हो कि होइन भनी सोच्नुभन्दा पहिले भन्ने मान्छे ठीक हो कि होइन भनी सोच्नुपर्छ । समाजमा सबै मान्छे ठीक हुँदैनन् । बौलाहा, फटाहा, हुल्याहा, छुल्याहा मान्छे पनि यहाँ कम छैनन् । यस्ता मान्छेले सम्भव कुरा सुनाए भने पनि एक पटक राम्ररी नसोची पत्याउन सकिँदैन । मान्छे त सद्दे नै हो, तर जाँड खाएर आएको रहेछ भने अथवा गाँजाले लठ्ठिएको रहेछ भने त्यस्ताको कुरा पनि कसरी पत्याउने ? ‘त्यसैले कौवाले कान लग्यो, भन्ने कुरा पत्याउनुभन्दा अघि त्यो भन्ने मान्छे कस्तो हो, उसले भट्टीबाट फर्कंदा भनेको हो कि ठट्टामा भनेको हो त्यो पनि ठम्याई हाल्नुपर्छ ।
गुरुले भनेको पनि राम्रो हो । तर मान्छे चिन्ने उसको परिस्थिति विचार गर्ने र भनेको कुरा सम्भव हो कि होइन सोच्ने शक्ति सबैमा कहाँ हुन्छ र ? धेरैजसो अशिक्षित दाजुभाइ जसले जे भन्यो पत्याई हाल्छन् । टाढाको कुरा किन ? साक्षात् दश हात भएकी भगवती प्रकट भइन् भनेर कसैले सुनाइदियो भने हो कि होइन भन्ने सोच्दै नसोची हाम्रा आमाहरू पूजासामान बोकेर दगुर्नुहुन्छ । पर्सि प्रलय हुन्छ भनेर सुनाइ दिनु, कति मान्छे घर छाडेर बारीका पाटामा पाल टाँग्न थाल्छन् । यसरी समाजको अधिकांश भाग लहैलहैमा कुद्छ अन्धविश्वास र रूढीको जन्मदाता पनि यस्तै लहैलहै हुन् । त्यसैले समाजमा बराबर यो प्रश्न दोह¥याई रहनुपर्छ– कौवाले कान लग्यो भने कौवासित कुद्ने कि कान छाम्ने ?
गुरु भन्नुहुन्छ, हो, यस प्रश्नले मान्छेलाई लहैलहैमा कुद्ने होइन, सोचेर मात्र काम गर्नुपर्छ भन्ने सङ्केत दिन्छ । मान्छेले दिमाग पाएकै सोच्नको निम्ति हो, सम्भव र असम्भव छुट्याउनको निम्ति हो, सत्य र असत्य ठम्याउनको निम्ति हो । तर यो केही नगरी जसले जे भनिदियो त्यही लहैलहैमा लागेर कुद्छ भने उसको कान मात्र होइन गिदी पनि कौवाले लगेछ क्यार भन्नुपर्छ । होइन भने ज्यूँदो मान्छेको कान लैजान कौवा छुसीको के तागत ? अन्त्यमा, हामी यही निष्कर्षमा पुग्यौँ जसले जे भन्यो पत्याउन थाल्यो भने मान्छे बेकम्मा हुन्छ, बौलाहा हुन्छ । आज एउटाले कौवाले कान लग्यो भनिदियो, भोलि अर्कोले भँगेरोले भुँडी लग्यो भनिदेला । यसैगरी पर्सि कोही चीलले आँखा लग्यो भन्न आउला त निकोर्सि चमेराले जिभ्रै्र कुदाएको समाचार आउला अनि कस–कसका पछाडि दगुर्ने ? त्यसैले कौवाले कान लग्यो भनी कसैले भन्दैमा हामीले कौवाको पछि–पछि लहै–लहै भन्दै दगुर्नु पनि हुँदैन, साँच्चै लग्यो त भनी कान छाम्न पनि पर्दैन । सबभन्दा पहिले त हामीले यही सोच्नुपर्छ, कौवाले हाम्रो कान लान सक्छ कि सक्तैन ।
(‘घुम्ती’ बाट)