~किशोर सापकोटा~
शीताष्मा अर्को पट्टकिो कुर्सीमा बसी ।
म पटि्ट नै बसेको भए हुन्थ्यो जस्तो मलाई लाग्यो ।
भावना बुझ्दा बुझ्दै पनि कहिले कांही केटीहरु नखरा पार्छन । मनमनै भने ।
बल्ल शिताष्माको अनुहार हेरें ।
उसका आँखाहरु त आँशुले पो भरिएका रहेछन् ।
म भने अनावश्यक रुपमा रोमाञ्चित भएको थिए ।
मध्यान्ह भन्दा अगाडिको समय थियो । क्याफे लगभग खाली जस्तो ।
शीताष्मा विवाहित केटी हो । म अविवाहित ।
विवाहित भएपनि मेरी नजिककी साथी हो । परिस्थितिबस मेरी बन्न नसकेकी पत्नी पनि हो । यसै कारण पनि भेट हुँदा सँगै बसिदिए हुन्थ्यो जस्तो अनुभूति हुने गर्छ ।
मैले किन उदास भनेर सोध्न पनि भ्याएको थिइन ।
प्रशान्त म डिभोर्स गरु ?
शिताष्माको प्रश्न त पहाड भन्दा पो अग्लो लाग्यो । त्यसपछि उसले कमिलाका तांती जस्तै प्रश्नहरु म सँग गरी जसको उत्तर मसँग थिएन ।
उसका आंखाका डिलवाट विस्तारै आंशु तल वगे । एउटा पेपर टिपेर पुसी ।
मलाई त परिवार वसेको हेर्न मन पर्छ, उजाडिएको होइन – मैले पुरै सन्दर्भ नबुझे पनि आफ्नो भनाइ राखे ।
तिमी म सँग परिवार बसाऊ न त ? ठट्टामा वा आग्रहमा नै ऊ बोली ।
मैले असहमति जनाए ।
तिमी अहिले पनि म तिमी पट्टीको कुर्सीमा बसे हुन्थ्यो भन्ने चाही रहेको छौं, केही पल मसँग बिताउन तिमी रोमाञ्चित हुन्छौ तर जीवन विताउनु परे भाग्ने वहाना खोज्छौ है – – शिताष्माले सत्य प्रश्न गरी । मसंग जवाफ थिएन ।
म शीताष्माको बिगतमा हराए ।
यो केटीसँग मेरो पहिलो भेट विराटनगरबाट काठमाडौ आउँदा विमानमा भएको थियो ।
म दशै तिहारको कारण कलेज छुट्टी भएर विदा मनाउन गएकी आफ्नी प्रेमिकालाई भेट्न हानिएर गएको थिए । घरमा उनी रहिनछिन् । अहिलेजस्तो मोवाइल थिएन । आउँदैछु भनेर खवर गर्न पनि पाएको थिइन । विमानको फर्किने टिकट पनि सोही दिनको लिएको थिए । प्रेमिका नभेटिएर उदास भएर फर्कन विमानमा बसिरहेको बेला शीताष्मा विमानमा चढेकी थिइ ।
मेरो पटि्ट मेरो अर्का पटि पनि सिट खाली नै थिए ।
केटी चढेको देखेपछि आफूसँगै बसोस् भनेर मेरो अर्को पट्टकिो मानिस तुरुन्तै अर्को झ्यालपट्टी सरेको थियो र मैले पनि त्यसै गरे ।
केटाहरुको स्वभाविक प्रवृत्ति हो । यात्रामा संगैको सिटमा केटी परिदिए हुन्थ्यो भन्ने चाहन्छन् । यो एकप्रकारको अचेतन आकर्षण नै हो ।
शीताष्मा मेरो छेउमा आएर वसी । शायद अर्को पट्टीको मान्छे भन्दा म युवा थिए ।
विमानले विस्तारै उचाइ लियो ।
उचाइसंग ऊ डराउदी रहिछे । मलाई च्याप्पै समाएर वसी । अर्को पट्टीको मान्छेले टेढा आंखा पारेर इर्श्या गरिरह्यो ।
चिनजान भयो । पेशाले डेन्टिष्ट रहिछे ।
उचाइमा भएको चिनजान धरतीमा पनि क्रमश सुमधुर बन्दै गयो ।
उसलाई मेरो र मलाई उसको घर कुनै अपरिचित रहेन ।
तिम्रो गर्लफ्रेण्ड छ ?
