~बलभद्र भारती~
वि.संं २०३९ सालदेखि कविताप्रधान त्रैमासिक प्रकाशनको रूपमा ‘नवकविता’ बजारमा आउन थालेको हो । यसले आफ्ना उषाकालीन संकट र व्यवधानहरूसँग त लडिसकेकै छ, यद्यपि वर्तमान समयसन्दर्भका थुप्रै चुनौतीहरू भने यसका लागि भयंकर सावित भएका छन् । हालसम्म जम्माजम्मी ५२ अंकसम्मका सबै प्रकाशनहरू मैले पढ्ने अवसर पाएको छैन तापनि भर्खरै प्रकाशित ५० अंकको “नेपाली प्रगतिशील कवि र कविता विशेषाड्ढ– २०५८” राम्ररी पढ्ने अवसर पाएँ । जम्मा ५८ जना स्रष्टाहरूको कविता अंकित प्रगतिशील कविता विशेषाड्क ‘नवकविता’ के साँच्चै प्रगतिशील कविहरूको प्रतिनिधि अंक बन्यो ? यसबारे गम्भीरतापूर्वक विश्लेषण गर्नु आवश्यक छ ।
अधिकांश स्रष्टाहरू प्रगतिशील फाँटमा क्रियाशील व्यक्तित्व त हुनुहुन्छ तर कतिपय स्रष्टाहरू जो आज आफूलाई प्रगतिशील वा वामपन्थी भन्ने विशेषण लगाउ“दा “भूत” देखेर तम्सेझैं बाह्र हात पर भाग्न खोज्छन्, उनीहरू समेत यस विशेषाड्ढमा प्रगतिशील बनेको देख्दा मलाई अचम्म लागेको छ । यस विशेषांकको यो एउटा पक्ष हो । अर्को पक्ष चाहिं सिद्धान्त, नीति, आदर्शभन्दा तत्कालीन वस्तुस्थितिको वरपर भावुकतामा डुबेर आँसु बगाउने र त्यही आँसुलाई राष्ट्रको “मूलधार” मान्ने अप्रगतिशील चिन्तनका धनी “प्रगतिशील” कविहरूको राजभक्ति हो । यसरी हेर्दा ‘नवकविता’को ‘प्रगतिशील कविता विशेषाड्ढ’ राजभक्ति कविताको एउटा खण्ड बन्न पुगेको छ । यो मेरो आफ्नै विश्लेषण हुनसक्छ । तर कदापि म भावुकतावश आदर्शबाट भाग्ने कुरालाई प्रगतिशील धारा मान्न तयार छैन ।
प्रस्तुत अंकमा समावेश गरिएकामध्ये धेरै कविताहरू राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई विभिन्न ढंगले प्रस्तुत गरिएका कविताहरू हुन् । कतिपय कविताहरूले राजनीतिक नेताहरूप्रति व्यङ्ग्य प्रहार गरेका छन् भने केहीले राष्ट्रिय सीमाअतिक्रमणका पीडाहरूलाई पनि दर्शाएका छन् । यसैक्रममा ‘खुर्दलोटन’ बा“धको विषयमा कवि अग्निशिखाले राम्ररी विश्लेषण गरेर राष्ट्रियतामाथिको प्रहारलाई केलाएका छन् । कवि अग्निशिखा भन्छन् ः
कतै सीमानामा भने चुपचाप कोही
‘खुर्दलोटन’ बाँध्न थाल्छ
मर्चवारको खुर्दलोटनभन्दा बढी
आफैंभित्रको खुर्दलोटन खतरनाक छ ।
(खुर्दलोटन)
कविले “बूढी मरी भन्नुभन्दा पनि काल पल्क्यो” भन्ने कुराको राम्ररी चित्रण गरेका छन् । भारतले नेपालमाथि अनेकौं गिद्धे नजर लगाएको कुरालाई “खुर्दलोटन” कविताले उजागर गरेको छ । यतिमात्र होइन हाम्रा “राजनेता”हरूको राष्ट्रघाती भावना झाड्डिदै गएकोमा कवि दुःखित हुँदै “आफैंभित्रको खुर्दलोटन खतरनाक छ” भन्ने कुरा ओकल्छन् र “काल पल्केको” विषयमा पनि बारम्बार चर्चा गर्छन् । यो कुराले राष्ट्रियताप्रति कविको अडानलाई स्पष्ट गर्दछ ।
