~बखतबहादुर थापा~
‘डेडी–डेडी, तपाईंलाई थाहा छ, आजभोलि त टिभी कम्प्युटरमै चल्छ नि ! कम्प्युटरमा इन्टरनेट पनि चल्छ; त्यसबाट विदेशमा फोन गर्न पनि सकिन्छ, एकअर्कालाई हेर्दै । संसारमा कहाँ के भइरहेको छ र कसरी भइरहेको छ भन्ने जान्न सकिन्छ । अर्को कुरा थाहा छ ? यो सबै गर्दा पैसा पनि लाग्दैन ।’
राम्रो रिजल्ट ल्याएकामा स्याबासी दिन पाइएको हुँदैन, बच्चाहरूले अघि मुख खोलिसकेका हुन्छन्– ‘यो त के नै हो र ? घरमा कम्प्युटर भएको भए सबैलाई जितिदिन्थेँ । साथीहरू घरमा प्राक्टिकल गर्छन्, अनि स्कुलमा गएर फुर्ती देखाउँछन् । आजभोलि त कम्प्युटर जानेको छैन भने जोकरै भइन्छ नि डेडी ।’
मेरो बच्चाको पनि यस्तै कुरा कुरा सुनेर म झसङ्ग भएँ । उसले मेरा थुप्रै तिता अनुभूतिलाई ब्यूँझाइदिएको थियो । छोराले कम्प्युटरको आवश्यकता देखाएपछि मैले बाटो वा अफिस जहाँतहीँ कम्प्युटरकै कुरा सुन्न थालिसकेको थिएँ ।
एकदिन अफिसमा बसिरहेको बेला मिस कल आयो । कहाँ बस्यो ? हेर्नै जानिनँ । मिस कल, रिसिभ कल, डायलिङ कल, म्यासेजहरू कहाँ राख्ने ? जान्दछ यो मोबाइल, तर म चालै पाउँदिनँ भन्ने कुरा किन जान्दैन ? आफ्नो बुद्धि देखाऊँ, बिग्रेला । आफैँमाथि पिर थुपार्ने काम, ओल्टाईपल्टाई हेर्दै थिएँ, पियन आयो । उसले मेरो हाततिर आँखा गाड्दै भन्यो– ‘हाकिम सा’बले राम्रै मोबाइल किन्नुभएछ त !’
‘त्यही भएर हेर्दैछु, मिस कल आएको थियो, कहाँ बस्यो बस्यो !’
‘खै,’ उसले मोबाइल लियो र सरसर्ती हेरेपछि मलाई चलाउन सिकाउँदै भन्यो– ‘दुनियाँ कहाँ पुगिसक्यो है हाकिम सा’ब ? विदेशीहरूले मनचिन्ते भाँडो जस्तो बनाइसके !’
उसका कुरा चाखलाग्दा थिए । साथै ऊ आफ्नो ज्ञानका निम्ति धन्यवादको पात्र पनि । मैले भनेँ– ‘साँचै भन्यौ, यो सबै कहाँबाट सिक्यौ तिमीले ?’
मेरो कुरा मुखबाट झर्नेबित्तिकै उसको जवाफ मेरा कानै घोच्न आइपुग्यो– ‘कम्प्युटर नि कम्प्युटर, घरमा कम्प्युटर भएदेखि विश्वमा कहाँ के भइरहेको छ, जान्न–सुन्न ढुक्क छ हजुर । आजभोलि कम्प्युटरबाट के गर्न नसकिँदो रै’छ र !’
