एउटा नाटक अर्को नाटक कति धेरै नाटक
दलहरु हानाथापमै को चाहि होला घातक ?
एउटा भन्छ ठीक छु म त अर्को भन्छ त्यस्तै
जनतालाई झुक्याएर पाउ मोल्न व्यस्तै ।
दिनैपिच्छे बल्झिरहन्छ जनताको घाउ
नेतादेखि मन्त्रीसम्म कुर्सी पाउने दाउ
कहिले यता कहिले उता नेताहरुको चाला
बरु अब खोली देउन सच्चाइको ताला ।
जनता रुँदा तिमी हाँस्छौ लाज छैन तिम्लाई ?
भोको पेट र नाङ्गो शरिर किन बनायौ हाम्लाई ?
झूटा वचन फोस्रा कसम किन यति धेरै
अरुलाई चाहि चाहिंदैन सबै भन्छौ मेरै ।
नसक्नेले किन भन्नु म नै सबै गर्छु
खोलानाला खहरेहरु सबै एक्लै तर्छु
कुर्सी प्यारो देशभन्दा कस्तो छाडा बानी
देश रुँदा तिमी मस्त खुट्टा तानी तानी ।
दोष जति अर्कालाई तिमी चोखो बन्ने
आफूचाहि फोहोर बनी अरुलाई भन्ने
तीतो भयो अब हाम्लाई जीवनको यात्रा
अति भयो हाम्रो देशमा नाटक र जात्रा ।
क्यालिफोर्निया अमेरिका
(स्रोत : Khasskhass.com )