~केशव राज ज्ञवाली~
आज आइतबार अफिस छुट्टी छ, नगरी नहुने बिशेष काम पनि केहि छैन । आज अमेरिका आइपुगेको पाँचवर्ष पुगेछ । म अलिक नोस्टाल्जिक भैरहेको छु । पुराना डायरीहरु हेर्दै सम्झिरहेछु, पुराना दिनहरु । एउटा निलो जिल्दा भएको डायरीले मेरो आखा तान्यो । म त्यसका पाना उल्टाईरहेको थिए ; मेरी श्रीमती कोठामा छिर्दै भनिन् ” के पढ़िराको ?” ”सुन्छेउ मैले यतातिर आउनुभन्दा पहिले एउटा कथा लेखेको रहेछु” ।
” कहिले लेखेको रे ”
” झन्डै आठबर्ष पहिला”
” शिर्षक के नि ?”
” राखेकै छैन; म पढ्छु है त”
” जय चिया पाकेन ?” म ओछ्यानबाटै चिच्याए । मैले चिया ओछ्यानमै खाएर उठ्ने बानी पारेको थिए त्यतिबेला । बिहान चाडै उठेर गरिहाल्नु पर्ने काम पनि केहि हुदैनथ्यो । बिहान उठेर यताउति गर्दै नौ बजाउनु, बसेकै घरको तल्लो तलामा रहेको अफिस जानु, अनि दिनभरी अफिसको काममा ब्यस्त रहनु मेरो दिनचर्या थियो । शायद घरबाट टाढा जागिर खान आउनेहरु धेरैको दिनचर्या यस्तै हुदो हो । म काठमान्डौस्थित एउटा विकासे संस्थाबाट सुदुरपश्चिममा खटिएर गएको थिए । जिल्ला सदरमुकामबाट झन्डै एकदिनको बाटोमा मेरो कार्यक्षेत्र थियो । त्यहाँ एउटा खानेपानी योजना, अरु स-साना कामहरु र मोटरबाटोको काम हुदै थियो ।
काठमाडौँबाट त्यतातिर हिड्ने बेलामा धेरै मान्छेले नजाऊ पनि भनेका थिए, माओबादी द्वन्दको उत्कर्षकाल थियो त्यो । एउटा त पढाई सकेपछि जागिर नै खाने मानसिकता र सानै देखि रटेको ” सुन्दर , शान्त, बिशाल ” देश हेर्ने इच्छाले गर्दा पनि उत्तम विकल्प लागेको थियो मलाई त्यो र अन्तत म त्यहाँ गए ।
गाउँ नै गाउँले भरिएको देशको प्रतिनिधि चित्र नै थियो त्यो गाउँ । झन्डै दुइसय जति घर, गाउँको सिमाना बाध्ने एउटा खोला, शिक्षक अपुग भएको एउटा स्कूल र ”डाक्टर” भनिने पियन भएको एउटा स्वास्थ्यचौकी पनि थियो । गाउँमा केहि समय अघिदेखि एउटा नेपाली सेनाको ब्यारेक पनि थपिएको थियो । जिल्लाको मध्यभाग जस्तो भएकोले पुरै जिल्ला को गतिबिधि हेर्न सजिलो हुदो हो शायद ।
” सर, चिया ” जयले चिया दिएर कोठामा उभीइरह्यो । मैले आँखामा प्रश्न भरेर जयलाई हेरे । ” सर, धारामा त पानी आएन नी !” म छक्क परे, हिजो खानेपानी योजनाको काम सकिएको दिन थियो । हिजो दिनभरी सबै धाराहरु, टंकी जांच गरी सन्तुष्ट भएर फर्केको थिए म । हिजो साँझ ठीकठाक चलेको पानी आज अचानक कसरी बन्द हुन्छ ? ” सर, माओबादीले मूलटंकी मा बम पड्कायो भन्दाछन बजारमा ” बजार भन्नु दसवटा पसल, दुइ चार चिया पसल र ठाकुर को ” जनता हेयर कटिंग एण्ड सैलुन ” थियो । म हत्तपत्त मुख धोएर अफिस मा झरे । अफिसमा एक एक गरी गाउँलेहरु आउन थाले, सबैको अनुहारमा एकखालको उदासी थियो । हिजोसम्म पानी आउला भनि खुशीभएका मान्छेहरु एकाएक जिल्लिएका थिए ।
”अब के गर्ने सर ?”
