कथा : बूढो र पिज्जा

~सुबिन भट्टराई~Subin Bhattarai

बूढोभित्र अचानक एउटा नयाँ अभीप्सा उत्पन्न भयो । उसलाई पिज्जा खान मन लाग्यो । ऊ बस्थ्यो एउटा देहातमा जहाँ समोसा खोज्नलाई पनि एक कोश टाढा जानुपथ्र्यो । शुरुमा कयौँ दिनसम्म यो कुरो उसले आफैँभित्र थुनेर राख्यो । बुढीलाई पनि भनेन । भने खिसी गर्ली भनेर भनेन । तर दिनप्रतिदिन उसमा पिज्जा खाने शौख तीव्र हुँदै गयो ।

र एकदिन बुढीलाई बोलाएर कसैले सुन्ला झैँ गरेर कानमा खुसुक्क भन्यो ।

बूढाको कुरा सुनेर बुढी मजैले हाँसी । हाँसिन मात्र बुढाले सोचेभन्दा कयौँ गुना बढी खिसी पनि गरी । र बूढोलाई पुरै उपेक्षा गरी । गोठतिर जान लाग्दा एकपल्ट पछाडि फर्केर हाँस्दै, ‘मर्ने बेलामा हरियो क्राँक्रो’ पनि भनी ।

बूढोलाई बुढीको उपेक्षापूर्ण व्यवहारदेखि एकदमै रीस उठ्यो । उसले स्यानो आवाजमा बूढीलाई ‘राँडी’ भनेर गाली गर्‍यो ।

त्यसपछि बूढो ख्वाङख्वाङ खोक्न थाल्यो । आफूलाई कुनै कुरामा चित्त नबुझ्दा बूढो नआएको खोकी पनि जबरजस्ती खोक्थ्यो । खोकिरहयो । अनि मनमनै बूढीले केही बर्ष अगाडि आफूलाई माडवारी किनिदिन गरेको रोड्याइँ सम्झ्यो ।

‘राँडीलाई आफूलाई चाहिया जिनिस पुर्‍याइदिएन भने यत्रो गर्धन पसार्छे । अर्कालाई चैँ खिसी गर्छे ।’ अब बूढो साँच्चै खोक्दै बम्क्यो ।

खोक्न पनि अब बूढो यै खोकीले मर्ने हो कि झैँ गरेर खोक्न थाल्यो । ‘बुढेसकालमा चैँ रहरै नहुनु ! के बूढो हुनु अपराध हो ?’

बूढो साँच्चै नै दुखी भयो । आफ्नो जिन्दगीलाई एकपल्ट धिक्कार्‍यो । ‘कस्तो जुनी यो ? नाथे मर्ने बेलामा केही रहर पनि गर्न नपाउनु !’

बूढोको जीवनपनि निक्कै खल्लो थियो । उसबेलाको प्रधानपञ्च गाउँको । तर आजकाल बूढोलाई गाउँमा कसैले मान्छे गन्दैनथ्यो । दिनभरि घर बस्नु बाहेक उसँग केही बिकल्प पनि थिएन । घरमा बूढी अनि भरखर एक महिना पनि नपुगेकी सुत्केरी बुहारी थिए । नवजात शिशु दिनभरि सुत्नु भन्दा पनि अधिकांश रोइरहन्थ्यो । अनि घरीघरी स्तनपान गथ्र्यो । स्तनपान अत्याधिक गरेकाले हो कि के ले हो त्यो शिशु पटक पटक छादिरहन्थ्यो । उसै त घरभरि ज्वानो गनाएर बस्न नसकिने भइरहेको बेला त्यो बच्चाको छादको गन्ध थपिन्थ्यो ।

अनि यस्तोमा बुढो दिनभरि घरमा बस्न नसकेर गाउँ डुल्नै बढी मन पराउँथ्यो ।

त्यसदिन बूढीको प्रतिक्रियाले बूढोको घोर चित्त दुख्यो ।

त्यसपछि बूढो गोजीबाट मोबाइल झिकेर काठमाण्डौँमा बस्ने कान्छो छोरोलाई फोन हान्ने मेसो गर्न लाग्यो । छोरो र उसको परिवारको हालखबर सोध्नु भन्दा अगाडि आफूलाई पिज्जा खान मन लागेको यथार्थ बताइदियो ।

उता छोरोलेपनि प्लेनमा कोही जाने मान्छे भेटिएमा पठाइदिने आश्वाशन दियो । सम्भवतः छोरोलेपनि बूढोको त्यस किसिमको इच्छालाई मनमनै ‘मर्ने बेलामा हरियो क्राँक्रो’ भन्यो ।

