लघुकथा : अभिमान

~राकेश कार्की~

Rakesh Karki

Rakesh Karki

रूपक र दिपक खुबै मिल्थे । स्कूलदेखिका साथी, आइ एस्सी पनि संगै पढेका । रूपकको शहरमा घर थिएन, भाडामा बस्थ्यो । दिपकको शहरमा घर थियो । रूपकको प्राय दिपककै घरमा बास हुन्थ्यो । उसकै घरमा खाने, सुत्ने पनि गर्थ्यो । संगै कलेज जान्थे, संगै घुम्थे । सिनेमा हेर्ने, गफ गर्ने, होमवर्क गर्ने आदि इत्यादि सबै दुबै एकसाथ गर्दथे । एक अर्काको रमाइलोमा साथ दिन्थे, अप्ठेरोमा सहयोग गर्थे अनि दु:खमा आँसु पुछ्थे । रुपकको आर्थिक स्थिति अलि कमजोर थियो । खर्च गर्न पर्ने ठाउँमा दिपक नै गर्थ्यो । पढाइमा रूपक अलि तेज थियो । दिपक पनि कम थिएन । तर रूपक धेरै नै मेहनती थियो । त्यसैले रूपकको परीक्षामा नम्बर दिपकको भन्दा राम्रो आउँथ्यो ।

दुबैजनाको खुब राम्ररी दिनचर्या बित्दै थियो । दिन, महिना, साल बितेको पत्तै भएन । उच्च शिक्षाको लागि बिदेश जानु पर्ने समय आयो । दुबैजनालाई दुई भिन्न देशमा जानुपर्ने भयो । दुबैको मन गह्रुँगो हुने नै भयो । दिपकले रुपकलाई छुट्टिने बेलामा भनेको थियो “रूपक मलाई बिर्सन त बिर्सिदिनस् ? प्रत्युत्तरमा रूपकले भनेको थियो । दिपक, के भनेको तैले ! त्यस्तो पनि भन्ने । बरु म आफैँलाई बिर्सुँला तलाई कहिल्यै बिर्सन सक्दिन ।“ दुबैजना हात मिलाएर सधैँ एकअर्कालाई सहयोग गर्ने प्रण गर्दै छुट्टिएका थिए ।

धेरै बर्ष पछि दिपकले पत्रिकामा रुपकको बारेमा पढ्न पायो । उ कम्प्युटर इन्जिनियर भएर अमेरिकामा आफ्नै कम्पनि खोलेर बसेको रहेछ । अमेरिकाको नेपाली धनाढ्यहरुमा उसको पनि नाम आउँदो रहेछ । उ त करोडपति भएछ । दिपक रूपकको बारेमा थाहा पाएर खुशीले गद्गद् भयो । उसलाई सम्पर्क गर्न दिपकले धेरै कोशिश गर्यो । उसको कम्पनिको नाम गुगलमा सर्च गर्न थाल्यो । बल्ल उसले कम्पनिको ठेगाना र फोन पत्ता लगायो ।

संयोगबश दिपकलाई अफिसको कामले अमेरिका जानुपर्ने भयो । दिपक रूपकलाई सरप्राइज दिन सिधै उसको अफिसमा गयो । भव्य भवनको अफिस रहेछ । काम गर्ने मानिसहरु धेरै रहेछन् । रूपकको पिए शेली नामकी केटी रहिछिन् । दिपकले शेलीलाई भन्यो दिपक आएको छ भनि भनिदिनोस, उसले चिनिहाल्छ । शेली रूपकको कोठा भित्र गइन् । दिपक रुपकलाई भेट्न आतुर थियो । रूपक अब निस्कन्छ, तब निस्कन्छ भनेको त, शेली एक्लै निस्किन् ।

दिपकले सोच्न सकिरहेको थिएन, शेलीले अंग्रेजीमा भनिन् । डाइरेक्टरको निकै बिजि स्केज्योल छ । तपाईले अप्वाईमेन्ट लिइ भेट्न सक्नुहुन्छ । उहाँ कहिले फ्रि हुनुहुन्छ म हेरिदिन्छु । दिपकले थाहा पायो रूपक आफ्नै कम्पनिमा आफै डाइरेक्टर रहेछ । एकछिन पछि घोरिएर शेलीले भनिन् अर्को हप्ता तपाईँ भेट्न सक्नुहुन्छ । दिपकको मनले अर्को हप्ता !!! भने पनि बाहिर उसले केही बोल्न सकेन । तिनदिन पछि दिपकको फर्किने टिकट थियो । द्याट इज ओके, थ्याङ्यू शेली ! भनेर दिपक लुरु लुरु निराश भएर फर्कियो । दिपकको दिमागले रूपकसंगको उसको रमाइला दिनहरु सम्झिरह्यो ।

लस् एन्जेलस्, १४ नोभेम्बर

(स्रोत: Nepalipost)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.