~बिटु केसी बराल~
टेक्सास, अमेरिका, १९ अक्टोबर
सयपत्री, गोदावरी र मखमलीले रङगिएका बगैचा र बासनाले मन नै हररर बनाउथ्यो । निर्मल आकाश, शितल हावा, न्यानो घाम, सफा वातावरणमा चराचुरुङगी पशुपन्छी मात्र नभै प्रकृति नै दशैं मान्न रमाएझै लाग्थ्यो । मन उत्सुक र चन्चल हुँदा जता हेर्यो उतै रमाइलो लाग्ने , हरेक कृयाकलाप ,आभाष र अनुभवमा रमाइलो लाग्थ्यो त्यो दशैं ।
म सानो छँदाको दशै ।
नौरथा लागेपछि खासगरी मलाई दशैं आएजस्तो लाग्थ्यो । घटस्थापनाको दिनदेखि नै “ नितेनिते मङलम माइ , सर्ब सिद्दी द्वारिके माइ ” – भजनको मंगल धुन बज्न थाल्थ्यो । रेडियोको टुनसंगै त्यो भजन गाउदै बुबाले घर भित्रबाहिर , तलमाथि गर्दा दशैं भित्रिएको रमाइलो अनुभब हुन्थ्यो । अगाडि पछाडि अनावश्यक उम्रिएका घासहरू उखेल्न लगाएर , रंगरोगन लगाएर घरलाई सफासुघ्घर र चिटिक्क पार्न लाउनुहुन्थ्यो बुबा । आमा घर भित्रको सरसफाइ र मरमसलामा ध्यान दिनुहुन्थ्यो । आमाले हाल्नु भएको सिसीको त्यो खल्पी आचार , अहा ! मुख रसाउछ सम्झँदा । टोलछिमेकमा लङगुरबुर्जाको मार्राले काननै घोचेजस्तो लाग्ने । तास खेल्न खाल बस्नेहरूको जमात उस्तै । जतनसाथ राखेको पुरानो कौडा झिकेर खेल्न लगाउनुहुन्थ्यो हजुरबुबा पनि । हामी बच्चाहरूलाई बीचमा च्याखे थाप्न पाउने छुट थियो । जता हेरेपनि रङगीचङगी चङ्गाहरूले आकाश ढाकिएको हुने । चेट चङ्गा बटुल्न केटाकेटीहरू दौडादौड गर्थे । बारीखेत , डाँडापाखा , चौर , बाटो जताततै कुदिरहेका हुन्थे । वरपरका चौरिमा लिङगे पिङ मच्चीन्थ्यो । हामी केटाकेटीहरू पिङको मज्जा लिन चौरिमा झ्याम्मीने गर्दथ्यौ । दशैमा पिङ खेल्ने चलनचाही कुन्नी कसले चलायो खुब रमाइलो लाग्छ । पिङको चलन पनि हराउदै गएछ अबत । लामो बिदेश बसाइपछि परार साल दशैमा जन्म घर चन्डोल पुग्दा न त चौर देखिए न पिङ ।
सानो छदा दशैंको पुरक नै बुबा हो भन्ने लाग्ने किनकी हाम्रा सबै साना ठूला मागहरू पुर्याइदिने उहाँ नै हुनुहुन्थ्यो । हाम्रा खुसिहरुलाई बटुलेर सजाइदिने उहाँ नै हुनुहुन्थ्यो । दशैमा यो गर्ने , त्यो गर्ने भनेर बुबा हामीमा उत्साह जगाइदिनुहुन्थो , हामी दंग पर्दथ्यौ । दशैंको नयाँ लुगा किन्न बजार जाने दिनको हामीलाई कति बिघ्न प्रतिक्षा हुन्थ्यो भने , भोलि बजार जाने भनेपछि खुसीले रातभर निन्द्रा लाग्दैनथ्यो । नयाँ लुगा पाएपछि भुइमा खुट्टा हुदैनथ्यो । त्यो लुगा लगाएर हिड्ने दिनको हतारो लाग्ने उस्तै फेरि । आमा लगायत हामी पाचै सन्तानलाई रोजाएर नयाँ लुगा किनिदिएपछि बुबाको अनुहारमा दोब्बर खुसी देख्थे म । बुबासँग बजार जान पाए त्यसै , त्यसै फुरुङग परिन्थ्यो । खसी किन्न जाने बेलामा समेत बुबाको पछि लाग्थे । धेरै पछिसम्म पनि बुबा र म भएर खसी ल्याउथियौ । भाई ठूलो भएपछि बुबासँग जान थाल्यो । बुबा हरेक चाडवाडलाई बडो महत्वकासाथ लिनुहुन्थ्यो र आफूले यथासम्भव दिन सकेसम्मको खुसीहरू सन्तानसँग बाँड्नु हुन्थ्यो । अष्टमीको दिन मासुको परिकारसंगै सबै परिवार एकैसाथ बसेर खाँदाको त्यो छिन सम्झेर आँखा रसाउँछ । अहिले त हामी सबै कोहि कता , कोहि कता छरिएका छौ । बुबा बिरामी हुँदा पोहोर साल आमाले खसी ल्याउदाको कुरा सुनेर हामी हाँसो गरथ्यौ । ट्याम्पुबाट खसी ओर्लन नमानेर हैरान पारेछ उहाँलाई ।
