~पुरुषोत्तम दाहाल~
पेट खाली थियो तर खाने केही थिएन
आज थाल भरी छ खाना
अरुचिले अघाएको छु, भोक हराएको छ ।
परिवार बसाउन घरबास खोज्दाखोज्दै
सबै क्षणहरू, समयहरू, दिनहरू कटे,
अहिले परिवार बसेको छ, उमेर घटेको छ
आयु आफैँ किनारा लागेको छ ।
आज म अन्धकार छाम्दै हिडिरहेको छु
आँखाहरू हुँदा दृश्यहरू थिएनन् र
फूलवारी, बगैँचाहरू, पहाडपर्वतहरू
नदीनालाहरू, वनजङ्गलहरू
गाउँ, सहरबस्तीहरू, भूमण्डल, ग्रहहरू
मेरा वरिपरि छन् म उनीहरूसँगै छु ।
तर के गर्नू ? मसँग आँखा छैनन्
अनुमान गर्न सक्छु, अनुभव गर्न सक्दिन ।
आनन्दबोध गरेझै हुन्छ, खुसी हुन सक्तिन ।
बाटो खन्दाखन्दै जीवन गयो
माटो बोक्दाबोक्दै सन्ध्या सुरू भयो
तर त्यो बाटोमा हिड्ने रहर कि भोक
आफैँ खुम्चिएर रहृयो र मर्दै गयो ।
मेरा पसिनाका थोपाहरूले
जसलाई सम्याउने काम भयो
मेरा आकाङ्क्षाहरू ज्ाहाँ आकार आधार थिए
मेरा सपनाहरूले जहाँको खाल्डाखुल्डी पुर्ने काम गरे
दिनरात। भोक-तिर्खा, घाम-पानी अँध्यारो-उज्यालो सबै खेप्दै
आज म त्यसलाई देख्न छाडेको छु ।
हिड्न सक्तिन् त्यो बाटो ।
भोग गर्न सक्तिन म निर्माता ।
मलाई चोर औँलो देखाएर जिस्काउँदै
बाटोमा दगुर्ने साना नानीहरू
मेरा पछि लस्करै आउँदै गरेकाहरू
फटाफट पाइला चलाइरहेका छन् ।
मैले बनाएका धारोहरूमा
तिर्खा मेट्दै हिड्नेहरू, गन्तव्य हेरिरहेछन् ।
म निर्माता, भोकाएको र तिर्खाएको जान पनि सक्तिन ।
एक बूँद पानी दिने फुर्सद कसैले देखाउन सकेनन् ।
पानी बोकेर हिड्नेहरू सुरूसुरू हिँडिरहेछन् ।
ती मलाई देख्दैनन्,
सायद मेरो याचना कसैलाई थाहा भएन क्यारे ?
जीवन यतै कतै अल्झिएको छ ।
महासागरभित्र डुबुल्की मार्न उद्यत, शीतको सानो विन्दु,
कहाँ पर्छ ? कहाँ खस्छ ? र कहाँ हराउछ ?
आवृत्त आकाङ्क्षा, अनावृत्त तृप्ति
अन्धकारको म यात्री थाहा छैन
अबको मेरो आफ्नै बाटो, सम्झेर पनि हिँड्न सक्तिन्
हिजो आफैँले बनाएको बाटो
आज अन्धकारको यात्री
अन्धकारमा नै हराइरहेको छु र यसैमा बिलाइरहेको छु ।
कपन-३, काठमाडौं
(स्रोत : मधुपर्क २०६७ साउन