यसैगरी कवि अतृप्त पाण्डेयले कवितामा नक्कली प्रजातन्त्रलाई मछिन्द्रनाथको भोटो जात्रासँग तुलना गरेका छन् र दुवैको चरित्र मिल्दोजुल्दो छ भन्ने कुरालाई देखाएका छन् । प्रजातन्त्र मछिन्द्रनाथको भोटोझैं कमाउने भाँडो बन्दै गइरहेको कुरालाई कविले राम्ररी उजागर गरेका छन् ।
कवि अनिल पौडेल, अमर गिरी, आर.आर. चौलागाईं, आहुति, इच्छुक, ईश्वरचन्द्र ज्ञवाली, ऋषिराम न्यौपाने, कणाद महर्षि, कुन्ता शर्मा, केवलपुरे किसान, गोविन्द वर्तमान, घनश्याम न्यौपाने ‘परिश्रमी’, नारायण ढकाल, नारायणप्रसाद शर्मा, पुरुषोत्तम सुवेदी, पूर्ण वैद्य, पूर्ण विराम, वम देवान, बलभद्र भारती, बुद्ध सायमी, भवानी घिमिरे आदिका कविताहरूले पनि वर्तमान समयको छटपटी, पीडा, व्यथा, वेदना र सुस्केराहरूलाई चित्रण गर्ने प्रयत्न गरेका छन् । कवि अमर गिरीको कविता, धेरै कविताहरूको तुलनामा माथि छ भन्ने मलाई लागेको छ । कवि गिरी भन्छन् ः
एउटा सिंहदरबार छ
जहाँबाट जारी हुन्छ
शासनको फरमान
र पचहत्तर जिल्लाका
साना सिंहदरबारहरू
तयार हुन्छन्
फरमानको तामेली गर्न
तर सिंहदरबारको शासकीय कक्षमा
जिसस क्राइस्टलाई झैं
क्रसमा टाँगिएको छ स्वतन्त्रतालाई
र न्यायलाई ।
(तर पनि हामी जीवित छौं)
जिसस क्राइस्टलाई झैं देशको स्वतन्त्रता शुलीमा टाँसिएको छ, तर बाहिर स्वतन्त्रताको फरमान जारी गरिएको छ भनेर कविले वर्तमान प्रजातन्त्रको फासिष्ट रूपलाई राम्ररी उजागर गरेका छन् । कवि अमर गिरी नेपाली प्रगतिशील कविहरूकै औंलामा गनिने कविमा पर्छन् भन्ने मलाई लाग्छ । कवि गिरीको सबैभन्दा राम्रो विशेषता त के हो भने उनी “शब्दका राम्रा खेलाडी” हुन् र उनले शब्दलाई उचित स्थान दिन यहाँ पनि पछि परेका छैनन् । यसैगरी कवि इच्छुक पनि राम्ररी आफ्नो कवित्वलाई चिन्दछन् र चिनाउन सक्षम छन् भन्ने कुरा उनको “लालमटियाको सम्झना” कविताले स्पष्ट गर्दछ । कवि इच्छुकले आफ्नो बाल्यकाल लालमटियामा बिताएको र आफू त्यहीँबाटै लालचेतना बोक्न थालेको स्मरण गराउँछन् । कवि इच्छुकले लालमटियाको सम्झना साँच्चिकै संस्मरणात्मक निबन्धमा दिन सके अझ राम्रो हुन्थ्यो र उनको बाल्यकालको सूक्ष्म विश्लेषण पनि त्यसमा आउन सक्दथ्यो भन्ने मलाई लाग्दछ । उनको बाल्यकालको झझल्को दिने यो कवितामा आफ्नो प्राथमिककालीन विद्यालय जीवनलाई “नालन्दा विश्वविद्यालय” भनेर आफ्नो ज्ञानको प्यास