व्यङ्ग्य निवन्ध : तीन महिनाको क्यालेन्डर

~मनोज गजुरेल~Manoj Gajurel

जेठ १४ गते मध्यरातमा म्याद सकिने भए पनि भोलिपल्ट बिहान ४ बजे पाँच बूँदे सहमति गरेर तीन महिना संविधान सभाको म्याद थपियो। थपिएको यो अवधिमा उनीहरुले जे जे गर्ने भनेका हुन्, त्यो त्यो नगर्नलाई एउटा क्यालेन्डर बनेको छ। हेर्नुस्, क्यालेन्डर अनुसार के-के गर्नुपर्ने रहेछ त ?

* जेठ १५ गतेदेखि पाँचबुँदे सहमतीलाई आफु अनुकुल पार्ने – नसके अप–ब्याख्या गरेर २४ गतेसम्ममा तुहाउन प्रयास गर्ने !

* २५ गते जनसेना शिबिरको ‘चाबी’ सरकारलाई बुझाउने प्रकृया थाल्ने – २६ गते अनमिनकै चाबीले काम चलाउने कि नयाँ लगाउने भन्ने बिषयमा बिवाद शुरु गरी हाल्ने !

* २७ मा चाइनिज चाबी किन्ने कि इण्डियन चाबी ‘खरिद कर्ने’ भन्नेमा चर्काचर्की पर्ने -२८ गते शीर्ष नेताले संवाद शुरु गर्ने !

* २९ गते ‘राजसुद’द्धारा ‘टाटा कम्पनीको चाबी’ लिन दबाब दिने – ३० गते शीर्ष संवाद बिना निश्कर्ष टुंगिने !

* असार १ गते सहमतिको प्रयासमा लाग्ने – २ गते प्रधानमन्त्रीको राजिनामा माग्ने !

* ३ गते संसद घेराउ,४ गते गुण्डा लेरा’उ गर्न जाग्ने– ५ गते कुर्सी टुटाउ, ६ गते माइक फुटाउतिर लाग्ने !

* ७ गते मा सदनमा आगो बल्न थाल्ने– ८ गते देशमा मान्छे ढल्न थाल्ने !

* ९ गते बल्ल प्रधानमन्त्रीको घैंटामा घाम झुल्किने – १० गते राजीनामा दिन लम्किने !

* ११ गते ‘सहमतीको प्रधानमन्त्री’ खोज्न थाल्ने – १२ गते ‘मधेशी मोर्चा’को कार्ड फाल्ने !

* १३ गते युरोपेली नारामा ‘देउ, वा !’ भन्दै आउने– १४ गते भारतेली पारामा ‘हरे कृष्ण !’ गाउने !

* भजनले नभए १५ गते ‘गाई कि त्रिशुल’ गर्ने – १६ गते होगा तो होगा, नही होगा तो मकैका घोगा !

* १७ देखि २० सम्म ‘खुद्रा दल’लाई फकाउने – २० देखि २५ गतेसम्म ‘ज्वाईं–छोरी मोर्चा’सँग वार्ता गर्ने !

* असारको अन्तिम साता बिक्नेलाई किन्ने, नबिक्नेलाई चिन्ने – मौका पर्नासाथ जाँतोमा पिंध्ने काम पुरा गर्ने !

* साउन १ गते राष्ट्रपतिज्यूबाट ‘लुतो फाल्ने’ दिवसको उद्घाटन– २ गते प्रधानमन्त्रीद्धारा ‘संकान्ती मेला’ समापन !

* ३ गते सभामुखका मुखराबिन्दबाट प्रवचन– ४ गते सभासद्द्धारा कर्मचारीलाई दुर्बचन !

* ५ देखि १० गतेसम्म ‘साउने झरी’ पर्ने – ११ देखि १६ सम्म सबै माननीयहरु ‘काम’मा क्रियाशिल रहने !

* १७ देखी १९ गतेसम्म बराह जयन्ती, नाग पञ्चमी लगायतका पर्व छोड्नै भएन– २१ गते ‘हिरोसिमा दिवस’ मनाउने परम्परा तोड्नै भएन !

* २२ गते संविधानसभामा झुलुक्क मुख देखाउनुछ – २३ गते राम्रो स्कूलमा छोराको नाम लेखाउनुछ !

* ४ गते ‘भु–संरक्षण’ दिवसमा भाषण आउनै पर्‍यो – २५ गते ‘विश्व आदिवासी दिवस’मा गएर ‘भोटबैंक’ जोगाउनै पर्‍यो !

* २६ गते जिल्लाबासीको पिकनिक खानुछ –२७ गते ‘विश्व युवा दिवस’मा जानुछ !

* २८ मा त जनै पूर्णिमाको परम्परा तोड्नै भएन – २९ गते गाईजात्रा पर्व, यो झन् छोड्नै भएन !

* ३० गते रोपाईंजात्रा, ३१ देवी जात्रा, ३२ गते बाघ जात्रा मनाउनै पर्‍यो– यस्ता राष्ट्रिय पर्वहरुमा राजनीति गर्नुहुन्न, जानै पर्‍यो!

* भदौको १ र २ गते ‘सभासद् भर्सेज मन्त्री’ फुटबल छोड्न हुन्न– ३ गते पार्टीको नियमित बैठक, परम्परा तोड्नु हुन्न !

* ४ गते गौरापर्व,, देउवाजीको देउडा नृत्य हुनेछ – ५ गते त्यही नृत्य मुख्य समाचार बन्नेछ !

* ६ गते भारतीय दूतको डिनर पार्टी–७ गते चाइनिज दूतको ‘ईनर पार्टी’ !

* ८ गते ‘इयू’ले वार्ताको बिउ छर्ने – ९ गते ‘यूएन’ले गंभीर चासो ब्यक्त गर्ने !

* १० गते नेतृत्व ‘गोप्य वैठक’मा जुट्नेछ– ११ गते पाँचौं चोटी फोरम फुट्नेछ !

* १२ गते ‘कुशे औंशी’ पर्छ, छुट्टी भैहाल्यो – १३ गते ‘वीपी जयन्ती’, काम छोड्यो, गईहाल्यो !

* १४ गते हरितालिका तिजमा चेलीबेटी र सेलीब्रेटीसँग नाच्नै पर्यो– संविधानसभाको गीतमा कम्मर भाँच्नै पर्‍यो !

* ‘सभासद् हुन् कि यिनी, धान खाने मुसा बरिलै, तीन महिनामा हात्ती आयो , फुस्सा बरिलै !’

* गित सुनेपछि पो बल्ल १५ गते नेता–जनता दुबै झसङ्ग हुन्छन्– ‘लौ जा, म्याद त सकिएछ पो’ भन्दै थाप्लामा हात लगाउँछन् !’

* त्यसपछि शुरु हुन्छन्, जुलुस, धर्ना, वार्ता र बिरोधका नाटकहरु – तर…..त्यसबेला निकै ढिला भैसकेको हुनेछ गुरु !

* आशा गरौं, आजैदेखि यो क्यालेण्डर गलत बनोस् – जगतले सभासद्को जय भनोस् !

-क्यालेन्डर निर्माता : मनोज गजुरेल

June 5th, 2011

(स्रोत : Mysansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.