उसले मलाई एकदिन सोधेकी थिई ।
नेपाली केटाहरु दर्जनौ केटीहरुसँग निकटमा भएपनि अर्की केटीसँग कुरा गर्दा कुनै पनि गर्लफ्रेण्ड नभएको बहाना गर्छन । म पनि अपवाद थिइन ।
अहिलेसम्म कुनै केटीले पत्याएनन् वा मैले पट्याउन सकिन – आफ्नी प्रेमिकाप्रति अन्याय गरे कि भन्ने मनमा लाग्दा लाग्दै पनि मैले ढांटे ।
दिनहरु बित्नका लागि त हुन् । बित्दै गए ।
एक दिन शीताष्मा मेरो बाइकको पछाडि वसेकी थिइ । वाइक भक्तपुरको जगातीबाट अगाडि बनेपातर्फ हुइकिदै थियो ।
हाइवेको एक रेष्टुरामा बाइक रोके ।
उसले मसँग एकान्तमा भेट्न चाहेकी थिइ । मैले आफ्नी प्रेमिकालाई लिएर जाने रेष्टुरामा नै लिएर गए । उसलाई शहरभित्रै पनि भेट्न सक्थे । तर कतै प्रेमिकाले देखी भने भन्ने डरले त्यत्ति टाढा लगेको थिए ।
कता बस्ने –
मेरो प्रश्न उसको आशय बुझ्न थियो । ऊ मसँग के चाहन्छे भन्ने म प्रष्ट भइसकेको थिइन । हाइबे रेष्टुरेन्टहरुमा के के सेवा पाइन्छ भन्ने उसलाई पुरै जानकारी थियो ।
छतमा बसौं ।
उसले तत्कालै म सँग एकान्त चाहिन । ऊ मसँग कुरा गर्न चाहन्छे भन्ने प्रष्ट भयो ।
यो भेटमा ऊ म पट्टकिो कुर्सीमा नै बसेकी थिइ । मलाई भने कताकता असजिलो लागेको थियो ।
म तिमीलाई माया गर्छु ।
एक्कासी आएको हुरी जस्तो पो कुरा गरी । चक्रव्युहमा म परे ।
मसँग तत्कालै जवाफ आएन ।
केटी योग्य नै थिइ । म पनि उमेर पुगेको केटा । के भनेर टार्ने ?
म तुरुन्त जवाफ दिन सक्दिन – अप्ठेरो मानेर मैले भने ।
किन कसैसँग अनुमति लिनुपर्छ ?
उसले मलाई जिस्काई ।
यति लामो जीवन बिताउनु छ, यति हतारमा म कसरी निर्णय लिऊ ?
मेरो प्रतिप्रश्नमा ऊ सहमत भई ।
धेरै मेरा साथीहरु झुठा आश्वासन दिन्छन् । केटीहरुलाई भोग्य वस्तु ठान्छन् र धोका दिन्छन् । म शीताष्मालाई धोका दिने मनसायमा थिइन । उसलाई झुक्याएर आफ्नो स्वार्थ पुरा गर्ने पक्षमा थिइन र शायद जीवनभर पनि गर्ने छैन । म राम्ररी बुझ्छु, यस्ता रमाइलाहरु जीवनभर साथमा रहदैनन्, क्षणिक हुन् । जीवनभर रहने भनेका त यादहरु हुन्, म कुनै पनि कुरा याद गरेर पछुताउनु पर्ने काम गर्दिन । यादहरु रोमाञ्चित हुन् भन्ने लाग्छ । सुखद हुन् भन्ने लाग्छ ।
एक प्लेट मम अर्डर गर्यौ । मम आउन्जेल ऊ मेरो सुइटरमा देखिएको भुवा टिपीदिइ रहेकी थिई । बेलाबेला मेरो कांधमा ढल्किएर मेरा आंखाहरुमा आँखा जुधाउथी ।
अघिसम्म एकान्तका सवै प्रश्तावहरुलाई स्वीकार गर्न तयार भएको म अब भने ऊ ढल्कदा पनि झस्किन लागेको थिए । उसको प्रश्तावलाई म स्वीकार गर्न सक्ने अवस्थामा थिइन ।
म ति म्रो निर्णय छिट्टै सुन्न चाहन्छु, किनकी मसँग समय छैन
छुट्टनिे बेलामा उसले मलाई भनेकी थिइ ।
