~शैलेन्द्र सिम्खडा~
गाउँबाट हिँडदा बाले भन्नु भा’थ्यो
बाबु खर्च थोरै छ यत्तिले पुर्याउनु,
जे सस्तो पाइन्छ त्यै किनेर ल्याउनु,
बाको पैसाले न खशी आँउदो र छ, न च्याङ्ग्रा आउँदो रछ,
यो शहरमा त सबैभन्दा सस्तो मन्त्री र सभासद पाँउदो रछ,
सँधै दशैंका च्याङ्ग्राहरू भक्तपुर सल्लाघारीमा राखिन्थ्यो,
यस्पालि बानेश्वरमा राख्न पा’रछ,
समावेशीको नाउँमा कैफियत भा’रछ,
खसीबोकाको हुलमा बाख्री धेरै मिसा’रछ,
म दिक्क भएँ, र सरकारी बजारबाट तरकारी बजारतिर गएँ,
नेताले नटेरेपछि अब त जन्ताले तरकारीलाई गालिगर्न थालेछन्
त्यो अकवरे खुर्सानीलाई ज्यानमारा खुर्सानी भन्न थालेछन्
त्यल्ले कस्को ज्यानमार्यो, कल्लाई अप्ठेरो पार्यो ?
बिचरा जेमा हाले पनि रम रम रम स्वाद दिने समावेशी सर्वहारा,
यो कस्तो देश हो ज्यानमारा चैं नेता खुर्सानी चै ज्यानमारा ?
कस्तो देशमा जन्मिएछौं ? कस्तो पानी पिएछौं ? कस्तो आदत् लागेछ ?
अब त बाउको पैसा लिएर घरको सामान किन्दा पनि
कमिशन घिच्न मन लाग्छ,
कस्तो चुनाव भएछ ? कस्तो नेता छाने छौं ?
संबिधान सभाको हालत देख्दा, यो भोट हाल्ने हातलाई पनि
सिलौटामा राखेर लोहोरोले किच्न मन लाग्छ,
ठट्टा नगर्नु सिमानाबाट छिर्नेले पनि,
भित्र बसेर देश चिर्नेले पनि,
याहाँ देश बेचेर जन्ता किन्न पाउँदैन
नेपाली नबोल्नेले नेपालको झण्डा राखेर हिड्न पनि सुहाउँदैन,
बुझ्नेले बुझपचायो नबुझ्नेले त्यसै करायो,
हाम्रो नेपाल भन्ने शब्द हरायो,
मेरो हिमाल, मेरो पहाड, मेरो तराई,
त्यस्तो मुर्खै मुर्ख छान्न सक्ने नेपाली जनतालाई मेरो बधाई,
हेर्नुस् सँधैको लुछाचुँडी
कैले भर्ने श्याल, गिध्द र हुँडारको भूँडी ?
फलानालाई छवटा मन्त्री
ढिस्कानालाई नौवटा मन्त्री
फलानाकी स्वास्नी मन्त्री
फलानाकी छोरी मन्त्री
चुनाव जित्नु पर्दैन, कसैको पुत्री खा, कसैको पुत्रो खा,
नेपाली जनताले हालेको भोट चैं भुत्रो खा,
अन्तरिम सम्बिधान जाँसुकै जा
अवत होस् पर्याउ ए बुढी बा !