झमक्कै साँझ परेको थियो। पुसको महिना, निकै चिसो थियो बाहिरको वातावरण। उनीहरू दुवैले रक्सी खाए। र, रक्सीको सुरमा सँगै बस्ने सल्लाह गरे।
चिसोले कठ्यांग्रिएको मध्यरात एउटा घरको पेटीमा बस्दाबस्दै उसले सुन्दरीलाई बिहे गर्ने प्रस्ताव गर्यो।
सुन्दरी छक्क परी। र, भनी— ‘कहिले गर्ने नि ?’
‘यी अहिले यसै बेला।’ —उसले आफ्नो औंला कुन्नि केले खोप्यो र सुन्दरीको सिउँदोमा रगत लगाइदियो।
‘छिः तिमी त। यसरी पनि बिहे हुन्छ र ?’ —सुन्दरीले भनी।
‘बिहे गर्ने नै यसरी हो। कति छिटो र कति सजिलै हामी एक–अर्काका भयौं’, उसले भन्यो— ‘सुन्दरी अब हामीलाई कसैले हेप्न सक्दैन।’
सुन्दरी दंग परी। र, लोग्नेको अंगालोमा लुटपुटिई।
सुन्दरी र कान्छाको भेट पोखरामै भएको हो। सुन्दरीकी आमा सानैमा मरेपछि उसकी सौतेनी आमाले सुन्दरीलाई घरबाट निकाली दिएकी रे। अहिले सुन्दरीले आफ्नो घर ठम्याउन सक्दिन। मान्छेहरू भन्छन्, सुन्दरीकी सौतेनी आमालाई उसको घर भित्त्याउँदा सुन्दरी ८ वर्षकी थिई।
स्याङ्जाको नुवाकोटको खानदानी परिवारमा जन्मे पनि चाँडै बाबु मरेपछि सुन्दरीको हबिगत हुन पुग्यो। बिहानदेखि रक्सी खाएर बस्ने उसको बाबुले शुरुमा माया गथ्र्यो। तर पछिल्लो समयमा सुन्दरीलाई मरुन्जेल पिट्न थाल्यो। सुन्दरीले सारै दुःख पाएको देखेर उसका मावली खलकले सदरमुकामकै एक जना सुब्बाको कोठामा ‘छोरी हेर्न’ भनेर राखिदिए। केही समयपछि नै ती सुब्बाको काठमाडौंमा सरुवा भयो। उनी गएपछि सुन्दरीलाई कहाँ जाने भन्ने चिन्ता लाग्यो।
त्यसपछि सुन्दरी सदरमुकामको एउटा होटलमा भाँडा माझ्न थाली। होटल राति अबेरसम्म चल्थ्यो। होटल मालिक्नी धरानकी थिई। ऊ अब्बु दिदीको नामले चिनिएकी थिई। अब्बुको होटलमा काम गरेको ५–६ वर्ष भएको थियो। सुन्तली तरुनी भैसकेकी थिई। भान्छाको रेखदेख पनि उसले गर्न जानिसकेकी थिई। एक दिन अब्बुले एउटा ड्राइभरसँग साथ लगाएर पोखरामा किनमेल गर्न पठाई।
त्यति बेलासम्म उसले पोखरा देखेकै थिइन। ड्राइभरले पोखरा जाने भनेर मुग्लिङ पुर्याएछ। रातभरि नै उसको शरीर ड्राइभर र उसका साथीले पालैपालो लुटेपछि सुन्दरीलाई बेहोस अवस्थामै छाडेर ड्राइभरहरू भागेछन्। त्यही दिनदेखि सुन्दरी निकै दिन बिरामी भई। पछि स्याङ्जा फर्केर जाने आँट गरिन। एकदिन जसोतसो पोखरासम्म त आइपुगी। तर उसको शोषण भने रोकिएन।
जीवन नै नरकमा पुगे पनि बाँच्नै पर्ने भएपछि उसले सडकमै ‘पेसा’ गर्ने सोची। त्यस दिनदेखि ऊ सडकको नाम चलेकी वेश्यामा गनिई।कान्छा अर्थात् सुन्दरीको लोग्ने, उसको आफ्नो घर छैन। ऊ एउटी कुनै बालविधवा आमाले मन्दिरमा छाडेको निसानी हो रे। झन्डै बीस वर्षअघितिर बाग्लुङको कालिका मन्दिरमा एउटी भक्तिनी बस्थिन्। त्यति बेला उनी जीवनदेखि निराश र विधवा थिइन्। बाँच्ने सहारा भगवान् ठानेर मन्दिरमा आश्रय लिएकी थिइन्। मान्छेहरू भन्छन्– त्यही भक्तिनीले जन्माएको छोरो हो कान्छा।
भनिन्छ, कान्छा जन्मेपछि भक्तिनी त्यहाँबाट हिँडिन्। तर कहाँ गइन्, कसैले थाहा पाएनन्। पछि मन्दिरमा छाडिएको त्यही बच्चालाई सन्ते नाउँको एक जना कुश्माको भरियाले पाल्यो। भारी बोक्दाबोक्दै एक दिन सन्ते पनि धम्कीले थला पर्यो। कान्छाको जीवनमा फेरि ग्रहण लाग्न पुग्यो। बिहान–बेलुका गाउँकै छिमेकीले माया गरेर केही खान दिन्थे। त्यही नै कान्छाको बाँच्ने आधार थियो।