‘घरमा कम्प्युटर ल्याएदेखि तिम्रो मिसेजलाई कपडा धुनु पनि पर्दैन होला है ?’ काठमाडौँको प्रदूषण र पानीको अभावले मेरो ध्यान विशेषतः कपडैतिर गयो ।
‘पैसा भए त हो हाकिम सा’ब, कपडा धुनलाई पनि वासिङ मेसिन भन्ने चिज पाउँछ रे । त्यो पनि कम्प्युटरकै दाइभाइ होला । मैले सुनेअनुसार कम्प्युटरले ठूलठूला काम गर्छ रे ! फिल्म, रोबोट, एटम बम, ठूलठूला कम्पनी, मनोरञ्जन भने जस्तो सबै कुरा कम्प्युटरबाट गर्न सकिन्छ ।
मलाई त्यति थाहा छैन हजुर, घरमा बच्चाहरू भन्छन्– कम्प्युटरले संसारलाई धेरै सानो बनाइदियो । अमेरिकाको मान्छे केकस्तो हालतमा छ, यहीँबाट जान्न–बुझ्न सकिन्छ । हामीले देखेभोगेकै कुरा गरौँ न, अफिसभरिका कागजात एउटै कम्प्युटरमा राख्न सकिन्छ । अनि चाहेका बेला दौडधूप पनि गर्नुपर्दैन, कुर्सीमा गजधम्म बसेर फलानो फाइल दे भनेर म जस्ताले पनि हुकुम दिनेबित्तिकै कम्प्युटरले त्यो चिज अगाडि देखाइदिन्छ । अब चिठीसिठी लेखेर हुलाकमा जाऊ, थुक लगाएर टिकट टाँस, महिनौँ कुर, तैपनि पुग्छ या पुग्दैन । कुनै आपत्विपत् आइपरेमा आवा गर्न सहर दौडनुजस्ता झन्झट पनि हटे । मेरो छोरो प्रत्येक दिन अमेरिकामा बस्ने साथीसँग घन्टौँ गफ गरिबस्छ । उसको साथी यतै आइज भन्छ रे, घरजग्गा बेचेर भए पनि छोरालाई अमेरिका पठाउनेमा छु हाकिम सा’ब ।’ पियन आफ्ना आकाङ्क्षाहरूसँगै बगिरहेको थियो । मलाई जिस्क्याएझैँ लाग्यो । त्यसैले अर्कै काममा अल्झाइदिएँ ।
वास्तवमा छुट्टीको समयमा तास खेलेर, बात मारेर समय बिताउनलाई साथीहरू नै भेटिँदैनन् । सबै कम्प्युटरकै कुरा गर्छन् । कम्प्युटर भएदेखि समय बितेको थाहै हँुदैन रे हुनेहरूलाई ! मनोरञ्जन गर्न चाहेमा तास त मामुली हो, एकसेएक गेम खेलेर पो मज्जा लुट्न सकिन्छ भन्छन् ।
जि.एम. सा’ब पनि प्रत्येक शनिबार कम्प्युटरसँग चेस खेलेर बिताउँछु भन्छन् । अब त कसैले बात मार्न खोजे पनि कम्प्युटरकै विषयमा कुरा गर्छन् कि भन्ने डर लागेर आउँछ ।
यस्तै अनुभूतिसँग लुकामारी खेल्दाखेल्दै दसैँ नजिकै आयो । एक दिन परिवारलाई भनेँ– ‘यसपटकको दसैँमा राम्रो खानलाउनको सट्टा कम्प्युटर किनेर रमझम गर्दा कस्तो होला ?’