नजिकको मन्दिरमा जान आमा पूजा सामाग्री ठीक पारिदिनु हुन्थ्यो । हामी दिदिबहिनी मिलेर मन्दिर जान्थ्यौ । बुबाआमा अलिक टाढाको मन्दिरमा दर्शन गर्न जानुहुन्थ्यो । देबी देबताको मन्दिरमा घुइचो , घण्टको ध्वनी , धूपको बासनाले दशैंको आगमनलाई पूर्णता दिएको हुन्थ्यो । टीकाको पहिलो दिन अर्थात बिजया दशमीको ब्यग्र प्रतिक्षा हुन्थ्यो । हजुरबुवाआमाको हातको टीका थाप्न हामी सबै केसी परिवार मुलघरमा जम्मा हुन्थ्यौ । टीकाको साइतमा रोलक्रमका साथ बडो अदब र अनुशासनमा टिका सम्पन्न हुन्थ्यो । टिका र जमराको , आषिर्बाद र स्नेहको त्यो दशैं यथार्थमा दशैं थियो ।
हाम्रो दशैंको अर्को मुख्य रमाइलो पाटो मामाघर जानु हुन्थ्यो । बाटोभरी लहलह झुलेका पहेलपुर धानका बालाहरूसँग खेल्दै , कुनैबेला रात पर्दा टहटह जुनलाई साथी बनाउदै हर्ष उल्लासकासाथ हामी भक्तपुर सिपाडोल मामाघरमा नयाँ लुगा लगाएर टीका थाप्न जान्थ्यौ । माया ममता र मिठो भोजन त छदैछ , दक्षिणा हाम्रोलागि दशैंको अर्को रमाइलो केन्द्रबिन्दु हुन्थ्यो । दक्षिणाले खल्ती भरिदा हामी दंगदास पर्दथ्यौ ।
समयले कोल्टे फेर्दै गयो । दशैंको रंग पनि समयसंगै बदलियो । मनोरन्जनका अनेक साधनहरूको बिकास हुँदा भेटघाटका क्रमहरू सिमित हुँदै गए । शहरमा बेफुर्सद र अन्य कारणले मानिसहरू अन्तर्मुखी बन्दै गए । सानो छदा जस्तो दशैं रमाइलो हुन छाड्यो । कलेज पढ्ने भैसक्दा दशैंको नयाँ लुगाप्रतिको आकर्षणमा कमी आयो । दशैं प्रतिको उमंग र उत्साह पातलिदै गयो । कलेजका साथीहरूले आफ्नो गाऊघरको रमाइलो दशैं तिहार , देउसिभैलो , नाँचगान , प्रेममिलनको कुरा गर्दा मलाई भने उनिहरुको दशैं तिहार हेर्ने लालसा जागिरन्थ्यो । लाग्छ , शहरमा भन्दा गाउँमा दशैं रमाइलो हुन्छ । परदेशमा भन्दा स्वदेशमा दशैं रमाइलो हुन्छ किनकि त्यहाँ समय , सद्भाब , प्रेम् ,स्नेह र सहयोग बढी हुन्छ शायद ।
समय र सन्दर्भले अमेरिका पुर्याएको दश बर्ष भएछ । यसबीच एउटा मात्र दशैं नेपालमा सबै परिवारसँग मनाउने सौभाग्य पाएँ ।
बिवाहपछि घर र माइतिमा मानेका दशैका ती अनुभूतीहरू पहिलेको भन्दा फरक तर अतिनै आनन्ददायी रहेको थियो । बास्तवमा आफू र आफ्नाजनको सौहाद्र व्यबहारले नै दशैं , दशैं लाग्दोरहेछ । शान्ति र सुखले नै मनमा दशैं ल्याउदोरहेछ । बितेका नौ बर्ष जस्तै यसपाली पनि म अमेरिका टेक्सास राज्यको हुस्टन शहरमा दशैं मनाउने क्रममा छु । मलाइ मेरो बाल्यकालको त्यो दशैं याद आइरहेको छ । परिवार सबै एकैसाथ हुँदाको त्यो दशैं , बुबाको अभिभावकत्वमा मनाएको त्यो सुनौलो दशैंको झझल्कोले सताएको छ । दशैं संघारमै छ तर आगमनको कुनै चहलपहल छैन । आँगनमा ढकमक्क सयपत्री फूलेको छैन । मनमा कुनै उत्साह र उमंग छैन । दशैं मनाउने फुर्सद र समय पनि छैन । टाढैबाट भएपनि छोरीलाई सधै दशैको शुभकामना र आषिर्बाद दिनुहुने मेरो बुबा पनि अब यस संसारमा हुनुहुन्न ।
(स्रोत: Nepalpost)