” जंगलीहरुले सेनालाई पानी दिएको भनेर पडकाएको रे ”
” ब्यारेकमा धारा बनाउनै नहुने ”
”बार्ता गर्नुपर्यो सर, म मिलाउछु ”
अनेक प्रकारका विचार र प्रश्नहरु थिए तर जवाफ थिएन । एकैछिनमा केहि मान्छेहरुलाई पाईप र अन्य सामग्री बोकाई मुहानतिर उकालो लागे ।
त्यस्तो ठुलो क्षति केहि भएको थिएन, शायद बम पनि थिएन त्यो । ट्यांकीको ढक्कन अलि पर फालिएको थियो । ट्यांकीको मुख्य पाईपमा ढुंगा भरिएको थियो । त्यो पाईपलाई अलिक तलबाट काटेर, नया पाईप जोडेपछि पानी फेरी चल्यो । नजिकै ढुंगाले थिचेर ठुलो हस्तलिखित पोस्टर राखिएको थियो ।
” जनताको क्रान्ति जिन्दाबाद”
”महान जनयुद्ध सफलपारौ”
”प्रतिक्रियाबादी मुर्दाबाद”
त्यस्तै त्यस्तै लेखिएको थियो । म फर्केर अफिस पुग्दा धनबहादुरजी अफिसमा बसिरहेका थिए । धनबहादुर त्यो ब्यारेकमा जम्दार थिए शायद, सेनाको पदहरु धेरै पुर्बेली पनि भएकोले फुर्सदमा गफगाफ गर्न आइरहन्थे ।
”तपाइलाई मेजरसाबले बोलाई’स्या छ ।”
”म खाना खाएर आउछुनी त धनबहादुरजी ”
“होइन सर् मलाई लिएरै आउनु मर्जिभा’छ मेजर्साबले, बरु गैहालौ ।”
मलाई दिक्क लग्यो तर दिक्दारी अनुहारमा आउन दिईन र धबहादुरसंग ब्यारेक तिर उकालो लागे ।
धनबहादुरको घर संखुवासभा तिर थियो क्यारे । एकपल्ट तिनबर्ष पहिले घर गएको , फर्किदा श्रीमती गर्भवती थिई भनेका थिए । पछि कुरै कुरामा छोरी भयो भन्थे । बिचमा लडाईले गर्दा घर जान नसकेको, तिन चार पटक भिडन्तमा परेको संगैको साथीहरु मारिएको अफुचाही भाग्यले बाचेको जस्ता कथाहरु सुनाएका थिए ।
“सर् मलाई एउटा व्यक्तिगत सहयोग गरिदिनु पर्यो ।” मैले अनुहारमा प्रश्नचिन्ह ल्याएर हेरे । “म त छोरीको अनुहार नै नहेरी मर्नेभये सर्, क्याम्पमा आक्रमण हुने हल्ला छ ।” मैले कुरा बुझिन सुनिरहे । “सर् एकपल्ट छुट्टी लिएर घर गइ परिवार लाई भेटौ भनेको, सर्र्ले तपाइको अफिसको कर्मचारी परिचयपत्र बनाइदिनु पर्यो ।” “मेरो घर एकदम दुर्गममा पर्छ, बाटोमा माओबादीको चेकमा परियो भने काम लाग्छ” धनबहादुरले थप्दै गए ।
“छोरी डेढबर्ष की भई फोनमा बा बा भन्छे, मलाई त्यसको अनुहार नै नहेरी मर्ने भए जस्तो लाग्न थालिसक्यो । स्वास्नी कुरैपिच्छे रुन्छे । गरिबको छोरो जागिर नखाऊ भने पनि भएन, बुढेसकालमा पेन्सन आउने जागिर कसरी छोड्नु ।” उनले लामो सास तानेर भने “यो लडाई पनि कहिले नसकिने जस्तो छ । कहिलेकाही जागिर छोडेर अरबतिर जाउ कि जस्तो पनि लाग्छ तर उतापनि दुखै छ भन्छन ।” उनले पुर्बेली भाकामा भने “के गर्नु हुउ सर्, गरिबलाई जतापनि उस्तै हो, नेपाल गए कपाल संगै बर्मा गए कर्म संगै’ ।
अब धनबहादुरको पीडा मलाई दुख्नथालेको थियो तर मेरा आफ्नै अप्ठ्याराहरु थिए । मैले सेनाका मान्छेलाई सहयोग गरेको खबर बाहिर गयो भने काम गर्ने बाताबरण नै बिग्रिन सक्थ्यो । अन्ततः मैले झुठको सहारा लिए “धबहादुरजी, हाम्रो परिचयपत्र काठमाण्डौंमै बन्छ, हामीले बनाउन मिल्दैन ।” धनबहादुरले मेरो कुरा पत्याएको वा नपत्याएको मलाई थाहा भएन ।