श्रीमती सहमत भइन्; बच्चाहरूमा खुसीको सीमा नै देखिएन ।
बजारमा गएर कम्प्युटरबारे बुझेँ । पन्ध्र हजारदेखि सुरु हुँदा रहेछन् । आफ्नो क्षमताअनुरूपको सस्तो, राम्रो, बलियो भनेजस्तो पच्चीस हजारमा आउने देखियो । दसैँ पेस्कीसमेत जोरजाम गर्दा सपना साकार हुने भयो । दसैँको दस–बाह्र दिन पहिल्यै कम्प्युटर किन्न गएँ ।
कम्प्युटर लिएर आउँदा साथमा एउटा मिस्त्री आयो । उसले कम्प्युटर जोडेर फिल्म चलाउँदै भन्यो– ‘ल, कम्प्युटर चलाउने यसरी नै हो । कुनै झन्झट आइलागेमा हाम्रो पसलमा फोन गर्नू; म आएर बनाउँला ।’
ऊ हिँड्नेबित्तिकै छोराछोरी तँ कि म गर्न थाले । उनीहरूको तानातान देख्दा बिगार्छन् जस्तो लाग्यो ।
‘बिस्तारै है, बिगारौला ?’ तीन–चार पटक भनेपछि छोरीले जवाफ दिई– ‘तीन महिनासम्म ग्यारेन्टी भनेको हैन र ?’ बच्चाहरूको सामुन्ने आफ्नो उपस्थिति निरर्थक हुने ठानेर म अर्को कोठातिर हिँडेँ ।
खाना पाकेपछि आपूmले खाएँ । त्यसपछि कम्प्युटर राखेको ठाउँमा गएर बच्चालाई भनेँ– ‘मलाई टाइप गर्न सिकाएर खाना खान जाओ ।’
छोराले भन्यो– ‘माउसको प्वाइन्ट स्टार्ट लेखेको ठाउँमा लिएर थिचेपछि यसरी गएर खोल्ने ।’ ऊ खाना खान हिँड्यो । मैले त्यस माउसको चुच्चोलाई स्टार्ट लेखेको ठाउँमा पु¥याउन भ्याएको थिइनँ, बच्चा खाना खाएर आइपुगे ।
‘अझसम्म तपाईंले खोल्न सक्नुभएको छैन ?’
‘अनि त, स्व्रिmनतिर हे¥यो भने माउस घुमाउँदाघुमाउँदै भुइँमा झरिहाल्छ, माउसतर्फ हे¥यो कि स्व्रिmनमा कता जान्छ कता !’
‘यहाँबाट उठ्नुस्, कम्प्युटर चलाउन तपाईंको वशमा छैन,’ मलाई अर्कोतिर धकेलिदिए । उनीहरू कसरी चलाउँदा रहेछन् भनी पछिल्तिर उभिएर हेर्न थालें । बच्चाहरू यति छिटो चलाउँथे कि मेरा आँखा तिरमिराउन थाले । भनेँ– ‘मलाई अस्ट्रेलियामा साथीसँग कुरो गराइदेऊ न, अनि सुत्न जान्छु ।’
बच्चाले मतिर नहेरी भन्यो– ‘पासवर्ड ल्याउनु भा’छ ?’
‘ल, कम्प्युटर ल्याएपछि इन्टरनेट, फोन सित्तैमा हुन्छ भनेका हैन ?’
‘पासवर्ड र ओएब क्याम्प खै त ?’
‘पसलेले अरू केके दिएको छैन, चेक गर । भोलि गएर ल्याउँछु ।’ मलाई पनि कम्प्युटरको चस्कोले तानिसकेछ ।
‘ठगेछ, मोरो पसलेले ठगेछ डेडी, गेम पनि राखेनछ ।’
दोस्रो दिन कम्प्युटर पसलमा पुगें ।
‘ए साहूजी, मलाई ठग्नुभएको ?’
पसले जिल्ल पर्दै बोल्यो– ‘मैले तपाईंलाई के ठगेँ !’
बच्चाले लेखेको कागजको टुक्रा सामुन्ने राख्दै भनेँ– ‘कम्प्युटरमा यो सब सामानै छैन
रे ?’
१. इन्टरनेट ?
पसलेले भन्यो– ‘यो सुविधा एन.टी.सी. मा गएर लिनुपर्छ ।’
२. गेम ?
‘सफ्टवेयर बेच्ने ठाउँमा पाइन्छ । तपाईंलाई कुन गेम चाहिन्छ, सिडी किन्नुहोला ।’
३. ओएब क्याम्प ?