धेरैदिन बितिसक्दा पनि बूढोले पिज्जा खाने अवसर प्राप्त गर्न सकेन ।

बूढो दिउँसोदिउँसो नजीकैको बजारमा जान्थ्यो । आफ्ना उमेरका दौँतरी भेटाएमा गफगाफ गथ्र्यो । चिया खान्थ्यो । चुरोट पिउँथ्यो । अनि घर फिथ्र्यो । एकदिन बजारको एउटा चियापसलमा बसिरहेकै बेला बूढो एउटा दैनिकपत्रिका हेर्न पुग्यो । त्यो दैनिकपत्रिकाको शुक्रबारको अंक थियो । त्यसमा एउटा शुक्रबार विशेषको छुट्टै पाना थियो जसमा पिज्जा कसरी बनाउने भन्ने बारेमा आधापेज लामो लेख थियो । बूढोले त्यो पूरै पढ्यो र च्यातेर कोटको गोजीमा हाल्यो ।

कोटको गोजीमा पत्रिकाको त्यो कटिङ्ग हाल्दै गर्दा बूढोलाई थाहा थिएन ऊ त्यो कटिङ्गको के गर्नेवाला छ ।

ठीक दुइदिन पछाडिको कुरा ।

बूढो बेलुकी सात बजेको समाचार हेर्न घरबाट भातसात खाइवरी हरेक दिन खहरे पारी बस्ने एउटा बाँडाकहाँ जाने गथ्र्यो । त्यो बाँडा बूढोलाई जहिलेपनि सत्कार गथ्र्यो । बेला बेलामा मिस्री, सुकुमेल, हाजमोला आदि ख्वाउँथ्यो ।

‘गाउँमा हामीले मान्नुपर्ने को नै रहे र ?’ ऊ बूढोलाई भन्थ्यो, ‘तपाइँ एकजना त हुनुहुन्छ ।’

बाँडाको कुरा सुनेर बूढो गद्गद हुन्थ्यो । आफुलाई एकाएक गाउँको महानै मान्छे सम्भिmन पुग्थ्यो । उसको केही प्रशंशा भएको दिन राती घर पुग्नेबित्तिकै अझ बढाइचढाइ गरेर बूढीलाई सुनाउँथ्यो ।

भन्थ्यो, ‘सुनिस् ! आज बाँडाले मलाई यसो भन्यो । तँ मान्छे गन्दिनस् नि मलाइ !’

बूढोको आत्मश्लाघाका लागि बूढी एकपल्ट ओठ लेपार्दिन्थी ।

आफ्नो कुरालाई बूढीले वास्ता नगर्दिएकोमा बूढो एकपल्ट मनमनै रिसाउँथ्यो ।

अतः त्यसदिन बाँडाका टि.भि हेर्न जाँदा एउटा फूड फेस्टिबलको समाचार पनि देखाइएको थियो । मान्छेहरू विभिन्न स्टल अगाडी उभिएर अनेकथरी खानेकुरा खाइरहेको बूढोले देख्थ्यो । त्यसैक्रममा बूढोले एउटा टेबलमा जुम गरेर देखाइएको पिज्जाको स्पष्ट चलायमान चित्र देख्यो ।

‘पिज्जा भन्या त्यै हैन !’ देख्नासाथ बूढाले बाँडादम्पतीलाई भन्यो । बूढाले फेरि यो यसरी भनेको थियो मानौ कोठाभित्र बाघ छिरेको होस् । भनौँ न एकदम आत्तिएजस्तो गरी ठुलो स्वरमा भनेको थियो । घरमा केटीकेटी थिएनन् धन्न !  भए ती तर्सिन्थे ।

बाँडादम्पतीले बूढोको त्यस कौतुहलतालाई ‘हो,’ भन्दिएर मेटाइदिए ।

बुढो त्यसै विषयमा अझ कुरा गर्न चाहन्थ्यो । फेरि उनीहरूलाई नै सोध्यो, ‘तिमीहरूले पिज्जा खाएका छौ ?’

उत्तरमा बाँडादम्पतीले आफुहरूले पिज्जा खाएको बताए ।

त्यसपछि बूढो एकछिनसम्म केही बोलेन । सम्भवतः आफुलै चैँ चाख्नसम्म नपाएकोमा आत्मरतिको भाव लिएर बस्यो ।

बरु यसपाली बाँडाकी स्वास्नी नै अघि सरेर बूढोलाई सोध्न लागी, ‘बुवाले खानु’भा छैन र ?’

