~डा. दिनबन्धु शर्मा~
‘सहर जान्छौ त ?’ मैले सोधेँ । चहकिलो घाम तरेली परेका गराहरुमा लमलमक गर्दै गोठसम्म आइपुगेको थियो । गोठको भुईं र गोरुका ढाडमा समेत पाइला टेक्यो त्यसले अनि गोठ उज्यालो भयो ।
‘जान्न भाइ !’ उसले अहिले निर्धक्क भन्यो, ‘पुर्खाले रोजेको ठाउँ यो, अव्बल ठाउँ, जीवनमा एकचोटि गौहाटी पुगेथेँ ।
मौवाको पात थापेर जंगली मौरीको मह खाएर रोगाएपछि फर्कें, त्यसपछि कहीँ जान मन लागेन, यहीँ बस्छु, छोरो पर्खेर बस्छु, जेसुकै भन्, छोराजस्तो छोरी हुँदैन के कुरा गर्छस्,’ यति भनिभ्याउर निभ्न लागेको कक्कड सम्झ्यो र मुखको छाला र ओठहरुलाई लामो चुच्चो पारेर सुल्फा तान्यो उसले ।
लामा–बाक्ला र गोबरमाटो आदि खाँदिएर निला भएका त्यसका पैतालाका नङहरु हेरेको रहेछु, ती खुट्टाहरुलाई अझै जोडेर उड्कुसीमा बसिरह्यो ।
‘छोरीको जात केही गरे आफ्नो हुँदैन ।’ अझै बोलिरह्यो, ‘पुर्खाले नजानेरै भनेका हुन् त, अर्काको नासो गलाको पासो ?’ म विद्वान र समझदारजस्तो भएर सुनिरहेँ ।
म भन्दा सानो भए पनि कतै न कतै ठुलो वा धनी या शिक्षित भएको अहंकारसँग थिएँ जसलाई उसले पनि स्वीकार गरेकै थियो । उसका गोडा रित्ता थिए, मैले चप्पल लगाएको थिएँ, चप्पल नयाँ थिए । मैले आफ्ना पैतालामा सुहाएका चप्पल हेरेँ, उसले पनि हेर्यो ।
‘कति हालिस् चप्पललाई ?’ फेरि नरोकिएरै भन्यो, ‘पुराना कता फालिस् ?’
‘छिने ।’ तनो त फेर्न मिल्थ्यो नि त ! दाइलाई सम्झिनस् ?
‘तिमीलाई मिले पो, कत्रा खुट्टा छन् अड्कल छ तिमीलाई ?’
‘मिल्छ… चप्पल त, अलिकति नमिले पनि के हुन्थ्यो र !’ आफ्नै पिँडौलामा प्याट्ट हिर्काएर भन्यो ‘डाँस !’ झिँगा लड्यो । तन्किएका त्यसका गोडा र प्वाँख खुम्रुक्क पर्दै गएको मैले हेरिरहेँ ।
‘छोरो–छोरो भन्छौ, खै तिम्रो छोरो फर्किएन क्यारे’ मैले भनेँ । पछाडि थुपारिएको घाँस छेउमै बाँधेको गोरुलाई हालिदिने विचारले उ उठ्यो । शरीर ढाडनेरबाट अलिकति कुप्रो पारेर दह्रा गोडाले टेक्यो उसले ।
‘गओ, माँमरो, आन्द्राँ घुसो ।’
उसको छोरो सानो आन्द्रा र ठूलो आन्द्रा हुँदै भित्र पसेर उसलाई खाइरहेको मैले देखें । म हाँसे । तर उसले भन्न खोजेको यस्तो रहेछ, ‘गयो माया मर्यो आन्ध्र प्रदेशमा घुस्यो ।’
तिरिरी घाम चक्र्यो । पिप्लेतिर चर्केको घाममा आँपमुनि केही बच्चाहरु थिए । तिनीहरु झटारोले आँप झारेर ठुला काला दध्रने ढुंगाका कापहरुबाट बटुलिरहेका थिए ।
आकाशमा बादल फुट्तै, गोलिँदै र फुट्तै थियो,
एकटौवा कपास सुलीकोटले पनि आकाशतिरै फ्याँकिदियो,
बादलका केन्द्रहरु बन्दै र भत्किँदै थिए,
मकैका बोटहरु ढल्दै थिए,
धानका बिउहरु उभिँदै थिए,
गुमाने गोरु घस्याउँदै थियो, धनजिते धानको ब्याड नाप्तै थियो, यस्तैमा धर्मानन्द पाध्याले अकाशतिर हेरेर सुर्तीको लुँडो मुखमा हालेको मैले देखेँ ।
‘कता भुलिस् भाइ ?’