‘यो सामान तपाईंलाई कोटेसन दिँदा भन्नु नै भएन, त्यसैले ५०० सय रुपैयाँ तिर्नुपर्छ ।’
सफ्टवेयर पसलमा पुग्दा गेम सिडीको ५० रुपैयाँ भन्यो । अनि एन.टी.सी. मा पुगेँ । त्यहाँ आफ्नो इच्छाअनुरूप चलाएमा वर्षको १२००० रुपैयाँ पर्दो रहेछ । तीनमहिने, छमहिने र घन्टाको हिसाबमा पनि उपलब्ध थियो । राति नौ बजेदेखि बिहान आठ बजेसम्म चलाएमा वर्षको ३५०० रुपैयाँ भने ।
दिनमा आपूm अफिस, बच्चा स्कुल, चाहिने राति नै थियो । त्यसैले ३५०० रुपैयाँको जोड्न लगाएँ ।
आपूmले कम्प्युटर चलाउनलाई बच्चाहरूसँग सिक्नुपर्ने देखियो । उनीहरू गुरुको पदमा पुगेकाले प्रत्येक दिन नयाँनयाँ माग बढाउन थाले । कहिले गेम लिएर आउनु, कहिले ड्याङडुङ गर्ने हुफर चाहियो त कहिल्यै सफ्टवेयर चाहियो । थोरै पैसा पर्ने भए लिएर आउँथेँ; धेरै पर्ने भए दसैँपछि भनेर
मनाउँथेँ । छुट्टीको समयमा कम्प्युटरै सिक्ने काम हुन्थ्यो । अफिसमा पनि साथीहरूसँग सिकाइमाग्थेँ । त्यसैले ५÷७ दिनमै सामान्य टाइप गर्न र इन्टरनेट चलाउन सिकेँ ।
एकदिन एउटा साथीले वेबसाइटहरू लेखेर दिँदै भन्यो– ‘इन्टरनेटमा यी पेज खोल्नू, निकै मज्जा आउँछ ।’
अर्को साथीले एउटा सिडी निकालेर दिँदै भन्यो– ‘यसलाई कम्प्युटरमा कपी गरेर राखिहाल्नू, अनि यो सिडी फर्काइदिनू । बच्चाहरूको सामुन्ने खोल्नु हँुदैन, लोग्नेस्वास्नीले मात्र हेर्ने । खतरा छ ।’
उसको सङ्केत बुझेपछि पर्दैन भनूँ जस्तो लागेको थियो, तर सित्तैमा पाएको चिज एकपटक हेरूँं न त सोचेर राखिहालेँ ।
बच्चाहरू सुतिसकेपछि त्यो सिडी कपी गरेँ, अनि रातभरि दोहो¥याई–तेह¥याई फिल्म हेरियो । भोलिपल्ट बच्चाहरूले थुप्रै गेमको सिडी मगाएर कपी गरे ।
यसप्रकार दसैँ छुट्टी भएपछि कम्प्युटरमा पालो लगाइयो– राति आपूm, दिनमा बच्चाहरू । कम्प्युटर रातदिन चल्न थालेकाले अलि ढिलोढिलो हँुदै गयो ।
एकदिन सबै सुतेपछि साथीले दिएको कागजको टुक्रा अगाडि राखेर इन्टरनेट खोल्न थालें । निद्रा लागिरहेको थिएन । कम्प्युटर ह्याङ भएकाले समयतर्फ ध्यान दिएँ; बिहानको पाँच बजिसकेछ । किबोर्ड, माउस चलेका थिएनन्; त्यसैले तार तानेर सुत्न गएँ ।
‘ए डेडी, उठ्नु–उठ्नु,’ बच्चा सातो जाने गरी गरायो ।
‘डिस्टर्ब नगर न ।’
‘केको डिस्टर्ब नगर्नु ? उठ्नुस् न, कम्प्युटर बिगारेर मस्तले सुत्न पाइन्छ ?’
‘के बिगारेँ ? कसरी बिगारेँ ?’ म हडबडाउँदै उठेँ ।
छोराछोरी दायाँबायाँ बसेर भन्न थाले– ‘हिजो साँझसम्म राम्रैसँग चलिरहेको कम्प्युटर अहिले चल्दै चल्दैन । राति तपाईंले के गरेर बिगार्नुभयो, ल भन्नु ।’
‘लल हिँड, चलाएर हेरौँ ।’
तीनै जना कम्प्युटर राखेको ठाउँमा पुग्यौँ ।
कम्प्युटर अन भयो तर विन्डोजमा नपुगेर बाटैमा सुत्यो । बच्चाहरू भन्न थाले– ‘ल ल भन्नु, राति कम्प्युटरमा केके चलाउनुभयो ?’