मेटाउने संस्थाको रूपमा लिएका छन् । “नालन्दा विश्वविद्यालय”लाई पूर्वीय ज्ञानभण्डारको आदि सभ्यता नै मानिन्छ । कवि इच्छुकले पनि “सभ्यताको आदिकाल”सँग आफ्नो लालमटियाको तुलना गरेका छन् । लालमटिया केवल लालमटिया मात्र छैन, त्यहा“ वर्गसंघर्षको तीब्र महाभारत चलिरहेको छ भन्ने कुरालाई पनि उजागर गरेको छ कविताले । कवि भन्छन् ः
हरक्षण स्वेतआतंकले छापा मारिरहन्छ मन
रुपकोट र देवीकोटले पनि रणभेदी बजाउँदै
वर्गवैरीसँग रणघोष गरिरहेको सुन्छु
युद्धभूमि जस्तै द्वन्दमय लाग्छ
लालमटियाको लालसम्झना अहिले ।
(लालमटियाको सम्झना)
युद्धभूमिजस्तै द्वन्दमय भनेर कविले वर्तमान जनयुद्धलाई इंगित गरेका छन् । वर्गसंघर्षको तुफानीकेन्द्र भनेर पनि त्यसलाई परिभाषित गरेका छन् यस कवितामा । नेपाली विद्रोहलाई नै लक्षित गरेर कवि ईश्वरचन्द्र ज्ञवालीले पनि “जेल विद्रोहका नायिकाहरू” कवितामा भनेका छन् ः
आफ्नो शहीद कोटा चुक्ता गर्ने संकल्प र आँट गरेर
रणभूमि बनाएर जीवनलाई
रणाड्डना बनेका कमला, उषा, …. हरू
अभिवादन तिम्रो निष्ठालाई ।
(जेलविद्रोहका नायिकाहरू)
वर्तमान जनयुद्धमा शहीद कोटा चुक्ता गर्ने संकल्प र आँट गरेर गोर्खा जेल ब्रेक गर्ने नायिकाहरू साँच्चै आस्थाका महान् व्यक्तित्व हुन् र यिनले देखाएको मूलबाटो क्रान्ति र परिवर्तनको बाटो हो भन्ने कुरा कवि ज्ञवालीको कविताले स्पष्ट गरेको छ । कवि ज्ञवाली वर्तमान विद्रोहप्रति आस्थावान् र साँचो अर्थमा जनगणतन्त्र नेपालको स्थापनाको अभियानमा जुटेका कलमबीर कवि हुन् । कवि ज्ञवाली अहिले आस्थाकै आधारमा जेलको कालकोठरी भोगिरहेका छन् र यो बेलामा उनी सरकारको कालो सूचीमा “आतंकवादी”को रूपमा थुनिएका छन् । आज फासिष्ट सरकारले थुप्रै थुप्रै निर्दोष आस्थाका बन्दीहरूलाई जेलमा सडाएको छ र बाहिर प्रजातन्त्रको राग अलापेको छ । कविहरूले आस्थाको लडाइँ लड्नुपर्छ भन्ने कुरा कवि ज्ञवालीले आफैं उदाहण बनेर देखाएका छन् ।
कवि ईश्वरचन्द्र ज्ञवाली, इच्छुक, यज्ञबहादुर डाँगी, पूर्ण विरामलगायत अन्य थुप्रै कविहरूले वर्तमान विद्रोह र जनगणतन्त्र नेपालको पक्षमा आफ्नो आस्था प्रकट गरेका छन् ।
“जनगणतन्त्र नेपाल” अहिले नै चाहिन्छ भनेर घाँटी फुलाउने, “चैत्र ५” कविताबाट “रगत खेर जानेछैन” भनेका कवि दुर्गालाल श्रेष्ठले “नवकविता”मा आएर त्यसको ठीक विपरीत गणतन्त्र होइन, राजतन्त्र– जिन्दावादको नारा घन्काएका छन् । उनी भन्छन् ः
‘शान्तिक्षेत्र’को त्यो प्रस्ताव
यति सुन्दर त्यो स्वप्न थियो
हुन्छ अझै पनि सब झलझली
गर्भैमा त्यो किन तुहियो ?