‘धर्मानन्द बुढा रैछन्, त्यता आँपमुनि ।’
‘त्यही गुमाने र धनजितेको रमिता हेर्दै होला काटाच्छे ।’
‘के को कटाच्छे हो ?’
‘केको हुनु ? उहिलेको कुरा बिर्सिस् ? धनजितेको धानको बीउ गुमानेको गोरुले चरिदिएको ?’
‘अनि त्यो त मिलाएका हैनन् र मैनाली बुढाले ?’
‘त्यही मिलेर त अहिले नमिलेका नि !’ हाँस्यो काभ्रापाटे दाइ, आफ्नो भनाइ ठ्याक्क मिलेको जस्तो लागेर होला हाँसेको । दाँतका फोहोर, काला गिँजा उज्यालो हाँसिरहे ।
‘के भन्छौ दाइ पनि ?’
‘हो त, मैनालीले लेखापढी गरेर छिमेकी छिमेकी सधैँ मिल्नुपर्छ भने । नराम्रो त होइन नि, तर उनले भनेजस्तै भए पो । भयो पनि त्यति बेला । बुढा मरेर गए, जातभातको कुरा पनि रहेन । धनजिते र गुमाने मात्र होइन, धनजितेको छोरो र गुमानेकी छोरी पनि मिले नङ र मासुझैं ।’
‘अनि ?’
‘ह्यात्तेरी भाइ ! तँ पनि सहरमा बस्छस्, गाउँको केही चाल पाउन्नस् । ती बैंसले उचिलिएका ठिटाठिटी चपक्क मिलेपछि के हुन्छ ? गुमानेकी छोरीको पुटुक्क उठेको भुँडी देखिनस् हिजोअस्ति ?’
‘ए ….!’
‘बल्ल ए ! भागिसके थाहा पा छैनस् ?’
‘ल हेर !’
‘यतिखेर गोरु धनजितेको, बाली गुमानेको,’ हाँस्यो बेसरी । मैले फेरि उसका काला, उज्याला गिँजा हेरिरहेँ ।
‘अब ती पनि फर्कदैनन् बुझिस् ?’
‘तिम्रो छोरो विदेसिएको कति वर्ष भयो रे ?’
‘बाह्र वर्ष ।’
‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ दाइ !’
‘मलाई पनि त्यही आशा छ भाइ ! बाँचेको छु समातेर बेस्सरी त्यसैलाई ।’ उसका आँखा रसिला भएर भिजे ।
‘के भयो त ! देश पनि देख्यो, मुख पनि फेर्यो, अलि चौडा भएर आउला, देखेको भएर आउला, बुझेको भएर आउला ।’
‘हैन, मान्छे त त्यो सानैदेखि बुझक्कड नै हो, मलाई माया गर्ने पनि हो ।’ एकछिन रोकिएर फेरि भन्यो, ‘त्यसकी आमा पनि बितेपछि एक्लो भएँ भाइ । म छमकट्टै एक्लो ।’
‘एक्लो कसरी हुन्छौ ? विहे गरेका भएर के भो त । नौ नौ वटी छोरीहरु यही ओल्लोपल्लो गाउँमा छन् तिम्रा, उः आसामरु साहुको हेर त ।’
(आसामरु साहुलाई आफ्नो पसल प्यारो थियो । त्यसैमा उसले संसार देखेको थियो । उसको जीवनको केन्द्र त्यही पसल थियो, पसलभित्र जीवन, जीवनभित्र पसल मात्र, अविच्छिन्न, अभेद्य भनेको । छोराको विहेपछि पसल पनि छोराले नै जिम्मा लियो ।
छोराबुहारी पसल भएको घरमा बसे । आफू बुढोघरमा बस्यो । तर छोरो धेरै दिन थामिएन, पसल बेचिदियो र स्वास्नी लिएर विदेसियो ।)
‘न पसल छ, न छोरो छ ।’ मैले नै भनें ।
‘के हेर्ने त्यो धनपिचासलाई, बुद्धि त छैन भाइ त्यसको । त्यसै घरबाट बिदेसिएको छोरो फर्केन भनेर घर फापेन भन्यो । त्यस्तो राम्रो घर भत्कायो बहुलाएर । अब फेरि छोरीज्वाइँलाई घर बनाउँदैछ ।’
‘के भयो त, डाँडाभाटा, झ्यालढोका, दलिन, ढुंगा सबै छोराकै घरका हुन्, माटाले जोडेको मात्र नयाँलाई नयाँ जोडन दिएको, छोराको ठाउँमा छोरी राख्छ, हुँदो रैछ त !’
