संस्मरण : ज्वाइँको विहे

~नम्रता गुरागाईं~

“मेरो ज्वाइँले बिहे गर्दैछन । एक हप्ताका लागि म मेरो नातीको हेरविचार गर्न आएकी” उही पूर्व परिचित एमीले भनिन । म छक्क परें ज्वाइँको बिहेमा आएकी एमी र उनको ५ वर्ष पुग्न लागेको नाती दुबैलाइ एकैचोटी हेंरें । दुइ वर्षमै आमा गुमाएको केभेन आफनै सुरमा साइकल कुदाइरहेको छ । सायद उसकी हजुरआमा आएजस्तै उसकी आमा पनि उसलाइ छोडेर कतै गएकी छ र काम सकेर अब आउछे भनेर मख्ख परेको होला हेर्दा निकै खुशी देखिन्छ । बेलाबेला औंला भांच्दै केही गनिराखेको जस्तो गर्छ आमा आउने दिनहरु पो गनिराखेको हो कि बेलाबेला गीत गाउंदै साइकल कुदाउंछ, बेलाबेला साइकल एकठाउंमा राखेर मेरा छोराछोरीसंग खेल्नपनि आउंछ, स्थीर भने छैन केभेन । आमाको पर्खाइका दिनहरु सकिन लागे भनेर पो उ भुइमा न भांडामा भएको हो कि म मनमनमा कुरा खेलाउन थालें । उसको घरमा आउने आमाबाट कत्तिको मायां पाउंछ त्यो त उसले हेर्न बांकी नै छ हजुरआमा भने कोखाको घाउ दुखेर होला समय पाउने वित्तिकै आइरहन्छिन नातीका आंखामा छोरीको प्रतिबिम्ब खोज्दै ।

जिन्दगीको गाडी अपांग भएपछि मान्छेले ठयाक्कै उस्तै नभेटेपनि मिल्दाजुल्दो जोडीको कल्पना गर्छन होला कयौं दिनदेखि ताला लागेको मनको ढोका खोल्नलाइ, एक्लै त जिन्दगी कहां चल्छ र हगी । केभेनकि आमाले उ र उसको बुवालाइ छोडेपछि बुवा अर्को घर बसाउन मन गर्न थालेछन । नभन्दै उनले अर्की एक मन मिल्ने महिला भेटेछन पनि । उनिहरुको संस्कारमा बिबाहपूर्व नै संगै बस्नु भनेको अनौठो कुरा पनि भएन त्यसैले सबै कुरा दुबैलाइ ठीक लागेर मन साटासाट भएपछि संगै बस्न पनि थालेछन, फुस्रदमा बिबाह गरौला भनेर । घरसल्लाह मिलेपछि घर किन्ने टुंगो पनि लागेछ र एकदिन उनिहरुले किन्न तयार पारेको घरमा आए । म पनि केटाकेटीलाइ खेलाउदै थिएं एक्कासी ४ वटा स-साना बच्चाहरु गाडीबाट उत्रिएर यताउता दौडदै नानीहरु भए ठाउंमा आए । तिनिहरु तुरुन्तै एक अर्काका नाम सोधेर खेल्न थालिहाले । केटाकेटी खेल्न थालेकाले तिनिहरुका अबिभाबक पनि मसंग चिनजान गर्न आए । ती पुरुषले उनको परिचय दिनासाथ संगै उभिएकी महिलाको पनि परिचय दिए मलाइ “उ मेरी गर्लफ्रेण्ड हुन, ती ३ जना उनैका छोरीहरु हुन, यो चांिह मेरो छोरो हो” भनेर । उनले पनि हांसेर मसंग हलो भनिन, मैले पनि आफनो औपचारिकता निभाएं तर मेरा कानमा ति मान्छेको आवाज ठोकिरहयो धेरैबेर हं…”यि उनका छोरीहरु, यो मेरो छोरो ” उनिहरु अरुसंग पनि चिनजान गर्दै थिए म भने हल्का रुपले उनिहरुले भनेका गहन कुराहरुमा केन्द्रित भएं । घर आएपछि पनि तिनै केटाकेटीहरु आंखाभरी आए । आफनी आमा नभएकी ति महिलालाइ कसरी त्यो फुच्चेले आमा भन्छ होला, ति तिनवटी साना केटीहरु जसको बाउ त्यो भद्र पुरुष होइन तिनिहरुले कसरी उसलाइ बाउ भन्छन होला म सोचमग्न भएं । चित्त नबुझेका बेला ति नानीहरुले पक्कै पनि तं मेरी आमा भए पो मायां गर्थिस अथवा त हाम्रो बाबु भए पो मायां गर्थिस भन्दैनन होला र ? अनि त्यत्रो गरेको हेरचाहबाट आखिरमा तिनिहरुले गाली सिबाय के पाउलान त धेरै बेरसम्म मनमा खुल्दुली मचिरहयो । संस्कारअनुसार त चल्दोरहेछनी सबैथोक नचाहिने कुरामा पनि किन टाउको दुखाउनु होला हामी अर्कै संस्कारबाट आएकाले पो अचम्म लागेको होला तर त्यही संस्कारमा हुर्किनेलाइ त यो साधारण कुरा नै होला नी भनेर आफुले आफैलाइ संझाएं ।