(वीरेन्द्र– स्वर्गारोहण)
कवि राजा वीरेन्द्रको स्वर्गारोहणबाट दुःखित त छन् नै, त्यसभन्दा पनि बढी पञ्चायतकाललाई टिकाइराख्न ल्याइएको “शान्तिक्षेत्र नेपाल”को प्रस्ताव तुहिएकोमा उनी दुःखित छन् । कविले राजभक्तिका साथसाथै पञ्चायतभक्ति देखाउन पनि चुकेका छैनन् । राष्ट्रिय अभियान, उत्तापक, जलप्लावक, सिन्धुमयी, देशैको हंस जस्ता विशेषणहरू राजा वीरेन्द्रका खातिर उनले प्रयोग गरेका छन् यस कवितामा । “प्रबुद्ध प्रगतिशील” कवि भनिने व्यक्तिको यो कस्तो दयनीय हालत ⁄ यही विचार नै बहन गर्नु थियो भने “प्रगतिशील”, “वामपन्थी” आदि हुने र भनिने विवादको चक्करमा पर्नुको कुनै औचित्य छ जस्तो मलाई लाग्दैन । कवितालाई कविको आस्था, विचार र सिद्धान्त बाहेक उनले कुन तत्व मानेका छन् ? कविता विचार हो, आस्था हो, सिद्धान्त हो र साथसाथै कला पनि हो । उनको राजा वीरेन्द्रप्रति आस्था थियोे भने “शान्ति क्षेत्रको त्यो प्रस्ताव” तुहिएकोमा दुःखित नहुनु पथ्र्यो भन्ने मलाई लाग्दैन । कुनै व्यक्तिलाई कति महत्व दिने वा नदिने भन्ने कुरा उसको आस्थामा भर पर्छ । जहाँसम्म कवि दुर्गालाल श्रेष्ठको कुरा छ, उनले त्यही कवितामा पनि “वामपन्थीको हुँ म पथिक” भनेर कविता शुरु गरेका छन् । कसले के भन्छ भन्ने कुरा महŒवपूर्ण कुरा होइन, कसले के गर्छ त्यो महत्वपूर्ण हुन्छ । कवितामा व्यक्त विचार दुर्गालाल कविको विचार हो, वामपन्थी दुर्गालालको होइन भनेर कि त पन्छिने कुरा गर्नुप¥यो अन्यथा कविताले कविको श्रीबृद्धि होइन, निहुरमुन्टी लगाएको छ र उनलाई अर्को कित्तामा उभ्याएको छ । दुर्गालाललाई “महान् प्रगतिशील” कविको उपाधि थमाउन पनि पछि नपर्ने समालोचकहरूले उनको यो कविता राम्ररी पढ्न आवश्यक छ । पारिजातलाई पतनशील हुँदै गएको देख्ने तर दुर्गालाललाई “उच्च प्रगतिशील” मान्ने कतिपय व्यक्तिहरूको सोचाइमाथि यो कविताले झापट हानेको छ । कवि दुर्गालाल भन्छन् ः
आज मलाई हुनुपर्नेथ्यो
धेरै खुकुलो भार भयो,
किन्तु मनमनै यति खुरमुरिए“
मानौं मूलधार गयो ⁄
(वीरेन्द्र स्वर्गारोहण)
“मूलधार गयो” भनेर कविले राजसंस्थालाई नेपाली जनताको मूलधार बताएका छन् । पहिलो पल्ट एउटा वामपन्थी कवि कहलिएको व्यक्तिले राजसंस्थालाई यसरी मूलधार भनेर संबोधन गरेको कविता पढ्ने मौका पाएको छु मैले । त्यसकारण “नवकविता”को ५० औं अंकलाई प्रगतिशील कविताको विशेषाड्ढ भनिए पनि सम्पूर्णतः प्रगतिशील कविताहरू यसमा छैनन् भन्ने कुरा मैले भन्नैपर्छ ।
