व्यङ्ग्य निवन्ध : बाबुराम रणनीति: ‘हुलास’ले भारत रिझाउने, ‘मुस्तांग’ले चीन फकाउने

~मनोज गजुरेल~Manoj Gajurel

‘पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापादेखि, शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्ड र झलनाथ खनालसम्मले करोडौं पर्ने प्राडो र पजेरो चढिरहेका छन्।

तर भट्टराईजीले जाबो सोह्र लाखको गाडीमा चढेर हिंसात्मक संकेत दिएका छन्।

महंगा गाडी डाँडाकाँडामा गुड्न नसक्ने भएकाले माओवादी फेरी जंगल फर्किनकालागि ‘मुस्ताङ्’जस्तो सस्तो र सजिलो गाडी लिएको हो भन्ने हाम्रो आशंका छ।

मुलधारको राजनीतिमा नआएसम्म प्रधानमन्त्री र उनको पार्टीसँग हाम्रो सहकार्य हुनै सक्दैन । ‘
-नेकपा अलमले, अस्पष्ट संपर्क मञ्च

‘बाबुराम प्रचण्डभन्दा उग्र ‘उत्तरपन्थी’ देखिए । किनभने उनको सपथग्रहण समेत चिनियाँ प्रभावबाट मुक्त रहन सकेन । सबैलाई थाहा भएको कुरा हो- ‘मुस्ताङ्’ चिनियाँ (तिब्बती) संस्कृति प्रभावित क्षेत्र हो । सपथ ग्रहण कार्यक्रममा ‘मुस्ताङ्’ नामको गाडी चढेर उनले चिनियाँहरुलाई रिझाउने दुस्प्रयास गरेकाछन् । बाबुरामको ‘मुस्ताङ्’ प्रेम भोली नेपालमा बढ्ने उत्तरी हस्तक्षेपको ‘ग्राण्ड डिजाईन’मात्रै हो ।’– नेपाली कम-रेस, दक्षिण संपर्क समिति

‘हुलास’ भारतीय मूलका नेपालीको कंपनी हो । प्रधानमन्त्री भट्टराईले ‘हुलास’ कै गाडी किन रोजे, त्यसको उच्च स्तरीय छानबिन हुनु जरुरी छ । यदी उनीसँग अलिकति पनि क्रान्तिकारिता थियो भने ‘ज्याङ्लिङ’ नामको चाइनिज बाइक चढ्न सक्थे । तर ‘हुलास’को ‘गाडीकाण्ड’ मार्फत कमरेड बाबुराममा ‘दक्षिणपन्थी दुर्गन्ध’ रहेको कुराको थप पुष्टी भएको छ ।’ -एनेकपा माओवादी (उदण्ड समुह)

‘अन्तत: बाबुराम भट्टराईपनि मधेश बिरोधी नै निस्किए । उनले ‘मुस्ताङ्’ गाडी चढेर ‘पहाडिया अहंकारबाद’को कुरुप तस्विर दिखाएकाछन् । यदि भट्टराइवा मधेसियाको पनि प्रधानमन्त्री हुन् भने पहाडको लागी बनाइएको ‘मुस्ताङ्’ गाडीमें नही, मधेशमा चल्ने ‘टाँगा’ वा ‘वयलगाडा’मा चढ्ने आँट करलजाय ।’-गन-तान्त्रिक कराई मुक्तिमोर्चा (गोलाबारुद समुह)

‘हामीले ‘बबुवाराम भोटेराई’लाई ‘आलु-चनात्मक’ समर्थन गरेका हौं । प्रचण्डजीलाई ‘आलु’ बनाएर भारतलाई ‘चना/चटपटी’ खिलाउने शर्तमा हामी तेह्रवटा मन्त्रालय पाइलिएका हौं । जदी, भोली प्रधानमन्त्रीले हाम्रो ‘आलु-चना’को सट्टा हिसिला भाभीको ‘मम:-छोयला’ भन्न थाल्नु भयो भने एक मधेश- उत्तर प्रदेश !’-मधेशी सत्तायुक्त मोर्चा, नयपाल

‘प्रधानमन्त्रीले सपथग्रहणमा भादगाउँले टोपी लगाएर ‘राष्ट्रियता’को सम्मान गरेझैं देखिएता पनि ‘लेनिनकालिन’ सुट-पाइन्टबाट अझैपनि उहाँमा ‘कम्युनिष्ट अतिबाद’ कायम छ भन्ने देखिन्छ । अध्यक्ष ‘प्रचण्को-वीरेन्द्र’ अघोषित सहकार्य भएझैं ‘बाबुराम-ज्ञानेन्द्र’ सरकारसँग घोषित सहकार्य गर्ने हो भने बाबुराम ‘राम’ हुन्, नत्र ‘बिराम’ हुन् ।’-थाप्रपा, नेपाल

‘हिसिला मैंचाले भनेको कुरा मान्यो भने ‘बाबुरामचा:’ हाम्रो ज्वाई ख:, आफ्नै तालमा हिंड्न थाल्यो भने ज्वाईं न स्वाँई- बाहुन ख:, लौ जा !’-ससुराली संयुक्त मोर्चा, कामठण्डौ

‘नेपालमा कम्युनिष्टहरुलाई खुईल्याउने यो उत्तम अबसर यही हो । सके हाम्रो योजना अनुसार प्रयोग गर्ने, नसके माओवादीकै अर्को पक्ष उचालेर असहयोग गर्ने र सरकार बिफल बनाउने ! क्यों कि-’सत्ता, तब तक रहेगा ‘बाबु’में – जवतक रहेगा हमारे ‘काबु’में ।’-छिमेकी सुदावास, लाजचम्पट

‘हिजोसम्म ‘बाबुराम !’ ‘बाबुराम !’ भन्नेहरुका लागि उचित अवसर आएको छ । ‘भिजन’ भएपनि ‘जादुको छडी’ नभएका बाबुराम ‘अप्ठेरो परिस्थिति’मा प्रधानमन्त्री भएकाछन् । अवसर पाएमा ‘केही’ गर्छन् कि भन्ने संभावना पनि देखाई सकेकाछन् । ‘वाह, बाबुराम’ बन्ने कि ‘कठै बबुरा’ रहने- त्यो उनको क्षमतामा भर पर्ने कुरा हो । जहांसम्म हाम्रो कुरा छ, पार्टी र जातीभन्दा माथी उठेर ‘राष्ट्र् निर्माण’मा लाग्ने कि उनलाई ‘लाष्ट’ बनाउन ‘खुट्टा तान्ने’ खेलमा रमाई रहने हो, सोच्ने बेला यही हो । समय सकिएपछि ‘राम राम भन्न सकिन्छ, बाबुराम भन्न सकिन्न !’

September 4th, 2011

(स्रोत : Mysansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.