घरको वरिपरि फुलेका रङ्गिचङ्गी फूलहरूले घरलाई सुन्दर, शोभायमान र सुवासयुक्त बनाइरहेका थिए । तिनीहरूमा सुन्दरताको घमण्ड थियो ।
एकदिन सयपत्रीले गुलाफसँग भन्यो, – ‘यो घरको शोभा बढाउनमा मेरो महत्त्वपूर्ण भूमिका छ । यति सुन्दर छु कि म, मेरो सुनौलो रङ्ग खुव मनपर्छ मान्छेहरूलाई । त्यसैले त तिहारमा पनि महत्त्वका साथ प्रयोग गर्छन् नि मलाई ।’ गुलाफले सयपत्रीको आफ्नो बखान सुन्न सकिन । उसले ओठ लेप्य्राउँदै भनी -‘तैंले आफूलाई खुब राम्री छु भन्ने ठानेकी छस् । मलाई हेर् न मलाई, मेरो अगाडि तँ कति फिका छस् । मेरा यी कोमल, सुन्दर रङ्गिचङ्गी पुष्पदल कस्तो मन पराउँछन् – मान्छेहरूले । त्यसैले त मलाई फूलका राजा मानेका छन् नि ।’
यसरी दुवैले आ-आफ्नो प्रसंसाका फूल-बुट्टा भर्दा, भर्दै, चर्काचर्की नै पर्यो । अनायसै दुवैको आँखा त्यहीँ आँगनको कुनामा रहेको तुलसीको मोठमा पर्यो । ‘हेर न त्यो तुलसी कति कुरुप, कति उदासी ! छि ! कस्तो घीनलाग्दी, सौन्दर्यहीन, कति नराम्रो फुङ्ग उठेको त्यसको रङ्ग । कति वेपर्वाही हगि त्यो तुलसी ?’ दुवैले आ-आफ्नो वाद-विवादलाई छाडेर तुलसीप्रति भए भरका घृणा, व्यङ्ग्य र अपमानका फोहरी शब्दहरू फ्याँक्न थाले । यद्यपि त्यसले तुलसीलाई कुनै असर पारेन । सुनेको नसुन्यै गरी उसले ।
त्यतिबेलै त्यहाँ एउटा भद्र मानिस आयो र एक एक थुङ्गा सयपत्री र गुलाफका फुल टिप्यो र तुलसीको मोठमा चढायो ।
(स्रोत : मधुपर्क चैत्र २०५३ )
(स्रोत : NepaliLaghukatha.com )