ब्यारेकमा पुग्दा मेजर्साब घाममा बसेर पत्रिका पढ्दै थिए । मैले नमस्ते गरे र नजिकैको कुर्सीमा बसे । धनबहादुरजी एकपल्ट तनक्क तन्किएर सलाम गरे र बिदा भए ।
“चिया खाऊ इन्जिनीयर साब” मैले हुन्छ हुन्न भन्न नभ्याउदै उनले दुई कप चियाको लागि नजिकै केहि काम गरिरहेको सैनिक जवानलाई अह्राए ।
“माथि टंकीमा बम पड्काएको भन्ने हल्ला छ नी”
“सर् म त्यहाँ पुगेर आउदै छु, शायद बम थिएन त्यो, ट्यांकी को ढकनी फोरेर पाईपमा ढुंगा कोचिएको रहेछ, अलिकति पाईप फेरेपछि ठिक भयो ।”
“तपाईहरुले त्यस्तो सुनेपछी हामीलाई खबर गर्नुपर्दैन ?” मेजर्साबले रुखो स्वरमा भने “त्यहाँ माईन वा त्यस्तै केहि पनि हुन सक्थ्यो, दुर्घटना हुन सक्थ्यो ।”
म संग जवाफ थिएन । “ हेर्नुस अब आईन्दा त्यस्तो केहि भयो भने तपाईले हामीलाई खबर गर्नुहोला ।”
“हस सर्”
“तपाईहरुले जन्गलीहरुलाई चन्दा त दिने गर्नुभा छैन ?”
“छैन सर्”
“हेर्नुस हामीले यहाका केहि संघसंस्थाले पैसा दिन्छन भन्ने खबर छ हामीसंग । मैले थाहापाए भने जानेको छ यी विकासेहरुलाई के गर्नुपर्छ ।”
“त्यस्तो केहि छैन सर् हुदो हो त हाम्रो योजना भत्काउने पनि थिएनन होला”
“अ” मेजर अलिक आश्वस्त भए जस्तो लग्यो ।
“तपाईका कर्मचारीहरु गाउँमा पनि बस्छन होइन ?”
“हो सर्, एउटा गा. वि. स . मा एक जनाको दरले”
“उनीहरु यता आउदा ब्यारेकमा रिपोर्ट गर्न भन्नुस । उतातिर केहि गतिबिधि भए हामीलाई थाहादिन भन्नुस ।”
म चुपचाप चिया पीइरहे ।
“हेर्नुस तपाईहरुले हामीलाई सहयोग गर्नुपरयो, हामी एक्लैले लडन् गारहो् छ यो लडाई” यसपटक मेजर्साब अलिक नरम भए ।
“हामी पनि सरकारकै आदेशमा लडिरहेका छौ ।”
मेरो स्वीकृति वा अस्वीकृति को ठाउँ थिएन उनको कुरामा, मैले कहिले हुन्छ जस्तोगरी कहिले हुन्न जस्तोगरी टाउको हल्लईरहे र बिदा भए ।
त्यसै दिन साँझपख म त्यतिकै खोलातिर टहलिदै थिए । म संग एकजना स्थानीय सहकर्मी साथी पनि थिए । खोलापारीबाट एकहुल मान्छेहरु आईरहेका थिए । नजिकै आईपुग्दा देखियो सबैका हातमा बन्दुक थिए, टाउकोमा तारा अंकित पट्टा बधेका थिए । अझ नजिक आएपछि देखे त्यस हुल को अघि अघि हिड्ने सशस्त्र प्रहरी को हवल्दार थियो, उ संग मेरो सामान्य परिचय पनि थियो ।
मलाई देखेपछि बलबहादुर हवल्दारले ठुलो हासो हास्दै भन्यो “ सर् , आज शिकार फेला परयो ।” मलाई लग्यो जंगलमा केहि भेटे होलान् । बलबहादुर पछाडी फर्क्यो र भन्यो “ओई , त्यो सालेलाई यताले”
पछाडीबाट एक जना १७/१८ बर्ष जति उमेरको ठिटोलाई घिच्याउदै अगाडी ल्याए । म अचानक आतंकित भए । “ओई सरलाई नमस्ते गर” बलबहादुर ठिटोतिर हेरेर चिच्यायो । म जडवत भए ।