‘अब छोरीले पाल्छे भनेर बाँचेको छ, पाल्छे कि फाल्छे, होइन भाइ, छोरीले पालेको कि छोरीलाई पालेको आसामरुले ?’
‘छोराले पनि त पालेन नि, जे बुझ, तिमीले चाहेको तिमीले बुझ, मैले चाहेको मैले बुझुँला, बुझाइहरु आ–आफ्ना । आसामरुकी छोरीले बुझेको, ज्वाइँले बुझेको, तिमीले बुझेको, आसामरुले बुझेको सप्पै आफ्नै–आफ्ना, सग्लै–सग्ला बुझाइहरु ।’
‘जेसुकै भन, तर म छोरो आउने आशामा छु भाइ, छोरोजस्तो छोरी हुँदैन ।’
…
धनजिते मरेछ । तीन वर्षपछि म गाउँ आएको थिएँ फेरि । गुमाने मलामी पनि गएन रे । सम्धी त उसले भन्दै भनेनछ । धनजितेको छोराले आफ्नी छोरी उडाइदिएको उसको रिस मर्दै मरेन रे ।
‘एकोहोरो होइन भनेको मान्छे, जिन्दगीभर एकोहोरो भएको देख्ता म छक्क परें भाइ,’ काभ्रापाटे दाइ साँझ मेरो सिरानमा आएर बोलिरहेको थियो ।
‘साँझमा सुत्न हुन्न भाइ उठ्,’ त्यसले भन्यो । म अल्छी गरिरहेको थिएँ ।
उठेर झ्यालबाट हेर्दा पश्चिमी आकाश शून्य पहेँलो भएर गएको देखेँ । अनि मैले उसको कथा यही गेरुरंगको आकाशमुनि बसेर सुनेँ ।
‘बाह्र वर्षमा खोला पनि फर्कन्छ भनेर तँ सहर गइस् । तँ गएपछि यो गाउँ निछ्याम्म अँध्यारो हुन्छ, घामै लाग्दैन यो गाउँमा, तँ पत्याउँदैनस्, सत्ते, तँ नभएको कस्तो हन्छ तँलाई थाहा छैन ।
तँ गएपछि म छटपटिएर गाउँमा तलमाथि गरिरहेँ । छोराको पीरले काभ्रापाटे बहुलायो भनेर पनि गाउँमा भनेछन् ।
यस्तैमा बाह्र वर्षमा त होइन चौधौं वर्षमा कैलो फक्र्यो ह्यार भाइ, मलाई कस्तो भयो होला, कत्ति दिनदेखि बिर्सिएकी कैलाकी आमालाई सपनामा देखेँ मैले । त्यो विपनामै बाँचेकी भए कति खुसी हुँदी हो भन्ने लागिरह्यो ।
म रातदिन कैलो आएको खुसीमा छट्पटिएँ, म त बल्ल पो बहुलाएँ भन्ने लाग्यो आफैँलाई,’ उसले भन्यो । आँसु खसालिरहेको थियो ।
साँझ झमक्कै पर्यो । अब चराहरु अलि शान्त भए, किरा र भ्यागुताहरु कराउँदै रहे । म फेरि पल्टँे ओछ्यानमा ।
बोलिरहेकै थियो ।
म सपनामा या बिपनामा कतापट्टि छु भन्ने ठम्याउन सकिरहेको थिइनँ । सपना विपनाजस्तो र विपना सपनाजस्तो भएको थियो ।
अहिले रोएको
अहिल्यै हाँसेजस्तो
जीवनजस्तो कथा हो कि
कथाजस्तो जीवन !
मेरो निधारबाट निस्केका निस्पृह विचारहरु
टुक्राहरु गोलिँदै र गोलबाट टुक्रिँदै थिए
अघिको गेरुरंग समातेर म बाँचिरहेँ
उ किन रुन्छ ?
कि कैलो मरेको हो ?
झ्याउँकिरी, गँगटा, भ्यागुता र उसका आवाजहरुका
आफ्ना अर्थहरु के थिए ?