आफूले इन्टरनेटमा हेरेको कुरा बच्चाहरूको सामुन्ने भन्नलायक थिएन । के भन्नु के भन्नु, हडबडाउन थालेँ । बच्चाहरूले सोच्नेसम्म फुर्सद दिएका थिएनन् । कताबाट मेरो दिमागमा कम्प्युटरमा भाइरस लाग्छ भन्ने सम्झना आयो । मैले चुट्की बजाउँदै भने– ‘कम्प्युटर कसरी बिग्रियो बताऊँ तिमीहरूलाई ?’
‘भन्नुस्,’ दुवै जना एकैसाथ बोले ।
‘भाइरस भन्ने सुनेका छौ ? त्यसैले बिगा¥यो । बित्थामा मेरो सातो उडाइरहेका छौ ।’
‘कसले भन्यो भाइरसले यसरी बिगार्छ भनेर ?’
बच्चाहरूको कुराले जिल्ल परेँ, किनकि भाइरसले कसरी बिगार्छ, मलाई थाहै थिएन । तैपनि भनेँ– ‘कम्प्युटरको रोग भनेकै भाइरस हो भन्ने थाहा छैन ? यसो सिकाउन के पाए थे, मलाई त जोकरै सम्झिन थाले ।’
‘ठीकै भन्नुभो, कम्प्युटरको रोग भनेकै भाइरस हो, तर रोग लाग्नेबित्तिकै कामै गर्न छोड्दिन्छ भन्ने त हँुदैन नि !’
‘कम्प्युटरको भाइरस भन्ने रोग त्यस्तै होला नि त ?’
‘होला नि त भनेर हुन्छ ? हाम्रो स्कुलका कम्प्युटरलाई जहिले पनि कुनै न कुनै भाइरस लागेकै हुन्छ, यसरी कहिल्यै बिग्रेनन् । भाइरस लागेपछि बिस्तारै रन गर्ने फाइललाई बिगार्दै जान्छ; कम्प्युटरमा हजारौँ फाइल हुन्छन् र सबै बिग्रन निकै दिन लाग्छ ।’
‘भाइरस थुप्रै प्रकारका हुन्छन् ?’ म कुनै बहाना खोज्दै थिएँ ।
‘हो, हजारौँ किसिमका हुन्छन् ।’
‘तीमध्ये कुनै हार्टअट्याक जस्तो हुन्छ होला नि ।’ ठूलै तीर मारे जस्तो छाती फुलाएँ । किनकि कम्प्युटरभन्दा मलाई बच्चाहरूदेखि उम्कनु ठूलो कुरा थियो ।
‘अहँ, त्यस्तो हुँदैन । तपाईं सिधा कुरो गर्नुस्, कम्प्युटर कसरी बिग्रियो ?’
‘इन्टरनेरटमा कुरो गरिरहेको थिएँ । एकाएक माउस, किबोर्ड चल्नै छोडे । अनि त तारै थुतेर सुत्न हिँडेँ ।’
महाअष्टमीको दिन, मिस्त्री पाइने कुरै भएन । दसैँको रमझम बिग्रेको देखेर छोराछोरीको मुख निन्याउरो भयो । सान्त्वना दिन खोजेँ– ‘चिन्ता नगर बाबु, म तिमीहरूलाई घुमाउन लान्छु । कम्प्युटरको पसल खोलेकै दिन बनाउन लैजाउँला ।’
तर बच्चाहरू प्रत्येक दिन कम्प्युटर कसरी बिग्रियो डेडी भनेर जिस्क्याइराख्थे ।
पसल खुलेकै दिन गएर भनेँ– ‘ए दाइ, तपाईंले मलाई कम्प्युटर दिनुभएको हो कि
धोका ? दसैँको छुट्टी हुनु र तपाईंको कम्प्युटर बिग्रनु एकैसाथ भयो । त्यसले बच्चाहरूको दसैँ नै बिगारिदियो । डुप्लिकेट भिडाउनुभएको हो ?’