उज्यालो अनुहार, मीठो बोलिबचन सबैको प्रिय थियो कान्छा। साहै्र दुःखमा दिन बित्दाबित्दै कान्छा पाँच वर्षको मात्रै भएको थियो। सन्ते पनि बित्यो। सन्ते मरेपछि कान्छाको सहारा कोही भएन। बागलुङकै एक जना दयालुले उसलाई खानपिन का लागि दुःख नहुने गरी होटलमा भाँडा माझ्न पोखरा ल्याइदियो। पोखरा आउँदा कान्छा १५ वर्षको थियो। होटलमा उसले साह्रै दुःख पायो। राति अबेरसम्म भाँडा माझेर सुत्ने बेलामा साहुजीको गोडा मोल्नुपथ्र्यो। उसलाई त्यो कुरा पटक्कै मन परेन। त्यसैले उसले भोलिपल्टै काम छाड्यो।
दिन बित्दै जाँदा एक दिन कान्छा र सुन्दरीको भेट भयो। सुन्दरी र कान्छा दुवैको उमेर मिल्दो थियो। र, बास पनि एउटै थियो खुला सडक। एक दिन सुन्दरीलाई एउटा अधबैंसेले मस्तसँग रक्सी खुवायो। र, उसैसँग सुतायो। बिहान उसले एक सय रुपियाँ पनि दियो र, भन्यो– यो पैसा राख, तिम्रो कमाइ। ’
सुन्दरी मुसुक्क हाँसी। उसले थाहा पाई, ऊ प्रत्येक रात त्यसै गरी एक सय रुपियाँ कमाउन सक्छे। त्यसैले उसले एक सय र रक्सी दुवैलाई अपनाउँदै गई। सुन्दरीलाई सबैजना वेश्या भन्ने गर्थे। कान्छालाई पनि थाहा छ– ऊ रक्सी खान्छे र ऊ अरुसँग पनि सुत्छे भन्ने। तैपनि ऊ सुन्दरीलाई मन पराउँछ र बिहे गर्छ।
बिहेपछि उनीहरू कहाँ बस्ने भन्ने समस्याले चिन्तित भए। एक–दुई दिन त सडकछेउका पाटीहरूमै बिताए। त्यसपछि पनि कान्छाले कुनै बन्दोबस्त गर्न सकेन। बिहेको छैटौं दिनमा सुन्दरीले भनी– ‘कान्छा ⁄ अब म तिम्री स्वास्नी हुन्न।’कान्छा झस्क्यो। र, भन्यो– ‘त्यसो नभन सुन्दरी, म सबै व्यवस्था गर्छु।’तर कान्छासँग कुनै पैसा थिएन। ऊ चिन्तितजस्तै देखिन्थ्यो। कमाएको पैसा रक्सीमै सिधिन्थ्यो। त्यसो त धेरै दिनदेखि सडकका कान्दीहरूमा समेत प्लास्टिक, काजग जम्मा गर्ने कामबाट उनीहरू टाढिएका थिए।
सडकको पेटीबाट सुतेकै ठाउँबाट सुन्दरी बेपत्ता भई। कान्छाले यताउता खोज्यो। राति पत्तै पाएन। ‘कहाँ गई कुलंघार्नी ?’ ऊ रिसायो। बिहान सुन्दरी त्यहीँ आई। उसले एक सय पनि ल्याई। कान्छा रिसले चुर भयो। र, एक चड्कन हिर्कायो। उनीहरूको झगडा चर्कंदै गयो। सुन्दरीले सबै चुरा फुटाई र लोग्ने मरेको घोषणा गरी।
साँझतिर कान्छा पुनः सुन्दरीसँग माफी माग्न गयो। उसले सुन्दरीलाई फकायो। भन्यो– ‘जिन्दगी धेरै लामो छ कान्छी, यसरी नरिसा। अब म केही भन्दिनँ।’ त्यो दिनदेखि चार–पाँच महिनासम्म उनीहरूलाई कतै देखिएन। धेरैले सोचे– उनीहरू कतै गए।
करिब एक वर्षपछि कान्छा अचानक देखा पर्यो। तर ऊसँग सुन्दरी थिइन। धेरैले उसलाई सुन्दरीको विषयमा सोधे। कान्छाले सबैसँग भन्यो– ‘सुन्दरी मरिसकी।’
‘कसरी मरी ? के भयो र ?’
‘झाडाबान्ताले’ –उसले उत्तर दियो।
तर कान्छाको भनाइ कसैले पत्याएनन्। धेरैले भने– सुन्दरीलाई कान्छाले कुटेर मार्यो।
कतिले भने– ‘सुन्दरीलाई कान्छाले मुम्बईमा बेच्यो।’
‘सुन्दरीलाई एड्स लाग्यो रे ?’
पाँच वर्ष बित्यो। शहरमा सुन्दरीको चर्चा हराइसकेको थियो। एक दिन शहरमा सुन्दरी देखा परी। सबैले आश्चर्य माने। राम्रो लुगा लगाएकी। हँसिलोरूपमा आफू पहिला उभिने पसलका छेउमै उभिई। साहुजीलाई उसले आफ्नो छोरा देखाई। उसले छोरा डोर्याएकी थिइ। र, सबैसँग छोरा कान्छाको भएको बताई।
सुन्दरी कान्छालाई भेट्न शहर आई। छोरा देखाउन आई। तर कान्छाले छोरा देख्न पाएन। कान्छा पोहोर सालको जाडोमा मरिसकेको थियो।
(स्रोत: NewsofNepal)