बूढो आफूले खान नपाएको बतायो । त्यतिमात्र होइन, त्यसका लागि आफ्ना सम्पूर्ण परिवारको बद्थ्वाइँ गर्नसम्म गर्‍यो । आफू आफ्नै घरमा उपेक्षित छु भन्नेजस्ता कुरा गरेर बाँडादम्पतीको सक्दो सहानुभूति बटुल्न खोज्यो । बाँडा दम्पतीले बूढोले चाहेजति सहानुभूति नदिएपनि त्यसको एक चौथाइ त कमसेकम दिए ।

र अन्त्यमा बाँडाकी स्वास्नी नै अघि सरेर भनी, ‘त्यस्तो इच्छा छ भने बुवालाई एकदिन मै बनाएर ख्वाउँछु ।’

बूढोको अनुहार एकाएक उज्यालो भयो । ‘मैले मान्छे त कमाएकै हो,’ आफैँलाई एकपल्ट यसो भन्यो ।

‘तर घरमा बनाएको कुरा बजारमा अनेकथोक हालेर बनाएजस्तो मीठो त हुँदैन नि ।’ बाँडाकी स्वास्नीले भनी ।

बाँडाकी स्वास्नी पकाउन सिपालु थिइ । फेरि तिनहिरूको घरमा शहरमा पाइने जति आधुनिक बिद्युतिय सामग्रीहरू सबै थिए । बरु शहरमा बस्नेहरूसित त्यति जिनीस थिएन जति उनीहरूकहाँ थियो । माइक्रोओभन सम्म थियो । त्यसैले त ऊ बूढोलाई पिज्जा बनाएर ख्वाउन अघि सरेकी । भरखर भरखर आएको उपकरण प्रयोग गर्ने अभ्यास पनि हुने, त्यहाँमाथि पिज्जा खान पनि पाइने । अझ बूढोलाई नै ख्वाएजस्तो देखिने ।

बूढो त्यसदिन पनि दङ्ग परेर घर फक्र्यो । बूढी धन्दा सकेर भरखरै ओछ्यानमा गएर बसेकी थिइ ।

बुढीलाई देख्नासाथ बूढोले ढोकाभित्र पसिनसक्दै भनिहाल्यो, ‘बुझीस् बूढी, बाँडाकी स्वास्नी मलाई पिज्जा बनाएर ख्वाउँछे रे !’

बूढीले त्यसदिन पनि ओठ लेपारी र बूढोको कुरालाई खासै महत्व दिइन । बूढो बुढीले आफ्नो कुरालाई महत्व नदिएकोमा अनेक थोक भुत्भुताउँदै ओछ्यानमा पुर्लुक्क पल्टियो ।

केही दिनपछि एकबिहानै बाँडाकी स्वास्नी बूढोलाई पिज्जा खाने निम्तो दिन घरैमा पुगी ।

बूढोले बाँडाकी स्वास्नीको खूब सत्कार गर्‍यो । उसलाई बस्नका लागी सुत्केरी बुहारीलाई राडी ओछ्याउन लगायो । बूढीलाई चिया पकाउन अह्रायो ।

यता बाँडाकी स्वास्नी ‘पर्दैन,’ भन्दैथिइ । बूढोले जबरजस्ती पकाउन लगाइहाल्यो ।

त्यसरी खुरुन्धार गरेर चिया पकाउन लगाएको देखेर बुढीले पनि बूढोलाई भनी, ‘पाहुनालाई चिया पकाएर ख्वाउन पनि तपाइँले सिकाइरहनुपर्छ मलाई ?’

‘के को पाहुना र आमा ?’ बाँडाकी स्वास्नी पनि अपनत्व देखाउन खोज्दै भन्न लागी, ‘मलाई त आफ्नै घर जस्तो लाग्छ ।’

बाँडाकी स्वास्नीको कुरा सुनेर बूढो त्यसमा ‘हो’ मा ‘हो’ मिलाउन लाग्यो भने बूढीलाई चैँ त्यति निको लागिरहेको थिएन ।

तैपनि बूढीले उसलाई चिया ख्वाएर पठाइ । अझ अरु पाहुनालाई भन्दा बेसी नै दूध हालेर चिया बनाइ । सधैँ बूढोको दुःख दिन जाने घर भनेर होला ।