केहीदिनपछि केभेनकि हजुरआमा एमीसंग चिनजान भयो । उनी ज्वाइँको घर सर्ने काममा सघाउने निहुले छोरीको तिस्रना नातीमा मेटन क्यानडाबाट आएकी रहिछन । छोरी नहुंदापनि ज्वांइ र सासुको सम्बन्ध सुमधुर नै भएको अडकल काटें मैले । उनले आफनी छोरीले छोडेको संझनारुपी नाती केभेनलाइ सुम्सुम्याउदै खाटा बस्न लागेको मायांको घाउलाइ कोटयाइन । सायद एउटी आमाले अर्की आमाको दुख अलिकति भएपनि बुझछे होला भनेर उनको दुखको भारी ममाथि विसाइन होला । उनका कुरा सुनेर म निकै भाबुक भएं । उनि छोरीले आफुले भनेको नसुनेर त्यति छिटो गएको कुरामा भने छोरीसंग अलिअलि रिसाएकी पनि रहिछन । उनि भन्दै थिइन “हेर छोराछोरी साना हुन्जेलमात्र आमाको कुरा सुन्छन ठुला भएपछि सुन्दैनन मेरो छोरीलाइ मैले कतिपल्ट अर्को डाक्टरकोमा जचाउंन जा भनें तर उ गइन उसले जचाइराखेको डाक्टरले उसलाइ क्यान्सर भएको निर्णय तेस्रो स्टेजमा पुगेपछि मात्र सुनायो जुन स्टेज भनेको मान्छेले मृत्युसंग हार्नु मात्र थियो ओ…हो…कत्रो पिडा, छोराछोरी हुर्किए भनेर मात्र हुंदोरहेछ र ? उनका ब्यथाले मेरा आंखाभरी आंशु टलपलाए अझै सोध्ने आंट गरिन मैले । टुहुरो केभेनका चंचल आंखामा मैले उसकी आमाको चित्र बनाएर उसलाइ मायांले लपेटेको कल्पना गर्न थालें । उसले त २ वर्षसम्म मात्र आमा भन्न पाएछ त्यसपछि बिर्सिहाल्यो तर पनि कसैले बिझाउने गरी केही भन्यो भने एक्लै कहां घुंक्क… घुंक्क… गर्छ होला बिचारा, बेलाबेलै दुखिरहने मन उसले कहां गएर निको पार्छ होला, म धेरै पग्लिएं आमा विहिन केभेनलाइ देखेर । हाम्रा कुरालाइ अन्त मोडन पनि खोजें मैले एक्कासी मेरो त्यो स्थिति एमीले थाहा पाउछिन कि भनेर तर उनको नै एकैछिनमा बाहिर कतै जानु पर्नेरहेछ, कुरालाइ त्यही विट मारेर मसंग विदा मागि केभेनलाइ लिएर गइन, म भने उनले अघि मसंग पोखेका पिडाहरु बटुल्न थालें ।