समय बित्यो । मैले आलटाल गरे । घरमा कुरा नभएको बहाना बताए । बाबुआमालाई मेरो बिवाह गरी देऊ भनेर कसरी भनौ भनेर ठट्टा गरे । शायद उसले मेरो आशय बुझी ।
केही दिनपछि उसको विवाहको निम्तोपत्र पाए ।
म उपहार बोकेर विवाहमा गए । उसको घरकै मान्छे जस्तो गरेर सघाए ।
तपाई यति सहज रुपमा आउनु भएकोमा मलाई खुसी लाग्यो, जीवनलाई यसैगरी सहज रुपमा लिन सक्नु नै राम्रो हुन्छ – शिताष्माकी आमाले मलाई एक्लै पारेर भन्नुभयो ।
उहाँहरुलाई शिताष्मा र मलाई अलग गरेर विवाह गरिदिएकोमा अपराधवोध भएको रहेछ । शिताष्माले विवाहको कुरा चल्दा मसंग प्रेम रहेको बताएकी थिइ होला शायद । मैले उसकी आमालाई कुनै पनि असहज नठान्न र परिवारकै सदस्यको रुपमा हेर्न आग्रह गरे । त्यस्तै भयो ।
विवाहपछि पनि शिताष्माको माइती र उसको घर पनि मेरो लागि अनौठो भएन ।
म शिताष्मालाई घरमै गएर लिएर चिया खान रेष्टुरेण्ट जान्थे । त्यो वेला मेरो प्रेमिकासँग ब्रेकअप भएको थियो । शायद मेरी प्रेमिकाले पनि मसँग क्षणिक प्रेम गरेकी थिइन् वा बाध्यतामा परेकी थिइन् । भगवान जानुन् ।
कतिपय दिन ऊ मलाई झुक्किएर उसको पतिको नामले बोलाउंथी ।
म नाम बोलाउंदा झुक्किए जस्तै झुक्किएर अरु काम पनि प्रशान्तसँगै गरे भने के गर्छौ –
शिताष्मा आफ्नो लोग्नेसँग हाँकाहाँकी सोध्थी ।
जे गछ्र्यौ गर, ति म्रो जीन्दगीको निर्णय तिमी गर्न सक्छ्यौ तर सुरक्षित गर ।
उसको लोग्नेको उत्तर पनि सहज हुन्थ्यो । मनमा पीडा राखेर कुरा गरेजस्तो लाग्दैनथ्यो ।
खुसी नै देखिन्थे दुबैजना । हनीमुनबाट फर्किएर आएपछि हामी तिनै जनाले संगै खाना खाएका थियौ । मैले शीताष्माको पतिलाई हामीबीचमा भएका पहिलाका सवै कुरा बताएको थिएँ, यसले सम्वन्धमा सहज हुन्छ र उसले शंकाको आंखाले पनि हेर्न सक्दैन भन्ने मेरो बुझाई थियो ।
………………………………………………….
तर एकाएक शीताष्माले किन डिभोर्स चाही ?
आखिर के भयो ?
एउटी युवती आफ्नो लोग्ने पूर्ण होस् भन्ने चाहन्छे, शायद लोग्ने मानिस पनि त्यही चाहन्छन् ।
शीताष्माले आफ्नो कुरा भन्न थाली ।
आफ्नो लोग्नेप्रति कतै कतै माया व्यक्त गर्थी । कतै आक्रोस ।
प्रशान्त – उसले कथा सुरु गरी – विवाह पछि भएका ऊ र मबीचका सम्बन्धहरुलाई म अहिले पनि औंलामा गन्न सक्छु ।
शीताष्माले संकेत गरी । पूर्ण रुपमा बोल्न सकिन ।
ती सम्बन्धहरुमा पनि म कहिले पनि पूर्णत सन्तुष्ट हुन सकिन । उसमा केही कमजोरी होलान् र सुधार होला भनेर प्रतिक्षा गरे तर अव पर्खनुको अर्थ छैन भन्ने लाग्यो ।
शीताष्माले आफ्नो निश्कर्ष सुनाई ।
मैले छोडेपछि उसको इज्जत के होला ? टोल छिमेकमा के भन्लान् – नातागोता र परिवारमा के होला भन्ने लाग्छ – आखावाट आँशु बगाउंदै शीताष्माले आफ्नो लोग्नेप्रति माया दर्शाई – विवाहपछि एक दिन पनि मसंग कडा शव्दमा वोलेको छैन । मेरो खुसीहरुमा बन्देज लगाएको छैन ।