दिउँसो बूढो बाँडाकहाँ गयो । दिउँसो पिज्जा खाइँदैछ भनेर त्यसदिन बूढोले बिहान भात पनि कमै खायो । बूढोको यस्तो बानी नै थियो । गाउँमा कतै भोजभतेर छ र त्यहाँ मासु पाक्दैछ भन्ने कुरा चाल पाएको खण्डमा बूढो घरमा भात लगायतका खानेकुरा ग्याँस्ट्रिक रोक्ने गरी मात्र खान्थ्यो ।

‘गोडा चार पाँच एक त देलान् नि !’ बूढोलाई कतिवटा पिज्जाले अघाइन्छ भन्ने पनि कुनै ज्ञान थिएन । बूढोले पिज्जा खाओस् न चाल पाओस् ! पिज्जाको स्वाद थाहा नपाएको बूढो त्यसको आकार, रङ्ग र सजावटबाटै यथेष्ट प्रभावित थियो ।

उता बाँडाको घरमा पिज्जा तयार थियो । बाँडाकी स्वास्नीले बूढोलाई कुर्सीमा बसाइ । बूढो यसै पिज्जा नखाइकनै बाँडाकी स्वास्नीप्रति कृतकृत्य भैसकेको थियो । बाँडाकी स्वास्नीलाई कुन मुखले धन्यबाद दिउँ जस्तो ! कसरी उसको गुन तिर्नुजस्तो भावका साथ हेरिरहेको थियो ।

बूढोले आफ्नो अगाडी पिज्जाले भरिएको एउटा रिकापी पायो । तर पिज्जा बूढोले पत्रिका वा टि.भिमा देखेको भन्दा अलिक भिन्न थियो । कहाँ जाँतो जस्तै गोलाकार देखेको पिज्जा यहाँ बाँडाकी स्वास्नीले त्रिभुजाकार रुपमा दिएकी थिइ । तीनवटा त्रिभुजाकार टुक्रा थिए ।

‘यतिले अघाइएला र ?’ मुखमा हालिनसक्दै बूढोले आफैँभित्र असन्तोस गर्‍यो । अनि एकटुक्रा उठाएर टोक्यो ।

एकदम परिचित स्वाद थियो । ‘कहाँ खाएको हुँ यस्तै खानेकुरा ?’ बूढो सम्झिन लाग्यो । बजारमा खाएका अनेकथोक सम्झियो । घरमा बूढीले ख्वाएका कुराहरू सम्झियो । तर पत्तो लगाउन सकेन । उसो त बूढीले बूढालाई जीवनभरमा तीन वा चार थोक भन्दा बेसी खाजा कहिल्यै ख्वाएकी थिइन । कि चाम्रे पकाएकी हुन्थी, कि सिरौँलाको सातु दिन्थी । अथवा कहिलेकाँही रोटी बेल्ने जाँगर पनि चलाउँथी र दूध-रोटी दिन्थी । बूढाका दाँत गतिला हुँदा हुन् त दिन बिराएर मकै भट्मास पनि भुटेर ख्वाउँदी हो ।

सुत्केरी हुनु अघि कहिलेकाँही बुहारी पनि सीप लगाएर अनेकथोक पकाएर खुवाउँथी । तर बूढोले केही सम्झेन । बुहारी सुत्केरी भएपछि पकाउने काम सबै बूढलिे गर्न थालेकी थिइ । बुहारी सुत्केरी भएको प्रसङ्ग सम्भिmसकेपछि बूढो एकपल्ट झल्याँस्स भयो । उसले पिज्जाको स्वाद के को हो भन्ने चाल पाइहाल्यो । बूढो हत्तनपत्त पिज्जाको रिकापी ठाउँको ठाउँ नै छोडी हातमा भएको टुक्रोलाई पनि त्यही रिकापीमा थन्क्याएर उठेर हिँड्यो र केही पर खेतको कान्लामा पुगिसकेपछि एकपल्ट उलुक्क छाद्यो । अनि बाँडाकी स्वास्नीलाई एकपल्ट गएँ है भनेर बजारतिर लाग्यो । घर त्यतिबेला उसलाई जान ठीक लागेन ।

यता बाँडाकी स्वास्नी बूढोको चर्तिकला देखेर हेरेको हेर्‍यै भइ ।

बूढो हिँड्दैगर्दा मनमनै संकल्प गरिरहेको थियो, आइन्दा ऊ पिज्जाको बारेमा सोच्नेपनि छैन । किनकि पिज्जाको स्वाद उसलाई भरखरै जन्मेको नातीको भमिटको गन्धजस्तो लागेको थियो ।

 (फाइन प्रिन्टबाट प्रकाशित भट्टराईको कथासंग्रह कथाकी पात्रबाट)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.