~बज्र कुमार राई~
प्रश्नलाई मेरो प्रश्न
किन थुप्रिन्छौ प्रश्नहरु!
मेरो राजधानीको सडकमा
फालिएका अलपत्र फोहोर जस्तो
दुर्गन्धित
असभ्य
असह्य
र,निर्लज्ज आदत भएर।
मेरो छातीमा
छरपश्ट कुहिएका प्रश्नहरु!
किन गलेनौं?
किन थाकेनौं?
मेरा शालिन बिचारहरुबाट।
मैले बुझेको सत्य त
प्रश्नहरुको जन्म
उत्तरहरुको गर्भबाट हुन्छ।
तर किन!
अनुत्तरीत भएर प्रश्नहरु
ममाथि नै आइलाग्छौ?
म कहाँ खोजौं?
याबत् उत्तरहरु
गलत र बेमेल समिकरणबाट सोधिएका
अनगिन्ति धारे प्रश्नहरुको।
मेरा बिरुद्धका
निरंकुश प्रश्नहरु!
तिम्रो निचोराइमा
म निरीह बन्द बन्दै
किन लगाउछौ उर्दी सडकमा?
मेरा पेटहरुको खिल्लि उडाउदै।
होशियार प्रश्नहरु!
म तथ्य-प्रमाणहरु जलाएर
उत्तरहरुको छातीमाथि
निर्वाद तिम्रो खोजिमा छु
म उत्तरहरु!
दुलोभित्र भेटिएको
सद्धाम हुसैन होइन
र,म होइन-
भिडियो टेपको विन लादेन पनि।
प्रश्नहरु!
म फाँसिश्ट होइन
र, म होइन-
असमाजिक,कुसंस्कारी
मतलवी र व्यभिचारी पनि।
तर किन!
बुझेर बुझ्दैनौं
मेरा प्रश्नोत्तरहरु
निर्दयी प्रश्नहरु!???
(स्रोत : NRNaksa)