ऊ केही वेर अडिइ । मेरो प्रतिक्रिया जान्न चाही । म भने मौन थिए ।
फेरी बोल्न थाली ।
केवल सन्तुष्टिको लागि म बाहिर व्वाइफ्रेण्ड राख्न पनि सक्छु, मैले तिमीसँग पनि त्यो सम्बन्ध बनाउन सक्छु – मलाई नै इंगित गरेर पनि बोली – आजसम्मका व्यवहार हेर्दा शायद मलाई उसले आपत्ति पनि गर्दैन । ऊ चाहन्छ, उसको साथ रहुं । तर उसलाई आत्मग्लानी भएको छ मलाई सन्तुष्टि दिन नसकेकोमा ।
उसको आत्मग्लानीपूर्ण अनुहार हेरेर र चिसा रातहरु काटेर म कसरी जीवन बिताऊ –
म शीताष्माका कुनै पनि प्रश्नको उत्तर दिन सकिरहेको थिइन ।
म उसँग जीवन बिताएर अरुसँग सन्तुष्टिका लागि क्षणहरु बिताउन तयार पनि छैन – ऊ फेरी बोल्न थाली -म कुनै पनि आफ्ना कार्यहरुमा आत्मग्लानी गर्न चाहन्न । एक पटक मुटु दह्रो बनाएर छुटि्टन्छु जीवनभर असन्तुष्ट हुन चाहन्न ।
तर छुट्टएिर के गर्छेउ ?
बल्ल मेरो बोली फुट्यो ।
तिमीसँग विवाह गर्छु, गर्छौ ?
फेरी उसको प्रश्नले मलाई अप्ठेरोमा पार्यो ।
उसैले आफैं जवाफ दिइ ।
तिमी म सँग विवाह गर्न सक्दैनौ । गर्ने भए त पहिला नै गर्थ्यौ नि हैन ?
म बोलिन ।
तिम्रो प्रेम कस्तो चल्दै छ नि ?
उसैले प्रश्न गरी ।
मेरो ब्रेकअप भयो – मैले ढांटीन ।
तिमी मसँग विवाह नगर । म कर पनि गर्दिन र त्यो अधिकार पनि राख्दिन । मान्छौ भने एउटा कुरा गरिदेऊ ।
मैले उसको अनुहारमा हेरें ।
जीवनमा पहिलो पटक तिमीलाई मन पराएकी थिएँ । अझै मन पराउँछु । म तिमीसँग केही अधिकार माग्दिन । म आफैं गरी खान सक्षम छु । केवल केही रातहरु तिमीसँग बिताउन चाहन्छु । म जीवनभरका लागि पूर्ण सन्तुष्ट हुन चाहन्छु ।
यो मेरा लागि झन् कठिन थियो ।
अं हं, म सक्दिन – मैले दृढताका साथ बोले ।
पुरुषहरु महिला जे चाहन्छे, त्यो दिन सक्दैनौ, महिला जे चाहन्न त्यो थोपर्छौ – शीताष्मामा एकाएक रौद्र रुप देखियो ।
मेरो पतिले मलाई सन्तुष्टि दिन सक्दिन भन्ने जान्दा जान्दै पनि ममाथि विवाह थोपर्यो । महिला पुरुषबाट संरक्षण चाहन्छे तर पुरुषहरु कसरी फाइदा लुटौं भनेर दाऊ हेर्छन । महिला पुरुषबाट यौन सुख चाहन्छे तर पुरुषहरु वलात्कार गर्छन । म तिमीसँग प्रयोजन सहितको केवल केही क्षण चाहन्छु तर तिमी विनाप्रयोजनको सयौ पल दिन खोज्छौ । तिमी पुरुषहरु अप्राकृतिक रुपमा आफ्नो उत्पादन शक्ति नष्ट गर्छौ तर मैले एउटा सन्तानका लागि आग्रह गर्दा अस्वीकार गर्छौ । पुरुषहरु रित्ता छौ रित्ता, मैले यस्ता रित्ताहरुवाट पूर्णताको आशा गर्नु नै गलत थियो ।
शीताष्मा मेरो अनुहार पनि नहेरी बाहिरिई ।
म भर्खर आएको तातो ममको बाफ हेरिरहे ।
अमेरिका, केन्टकी , १२ अप्रेल
(स्रोत: Nepalipost)