प्रस्तुत संग्रहमा लोकेन्द्र विष्ट, लीलाधर गौतम, गंगा श्रेष्ठ, राजकुमार के.सी., नन्दु परिश्रमी, मोहनविक्रम सिंह लगायत अन्य थुप्रै थुप्रै प्रगतिशील, माक्र्सवादी कविहरूका रचना समावेश हुनसकेको भए अझ राम्रो हुनेथियो । तर कतिपय प्राविधिक वा सूचनाका अभावमा यी लगायत यस्ता अन्य रचनाकारका रचनाहरू समावेश हुन नसकेकोमा दुःख लागेको छ ।
विशेषांकको अर्को विशेषता के भएको छ भने यहा“ दिइएका कैयौं रचनाहरूमध्ये वरिष्ठ कविहरूका रचनाहरूबाट त्यति सन्तुष्ट हुन सकिंदैन । जति नै भने पनि हरेक कुरामा कमजोरी पक्ष त अवश्य हुन्छ तर न्यून कमजोरीका लागि पत्रिकाले क्षमा पाउन सक्दछ ।
कवि महेश मास्के, मञ्जुल, मनरूप नेप्च्युन, मातृका पोखरेल, मित्रलाल पंज्ञानी, मीन द्वन्दी, मीनबहादुर बिष्ट, मोदनाथ प्रश्रित, मोहन दुवाल, यज्ञबहादुर डाँगी, राजभाइ जकःमि, राजव, रामचन्द्र भट्टराई, रामप्रसाद ज्ञवाली आदिका रचनाहरू विभिन्न परिवेश र बिम्बविधानमा बा“धिएका सुन्दर कविताहरू हुन् भन्ने मलाई लाग्दछ । मोदनाथ प्रश्रितको ‘को भूपरिवेष्ठित ?’ कविता पनि ज्यादै मार्मिक कविता हो भन्ने मलाई लाग्छ । प्रश्रितले आफ्नो कवितामा भनेका छन्् ः
अरूका नदीको बाटो रोक्ने
साझा धनलाई बपौती ठान्ने
धर्तीमा लाउने का“डेतार र पर्खाल
ए छिमेकी घमण्डी ठुल्दाइ ⁄
हैनौं हामी भूपरिवेष्ठित
तिम्रो दिमाग हो बालुवा–वेष्ठित ⁄
मध्ययुगीन खु“खार आकांक्षा–वेष्ठित ⁄
(को भूपरिवेष्ठित ⁄)
कुन कुरालाई कविले राम्ररी बुझेका छन् भने भारतमा जाने गंगा–जमुना नदीको उद्गमस्थल नेपाल हो र हिमालयको काखबाट बगेको पानीले नै भारतका बन्जर मरुभूमिहरूको सिञ्चन हुन्छ । महाकाली, टनकपुर चाहे जुनसुकै नदीहरू पनि नेपालका सम्पत्ति हुन् र यसमा ‘ठुल्दाइ’ का गिद्धेदृष्टि परेको छ भनेर कविले व्यक्त गरेका छन् । यो कविता महाकाली सन्धि हुनुभन्दा अगाडि लेखिएको हो वा पछाडि ? उल्लेख गरिएको भए अझ राम्रो हुन्थ्यो । महाकाली सन्धि गरेर आमाको काखमा पिसाब फेर्नेहरू नेपाल आमाका सच्चा सन्तान हुन सक्दैनन् । कविले सच्चा हृदयले कविता लेखेका हुन् भने उनले सो सन्धिको विरोध पनि गर्न सक्नुपर्छ । हामी त्यसको प्रतीक्षा गर्न सक्छौं । तर कविता मार्मिक र सुन्दर लेखेर षड्यन्त्रकारी अभियानमा सामेल हुने हो भने यस्तो गर्नु कविकर्मले दिंदैन भन्छु म । त्यसकारण हाम्रा प्रबुद्ध कवि प्रश्रितज्यू धेरै राम्रो कविता लेखेर पनि नेपाली जनताको मन जित्न सफल हुनुभएको जस्तो लाग्दैन । तर जेहोस् उहा“ले ‘ठुल्दाइ’ (भारत)लाई ‘तिम्रो दिमाग हो बालुवा–वेष्ठित ⁄’ भनेर ललकार्नु भएको छ । यो धेरै गौरव गर्नुपर्ने कुरा हो जस्तो मलाई लाग्छ ।
