~गोपाल मगर~
थाहा छ,तिमी छैनौँ यहाँ
थाहा छ, तिम्रो आत्मा पनि छैन यो देशमा
तर,बाटो छेऊ तिम्रो नामको कपुरखान छ ।
महान सहिद लेखेको
तिम्रो नामको चौतारो छ बाटोमा ।
हावा भइगयौ की ?
पानी भइगयौ की ?
चरा भएर उड्दैपो छौकी ?
कि भयौ लिम्बुनी फूल ?
कि भयौ लिम्बुनी माछा ?
आकाश धर्तीमैपो बिलाइगयौकी ?
अझै उठ्दैछ फुङ्सीङ मेला
यही उकालोमा रक्सीको चौठो बोकीजाँदा
तिम्रो बाबुसँग धान नाच्दै–नाच्दै आइगाको मेला यही हो भन्थ्यौ ।
यही उकालोमा,जम्मै काम मै सघाउँला बरु,
बैनीलाई स्कुल पठाङ्न भन्दा
फच्चापो जान्छ हौँ छोरीलाई पडाङ्दा भन्थ्यौ ।
पञ्चमी र सप्तमी गर्दै
रक्सीको पेवाले कमाको सिरफूल,
घाम जुन पो भयो की ?
पैकारी जाँडसँग साटेको मजेत्रो,
भँुइकुहीरो पो भयो कि ?
एकदिन,खै काँ फालिराखेर आयौ,
काम्दैपो आइगोयौ जस्तो लाग्छ ।
बा युमा पो रिसायो कि ?
झिक्यौ युमाथामको तरवार र आँखै अगाडी,
काटीगयौ तिम्रो पैकारी रक्सीको चौठो र घ्याम्पाहरु
अनि, रातो पट्टी निधारमा बाँधेर,भत्काइगयौ युमा थाम पनि ।
त्यही दिन हो,
मेरो डराउँदै गरेको छिप्पट हात समातेर,स्कुल पु¥याएको ।
त्यही दिन हो,हामी नअटाएको यो देशको
नयाँ नक्सा कोरील्याउँछु भनेको ।
उज्यालो खोजी ल्याउँछु भनिराखेर,अध्याँरो जंगलतिर पसेको पनि
ठिक त्यही दिन हो ।
त्यसपछी देखेको हो बन्दुक ।
त्यसपछी जानेको हो मुठी उठाएर अभिवादन गर्नु ।
क्रान्तिकारी गित गाउनु पनि त्यसपछी नै जानेको हो ।
हिजै अस्तीपो होला हौँ
हाम्रै बाऊको आराहल,कारबारी बाजेले,
पक्डील्याएर कोरामा राख्दा,
हामी अटाउने देश ल्याउँछ,आमा कहिल्यै मर्दैन भन्दै रोइगाको ।
आमौ आजु,
तिमीले खेदिगाको बाटो संझिन्छु,
सपनामा पनि ऐठन लाग्छ ।
कतै युमापो रिसायो की ?
कि रिसायौ तिमी आफै भनेर मन्साउनु
सुर्ती र रक्सी बोकीआउँछु,तिम्रो कपुरखान र चौतारो
अनि खोजिमार्छु,
हामी अटाउने देशको नक्सा
भेट्दीन तिम्रो कपुरखानामा ।
खोजी मार्दा,हामी सुस्ताएर हाक्पारे गाउने ठाऊँ
पाउँदिन तिम्रो चौतारीमा ।
अनि रुइजान्छु एक्लै एक्लै
खै कहाँ गइगयो हाम्रो देश भनेर ।
आमौ,अबपो थाहा भो
म त उहिलेपो टुहुरो भैगाकोरैछु ।
ताप्लेजुङ
(स्रोत : तेह्रथुमबाट प्रकाशित हुने एक मात्र ‘विकसन’ साहित्यिक पत्रिका )
