कथा : मृत्यु रहर

~सलोजा~Salojaa

‘बाँकी त सम्झना मात्र छ। त्यही पनि हरायो भने म एक्लै हुनेछु। छोरी टुहुरी हुने छ। मजस्तै छोरीले टुहुरी हुनुहुदैन।’ ओछ्यानबाट निक्कै अल्छी मान्दै उठेँ र घर वरिपरि हेरेँ। कोही छैन, दुइटा भंगेरा आँगनमा उफ्रदै रहेछन्, अलि पर सुकेको बाँसमा बसेर काग कराउँदै थियो।
रछ्यान छेउमा खुकुरी उद्याउने गरेको ढुडगोपनि राम्ररी देखिएको छैन। तुषारोले छोपिएको छ। ‘कस्तो सुनसान भएको। मान्छे हराएको गाउँ।’
‘एक्लै बसेभने अझै निराशलाग्ला। आमाघरमा गएँ।’ 
एक्ली आमा, पीढीमा बसेर बत्ती कात्दै थिइन।
म जानेबितिकै हसिलो अनुहार लगाएर छोरी विनिशालाई आफूसँग बोलाइन्।  धेरैदिन सम्म नभेटेकी उनले एकोहोरो आँखामा हेरिरहिन्।
‘के छ नानी?’
‘जम्मा सम्झना त हो।’ छोरी आमासँगै छोडेर कोठाभित्र छिरेँ।
म हिँडेपछि कहिल्यै नउघारेको आफ्नै कोठा खोलेँ, माकुराको जालो झारेँ, कसिंगर लगाएँ र लिप्न थालेँ । ‘कोठाका भित्ताहरुपनि कति काला भएका रहेछन् ।’
बुबाले बसका भाटाले बारेर यो कोठा मेरोलागि बनाइदिनुभएको थियो । ‘छोरीले धेरै पढ्नुपर्छ । एक्लै भएको महसुस भए यही किताबसंग बोल्नु । अरुसंग रिस उठ्यो भने पनि ठूलो स्वरमा किताबका अक्षर पढ्नु ।’ उहाँले सम्झाउनु भएको थियो।
‘मेरो आशानै तिमीमात्र हौ ।’ बुबाको भरोसा थियो म माथि । तर त्यसलाई पूरा गर्न सकिन।
घाँस काट्न गएका बुबा फर्केर नआएपछि म पनि जंगलकै बाटो हुदै हिडेँ । घरमा एक्ली आमालाई छोडेर ।
सम्झनामा हराएछु । छोरी मलाई खोज्दै आइपुगी । उसैसंग बाहिरिएँ ।
केही दिनपछि आमाघरबाट फर्किएँ । साथमा पुराना डायरी र केही खाली कपी लिएर।
कोठाको खोपामा धुवाँ लागेर कालो भएको यो डायरी π कम्तीमा विद्यालयको चिनो त भयो । मसँग विद्यालय पढेको छु भन्ने प्रमाण अरु केही छैन।
लहड र रहर थियो अटो । सम्झनामा यही अटो बाँकी छ । अटो पल्टाएँ, साथीहरुले लेखेका सायरीहरुले अहिले हेर्दापनि त्यँही दिनको याद आयो ।
अटोको सुरुमै खोलाको किनारमा मुस्कुराउँदै गरेको तस्वीर थियो । धेरै ठाँउ खाली छोडेर लेखेछ ।
यो सूर्य उदाउँछ कि उदाइदिन्छ । घाम लाग्दापनि अँध्यारो देखिने समय कसरी आउन सकेको होला ? हुन त मन गह्रुगो भएपछि हावामा उड्न नै कहाँ सकिदो रहेछ र ?
उसले के भन्न खोजेको थियो ? अहिलेपनि बुझिन, तर मेरो जीवनसंग मिल्ने शब्दहरु छानेको रहेछ । अरु साथीहरुले लेखेको हेर्दै थिएँ ।
ऊ गुनगुन गर्दै भित्र छिर्यो ।
धेरैदिनसम्म विना खबर गायब भएको ऊ चुपचाप घर फर्किएको देखेर रिस थाम्नै सकिन ।
‘कहाँ गएका थियौ अहिलेसम्म ?’ अगाडीको ऐनामा प्रस्ट देखिएका थिए रिसले राता भएका मेरा आखाँ ।
‘भन्दै छुनी चिहानघारीमा थिएँ ।’
‘किन गएको त्यहाँ ?’
‘जीन्दगी ज्यून ।’
‘खबर गर्नु पर्दैनथ्यो ?’