पसलेले एउटा मिस्त्री पठाइदियो ।
मिस्त्री कम्प्युटर हेर्न थाल्यो ।
म बीचबीचमा ‘के भएको रहेछ भाइ’ भनेर सोधिरहेको थिएँ ।
मिस्त्री भन्दै थियो– ‘हेर्दै छु दाइ, चुपचाप बस्नुस् न । बनाइसकेपछि के भएको थियो भन्छु ।’
मिस्त्रीले कसरी बनाउँछ हेर्न थालेँ । ऊ केके गरेर रिस्टोरमा पुग्यो । अनि एउटा कागजको टुक्रा निकालेर लेख्दै गयो, बनाउँदै गयो । करिब एक घन्टाजति लगाएर कम्प्युटर बनायो ।
मैले भनेँ– ‘साहूले डुप्लिकेटै भिडाएछ, हैन त भाइ ?’
उसले दायाँबायाँ टाउको हल्लाउँदै भन्यो– ‘हैन ।’
‘अनि यति छिटै कसरी बिग्रियो त ?’
उसले बनाउँदाखेरि लेखेको कागज निकालेर हेर्दै भन्यो– ‘कम्प्युटरमा गेम, गाना, सफ्टवेयर, ब्लु फिल्म जस्ता थुप्रै फाइल राख्नुभएछ । अनि इन्टरनेट चलाएर अश्लील तस्बिर हेर्ने काम पनि गरिँदो रहेछ ।’
‘हैन भाइ, तपाईंले भनेजस्तो मेरो कम्प्युटरमा केही हुँदैन । मलाई भ्रममा पार्ने कोसिस नगर्नुस् । भन्नुस् यति छिटै कसरी बिग्रियो ?’ आपूmमाथि अर्को झन्झट आइलागेकाले उम्कन खोजेँ ।
‘मैले पाएको जानकारीअनुरूप इन्टरनेटमा अश्लील दृश्यहरू खोलिनु र ओभरलोड हुनु हो । पत्याउनुहुन्न भने तपाईंका बच्चाहरूलाई बोलाउनुस् ।’
बच्चाहरू भन्नेबित्तिकै तर्सें । बडबडाएँ– ‘कि.. कि.. किन चाहियो बच्चाहरू ? उनीहरू मामाघर गएका छन् ।’
‘एरोप्लेन जस्ता ठूलठूला गेम र इन्साइक्लोपिडिया, अटोक्याट जस्ता ठूला प्रोग्राम अनि थुप्रै गाना, फिल्महरू कपी गरेकाले स्लो हुँदै गएको हो । इन्टरनेटबाट अश्लील फोटाहरू डाउनलोड गर्दा थुप्रै भाइरस आएको हो । त्यसैले गर्दा कम्प्युटर बिग्रेको हो ।’ मिस्त्रीले दृढ विश्वास देखाउँदै मतिर हे¥यो ।
‘बच्चाहरूलाई सफ्टवेयर चाहिएमा के गर्ने त ?’
‘चाहिनेजति सफ्टवेयर राख्न सक्नुहुन्छ । फिल्म, गानाहरू ल्याएपछि सिडीबाटै हेर्नुस्, इन्टरनेट चलाएमा नचाहिँदा पेज नखोल्नुस् । फेरि यही पाराले बिग्रेमा कम्प्युटर लिएर पसलमै आउनुहोला ।’
मिस्त्रीका कुरा सुनेपछि मेरा आँखा कम्प्युटरतिर सोझिए, ‘मिस्त्रीसँग पोल लगाउँदो रहेछ’ भन्ठानेर मुरमुरिएको थिएँ । यत्तिकैमा बच्चाहरू सम्झेँ, खेल्न गएका थिए । उनीहरू चाँडै आइपुगेमा आप्mनो पोल खुल्ने डरले मिस्त्रीलाई ट्याक्सी खर्च दिएर हतारहतार बिदा गरेँ ।
– बिहीबार, 20 श्रावण, 2067
(स्रोत : Samakalinsahitya.com)