त्यस युवकको दुवै हात बाधिएका थिए । “चे-ग्वेभारा” को तस्विर भएको कालो टि-शर्ट र मैलो निलो पाईन्ट लगाएको थियो उसले । उसको पिठ्यूमा सानो झोला पनि थियो । मैले उसको अनुहार मा हेरे; कपाल धुलै-धुलो भएको थियो । माथिल्लो ओठ सुन्निएको थियो, बाया कानबाट रगतको एउटा धर्को घाटिसम्म आएर सुकेको थियो । अनुमान गर्न केहि गाह्रो थिएन; उ असाध्यै कुटिएको थियो । उसले आँखा उठाएर म तिर हेरयो, एक क्षण का लागि मेरा आँखा उ संग जुधे ।
मलाई उसका अनौठा लागे, तिनमा डर वा क्रोध केहि थिएन, शायद उसले त्यो चरण पार गरिसकेको थियो । उसका ती आँखा मेरो मुटुमा आएर टासिए । मलाई त्यस रात निदाउन असाध्यै गार्हो भयो ।
१७ / १८ बर्षको उमेर, कुन सपनाले, कुन बिश्वासले उसलाई त्यो अवस्थासम्म डोरायो होला । कुन आदर्शले, प्रेरणाले, बाध्यताले वा लहडले उसलाई सामान्य जीवनको सहज जस्तो लाग्ने बाटो छोडेर पहाडजस्तो लाग्ने व्यवस्था बिरुद्ध मुडकी उजाएर हिड्न बाध्य पार्यो होला । म संग न यी प्रश्न हरुको उत्तर थियो न त राजनीतिक बिबेचना गर्न सक्ने हैसियत नै, तर पनि मलाई त्यो किशोरका आँखा हरु याद आइरहे । मैले उसको परिवारको सम्भवित चित्र कोरे, ऊ माओबादी आन्दोलनमा लागेको थाहा होला कि नहोला, उ पक्राउ परेको थाहा पाए होलान वा नहोलान । उनीहरु उसको काम बारे के सोच्दा होलान । त्यो किशोरको भविष्य बारे कस्तो कल्पना होला । म संग प्रश्नहरुको थुप्रो थियो तर उत्तर थिएन ।
मैले त्यसपछि कैयौ दिनसम्म रेडियोमा कान जोडेर सुने शायद कुनै आतंककारी पक्राउ परेको वा आत्मसमर्पण गरेको कुनै खबर सुन्न पाइन्छ कि भनेर । त्यस्तो केहि भएन न त मेरा स्थानीय सहकर्मी हरुले त्यो किशोरलाइ जिल्ला तिर लागेको थाहा पाए ।
त्यसको केहि समय पछि मलाई काठमाण्डौ केन्द्रिय कार्यालयमा बोलाईयो त्यसपछि म जिल्लातिर फर्किन । एकदिन मैले अफिसमा जिल्लाबाट आएको एकजना साथीलाई भेटे, उसले कुरैकुरामा धनबहादुर अफ्नो घर जादा, बाटोमा माओबादीले अपहरण गरेको र उसको दुवै खुट्टा बन्चरोले काटिदिएको खबर सुनायो । मैले दिक्क मान्नु बाहेक अरु कुनै बिकल्प देखिन ।
मैले यति पढीसक्दा नसक्दै मेरी श्रीमतीले भनिन “ तिम्रो यो कथा ले प्रकाशक पनि पाउदैन ; द्वन्दका कथा धेरैले लेखिसके , तिमि धेरै पछाडी परिसकेयौ । आजकाल त नभेटिएका शान्तिका कुरा वा परिवर्तित कामरेडहरुका कथापो चल्तीमा छन त’ शायद उसले भनेका कुराहरु सत्य हुन् तर आज बि. बि. सी. नेपाली सेवाबाट “ प्रधानमन्त्री पदका लागि पौडेल र भट्टराई चुनाबमा” भनिरहदा पनि, मलाई अझै खुट्टा काटिएको धनबहादुर, आफनो बाबुलाई बालककालदेखि घस्रिएकै देखेर किशोर अवस्थामा पुग्न आटेकी उसकी छोरी, त्यो गुमनाम किशोर , अफ्नो छोराको जीवन वा मरण केहि पनि खबर नपाएका बृद्द-बृद्दा का कथाहरुले लखेटिने रहेका छन् ।
वायमिड., अमेरिका, २८ सेप्टेम्बर
(स्रोत: Nepalipost )