कानले नसुन्ने
आँखाले नदेख्ने
केवल स्तम्भ झैं उभिएको
म मूर्ति हुँ ।
मेरा कानले सुन्ने
ओठका हाँसो अभिशाप हुन्
मेरा आँखा अगाडि नाच्ने
मारुनी प्रतिरोध हुन्।
सायद,
हुन सक्छु
म नपुङ्गसक लिङ्ग हुँ
मलाई यौन उत्तेजनाको
प्यास छैन्
केवल मृत झैं उभिएको
म मूर्ति हुँ ।
मेरा मुख
जिब्रो बिनाको
स्वाद हुन्
मेरा नाक
सुगन्ध नसुंघ्ने
प्रतीक मात्र हुन्
कतै,
आँखामा नदेखिने
म सर्पका खुट्टा हुँ ।
कुरूप,
क्यानभासमा
शब्दले नलेखिने
म मूर्ति हुँ ।
मेरा लागि
कपटी तमासुक लेख्ने सकुनीहरू
ब्रम्ह्मा, विष्णु र महेश हुन्
महलमा रम्नेहरू
दुनियाँका सपना लुट्ने दानवहरू हुन्
देखेर, सुनेर व्यक्त नहुने
म लाटा हुँ ।
यात्रीहरूबाट नपुजिने
अदृश्य मूर्ति
म मुर्दा हुँ,
कोही अनि कुनै हृदयको
म आँशु हुँ
ईश्वरभक्तहरूबाट जल नचढाइने
म मूर्ति हुँ ।
– आकाश ( कोलोराडो, अमेरिका)
April 7th 2007
(स्रोत : Dcnepal.com)