~ईन्द्र नारथुङ्गे~
रातको तेश्रो प्रहर
निक्कै टाढा
एउटा भाले बास्यो
कुखुरी काँ….
सधैं झैं
ऊ बास्यो
र, फेरी पनि बास्यो
कुखुरी काँ ….
भाले बास्नु
उस्को दिनचर्या
या भनौ
भाले हुनुको कर्तब्य
ऊ बास्नुमा
न कसैले स्याबासी नै दिन्थे
न कसैले कृतज्ञतानै जनाउथे
बरु
निन्द्रा खल्बिलिएकामा धेरै कुम्भकर्णहरु
सत्तो सराप गर्थे
‘स्यालको भूँडी भरेस्’
अहो ! आज अनौठो भो
भालेको पहिलो डाँकोमा
गावै जर्याक जुरुक्क उठ्यो
युवा-युवती, बुढा-बुढी, केटा-केटी
सबै-सबै
पूर्वी छितिजमा देखियो
एक सुनौलो आभा
र, घर-घरमा
डिबियाको दुधिया रोशनी
हिजोसम्म
नशाको तालमा गाँड फुलाउनेहरु गर्जिए
उज्यालो भो ….
साँच्चै,
धर्तीभरी कान्ति फैलियो
उज्यालोको पदचिन्ह खप्ट्याउदै
एक हूल
कुटो कोदालो लिएर
मक्किएको जरा उखेल्न कान्लामा उक्लिए
अर्को हुल
सगुनको जल बोकेर फुस्रो माटो भिजाउन हतारिए
विस्तारै तेस्रो हूल
छाँट-काँट मिलेको
बिरुवा लिएर
देखा पर्छन्
अचम्म !
हिजो आफू-आफू
खोसामारी, लुछाचुँडी
हानाहान, मारामार गर्नेहरु
शान्त, सौम्य भएर
आत्मियता दर्शाइ रहेका छन्
न चर्काचर्की
न भनावैरी
एका देशको महामानवहरु झैं
आफ्नो कर्तब्य निर्वाह गर्नमै
पुरानोलाई भत्काएर
नयाँ रेखाचित्र कोर्नमै
मस्त छन्
व्यस्त छन्
रिमालले भने झैं
एक युगमा बल्ल आई पुगेको एक दिन
चैत्र अठ्ठाईस
यानेकी
कुखुरी काँ ….
(स्रोत : HkNepal.com)