‘तिमीलाई खबर गर्ने भए किन जानुपथ्र्यो चिहानघारीमा बस्न ?’ उ निस्फिक्री बोल्दै थियो ।
चम्किला आँखाले मलाईनै हेर्यो र भन्यो, ‘चाहन्छ्यौ भने तिमीपनि हिँड मसंगै ।’
त्यसपछि सुतिरहेकी छोरीलाई व्यूझायो र खेल्न थाल्यो ।
छोरी गुडियासँग रमाउन थाली ।
सिमोन आफैसंग फतफताउन थाल्यो, ‘ठ्याक्कै गधाको जुनी भयो । जति मेहनत गरेपनि फल विहिन । हाम्रो पसिनामा अरुलेनै पौडी खेले, दर्शक मात्र भइयो । न विरोध गर्न सकेँ, न चुप लागेर बस्न ।’
‘जवानीमै पटक पटक मृत्युको सामना गर्नुपर्यो । मरिएन । तर जीन्दगी मर्ने होकी भन्ने डर थियो । न जीन्दगी ज्यून पाएँ न मर्न नै ।’
‘हातमा किताब बोक्ने उमेरमा गन बोकेँ, विद्यालय नगएपनि खेल्न गएको भए रमाइलो त हुन्थ्यो । कर्म गरिएन त्यसैले फल पाइएन भन्दै घिडघिडाउन पाइन्थ्यो ।’
यो उमेरमा अब के सिक्नु र काम गर्नु । पेशा विहिन भएको छु । सिकेको ज्ञानले अहिले काम पाएन । ज्ञान र म दुवै बेरोजगार ।
उ यसैगरी बोलीरहने भएको छ । गफ गर्दैन तर बोलिरहन्छ ।
धेरै समय टोलाएर बस्छ । घर फर्किए देखि उसको ओठ मुस्कुराएको देखेकी छैन ।
हराएको एक महिनापछि घर आएको ।
खोज्ने ठाँउ बाँकी राखेकी थिइन ।
आफन्त, प्रहरी सबैलाई खबर गरेँ । कतै पत्तो भएन । एक मनले आसानै मारेको थियो ।
बाबा आउनु हुन्छ भन्दै चार बर्षीय छोरी विनिशाले कहिलेकाही आट बढाउँथिन्। त्यसभन्दा बाहेक कुनै भरोसा थिएन ।
खबर नगरी चियापसल सम्म नजाने सिमोन बेखबर एक महिना हराउदा कसरी बाँचेहोला आफैलाई थाहा छैन । कति रात, विहान, कसरी आए, गए पत्तो नै भएन ।
उ फर्किएर आयो, तर पूरानो आत्मीयता रहेनछ ।
छिमेकीहरुले कुराकाट्न थाले । सिमोन बौलाएछ । चिहानघारीमा बसेको भन्छ । ठेगानका कुरापनि गर्दैन ।
मलाई पनि त्यसतै लाग्न थालेको छ । न कुराको ठेगान न कामको ठेगान । दिनभरि एक्लै बस्छ र फतफताउछ । आफैसंग बोल्छ, कहिले पुस्तक पढ्ने भन्छ र दराजभरिका पुस्तक निकाल्छ ।
एकदिन मार्क्सबाद जलाउँदै रहेछ । मैले गाली गरेँ ।
‘किन जलाउनुपर्यो पुस्तक ?’
‘यही हो मेरो जीन्दगीको सबैभन्दा ठूलो सत्रु ।’ उसले कसैलाई नसुनी आफ्नो काम फत्ते गर्यो ।
माक्र्सबाद जलाएपछि एकपटक डाँको छोडेर रोयो । ‘सबैभन्दा बढी सम्मान गरेको थिए यो पुस्तकलाई । यो नपढेको भएपनि म विद्यालय छोड्दिन थेँ । नराम्ररी झुक्यायो यसले ।’ त्यसपछि एकैछिनमा दाँत किट्यो र ….त्यसलाई भन्दै करायो ।
चुपचाप हेरिरहेँ । छ महिना अघिमात्र दराजमा सुरक्षितसंग राखेको एकजोर कम्ब्याट डे«स निकाल्यो र माक्सबादसंगै जलायो । ‘सुरुमा साहसीको चिनो सम्झेको थिएँ, तर गद्दार रहेछ । जीन्दगी न ज्यून दियो न मर्न नै ।’
‘साला जीन्दगीमा नराम्ररी फसायो मलाई ।’ उसको रुवाइको क्रम कम भएकै थिएन ।
अयोग्य ठहर भएर व्यारेक छोडेर हिडेको दिन मलाई यसैगरी रुन मन लागेको थियो । तर उसैले सम्झायो । चित्त बुझाएँ ।
आज उसैलाई सम्हाल्न सकिरहेकी छैन । मेरो मन त भाचिएको मात्र थियो, उसको त हिमताल फूटेझै थेग्नै नसक्ने भएको रहेछ ।
उसको टाउको मुसार्दै भने ‘के भयो सिमोन ? किन निराश भएको ? जीन्दगी त आशा पो हो ? तिमी यसरी टुट्नु हुदैन ।’