कवि रामविनय, ललिजन रावल, लीला उदासी, वासुदेव अधिकारी, विक्रम सुब्बा, विजय सुब्बा, विमल निभा, विवश वस्ती, वेणु आचार्य, शार्दूल भट्टराई, सुरेश किरण, स्नेह सायमी, हरिगोविन्द लुइँटेल एवं हीरा आकाशका कविताहरू पनि प्रस्तुत अंकमा संग्रहित छन् र यी कविहरू वर्तमान समयका प्रगतिशील धाराबाट कलम चलाउने राम्रा कविमध्ये पर्दछन् भन्नु कुनै अन्यथा हुँदैन । खासगरी रामचन्द्र भट्टराई, पूर्ण विराम, विजय सुब्बा, विमल निभा धेरै लामो समयदेखि स्थापित कवि हुन् र यिनीहरूले लेखेका कविता अवश्य नै राम्रा हुन्छन् भन्ने धारणा सबैमा बसिसकेको छ ।
वर्तमान समयलाई कवि मातृका पोखरेलका कविताहरूले पनि निकै राम्ररी प्रतिबिम्बित गर्दछन् । प्रस्तुत संग्रहमा समावेश कवितामा ‘म तिम्रा कविताको विरुद्धमा लेख्छु’ भनेर कविले अर्को कुनै कविको विरुद्ध आफ्ना अभिव्यक्तिहरू व्यक्त गरेका छन् । उनी भन्छन्ः
अचेल जनता तिम्रा कविता बुझ्दैनन्
तिमी दरबारकै जस्तो कविता लेख्छौ
या जनताले नबुझ्ने कविता लेख्छौ
हरेक वस्तुका दुई कित्ताहरूझैं
अचेल तिमी एउटा कित्ताको पक्षमा लेख्छौ
म अर्कै कित्ताको पक्षमा बोल्छु ।
(म तिम्रा कविताको विरुद्धमा लेख्छु)
‘अचेल’ शब्दले स्पष्ट गर्छ कि त्यो कवि पहिले कवि मातृकाकै विचारको कवि थियो । अथवा अर्को अर्थमा भन्नुपर्दा अहिले भर्खरै मात्र त्यो व्यक्ति बिग्रिएर दरबारिया भएको छ । यो एउटा प्रवृत्ति हो, मूलधार होइन । मैले माथि व्यक्त गरेको कवि दुर्गालालको विषयसँग कवि मातृकाले संकेत गरेका छन् कवि मातृका पनि दरबारिया कविहरूलाई ‘अचेल’ वामपन्थी शिविर छाडेर भागेका व्यक्तिको रूपमा देखिरहेका छन् । मातृका पोखरेल अझ स्पष्टरूपमा अर्कै प्रसङ्गलाई जोड्दै हिलारी क्लिन्टनको भजन गाउने भाटहरूको बारेमा यसरी लेख्छन् ः
मेची, महाकाली लुटिएको बेला
कसरी लेख्न सक्छु हिलारी क्लिन्टनको महिमा
तिमी जति गाली गर्छौ गर
म कविताको इज्जतका लागि लेख्छु
म तिम्रै कविता विरुद्धमा लेख्छु ।
(म तिम्रा कविताको विरुद्धमा लेख्छु)
