बकुल्लो एउटै परें म त यहाँ कागका हुल छन ।
सिध्याउन के बेर मलाई यहाँ बागका हुल छन ।
जताततै हेर विषालु ति गोमन र करेत जस्तै ,
कर्कट , कुलिर , तक्षकझैं यहाँ नागका हुल छन ।
देखिंन मैले खै के पाएं यहाँ सधैं खाली रित्तो म छु ,
अरुका हेर लौ आफ्ना आफ्ना यहाँ भागका हुल छन ।
झट्ट हेर्दा सबको टाउको मान्छेकै हो झैं देखिन्छ ,
संगत गर्दाकन था’हुन्छ यहाँ छागका हुल छन ।
अंगारको पनि बरु मुल्य होला मेरो तर छैन क्यै ,
बहुमुल्य देखिन्छन सबै यहाँ खागका हुल छन ।
एक्लो यस्तरी भईछस् ए ! ‘दीपक’ तँ त सडक जस्तै ,
त्यहीं टेकीहिंड्ने अनेकौं यहाँ सुहागका हुल छन ।
2008-06-15
(स्रोत : नेपाली गजल गुगल ग्रुप )