त्यो, एउटा समय थियो । भलजस्तै भयो । त्यसमा तिमी एक्लैको गल्ती थिएन । मैले सम्झाउन थालेपछि फेरि रुन थाल्यो ।
‘मैले सकिन रश्मी, आफैलाइ थाम्न सकिन । नबुझी गरेका धेरै कुराप्रति पश्चताप छ । भ्रमपूर्ण शब्दका पोखरीमा नबुझी पौडी खेलिएछ ।’ एकपटक ठूलो स्वरले चिच्यायो ।
मेरो काखमा ढल्किएको उ त्यही बेहोस भयो ।
धेरै बेरपछि उठ्यो र आकाश हेर्दै टोलायो ।
आजभोली सपनामा नै बर्बराउछ ।
सुतेकै ठाउमा बोल्यो, ‘मैले जस्तो सपना देख्ने र पूर्ण भरोसा सहितका सहयोद्धाका चिहानहरु छन् । त्यसैले मेरो विचार मिल्छ, सिद्धान्त र भावना मिल्छ ।’
‘अरुले हिन्दुधर्मकी सतीदेवीका अंग जस्तै आफ्ना विचार, कर्तव्य, प्रतिबद्धताहरु ठाँउ ठाँउमा पतन गराएका छन् । तर यो चिहानघारीमा सयौ आत्माहरुसंगै निष्ठा बाँकी छ । त्यसैले यो चिहानघारी प्यारो लाग्छ ।’
खटमा पल्टियो र सिरकले मुख छोप्यो । ‘बाहिर गएर बोल्यो भने पागल भन्छन, तर मनभरि उकुस मुकुस भएको छु । मलाई मान्छेको समाज कुरुप लाग्न थालेको छ । न सत्य कुरा बोल्छन, न अरुको भलो चिताउछन् । हरेक पटक स्वार्थ मिश्रीत स्वास फेर्दै वायुमण्डलपनि प्रदूषित बनाएका छन्।’
निन्द्रामा धेरैबेर बर्बराई रहेको सिमोनलाई बोलाएँ । उसले सपनामा बर्बराएको कुरा सत्य हो जस्तै लाग्यो ।
तर सोधेँ ‘कति बर्बराइरहेको ? के भयो तिमीलाई ?’
रश्मी आज सपनामा दाजुलाई देखेको थिएँ । उनीपनि विचलीत भएर हिडेका । भन्दै थिए ‘कान्छा तलाई विद्यालय छोड्न लगाएर गल्ती गरेँछु ।’
तिमीले त उनलाई देखीनौ, तर निक्कै आशालाग्दा थिए । सात बर्ष अघि युद्धस्थलमानै उनले शाहदात प्राप्त गरे, हैन हैन मृत्यु भयो ।
उनैले हो मलाई सामाजिक मुक्तिको लागि लड्नुपर्छ भनेको । उनकै प्रेरणाले आएको थिएँ ।
सामाजिक मुक्ति दिलाउने त होइन आफैले मुक्ति पाउन सकिन ।
सिमोन फेरि रुन थाल्यो ।
झिसमिसे विहान भएको छ । सूर्य उदाउनुअघि चन्द्रमा फूल्दैगर्दाको मौसम अझै टिठलाग्दो देखिन्छ ।
सिमोन मेरो पछि पछि आयो ।
‘मौसम चिसो रहेछ ।’
‘यो रात हिऊँ परेको हुनुपर्छ । नदीहरु बग्न छोडे होलान । हिउँले भरिएको हिमाल कठ्याग्रियो होला ।’
‘कति अमूर्त शब्द बोल्न सक्छौ । स्पष्ट भनन खास कुरा केहो ? कसरी सम्झना आयो हाम्रो ?’
‘चिहानघारीको एक कुनामा बस्थे, त्यही रमाउन थालेको थिएँ । तर त्यही चिहानघारी खन्न थाले मान्छेहरु ।’
‘किन खन्ने रहेछन ?’
‘कंकाल निकाल्न । विदेश निकासी गर्छन रे ।’
‘अरुत सबै बेचिसके रे । जवानीको रहर बाकी रहदै अन्त्य भएकाहरुको छाला, मासु गलेको कंकाल बेच्न बाँकी रहेछ । त्यहीपनि खन्न थालेपछि बाध्य भएर हिडेँ ।’
उसले निराश हुदै भन्यो ‘देशको नाममा रहर र सपना त सित्तैमा बेचिसकेको छु । अब मेरो कंकाल नबेचियोस ।’
आएर अंगालो मा¥यो । कसिलो अंगालो । ठूलो श्वरमा रुन थाल्यो । मानौ आज उसको मनभरि मूल फूटेको छ । कसैगरी पनि थामिएन । मेरो काध उसकै आशुले भिजेका छन् । बोल्दा बोल्दै फेरि बेहोस भयो सिमोन।
बेहीशीमै बोल्यो ‘रश्मी बाँकी केही बेच्न चाहन्न । मेरो लास माटोमा नपुर्नु, आगोले सखाप पारोस, म जलेर बनेको खरानी यहीको माटोमा मिल्नुपर्छ, म मृत्युपछिपनि बाँच्न चाहन्छु बेचिन हैन ।’
(स्रोत : Setopati)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.