कविले महिमागान, स्तुतिगान र भजनिया मण्डलीहरूलाई कविताको बेइज्जत गर्ने व्यक्तिको रूपमा उभ्याउँदै आफूले कविताको इज्जतको लागि लेख्ने गरेको कुरा स्पष्ट गरेका छन् । यसरी थुप्रै थुप्रै कविताहरूमा प्रगतिशील भावधाराको बहाव वेगमय देख्न सकिन्छ – ‘नवकवितामा ।’ यति हुँदाहुँदै पनि कैयौं कविताहरू भने वर्तमान यथास्थितिको सामान्य चर्चासम्ममा सीमित रहेका छन् र त्यस्ताखाले कविताहरू भोलिका लागि नभए पनि आजका लागि केही विसंगतिको विरोधमा उपयोगी सावित हुन सक्छन् । यसरी वर्तमान समयलाई साँच्चिकै चिन्ने, त्यसलाई विश्लेषण गर्ने र कलात्मक ढाँचामा ढाल्ने कविहरूमध्ये राष्ट्रियस्तरका थुप्रै व्यक्तित्वहरू यसमा देखिन सक्दछन् । नेपाली प्रगतिशील कविता फाँटमा त झनै त्यसको संभावना बलियो छ भन्ने कुरा प्रस्तुत ‘नवकविता’ को विशेषांड्ढले नै पनि सावित गरिसकेको छ ।
वर्तमान समयलाई राम्ररी चित्रण गर्ने सन्दर्भमा कवि हीरा आकाशले ‘सुखानी’ कविताबाट आफ्ना योद्धाहरूको सम्झना अझ पनि गरिरहनुभएको छ । कविले सुखानीलाई वर्तमान जनयुद्धसँग जोडेर थप कुरा दिनुभएको भए अझ कविता राम्रो हुन्थ्यो कि भन्ने मलाई लाग्दछ । झापाको ‘सुखानी’ जंगलमा मारिएका योद्धाहरू अहिले रक्तबीज बनेर लडिरहेकै छन् भन्ने हामीले बुझ्नुपर्दछ भन्ने मलाई लाग्दछ । कवि भन्छन्ः
त्यो रात रातभरि सुखानी रोइरह्यो
यसकारण होइन कि उसकै अगाडि
उसकै काखमा उसका सपूतहरूलाई
अत्यचारीले निर्मम हत्या गरेका थिए
वास्तवमा सपूतका रगतले
सुखानीले गर्भाधान गरिसकेको थियो
र प्रसवपीडाले
ऊ रात–रातभरि छटपटिइरह्यो, सुँक्सुकाइरह्यो
र सँगसँगै सुसाइरह्यो
माइखोला पनि ।
(सुखानी)
कविले सपूतका रगतले सुखानीले गर्भाधान गरिसकेको थियो भनेर व्यक्त गरेको विचार के वर्तमान सपूतहरूको सन्दर्भमा मिल्न सक्छ ? अवश्य । नेपाली धर्तीले धेरै सपूतहरूको वलिदान मागेकी छन्, जो वास्तवमा वर्तमान जनयुद्धले पूरा गरिरहेको छ भन्ने लाग्छ । यद्यपि जनयुद्धका आफ्नै धेरै कमीकमजोरी र समस्याहरू छन्, जसलाई सम्बन्धित पक्षले हटाउनै पर्ने आवश्यकता छ । यसैगरी कवि यज्ञबहादुर डाँगीले पनि आफ्नो कवितामा सुखानीकै प्रसंग उठाएका छन् । उनी भन्छन् ः
मलाई थाहा छ
काला शालिकहरूको इलाका
मलाई थाहा छ मेरो प्रवेश
भ्रष्ट प्रगन्नामा छ
चिन्छु, यो भिमानको जंगल
यो सुखानीको वन
यो बगिरहेको त्रिशुली नदी पनि भर्खरैदेखि चिन्छु ।
(यात्रा जारी छ मेरो)
कविले प्रतिक्रियावादीहरूको स्वेत इलाकालाई काला शालिकहरूको इलाका भनेका छन् । यसैगरी भिमान र सुखानी पनि कविको नजरमा छ र उनी यसलाई आफ्नो प्यारो भूमिको नामले चिन्दछन् ।