तिनिहरु िहंडेपछि टुहुरो केभेन उसकी मैले नदेखिकी आमा र ति बुढी हजुरआमा आंखाभरी आए । कलिला नानीका आमालाइ त केही नहुनु नि तिनिहरु नहुर्किउन्जेल भन्छ मनले तर भनेजस्तै सबैकुरा भइदिए किन धेरै टुहुरा हुन्थे होला र संसारमा । त्यो आमाविनाको एक्लो बालकलाइ देखेर मान्छेहरुदेखि अलिअलि रिसपनि उठयो । धेरै मान्छेहरु भगवान सबैथोक हो भनेर आ-आफनो परिभाषामा भगवानको ब्याख्या गर्छन, आ-आफनो डम्फु बजाउछन, यो संसारको संरचना भगवानले गरेको हामीले त हात मात्र थापेको हो भन्छन, आफुले दुख गरेर बल्ल बल्ल हात पारेका उपलब्धीहरु सबै भगवानको कृपा हो भन्छन, राम्रा मान्छे भगवानले चांडै लान्छन भन्नपनि पछि पर्दैनन तर पर्नेहरुमाथि त पिडाको सगर एकपछि अर्को खसिनैराखेको छ नि होइन र ? नत्र त्यो सानो बालककी आमालाइ किन लगे होला त भगवानले ? भर्खर बोली मात्र फुटेको बालकले के अपराध गरेको थियो र त्यो बिघ्न सजाय पायो होला त ? किन एउटी महिलालाइ सन्तान दिएर हुर्काउन नपाउदै सन्तानबाट छुटाए त ? एउटा बालकको जन्म दिएपछि उसलाइ परिपक्व बनाउन आमालाइ धेरै समय लाग्छ भन्ने कुरा के भगवानलाइ थाहा छैन ? भगवानसंग त्यत्रो शक्ति भए त्यो सानो बच्चाकि आमालाइ लागेको जाबो क्यान्सर रोग किन ठीक पार्न सकेनन त ? कतै भगवानको गांजा भक्तजनलाइ त लागेको होइन ? म सोच्दा सोच्दै धेरै गहिराइमा पुगें । मनमा उठेका तर पार नलागेका कुराहरु खेलाउंदै फर्किएं । धेरैदिनसम्म एमीका घाउहरु मलाइ दुखिरहे ।

२ महिनापछि फेरी एमी आइछन । छोरीको औडाहा नातीमा मेटन आएकी होला भनें मनमनमा । उमेरले ६० नाघेकी हुनुपर्छ मेरो अडकलमा उनि तर चिटिक्क परेकी, पातली बुढी नाती अघिपछि लाएर परैबाट हांस्दै आएको देखेर हतार हतार हेलो भने मैल पनि । शुरुमा उनले त्यति ठम्याइनछिन मलाइ तर कतै भेटेको जस्तो चािहं लागेछ र मलाइ संझन कोशिस गरिन । मैले तुरुन्तै हाम्रो चिनजानलाइ ताजा बनाएपछि खुशी भइन । हामी एकअर्कामा हार्दिकता साटेर हालखबर बुझन थाल्यौं । एकैछिनमा उनले अहिले उनि आउनुको कारणहरु सरल र नरम भाषामा बताइन मलाइ “केभेनको ड्याडीले उनको गर्लफ्रेण्डसंग बिहे गर्दैछन बिहेपछि एक हप्तालाइ उनिहरु घुम्न जाने रे त्यहि भएर म केभेनसंग बस्न आएकी ।” बोलीमा उनको कुनै विमती छैन ज्वाइँको हुन लागेको बिहेमा । यसै पनि छोरी नभएको घरमा कसरी आमा आइन होला भनेर म पहिलेदेखि नै छक्क पर्दैथिएं त्यसमाथि ज्वाइँको बिहे गरिदिन आएको कुरा सुनेर म झन तिनछक्क परें । ज्वाइँले हतारमा निर्णय गरेर किनेको घर भाडामा राख्ने विज्ञापन गर्नुपर्दा अलिकति चिन्ता पनि छ उनमा कतै आर्थिक समस्याको भार केभेनले खेप्नु त पर्दैन भनेर पनि होला सायद तर उनले के नै पो गर्न सक्थिन र । मैले पनि केही दिन अगाडिमात्र त्यो घरमा भाडामा दिने सुचना पढेकी थिएं ।

मलाइ घर भाडामा दिएको कुराले खास छोएन तर ज्वाइँको बिबाहमा सासुको भुमिकाले अचम्मैसंग छोयो । सायद कसैकी छोरीलाइ आफ्नी छोरीको उपहार केभेनलाइ दिन पाए उसका बांकी दिनहरु मायां पाएर वित्थे कि भन्ने आशलेपनि होला तिनि त्यहांसम्म पुगेकी । आखिर आयुभरी बाच्ने एउटा आशा त रहेछनि मान्छेको जिन्दगी । हाम्रो संस्कारमा भए ज्वाइँको बिबाहमा सासुससुरा आउने कुरा त परैजावस सोच्नसम्म पनि सकिदैन होला र तर एमी भने ज्वाइँको जोडी बांधिदिन आएकी छन ।

नर्थ क्यारोलाइना, १६ मार्च

(स्रोत: Nepalipost)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.