~गोबिन्दसिंह रावत~
टाढाबाट हिमका श्रृखलाहरु झै
कनपट्टीका रौंहरु टल्किन थालेपछि
उमेरले पनि पत्याउन छोडेको आभास हुन्छ
ऐनमा आफूलाई तरुनो ठहराउन जति खोजे पनि
अनुहारका खाल्टाहरुले गिज्जाउन थाल्छन
केही परिवर्तनको खोजिमा एकोहोरो अनुहार ऐनामा हेरे पनि
मोटा मसिना धर्साहरु मात्र फेला पर्दै जान्छन्
अनि आफ्नै अनुहार आफैलाई विरक्ति लाग्न थाल्छ
अनुहार मिलाउने जति प्रयत्न गरे पनि
निरासाहरुमात्र हात पर्दै जान्छन्
अनि ऐना अघि उभिएर ऐनाको घोर आलोचक बन्न पुग्छु
भनिन्छ दुईचारवटा रौंहरु फुल्दैमा कोही बुढो हुदैन
यो त जीवनमा अनुभव र भोग गरेको निसानी हो
यो त उमेरको मनोविज्ञान हो
अनि यस्तै विचारहरु पोखेर आफूलाई सान्त्वना दिन थाल्छु
तन बुढो भएपनि मन त तरुनो नै छ भन्दै सिटी सुसेल्न थाल्छु
– गोबिन्दसिंह रावत, टोरोन्टो, क्यानडा
मे ५ २००७
(स्रोत : Dcnepal.com)