कवि विजय सुब्बा आफू पनि राजनीतिक व्यक्तित्व हुन् र कवि पनि । उनले ‘राजनेताहरू’ कवितामा वर्तमान राजनेताहरूलाई आलोचना गरेका छन् । कवि भन्छन् ः
यौटा यस्तो जनगुनासो छ
त्यो भनेसुनिराख
“देश र जनता अझै मर्नुभन्दा
झुट राजनेताहरूचाहिं मरे हुन्छ ।”
(राजनेताहरू)
कविले झुट राजनेताहरूलाई ‘देश र जनता मर्नुभन्दा बरु तिमीहरू नै मर्नु वेश हुन्छ’ भनेर कडा शब्दमा विरोध र घृणा व्यक्त गरेका छन् । कविले भ्रष्ट नेताहरू स्वाद चाखेर मोटाएका छन् भनेका छन् । बहुदलीय राजनेताहरूको मकुन्डो उतार्ने काममा कवि विजय सुब्बाको कविताले धेरै भूमिका खेल्न सक्दछ भन्ने लाग्दछ । हामीकहा“ ‘जो चोर उसकै ठूलो स्वर’ भन्ने उखान छ । म कवि विजय सुब्बालाई त्यही तहमा राखेर यसो भन्न सक्दिन । उहाँले जे लेख्नुभो त्यो धेरै आवश्यक थियो, त्यसको शोधपूर्ति उहाँले गर्नुभएको मात्रै हो भन्ने मलाई लाग्दछ ।
यसरी धेरै राम्रा कविताहरू नवकवितामा भए पनि थुप्रै थुप्रै रचनाकारहरू भने अझै यसमा पर्न सकेका छैनन् । यहाँ मैले यस विषयमा जे जति लेखें, इमानदारीपूर्वक भन्नुपर्दा समालोचकीय नजरबाट लेखिन । यो मेरो समालोचना होइन । यसर्थ कि म समालोचक होइन । यौटा कविको नजरमा कविताहरू कस्ता लाग्दछन् मैले त्यतिमात्र संकेत गर्न खोजेको हुँ ।
कलात्मक दृष्टिले धेरै कविताहरू राम्रा छन् तर उच्च कलात्मक भने थोरै मात्र । कलात्मक हुनु र उच्च कलात्मक प्रतिबिम्ब झल्काउन सक्नु तथा पाठकहरूलाई सम्वेदित पार्न सक्नु धेरै फरक कुरा हो । धेरै कविहरूमध्ये प्रश्रितको कविताले मलाई धेरै सम्वेदित पार्छ र यो माथिको उल्लेखित कविताले पनि धेरै सम्वेदित पारेको होे । यसैगरी इच्छुकको ‘लालमटियाको सम्झना’ र अमर गिरीको ‘तर पनि हामी जीवित छौं’ धेरै राम्रा छन् । कतिपय कविताहरूमा भाव दोहोरिएका छन् र त्यसो हुनु कविको पुनरावृत्ति दोष हो । पुनरावृत्ति दोषलाई राम्रो भन्न सकिन्न । सबैभन्दा अक्षम्य दोष भनेको दृष्टि दोष हुनु हो । यस्ता थुप्रै समस्याहरू प्रस्तुत अंकमा छन् तर त्यसलाई सम्पादकले होइन, कविले हटाउनुपर्ने आवश्यकता छ ।
समग्रमा नवकविता २०५८ को प्रगतिशील कविता विशेषांक राम्रो छ, अझ यसले गुणात्मक उपलब्धि हासिल गर्न सफल होस् भन्ने शुभकामना प्रकट गर्दछु ।
–कीर्तिपुर, काठमाडौं
२०५८ पुस ६ ।
(स्रोत : वेदना साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६५, वर्ष २९, अंक १, असार २०५९ )