किन ती मेरा कानबाट पस्तानपस्तै
मेरै अर्थमा रंगिन्छन् ?
ती विचित्रका रङहरु
कुन रङ राम्रो थियो ?
कुन रङ ठिक थियो ?
सुखका स्मृतिहरु
र पीडाका स्पर्शहरुले एउटै गीत बनेको बुद्धजस्तो
पक्रिरहूँ भन्दै र चिप्लिँदै सुनिरहें ।
अलिकति निदाएँ क्यार । छर्लङ्ग ब्युँझेँ भनेको बेलामा आफैँले भनेको प्रस्टै सुनेँ, ‘त्यसले नपाल्ने भयो तिमीलाई ?’
‘त्यसले मेरो जीवनभरिको आशा चकनाचुर पार्यो भाइ !’
भोलिपल्ट उज्यालो घाममा कामेको पाइला बलैले टेकेर काभ्रापाटे दाइले भन्यो, ‘अब लैजान्छस् भने सहर जान्छु भाइ, होइन भने आसामरुझैं एउटी छोरी लिएर बस्छु ।’
‘केरे ? किन जाने सहर ? किन छोड्ने पुर्खाको थलो ?’
चिया खाने समय थियो यो । मैले उसलाई चिया खुवाउनका निम्ति पिढीँमा राखेँ । छोरीले, चिया दिएर गई । दुधिलो चियाको बास्नादार फिँजले उ केही शान्त भयो ।
माथि पहाडमा माईको थानको पूर्वतिर हेरेर उसले भन्यो, ‘पोहोर साल त्यहाँ रहेको कोटघर भत्कियो भाइ । त्यहाँ कोटघरमा तँ पुगिस् पुगिनस् कुन्नि, आँगनमा मुकुट लगाएको मूर्ति थियो एउटा, कसैले पूजा गर्थे पनि । पछि पूजा रोकियो । पोहोर कोटघर भत्किँदा त्यो मूर्ति पनि ढल्यो ।
अजम्मरी कोही रहेनछ भाइ, कोही पनि रहेनछ अजम्मरी, देवता भनेको त्यो मूर्ति पनि ढल्यो । होइन अचम्मै भएको छ यो ठाउँलाई, यहाँ बस्न चाहने कोही छैन, सित्तैमा घर छोडेर हिँडेका छन् मान्छेहरु, घर धुवाँरिदिनेसम्म मान्छे छैन, एकएक घरहरु भत्किँदै छन्, पितापुर्खाले रोजेको यो ठाउँ, हाम्रा निम्ति जोगाड गरिछाडेका किल्लाहरु ।’
उसका शब्दहरुले मलाई केही बुझ्न सहयोग गरिरहेका छन् । मैले सभ्यताको केन्द्र भत्केको देखेको छु । मेरो पूर्व भत्केको म देख्तै छु । पानी, खोला, फाँट, माटो सबै जाँचेर संसारले रोजेको, राम्रो (?) बस्ती बसाएको यो ठाउँ नराम्रो मानिएको र पानी नपर्ने, हिउँ जम्ने कठ्यांग्रा पृथ्वीको उत्तरपश्चिमका बन्जर जग्गाहरुमा बस्ती बसाल्न दौडेका मान्छेहरु मैले देखेको छु ।
‘हैन आफ्ना हुँदाखाँदा घरहरु भत्काएर, अमृत फलाउने जमिनहरु बाँझो पल्टाएर यसरी मान्छेहरु गुर्गुर्ती कहाँ दौडेका ?’ उसले मलाई झकझक्यायो । कुन्नि, उसले मेरो कुम समातेरै झकझक्यायो कि ?
म पनि गाउँमा अड्न सकिन र सहरमा घर बनाए । मलाई लागेको थियो त्यहाँ सधैँ अडिनेछौ । तर मेरो छोरो वयस्क पनि नहुँदै त्यही मेरो घर छोडेर अमेरिका हानियो ।
म रन्थनिएँ ।
तर म आफूलाई राति अबेरसम्ममा शान्त गर्न सफल भएँ किनभने आकाशमा बालदका बुट्टाहरु बन्दै र भत्किँदै थिए ।
हिजो बनेकाहरु आज भत्किए, परिवर्तन नै शाश्वत होला । आज भत्किएकाहरु भोलि बन्नेछन्, फेर्दै रुपहरु अर्कैअर्कै …।
(स्रोत : Ujyaalo)